बागलुङका दश घरबासलाई एक करोड अनुदान

गलकोट । गण्डकी प्रदेश सरकारले बागलुङ जिल्लाका १० सामुदायिक घरबासलाई एक करोड अनुदान उपलब्ध गराउन शुरुआत गरेको छ । प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय बागलुङमा रहेको २८ वटा सामुदायिक घरबासमध्ये ती घरबास छनोट गरेर पूर्वाधारका लागि अनुदान प्रदान गर्न छनोट भएका छन् । ग्रामीण पर्यटन प्रवर्धनमा घरबासलाई व्यवस्थित गराउनका लागि आर्थिक वर्ष २०७७/०७८ मा जिल्लाका ती घरबासले रु एक करोड अनुदान पाउन थालेका हुन् । मन्त्रालयले आह्वान गरेको सूचनाबमोजिम जिल्लाका नौ घरबास छनोट भइसकेको र एक घरबास छनोट हुन बाँकी रहेको छ । अनुदान स्वीकृत भएका घरबासले पूर्वाधार निर्माण गर्न रु १० लाख पाउने र रु दुई लाख घरबास सञ्चालकले खर्च गर्नुपर्ने गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालययको पर्यटन महाशाखा प्रमुख डिल्लीराम रिजालले जानकारी दिए । “कोरोनाका कारण गत वर्ष अनुदान दिने दुई करोड ८० लाख रकम दिन सकिएन, यस वर्ष थोरै घरबासलाई अनुदान दिन थालिएको हो”, उनले भने, “अनुदानबापतको रकमले पूर्वाधार निर्माणपश्चात् घरबासको सेवा तथा सुविधामा वृद्धि हुने, पर्यटनमैत्री वातावरण बन्ने छ ।” अनुदानका लागि छनोटमा परेका सामुदायिक घरबासमा बागलुङ नगरपालिका–१० स्थित अतिथि सत्कार सामुदायिक घरबास, भकुण्डे सामुदायिक घरबास, काठेखोला गाउँपालिका–७ रेशको डोटा देउराली सामुदायिक घरबास र माहुरी झरना सामुदायिक घरबास, गलकोट नगरपालिका–१० पाण्डवखानी स्थित सिद्धथान सामुदायिक घरबास, बरेङ गाउँपालिकाको सिग्दी सामुदायिक घरबास, गाजाको सिद्ध बराह सामुदायिक घरबास, ताराखोला गाउँपालिका–२ अगलस्थित किकल्टा सामुदायिक घरबास र निसीखोला सामुदायिक घरबास अनुदानका लागि छनोट परेका छन् । महाशाखा प्रमुख रिजालका अनुसार एक घरबास छनोटमा पर्न बाँकी रहेको छ । छनोटमा परेका घरबासले पर्यटन कार्यालय पोखरामार्फत अनुदानका लागि प्रस्तावनासहित सम्झौता गरिसकेर अनुदान लिन थालेका छन् । सरकारले घरबास सञ्चालन र त्यसका लागि अनुदान उपलब्ध गराउन निर्माण गर्ने प्रस्तावनाको आधारमा घरबास छनोट गरिएको हो । सरकारले घरबास सञ्चालन गर्न अनुदान दिने १० लाखको २० प्रतिशतअर्थात् दुई लाख सम्बन्धित घरबास व्यवस्थापन समितिले अनिवार्य साझेदारी गर्नुपर्ने व्यवस्था गरिएको छ । अनुदान रकमबाट घरबास सञ्चालन तथा प्रवद्र्धनसँग सम्बन्धित पर्यटक सूचना केन्द्र, सामुदायिक भवन, बहुउद्देश्यीय भवन, सार्वजनिक सभागृह, हस्तकला केन्द्र, कोशेली घर, सौगातगृह, सांस्कृतिक सङ्ग्रहालय, सार्वजनिक पुस्तकालय, उद्यान, भ्यूटावर बनाउन प्रवेशद्वार, पदमार्ग, ढङ्गेमार्ग प्रदर्शनीस्थल, पदमार्ग, बगैँचालगायतमा अनुदानको रकम व्यवस्थापन समितिले खर्च गर्न पाउने छन् । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले स्वरोजगार सिर्जना गर्न घरबास प्रवद्र्धन गर्न आवश्यक रहेको जनाउँदै गाउँ पर्यटनका लागि बजेटले सघाउ पुग्ने बताए । यसअघि डिभिजन वन कार्यालय हुँदै आएको घरबास अनुदान कार्यक्रम अबदेखि पर्यटन कार्यालय पोखराबाट सञ्चालनमा आउने छ । रासस

