चितवनमा कृष्णसार ल्याउन अध्ययन शुरु

चितवन । वन्यजन्तुमा आधारित पर्यटकीय जिल्ला चितवनमा कृष्णसार पनि थप्नका लागि अध्ययन थालिएको छ । रत्ननगर नगरपालिकाको टिकौली क्षेत्रमा अध्ययन थालिएको बताइएको छ । सरकारले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका इकोलोजिस्ट हरिभद्र आचार्यको संयोजकत्वमा गठित समितिले अध्ययन थालेको हो । समितिमा डिभिजन वन कार्यालय, स्थानीय सामुदायिक वन, रत्ननगर नगरपालिका, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रतिनिधि र विभागका सहायक इकोलोजोष्टि हेमराज आचार्य सदस्यसचिव रहेका छन् । केही वर्ष अघिदेखि नै टिकौलीमा कृष्णसार ल्याउने विषयमा बहस शुरु भएपछि ठोस काम हुन सकेको थिएन । संयोजक आचार्यका अनुसार यसै साता प्रतिवेदन दिने गरी काम भइरहेको छ । टोलीले स्थलगत अध्ययन गरी प्रतिवेदन बनाउने काम गरिरहेको उनले जानकारी दिए । उनका अनुसार ल्याउन उपयुक्त देखिएमा लाग्ने खर्च, ल्याउन सकिने सङ्ख्या, ठाउँ तयार पार्न लाग्ने खर्च र समय, ल्याएपछिको व्यवस्थापन कसले र कसरी गर्ने लगायतका विषयमा अध्ययन भइरहेको छ । सो ठाउँमा कम्तीमा २० हेक्टर जमीन कृष्णसारका लागि छुट्याउन सकिने अनुमान गरिएको छ । ल्याउन उपयुक्त देखिएमा बर्दियाको खैरापुर वा शुक्लाफाँटाबाट स्थानान्तरण गरी ल्याइने उनको भनाइ छ । उनले भने, “सम्भावना रह्यो भने यो ठाउँ दोस्रो स्थानान्तरण हुनेछ ।” यसअघि खैरापुरबाट शुक्लाफाँटामा स्थानान्तरण गरिएको थियो । सङ्ख्या हेरेर दुवै ठाउँबाट पनि ल्याउन सकिने उनले बताए । आचार्यले कृष्णसार स्थानान्तरण गर्न सकिएमा प्रजाति विविधीकरणसँगै वंश संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने बताए । यससँगै यहाँको पर्यटन प्रवर्धन र खाली बसेको जमीनको उपयोग हुने उनी बताउँछन् । रत्ननगर नगरपालिकाले पनि कृष्णसार ल्याउने विषयमा पहल गरिरहेको छ । नगरपालिकाका प्रमुख नारायण वनले अन्य भौतिक संरचना निर्माण गर्न नमिल्ने सो ठाउँमा कृष्णसार ल्याउँदा यहाँको पर्यटन प्रबद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले भने, “अध्ययनन शुरु भएको छ, आगामी फागुनसम्ममा ल्याउने गरी तयारी गरेका छौं ।” चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले समितिले अध्ययन थालेकाले प्रतिवेदनको आधारमा काम अघि बढ्ने बताए । देशकै तेस्रो पर्यटकीय गन्तव्य चितवनमा कृष्णसार थपिएमा यहाँको पर्यटन क्षेत्रमा पनि सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ । रासस

चिडियाखानामा अनलाइनमार्फत टिकट काट्ने बढे

