‘घुमौँ सौराहा’ अभियानले तान्यो पर्यटक
चितवन । कोभिड–१९ को सङ्क्रमणका कारण सुस्ताएको पर्यटन व्यवसाय विस्तारै चलायमान बन्दै गएको छ । अङ्ग्रेजी नयाँ वर्षसँगै यहाँको सौराहामा आन्तरिक पर्यटक क्रमशः बढ्दो क्रममा रहेका छन् । व्यवसायीले अङ्ग्रेजी नयाँ वर्ष अघि ‘घुमौँ सौराहा’ अभियान गरेका थिए । त्यतिबेला उनीहरूले प्रदेश नं २ र ३ का मुख्य शहरी क्षेत्रमा पुगेर अभियान चलाएका थिए । व्यवसायीले विराटनगर, धरान, जनकपुरलगायत पूर्वी नेपालका मुख्यमुख्य शहरमा कार्यक्रम गरेका थिए । ती कार्यक्रममा नेपाल सरकारको पर्यटन बोर्ड र स्थानीय तहहरूको सहयोग रहेको थियो । क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष दीपक भट्टराईका अनुसार अभियानसँगै पूर्वी नेपालका पर्यटक पनि सौराहा आउन थालेका छन् । पारिवारिक र युवायुवती घुम्न आउने क्रम बढेको छ । उनले भने, “विगतमा विद्यार्थी बढी आउँथे, अहिले पारिवारिक भ्रमण आउने बढी छन् ।” शुक्रबार र शनिबारसँगै बिदाको दिनमा आधाभन्दा बढी होटल भरिन थालेका छन् । अन्य दिनमा पनि यो सङ्ख्या ४० प्रतिशत हाराहारी हुने गरेको उनले जानकारी दिए । कोभिड–१९ सङ्क्रमणपछि ठप्प रहेका सबै होटल खुल्न थालेका छन् । व्यवसायीमा पनि उत्साह थपिएको उनले बताए । सङ्घका पूर्वअध्यक्ष एवं अभियानका संयोजक सुमन घिमिरेले कार्यक्रमले राष्ट्रियरुपमा नै प्रचारप्रसार भएको बताए । जसका कारण पर्यटक आगमनमा सकारात्मक प्रभाव परेको भन्दै उनले यसै महिना अन्य प्रदेशका शहरमा पनि अभियान लिएर जाने तयारी गरिएको जानकारी दिए । उनले भने, “यस्ता अभियान र स्थानीय सञ्चारमाध्यममा नियमित प्रचारप्रसार गर्न सकेमा आन्तरिक पर्यटक भित्र्याउन सकिन्छ ।” रेष्टुराँ एण्ड बार एशोसिएशन (रेवान) सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडाले पछिल्ला दिनहरूमा आन्तरिक पर्यटकको निकै राम्रो उपस्थिति रहेको बताए । बिदाका दिनमा भीडभाड हुने गरेको भन्दै उनले अन्य दिनमा पनि पर्यटकको आगमन सन्तोषजनक हुँदै गएको जानकारी दिए । अभियान सौराहाका लागि महत्वपूर्ण बनेको भन्दै उनले यहाँको महत्वको बारेमा देशभर प्रचारप्रसार गर्न सकेमा पर्यटक भित्र्याउन सकिने अभियानले पाठ सिकाएको बताए । सौराहामा अहिले होटल रेष्टुराँले आन्तरिक पर्यटकलाई २० देखि ४० प्रतिशत छुट दिँदै आएका छन् । नेपालमै रहेका र बाहिरबाट आएका विदेशी पर्यटक पनि आउन थालेको खतिवडाले जानकारी दिए । चितवन राष्ट्रिय निकुञ्जमा वन, वनस्पति र वन्यजन्तु अवलोकनका लागि यहाँ पर्यटक आउने गर्दछन् । दुर्लभ एकसिङ्गे गैँडा, बाघ, घडियाल गोही यहाँका मुख्य आकर्षक हुन् । यहाँ हात्ती सयर, डुङ्गा सयर, जीप सफारी, पैदलयात्रामार्फत निकुञ्ज र मध्यवर्ती क्षेत्र भ्रमण गराइने गरिन्छ । सौराहामा ठूला साना १४० होटल छन् भने करिब ५० रेष्टुराँ सञ्चालनमा छन् । रासस
कोराेना विरुद्धकाे खोप लगाएका विदेशी पर्यटकलाई सहजै प्रवेश दिने तयारी
काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री भानुभक्त ढकालले कोभिड–१९ विरुद्धको खोप लगाएर आउने विदेशी पर्यटकलाई सहजै प्रवेश दिने तयारी गरिएको बताएका छन् । शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा पर्यटन क्षेत्रमा काम गर्ने सञ्चारकर्मीहरुसँग भेटघाट गर्दै मन्त्री ढकालले कोभिड–१९ विरुद्धको खोप लगाएर नेपाल आउने विदेशी पर्यटकलाई प्रवेश सहज गराउने सरकारको तयारी रहेको बताएका हुन् । उनले नेपाल आउने व्यक्तिले क्वारेन्टिन बस्नुपर्ने अनिवार्य व्यवस्थालाई संशोधन गरी सहज बनाउने तयारी गरेको बताए । ७२ घण्टा भित्र पिसिआर परीक्षण गराएर आएको रिपोर्ट र नेपालमा परिक्षण गर्दापनि पिसिआर रिपोर्ट नेगेटिभ भएकाहरुलाई आफ्नो गन्तव्यमा सजिलै जान दिने व्यवस्था गर्न लागेको पनि उनले बताए ।
