हुम्लामा हवाई उडान पुनःशुरु
काठमाडौं । कोरोना संक्रमणको दर बढ्दै गए जिल्लामा खाद्यान्न संकट पर्न सक्ने जनाउँदै जिल्लास्तरीय कोभिड व्यवस्थापन केन्द्र (डिसिसिएमसी) ले बुधबारदेखि खाद्यान्न र निर्माण सामग्री ढुवानी गर्न दिने निर्णय गरेको छ । केन्द्रका संयोजक एवंम प्रमुख जिल्ला अधिकारी गणेश आचार्यको अध्यक्षतामा बुधबार जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकार पक्षको बैठकले हरेक दिन बढ्दो संक्रमणको अवस्था हेर्दा पछि स्थिति भयावह हुन सक्ने अवस्थालाई ध्यानमा राखी जिल्लामा खाद्यान्न संकट हुन नदिन हवाई उडान जारी राख्ने निर्णय गरेको हो । जिल्लामा उडान भर्दै आएका निजी विमान कम्पनी सीता एयर, तारा एयर र समिट एयरका प्रतिनिधिसहितको बैठकले यस्तो निर्णय गरेको हो । गत सोमबार नेपालगञ्ज र सुर्खेत हुँदै जिल्ला आएका यात्रुमध्ये एन्टिजेन परीक्षण गरिएका आठ जनामा कोरोना संक्रमण देखिएपछि नेपालगञ्ज र सुर्खेतसँगको प्रत्यक्ष हवाई सम्पर्क बिच्छेद गर्न यही वैशाख २२ गते राति १२ बजेदेखि संक्रमण रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ अनुसार जिल्लाभर निषेधाज्ञा गरिएको थियो भने सुर्खेत र नेपालगञ्जबाट हुने सबै उडान बन्द गरिएको थियो । एयरलाइन्सद्वारा ढुवानी गरेर ल्याइएका सामग्री यही वैशाख २८ गतेपछि मात्रै सम्बन्धित व्यक्ति र निकायमा दिइने निर्णय बैठकले गरेको छ । निजी विमान कम्पनीले ढुवानी गरेर ल्याएका खाद्यान्न तथा निर्माण र दैनिक उपभोग्य सामग्री झार्न लोडरले अनिवार्य पिपिसेट लगाउनुपर्ने बताइएको छ । सीताका तीन उडान निषेधाज्ञा जारीपछि डिसिसिएमसीको निर्णयअनुरुप सीता एयरले तीन उडान भरेको छ । जिल्लामा खाद्यान्न तथा निर्माण र दैनिक उपभोग्य सामग्री ल्याउन उडान अनुमति दिइएसँगै सीता एयरले सुर्खेत र नेपालगञ्जबाट नेपाल खाद्य तथा व्यापार कम्पनीको चामल ल्याएर उडान भरेको एयर हुम्लाका स्टेशन इञ्चार्ज छेपाल लामाले जानकारी दिए ।
बिहीबार मध्येरातीदेखि अन्तराष्ट्रिय उडान बन्द, निगमको भारत उडान बुधबार
काठमाडौं । बिहीबार मध्येरातदेखि बैशाख भर अन्तराष्ट्रिय उडान बन्द भएको छ । गत बैशाख १९ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार बिहीबारको मध्येरातदेखि भारतबाहेक अन्य गन्तव्यको उडान बन्द भएको हो । यसअघि गत मंगलबारको मध्येरातीदेखि आन्तरिक उडान बन्द भइसकेको छ । नियमित रुपमा आन्तरिक तथा अन्तराष्ट्रिय उडान बन्द भएपनि बैशाख भर चार्टर्ड तथा उद्धार उडान भने सञ्चालन हुने नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले जनाएको छ । क्यानका प्रवक्ता राजकुमार क्षेत्री नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्दै चार्टर्ड तथा उद्धार उडानको अनुमति दिईन बताउँछन् । चार्टर्ड र उद्धार अन्तर्राष्ट्रिय उडानबाट आउने/जाने यात्रुहरूको बारकोड र फोटोसहितको पिसिआर रिपोर्ट अनिवार्य गरिएको छ । गत वर्षको चैत ११ गतेदेखि लागु गरिएको बन्दाबन्दीको अबधिमा समेत आन्तरिक तथा अन्तराष्ट्रिय दुबै उडान बन्द गरिएको थियो । चैत १० गतेदेखि बन्द भएको नियमित उडान सरकारले भदौ १६ गतेबाट अन्तर्राष्ट्रिय तथा असोज ५ गतेदेखि आन्तरिक उडान सञ्चालनमा ल्याइएको थियो । शुक्रबार ८ उडान बिहीबार रातीदेखि नियमित अन्तराष्ट्रिय उडान बन्द भएपनि आज ८ वटा उडान हुने भएको छ । विभिन्न गन्तव्यका लागि बिहीबार राती उडान गरेका ६ वटा जहाज आज काठमाडौँ फर्कने त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल कार्यालयले जनाएकोे छ । कार्यालयका अनुसार ६ वटा जहाज र्फिता सगैँ आज दुई वटा कार्गाे