होटल क्षेत्रमा १८ अर्बको नोक्सान, टिक्नै गाह्राे

काठमाडौं । विश्व महामारी रुपमा फैलिएको कोरोना भाइरसको कारण नेपाली होटल क्षेत्रमा ठूलो नोक्सान भएको छ । कोरोना भाइरसको कारण उत्पन्न लकडाउन र त्यसपछि विभिन्न समयमा भएको निषेधाज्ञाले नेपालको होटल क्षेत्रमा ठूलो क्षति पुगेको हो । होटल एसोसिएस अफ नेपाल (हान) का अनुसार कोरोना भाइरसका कारण होटल व्यवसाय करिब ठप्प भएको छ । अन्य देशजस्तै नेपालमा पनि विदेशी पर्यटक आउनै छाडेकोको कारण नेपालका होटलहरु ठप्प भएका हुन् । पर्यटकहरु नेपाल आउने प्रमुख सिजनमै विदेशीको आवागमन घटेपछि सबैभन्दा ठूलो मारमा होटल व्यवसायी परेका हुन् । हानका अनुसार अहिले नेपालको होटल व्यवसाय क्षेत्र २०७२ को भूकम्पलगत्तै भन्दा कमजोर अवस्थामा पुगेको छ । ‘हानका महासचिव साजन शाक्ले पर्यटक आउने सिजनमै पर्यटकहरु नआएपछि नेपाली होटलहरु ठप्प भएको बताए । हाम्रो मुख्य कमाउने सिजन नै यही हो, यही सिजनमा पर्यटकहरु नआएपछि हामीलाई समस्या मात्र होइन करोडौं रुपैयाँ नोक्सान भइरहेको छ,’ शाक्यले भने । कोरोना भाइरसका कारण चैतदेखि बन्द भएका कतिपय होटलहरु हालसम्म सञ्चालनमा नआएको उनको भनाई छ । उनका अनुसार होटल व्यवसाय क्षेत्रले मासिक २ अर्ब रुपैयाँ नोक्सान व्यहोर्दै आएको छ । ‘चैतदेखि होटल व्यवसाय ठप्प नै छ, ग्राहकहरु नआउँदा अनावश्यक सञ्चालन खर्च बढ्दै गएको छ, होटल क्षेत्रमा मासिक २ अर्ब रुपैयाँ नोक्सान भइहरेको छ,’ उनले भने । चैतदेखि नोक्सानमा रहेका होटलहरुलाई मासिक २ अर्ब नोक्सान हुँदा हालसम्म १८ अर्ब रुपैयाँ नोक्सान भएको उनको भनाई छ । विदेशी पाहुनाबाहेक स्तरीय होटलले अन्य आम्दानीका स्रोत प्रयोग गरेर पनि होटल सञ्चालन गरिरहेका हुन्छन् । तारे होटलहरुमा सभा, समारोह वा अन्य कार्यक्रम हुँदा होटलका हलबाट उनीहरूको नियमित आम्दानी हुन्छ । काठमाडौं, पोखरा, चितवन र लुम्बिनीमा सात वटा होटल भएको काठमाडौं गेष्ट हाउस ग्रुपका प्रबन्ध निर्देशक सुनिल शाक्यले पनि यो वर्ष होटलमा आउने पाहुनाको संख्या ३० प्रतिशतसम्म बढ्ने आश गरेका थिए । अहिले उनी पर्यटक होइन, रद्द भएका बुकिङको हिसाब गरिरहेका छन्। शाक्यको एउटै होटलमा ७१३ ओटा बुकिङ रद्द भएको छ। ‘लुम्बिनीमा रहेको हाम्रो बुद्धमाया होटलको मात्र ७१३ क्यान्सिलेसन भयो। रुपैयाँमा हेर्ने हो भने यसको भ्यालू २ करोड बढी हुन्छ। पोखरादेखि काठमाडौंसम्मका हाम्रा सातै होटलमा यस्तै ट्रेन्ड छ,’ शाक्यले भने। विश्वभरि नै त्रास फैलिएको अवस्थामा स्वभाविक मार आफ्नो व्यापारमा परेकाले यसबाट विचलित हुनुभन्दा अहिले सबैले सतर्कतामै केन्द्रित हुनु पर्ने उनको भनाइ छ । अहिलेकै ट्रेन्ड जारी रहे होटलको बुकिङ शुन्यमा झर्ने व्यवासयीको आँकलन छ। ‘भूकम्पको बेला कति विदेशी राहत दिन नेपाल आउँथे, कति अध्ययन अनुसन्धानका लागि भनेर आउँथे। त्यही भएर भूकम्पपछि पनि होटलहरूले व्यापार पाइरहेका थिए, तर अहिलेको अवस्थामा त्यस्तो छैन, होटलहरुको अनावशय रुपमा नोक्सान मात्र भइरहेको छ,’ उनले भने । उनका अनुसार होटल क्षेत्रमा अहिले १ खर्ब बढीको ऋण छ भने होटल क्षेत्रमा खर्बौं रुपैयाँको लगानी रहेको छ । नेपालका पर्यटकस्तरीय होटलको संख्या ३ हजार ३ सय छ ।

सगरमाथा इन्स्योरेन्स र पाेखराकाे हाेटल ल्याण्डमार्कबीच सम्झाैता

काठमाडाैं । सगरमाथा इन्स्योरेन्स कम्पनी र पाेखराकाे हाेटल ल्याण्डमार्क तथा काठमाडाैंकाे सम्राट टूर्स एण्ड ट्राभल्स प्रा.लि. बीच सम्झाैता भएकाे छ । नेपालको आन्तरिक पर्यटनको विकासलाई टेवा पुर्याउने उद्देश्यले यी कम्पनीबीच सम्झाैता भएकाे हाे । उक्त सम्झौता पत्रमा सगरमाथा इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री तथा सम्राट टूर्स एण्ड ट्राभल्सको तर्फबाट सिएन पाण्डेले हस्ताक्षर गरेका हुन् । यससँगै सगरमाथा इन्स्योरेन्स कम्पनीका कर्मचारी तथा भीआईपी कार्ड हाेल्डर बीमितले  विभिन्न सेवामा विशेष छुट पाउने छन् ।