काठमाडाैं । स्वास्थ्य मापदण्ड पूरा गर्दै आठ महिनापछि खुलेको ललितपुरमा रहेको सदर चिडियाखानामा अनलाइनबाट टिकट काट्ने अवलाकनकर्ताको सङ्ख्या बढेको छ । पहिलो पटक चिडियाखानाले अवलोकनकर्ताका लागि अनलाइन टिकटको व्यवस्था गरेको थियो । शुरुका दिनमा एक÷दुई जनाले मात्रै अनलाइनबाट टिकट काट्ने गरेकामा अहिले दैनिक १० जना पुगेका छन् । कोरोना भाइरसको जोखिमका कारण चिडियाखाना गत चैत ७ गतेदेखि बन्द थियो । गत मङ्सिर २५ गतेदेखि चिडियाखाना पुनः खुला गरिएको हो । चिडियाखानाको वेबसाइट वा इसेवामार्फत टिकट काट्न सकिने व्यवस्था मिलाइएको जनाइएको छ । व्यवस्थापनले स्वास्थ्य मापदण्ड पूरा गरी तिहारपछि खोल्ने तयारी गरे पनि कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रबाट निर्णय नआउँदा खुल्न सकेको थिएन । चिडियाखाना व्यवस्थापन प्रमुख डा चिरञ्जीवी पोखरेलले कोरोनाको जोखिम अझै कायमै रहेकाले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर चिडियाखाना खुला गरे पनि अवलोकनकर्ता उत्साहजनरुपमा आएको बताए । लामो समयको बन्द पछि खुलेको उक्त चिडियाखानामा शुरुका दिनमा बढीमा ५०० अवलोकनकर्ता आउने गरेका थिए । अहिले दैनिक दुई हजारसम्म अवलोकनकर्ता आउन थालेका छन् । व्यवस्थापक पोखरेलले भने, “जोखिम कायमै रहेकाले खुला गरे पनि अवलोकनकर्ता आउँछन् वा आउँदैनन् भन्ने विषयमा चिन्ता थियो तर आशाअनुरुप आएका छन्, पुनःसञ्चालनकै शुरुको दिन यही २५ गते ५०० मान्छे आएका थिए भने अहिले दैनिक दुई हजार अवलोकनकर्ता आउने गरेका छन्, कोरोनाको जोखिम थप नबढे आगामी दिनमा अवलोकनकर्ता थपिनेछन् ।” चिडियाखाना प्रवेश पाए पनि बालबालिकाका लागि हँुदै आएको खेल गतिविधि सञ्चालन नहुँदा अवलोकनकर्ताले गुनासो गरेका छन् । छोरासहित लामो समयपछि चिडियाखाना घुम्न आउनुभएकी गोर्खा घर बताउने सुशीला खड्काले बालबालिकाका लागि खेल्ने स्थान बन्द हुँदा भरपुर रमाइलो नभएको गुनासो गर्नुभयो । स्वास्थ्य मापदण्ड पूरा गर्दै उनीहरुका लागि खेल्ने स्थान सञ्चालन गर्नुपर्ने खड्काको भनाइ थियो । सुरक्षा मापदण्डमा अवलोकनकर्ताले अनिवार्य मास्क ल्याउनुपर्ने, एक पटकमा ८०० मानिसले मात्र अवलोकन गर्न पाइने, चिडियाखानाभित्र बसेर खान र जीव जनावरलाई खुवाउन, छुन नपाउने, एक व्यक्ति बढीमा दुईदेखि साढे दुई घण्टामा बाहिर निस्कनुपर्ने र बालबालिकालाई खेलाउन नपाउनेजस्ता रहेका छन् । भित्र जानेको सङ्ख्या जस्तै बाहिर निस्कनेको सङ्ख्या पनि गणना गरिनेछ । जति जना बाहिर निस्कन्छन् त्यही बराबरको सङ्ख्यामा नयाँ अवलोकनकर्तालाई प्रवेश दिइने मापदण्ड रहेको छ । यसअघि झैँ हरेक दिन बिहान १०ः०० देखि साँझ ५ः०० बजेसम्म अवलोकनका लागि सञ्चालन हुनेगरी नै मापदण्ड तयार