धवलागिरि आधार शिविर जोड्ने नयाँ पदमार्गमा पूर्वाधार निर्माण शुरु
म्याग्दी । म्याग्दीस्थित संसारको सातौँ (८,१६७) मिटर अग्लो धवलागिरि हिमालको आधार शिविर जोड्ने नयाँ पदमार्ग पहिचान भएको छ । अन्नपूर्ण गाउँपालिकाले पहिचान गरेको जलथले–फगाम–सुवा–मतिचौर–कालीबराह हुँदै रघुगङ्गा गाउँपालिकास्थित धवलागिरि हिमालको दक्षिणी आधार शिविर जोड्ने पदमार्गमा पूर्वाधार निर्माण शुरु भएको हो । दानाका बासिन्दाले भेडाबाख्रा र गाईभैँसीको गोठ लेक–बेँसी गराउन प्रयोग गरेको परम्परागत बाटोलाई पर्यटन पदमार्गमा रुपान्तरण गर्न लागिएको गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताए । “सडक विस्तारसँगै पुराना पदमार्ग र पर्यटकको बसाइ छोटिएकाले नयाँ पदमार्ग पहिचान गरेका हौँ”, उनले भने, “गोठालाले प्रयोग गरेको बाटोमा पूर्वाधार तयार पारेर पदमार्गमा रुपान्तरण गर्न थालिएको छ ।” यसअघि पहिचान भएको नारच्याङ हुँदै संसारमै पहिलोपटक आरोहण भएको अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जोड्ने “मौरिस हर्गोज” पदमार्गमा पर्यटन विभागले पूर्वाधार निर्माण शुरु गरेको छ । जलथले हुँदै चारदेखि पाँच दिन पैदलयात्रा गरेर धवलागिरि आधार शिविरमा पुग्न सकिने स्थानीयवासीले बताएका छन् । गाउँपालिकाले चालु आर्थिक वर्षमा पदमार्गको प्रवेशविन्दु जलथलेबाट पदमार्ग निर्माण शुरु गरेको छ । उपभोक्ता समितिका अध्यक्ष दुर्गादत्त सुवेदीले जलथलेबाट फगामको चिहानडाँडाको टावरसम्म पदमार्ग निर्माण शुरु भएको जानकारी दिए । उनका अनुसार उकालोमा १.५ मिटर फराकिलो सिँढी चिनेर एक हजार १३३ मिटर पदमार्ग बनाउन लागिएको छ । “२० सेन्टिमिटर उचाइ र ४५ सेन्टिमिटर चौडाइ भएको सिँढी बनाउने डिजाइन छ”, अध्यक्ष सुवेदीले भने, “विभिन्न ठाउँमा पाँच चौतारी पनि बनाउने लक्ष्य छ ।” गाउँपालिकाले १० लाख विनियोजन गरेको जलथले–फगाम पदमार्ग निर्माणमा उपभोक्ताले रु एक लाख २३ हजार बराबरको श्रमदान गर्नुपर्नेछ । फगाम, सुवा र जलथलेका बासिन्दा पदमार्ग निर्माणमा खटिएका छन् । ढुङ्गाको सिँढी चिनेर पदमार्ग बनाउन लागिएको हो । गाउँपालिकाका उपाध्यक्ष केशमाया मगरले गत आवमा बजेट विनियोजन भए पनि बन्दाबन्दीका कारण कार्यान्वयन हुन नसकेको योजनालाई यसपालि निरन्तरता दिएको बताइन् । धवलागिरि आधार शिविर पुगेपछि रघुगङ्गा, अन्नपूर्ण र थासाङ गाउँपालिकाको सिमानामा पर्ने कालीबराह हुँदै मुस्ताङ निस्कने अर्को धवलागिरि आइसफल पदमार्ग छ । यो पदमार्गअन्तर्गत पर्ने दानाको मतिचौर बराहमा १०८ धारा निर्माण शुरु भएको छ । धारा निर्माण गर्न गाउँपालिकाले आठ लाख विनियोजन गरेको छ । जनै पूर्णिमाको दिन पूजाआजा र मेला लाग्ने मतिचौर बराहलाई धार्मिक पर्यटकीयस्थलको रुपमा विकास गर्ने उद्देश्यले धारा निर्माण गर्न लागिएको उपभोक्ता समितिका सचिव गङ्गा पुनले बताइन् । मतिचौर बराहमा जनैपूर्णिमाका दिन पूजाआजा र भाकल गरेमा मनले चिताएको कुरा पूरा हुने विश्वास छ । पदमार्गमा पूर्वाधार निर्माणलाई निरन्तरता दिनुका साथै नक्शा तयार पार्न प्राविधिक टोलीसहित स्थलगत सम्भाव्यता अध्ययन गर्न लागिएको गाउँपालिकाका अध्यक्ष पुनले बताइन् । ग्रामीण बस्ती, जनजीवन, वनजङ्गल, झरना, वन पैदावार, वन्यजन्तु, तालतलैया र अग्ला पहाडबाट हिमालको दृश्यावलोकन गर्न पाउनु यो पदमार्गको विशेषता हो । पूर्वाधार तयार भएपछि पदमार्ग सञ्चालनमा ल्याउने गाउँपालिकाको तयारी छ । रासस