देशदर्शनद्वारा १२ कराेड लगानीमा काठमाडौं–पोखरा रात्रिकालीन पर्यटक बससेवा शुरु
काठमाडाैं । काठमाडौंबाट पोखरासम्म रात्रिकालीन पर्यटकीय बससेवा शुरुआत भएको छ । देशदर्शन बससेवा प्रालिले नेपालको आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ सोमबारदेखि रात्रिकालीन पर्यटक बससेवा शुरु गरेको हो । कोभिड–१९ को सङ्क्रमणका कारण थला परेको पर्यटन क्षेत्रलाई पुनःस्थापित गर्नका लागि सो प्रालिले सोमबार रातिदेखि काठमाडौँ–पोखरा रात्रिकालीन बससेवा शुरु गरेको हो । काठमाडौंको बौद्धबाट साँझ ६.३० बजे छुट्ने पर्यटकीय बस पोखराबाट भने ७.३० बजेमात्र काठमाडौंको लागि छुट्नेछ । प्रालिका कार्यकारी निर्देशक श्रीकान्त आचार्यले १२ करोड लगानीमा १६ बस खरिद गरी स्वदेशी तथा विदेशी पर्यटकलाई अत्याधुनिक सुविधासहित सेवा प्रदान गरिएको जानकारी दिए । मुख्य–मुख्य पर्यटकीयस्थललाई लक्ष्य गरेर दिवा तथा रात्रिकालीन बससेवा सञ्चालन गरेको उनको भनाइ छ । प्रालिले यसअघि नै काठमाडौं–जनकपुर, काठमाडौं–सुनौली र काठमाडौँ–लुम्बिनी रात्रिकालीन पर्यटकीय बससेवा सञ्चालन गरिसकेको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई बस चढ्नुअगाडि शरीरको तापक्रम मापन गर्ने, चालक, सहचालक यात्रुलाई मास्कको अनिवार्य व्यवस्था गर्ने, बसभित्र स्यानिटाइजर गर्नेलगायतका सम्पूर्ण व्यवस्था मिलाएको प्रालिका बजार व्यवस्थापक प्रल्हाद लोहनीले बताए । रात्रिकालीन बसको टिकट देशदर्शन बससेवा प्रालिको वेवसाइट, नेट पे, लक्जरियर्स ट्राभल्स र इसेवामार्फत प्राप्त गर्न सकिने उनको भनाइ छ । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेर तयारी थाले पनि कोभिड–१९ को बढ्दो सङ्क्रमणका कारण स्थगन गरिएको थियो । अहिले काठमाडौंबाट मुख्य पर्यटकीयस्थललाई लक्ष्य गरेर झण्डै १०० पर्यटकीय बसले दिवा तथा रात्रिकालीन बससेवा प्रदान गर्दै आइरहेका छन् । हाल काठमाडौंको सोह्रखुट्टे सडकबाट पर्यटकलाई बोकेर पर्यटक बस पोखरा, चितवन, लुम्बिनी र जनकपुर ओहोरदोहोर गर्दै आएका छन् । रासस
उदयपुरकाे बेलकामा व्यावसायिक प्याराग्लाइडिङ शुरु हुँदै
उदगपुर । उदयपुरको बेलका नगरपालिकामा गत वैशाख देखिनै शुरु गर्ने भनिएको व्यावसायिक प्याराग्लाइडिङ कोभिड–१९ को प्रभावले लामो समयसम्म रोकिन पुगे पनि अब चाँडै शुरु हुने भएको छ । नगरपालिकाका अनुसार एक वर्ष अघिनै मैनामैनीसहितको क्षेत्रलाई पर्यटन प्रवद्र्धन र विकास गर्ने लक्ष्यसाथ व्यावसायिक प्याराग्लाइडिङ थाल्ने योजना रहेको थियो । नगरपालिकाको पहलमा अहिले मैनामैनीको बोपताङडाँडा र चम्पाकोट डाँडाबाट व्यावसायिक रुपमा उडान गर्ने योजना