गरिएको भए पनि एकपटकमा केही सीमित व्यक्तिलाई मात्रै प्रवेशको व्यवस्था गरिएको छ । अहिले चिडियाखानामा ११० प्रजातिका एक हजार ६८ जीव जनावर रहेका छन् । त्यहाँका मुख्य आकर्षणका रूपमा बाघ, भालु, चितुवा र रातो हाब्रे छन् । ती प्रजातिमध्ये ३३ स्तनधारी, ६१ चरा, आठ उभयचर र १७ प्रजातिका माछा छन् । नेपालमा लोप हुन लागेका भनी सूचीकृत ३८ दुर्लभ वन्यजन्तुमध्ये १५ लाई चिडियाखानाले संरक्षण गरी प्रदर्शनीमा राखेको छ । चिडियाखाना अवलोकन गर्न विदेशीका लागि ७५०, सार्क देशका लागि ५००, नेपालीलाई १५० र नेपाली विद्यार्थी तथा ज्येष्ठ नागरिकका लागि ९० शुल्क निर्धारण गरिएको छ । तत्कालीन राणा प्रधानमन्त्री श्री ३ जुद्धशम्शेर जङ्गबहादुर राणाले सन् १९३२ मा निजी चिडियाखानाका रूपमा स्थापना गर्नुभएको थियो । विसं २०११ देखि सर्वसाधारणका लागि खुला गरिएको चिडियाखाना विसं २०५२ देखि यसको व्यवस्थापनको जिम्मेवारी ३० वर्षका लागि सरकारले राष्ट्रिय प्रकृति संरक्षण कोषलाई हस्तान्तरण गरेको थियो । रासस

पुस २१ गतेदेखि मुक्तिनाथ मन्दिर खुल्ने

गण्डकी । कोरोना भाइरसको महामारीसँगै झण्डै १० महिनायता बन्द हिमालपारीको जिल्ला मुस्ताङस्थित मुक्तिनाथ मन्दिर खुल्ने भएसँगै यहाँका स्थानीयवासी एवं पर्यटन व्यवसायी उत्साहित भएका छन् । अन्य क्षेत्रका पर्यटकीय गन्तव्य खुलेसँगै मुस्ताङका पर्यटकीय गन्तव्य पनि खुलाउने सोचका साथ बृहत् सर्वपक्षीय भेलागरी यही पुस २१ गतेदेखि मुक्तिनाथ मन्दिर खोल्ने निर्णय गरिएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङ, मुक्तिनाथ धार्मिक क्षेत्र विकास समिति, स्थानीय झारकोट, खिङ्गा र रानीपौवा गाउँका प्रतिनिधिसहित सम्पन्न बृहत् भेलाबाट मन्दिर खुलाउने निर्णय गरिएको रानीपौवा गाउँका पूर्वमुखिया एवं होटेल ग्राण्ड साम्बालाका सञ्चालक सुरज गुरुङले जानकारी दिए । “झण्डै १० महिनायता बन्द मुक्तिनाथ मन्दिर अब खोल्नुपर्छ भन्ने सोचका साथ सर्वपक्षीय भेलाबाट मन्दिर खोल्ने निर्णय गरेका हौँ”, उनले भने, “मन्दिर खुलेसँगै लामो समयदेखि ठप्प मुस्ताङमा आगामी दिनमा पर्यटकीय चहलपहल बढ्ने विश्वास लिएका छौँ ।” नेपालका चारधाममध्ये एक मुक्तिनाथको दर्शनपछि मनोकामना पूरा हुने जनविश्वासका साथ नेपाली तथा भारतीय दर्शनार्थी प्रत्येक वर्ष ठूलो सङ्ख्यामा मुक्तिनाथ पुग्ने गरेका छन् । मुक्तिनाथ मन्दिरका ब्राह्मण पुजारी कृष्णप्रसाद सुवेदीका अनुसार पछिल्ला वर्षमा देशका विभिन्न भूभागबाट मुक्तिनाथ आउने दर्शनार्थीको सङ्ख्या बढ्दै गएको छ । पछिल्लो वर्षमा म्याग्दीको बेनी हुँदै सडक मार्ग भएर जाने बाटोको पनि स्तरोन्नति हुँदै गएका कारण