उडान हुनेछन् । जसमा एक उडान काठमाडौँ– चीनको क्युमिन र हङकङ–काठमाडाैं गरी दुई वटा कार्गाे उडानको तालिका रहेको विमानस्थल कार्यालयका प्रमुख प्रताप तिवारीले जानकारी दिए । निगमको काठमाडौं नयाँदिल्ली उडान बुधबार सरकारले एयर बबल योजना अन्तरगत काठमाडौं–नयाँदिल्ली उडान अन्तरगत सातामा दुई वटा उडान हुने जनाइसकेको छ । यसअघि दुई देशका सरकारी स्वामित्वमा सञ्चालित वायुसेवा कम्पनीले दैनिक एक/एक उडान गर्दै आएकोमा बिहीबारदेखि सातामा एक/एक उडान हुनेछन् । उक्त उडान अन्तरगत नेपाल वायुसेवा निगमले एयरबस ३२० (न्यारोवडी जहाजबाट) बुधबार उडान गर्ने जनाएको छ । निगमले यसअघि नै उडान तालिका अन्तरगत बुधबारमात्र उडान गर्न लागेको हो । निगमले काठमाडौँ–नयाँदिल्ली बिहान ११:५ बजे र नयाँदिल्ली–काठमाडौँ सोही दिनको दिउँसो ३:४५ मा उडान गर्दै आएको छ । एयर बबल मार्फत काठमाडौँ आउने यात्रुहरुलाई संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले अनिवार्य रुपमा १० दिन होटलमा क्यारेन्टाइन बस्नुपर्ने जनाईसकेको छ । १० दिन होटलमा बस्नुपर्ने भन्दै मन्त्रालयले विभिन्न ८ वटा होटललाई क्यारेन्टाइनको रुपमा छुट्टाइसकेको छ ।
भारतबाट नेपाल आउनेले १० दिन होटल बसेकाे ३० हजार तिर्नु पर्ने, यी हुन् क्वारिन्टनका लागि तोकिएका ८ होटल
काठमाडौं । भारतबाट हवाइजहाज मार्फत नेपाल आउनेले अनिवार्य रुपमा १० दिन होलटमा क्वारेन्टिन बस्नुपर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले भारतबाट नेपाल आएका यात्रुलाई बस्न काठमाडौं उपत्यकाका विभिन्न ८ वटा होटल तोकेको छ । मन्त्रालयले १० कोठादेखि ९१ वटा कोठासम्म भएको होलटलाई क्वारेन्टिनको रुपमा तोकेको हो । मन्त्रायलले गोदावरीमा रहेको ९१ कोठा भएको भ्यू भृकुटी होटललाई भारतबाट आएका यात्रुका लागि क्वारेन्टिनको रुपमा छुट्टाएको हो । यस्तैगरी, गुहेश्वरीस्थित माधव होटेल, एयरर्पोटस्थित एयरर्पोट होटेल, गौसालामा रहेका अमादब्लम, रिडर्स इन र आनन्द आश्रम होटल, जगातीमा रहेको फार्म हाउस रिर्सोट र ए–वान रिर्सोटलाई होटेल क्वारेन्टाइनका रुपमा तोकिएको छ । दैनिक तीन हजार शुल्क भारतबाट नेपालमा हवाइजहाज मार्फत आउने यात्रुका लागि होटल क्वारेन्टिनका रुपमा छुट्टाइएका आठ वटा होटलले न्यूनतम तीन हजारसम्म शुल्क लिन पाउनेछन् । प्रतिदिन होटल बसेको ३ हजार रुपैयाँ तिर्दा १० दिन बसेको एक जनाले ३० हजार रुपैयाँ तिर्नु पर्ने देखिएको छ । ती होटेलले यात्रुलाई विमानस्थलबाट होटेलसम्म ल्याउनुका साथै खाना र बसोबासको सुविधा दिने छन् । मूल्य अभिवृद्धि कर र सेवा शूल्कसहित बढीमा प्रतिव्यक्ति ३ हजार रुपैयाँसम्म मात्र शूल्क लिन पाइने गरी होटेलमा क्वारेन्टाइन तोकिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले नेपाल पर्यटन बोर्डलाई नेपाल वायुसेवा निगम र एयर इण्डियाको समन्वयमा यात्रुको विवरण लिने र यात्रुको क्वारेन्टिन व्यवस्थापनमा सहयोग गर्ने गरी जिम्मेवारी दिएको छ । यस्तैगरी, यात्रुु र होटलहरुले स्वास्थ्य मापदण्डको पालन गरे/नगरेको सम्बन्धमा पर्यटन विभागका महानिर्देशक, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत र नेपाल प्रहरीको संयुक्त टोलीले अनुगमन गरी दैनिक प्रतिवेदन नियमित रुपमा सीसीएमसी, पर्यटन मन्त्रालय र गृह मन्त्रालयमा बुझाउनुपर्नेछ । यात्रु अनिवार्य १० दिन क्वारेन्टिन बस्नु पर्नेछ । त्यसरी नबसेको पाइएमा होटेलले प्रहरीलाई खबर गर्नुपर्नेछ भने यात्रुले १० दिनको होटल क्वारेन्टाइनको मापदण्ड पालन नगरेको पाईएमा संक्रामक रोग ऐन, २०२० बमोजिम कानूनी कारवाही समेत गरिनेछ ।