अन्तिमचरणमा पुगेको बेलका नगरपालिकाका प्रमुख दुर्गाकुमार थापाले बताए । प्रमुख थापाका अनुसार अब चैतको अन्तिमसम्ममा मैनामैनीको बोपताङ र चम्पाकोट डाँडाबाट नियमित व्यावसायिक रुपमा प्याराग्लाइडिङ उडान गरेर सप्तकोशी किनारसम्म झर्न र पर्यटकलाई मनोरञ्जन दिनको लागि उडान कार्य तयारी हुन लागेको हो । यस अघिनै बेलकाको चैनामैनीस्थित चम्पाकोट र बोपताङ डाँडाबाट पटकपटक सो सम्बन्धी उडानको परीक्षण सफल भइसकेको बेलका नगरपालिकाले बताएको छ । बेलकाका पचास भन्दा बढी युवाले प्याराग्लाइडिङ सञ्चालन र उडानको तालीमसमेत लिएका छन् । प्याराग्लाइडिङ सञ्चालन र व्यावस्थापन गर्नको लागि नगरपालिकाको पहलमा सुनसरीको धरान, बेलका नगरपालिका र कास्की पोखराका केही उद्यमीहरुले रु तीन करोडसम्मको आर्थिक लगानी गरिसकेकोले व्यवस्थापन कार्य अन्तिमचरणमा पुगेको नगरपालिकाले बताएको छ । अहिले सप्तकोशी क्षेत्र भ्रमण गर्न, सुनसरीको बराह क्षेत्र र मैनामैनी भ्रमण गर्न प्र्रतिमहिना पाँच हजार भन्दा बढी पर्यटक आउन थालेको र कोभिड–१९ को सुधारसँगै पर्यटकको सङ्ख्या बढ्दै जान थालेको बताइएको छ । मैनामैनी क्षेत्रमा प्याराग्लाइडिङ सञ्चालन भएपछि बेलकाको ऐतिहासिक, पर्यटकीयस्थल मैनामैनी क्षेत्र र रामपुर ठोक्सिला बजार तथा सप्तकोशी क्षेत्रमा पर्यटकको आगमन बढेर स्थानीय क्षेत्रमा पर्यटन विकासमा टेवा पुग्ने थापा बताउँछन् । प्याराग्लाइडिङ सञ्चालनको लागि पोखराका प्राविधिक र यस क्षेत्रका अन्य व्यवसायीले योजना अगाडि बढाएको व्यवसायी सुरेश राईले बताए । पोखरा, बेलका र सुनसरीका व्यवसायीले आर्थिक लगानीसहित तयारी गरेको संलग्न व्यवसायी कृष्ण कार्कीले बताए । रासस
नेपालगञ्जबाट सिमकाेटसम्मकाे हवाइ उडान सुरु, भाडा ६ हजार
हुम्ला । सडक यातायात नजोडिएको हिमाली जिल्ला हुम्लाका लागि उडान भर्ने सबै निजी क्षेत्रका एयरलाइन्सले सहुलियत उडान भर्न शुरु गरेका छन् । कोरोनापछि उक्त उडान बन्द भएकामा हाल सहजरुपमा हवाई यातायात सञ्चालन हुँदा उक्त उडान शुरु गरिएको हो । नेपालगञ्जबाट सिमकोटका लागि उडान भर्ने सबै एयरलाइन्सले सहुलियत उडान पुनः शुरु गरिएको कार्गाे व्यवसायी विष्णु रावतले बताए । यहाँका न्यून आयस्रोत भएका व्यक्तिलाई लक्षित गरी एयरलाइन्सले सहुलियत उडान भर्न शुरु गरिएको उनले बताए । नेपालगञ्जबाट सिमकोट उडानका लागि चार्टर भाडादर चर्को भएका बेला यसले हुम्लावासीलाई केही राहत पुगेको छ । नयाँ सहुलियत उडानको भाडादर सीता एयरलाइन्सले र तारा एयरलाइन्सले छ हजार तथा नेपाल एयरलाइन्सले पाँच हजार ९७५ तोकेको बताइएको छ । सबै एयरलाइन्सले हप्तामा एक/एक उडान भर्न शुरु गरेका छन् ।