बाटोको सहजताले धार्मिक पर्यटकको सङ्ख्या बढिरहेको अवस्थामा कोरोना भाइरसको सङ्क्रमणका कारण झण्डै १० महिना मुक्तिनाथ मन्दिर सुनसान बनेको उनले बताए । मुक्तिनाथ भगवान् विष्णुको नाम हो । विष्णु, लक्ष्मीनारायण, भूदेवीका मूर्ति रहेको यो मन्दिर हिन्दू र बौद्धमार्गीको साझा तीर्थस्थलका रुपमा रहेको छ । मुक्तिनाथ र गुम्बामा हिन्दूका ब्राह्मण पुजारी र बौद्धका झुमाले आआफ्नै परम्पराअनुसार पूजा तथा रेखदेख गर्ने प्रचलन छ । मुस्ताङको सदरमुकाम जोमसोमबाट पूर्वमा पर्ने यो मन्दिर तीन हजार ७१० मिटर उचाइमा छ । यहाँबाट धवलागिरि, निलगिरि, गणेश, थोरङ्लालगायत उच्च हिमाली शृङ्खला एकसाथ अवलोकन गर्न सकिन्छ । मुक्तिनाथ परिसरमा उत्तरपूर्वी भूभागमा अवस्थित ज्वालामाई मन्दिरभित्र धिपधिप बलिरहेको ज्योति हेर्नका लागि यहाँ पुग्ने जो कोही लालायीत हुने गरेका छन् । विशेषतः मुक्तिनाथमा फागुनको अन्तिम सातादेखि वैशाखको अन्तिम सातासम्म र असोेज तथा कात्तिकको समयमा दर्शनार्थी बढी आउने गरेको स्थानीयवासी एवं थकाली सामुदायिक होमस्टे ठिनीका सचिव जुना थकालीले जानकारी दिनुभयो । मन्दिर खुलेसँगै आगामी दिनमा होमस्टेमा आउने पर्यटकको सङ्ख्या पनि बढ्ने अपेक्षा गरिएको छ । पर्यटकको बढ्दो आगमनसँगै मुक्तिनाथ क्षेत्रमा नै लगभग २२ वटा होटलले पर्यटकलाई खान र बस्नको सुविधा प्रदान गरेको होटेल ग्राण्ड साम्बालाका सञ्चालक सुरज गुरुङ बताउँछन् । मुक्तिनाथमा भएका होटलमा प्रतिदिन एक हजार ५०० जनासम्म आन्तरिक पर्यटकलाई थेग्नसक्ने क्षमता रहेको जानकारी दिँदै उहाँले लगभग ७०० विदेशी पर्यटक प्रतिदिन मुक्तिनाथमा बस्नसक्ने अवस्था रहेको बताए । मुक्तिनाथ पुग्ने पर्यटकमध्ये केही पोखराबाट म्याग्दीको सदरमुकाम बेनी, जोमसोम हुँदै सडक यात्राबाट जाने गरेका छन् भने केही पोखरा–जोमसोम हवाई उडानका माध्यमबाट जोमसोम पुगी त्यहाँबाट लगभग दुई घन्टा सडक यातायात प्रयोग गरी पुग्ने गरेका छन् । बेनीबाट मुक्तिनाथसम्म नै पुग्ने बाटो चाँडो कालोपत्र गर्नसकेमा मुक्तिनाथ पुग्ने पर्यटकको सङ्ख्या अझै बढ्ने स्थानीयवासी बताउँछन् । लामो समयदेखि सुनसान नबनेको मुस्ताङमा मुक्तिनाथ मन्दिर खुलेसँगै आगामी दिनमा पर्यटकको चहलपहल बढ्ने विश्वास लिइएको जिल्ला समन्वय समिति मुस्ताङका प्रमुख छिरिङ ल्हामो गुरुङले जानकारी दिए । कोरोनाले प्रभावित यहाँको पर्यटन चाँडै नै चलायमान हुने बताउँदै गुरुङले स्वास्थ्य सुरक्षा सजगता अपनाउँदै अघि बढ्नुको विकल्प नभएको उल्लेख गरे । लामो समयसम्म मुक्तिनाथ मन्दिर बन्द हुँदा इच्छा भएर पनि जान नपाएका सर्वसाधारणमा समेत उत्साह जगाएको स्थानीयवासीको तर्क छ ।