बन्द हुदैँछ काठमाडौं-नयाँदिल्ली उडान ?

काठमाडौं । पछिल्लो समय भारतमा कोरोना भाइरस (कोभिड–१९) का संक्रमितको संख्यामा वृद्धि भएसगैँ धेरै देशले भारतमा हुँदै आएका उडानहरु स्थगीत गरेका छन् । धेरै देशले कोरोना भाइरस फैलन नदिन भन्दै उडान नै स्थगीत गरेपनि काठमाडौबाट दैनिक एक/एक उडान हुँदै आएका छन् । धेरै देशले अस्थायी रुपमा उडान बन्द गरेपछि नेपाल सरकारले उडान पुनर्विचारको तयारी गरेको छ । पछिल्लो समय भारतबाट धेरै भारतीय नागरिकहरु नेपाल भित्रिएपछि नेपालमा संक्रमितको संख्या बढ्न सक्ने भन्दै उडान सम्बन्धनमा छलफल भएको नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले जनाएको छ । ‘भारतमा अवस्था भयावह छ । भारतबाट काठमाडौं उडानको अकुपेन्सी फुल (जहाज भरीभराउ) छ । हाम्रो ध्यान तत्काल काठमाडौं–नयाँदिल्ली उडान बन्द गर्नपर्छ भन्ने छ’, क्यान स्रोतले भन्यो, ‘हामीले तत्काल उडान बन्द गर्नुपर्छ भनेर संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयसँग जानकारी माग गरेका थियौँ । छलफल भएपनि मन्त्रालयबाट अनुमति पाईएको छैन ।’ क्यानका प्रवक्ता राजकुमार क्षेत्री नयाँदिल्लीमा हुदैँ आएको उडान पुनर्विचार गर्ने सम्बन्धमा छलफल भएपनि कुनै निर्णय नभएको बताउँछन् । ‘धेरै देशले भारत उडान स्थगित गरेका छन, हामीले पनि उडान सुचारु गर्ने कि बन्द गर्ने विषयमा छलफल गरेका छौँ, उडान पुनर्विचारको सम्बन्धमा छलफल भएपनि निर्णय भएको छैन’, उनले भने । नेपाल सरकारले कोरोना भाइरसका कारण बन्द गरेको उडान धेरै देशमा सुचारु भएपछि गत मंसिरबाट मात्र भारत उडान सुचारु गरिएको थियो । एयर बबल (दुई देशका राष्ट्रिय ध्वजावाहकको दैनिक एक/एक उडान) मार्फत उडान सुरु गरिएको थियो । हाल काठमाडौं–दिल्ली दैनिक एक/एक उडान हुन्छ । जसमा भारत सरकारको स्वामित्वमा सञ्चालित एयर इण्डिया र नेपाल सरकारको स्वामित्वमा सञ्चालित नेपाल वायुसेवा निगमले दैनिक १–१ उडान गर्दै आएका छन् । अधिकांश देशले रोके भारत उडान पछिल्लो समय भारतमा दोस्रो लहरको संक्रमण देखिएपछि अधिकांश देशले उडान भारत उडान बन्द गरेका छन् । हालसम्म क्यानडा, बेलायत, फ्रान्स, अष्ट्रेलिया, हङकङ, संयुक्त अरब इमिरेट्स, सिंगापुर, न्यूजील्याण्ड, साउदी अरब लगायतका देशले भारतमा उडान रोकेका हुन् । धेरै देशले भारतमा हुदैँ आएको उडान रोकेपछि भारतीय नागरिकका ट्राजिट हव काठमाडौँ विमानस्थल बनेको छ । साउदी सरकारले भारतमा हुँदै आएको उडान कोरोनाका कारण बन्द गरेपछि नेपाल हुँदै भारतीयहरु साउदी जाने गरेका छन् । धरै भारतीयहरु काठमाडौं–नयाँदिल्ली उडान मार्फत साउदी लगायतका विभिन्न गन्तव्यमा जाने गरेका छन् । भारतबाट नेपाल आएका भारतीय ७२ घन्टाको पीसीआर परीक्षणको नेगेटिभ रिपोटका आधारमा निफिष्की रुपमा घुम्दा नेपालमा संक्रमितको संख्यामा वृद्धि हुने अनुमान गरिएको छ ।दैनिक तीन सयभन्दा बढी भारतीयहरु त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल (काठमाडौं विमानस्थल) हुँदै नेपाल भित्रने गरेका छन् ।

सगरमाथा आरोहणमा कोटा निर्धारण, एक पटकमा १७० जनाभन्दा बढी जान नपाउने

काठमाडौं । यस सिजनको हिमाल आरोहण अन्तर्गत सर्वाेच्च शिखर सगरमाथा आरोहणमा एक पटक एक सय ७० जना आरोहीले मात्र आरोहण गर्ने पाउने भएका छन् । पर्यटन विभागले सगरमाथा आरोहणका क्रममा बढी भिडभाड हुने भन्दै आरोहणलाई व्यवस्थित गर्न र ट्राफिक जाम कम गर्न भन्दै कोटा प्रणाली लागु गरेको हो । विभागले एक सूचना जारी गर्दै आरोहणका लागि रोप फिक्सीङ (डोरी टाग्ने) काम सम्पन्न भएपछि अनुकुल मौसम अनुसार पहिला अनुमति लिने आरोहीले पहिलो चरणमा आरोहण गर्न सक्ने जनाएको हो । विभागको सूचना अनुसार पहिलो चरणमा आरोहण अनुमति पत्र नम्बर ६, ७, ९, १४, १७, १९, २०, २२, २३, २४, २५, २६, २७, ३२, ३४, ३६, ३७ र ३८ मार्फत अनुमति लिएका आरोही र दलले पहिलो चरणमा चुचुरोमा जान पाउने छन् । उनीहरु आरोहणबाट फर्किसकेपछि आरोहण अनुमति पत्र नम्बर ४०, ४१, ४३, ४५, ४६, ४७, ४९, ५०, ५१, ५२, ५५, ५७, ५९, ६२, ६३, ६७ र ६८ मार्फत अनुमति लिएका आरोहीले चुचुरोमा जान पाउनेछन् । यसले सबै आरोही एकै पटक आरोहणमार्गमा लामबद्ध हुँदा हुने जाम कम गर्न सहयोग पुग्ने विभागको अपेक्षा छ । कोटा प्रणालीले आरोहणमा असहज अवस्था आएमा सम्बन्धित एजेन्सीलाई आपसी सहमति र समन्वयमा १५० देखि १७० जनाको संख्यामा आरोहणमा असर नपर्ने गरी आरोहीहरुलाई आरोहणमा पठाउने जिम्मा दिईएको विभाग अन्तरर्गतकाे पर्वतारोहण शाखाले जनाएको छ । यस्तैगरी विभागले यस सिजनमा कुनै एक हिमाल आरोहण गरेका वा कुनै क्षेत्रमा पदयात्रा गरी फर्किएका आरोहीलाई अर्काे हिमालमा आरोहण गर्नुअघि अनिवार्य रुपमा पीसीआर परीक्षण गरेर हिमाल आरोहण गर्न अनुरोध गरेको छ । अनुमति प्राप्त हिमालको लस्कर मार्गमा यात्रारत रहँदा, आधार शिविरमा बस्दा साथै सो भन्दा माथिल्लो लस्कर मार्गमा यात्रामा रहदाँ आफ्नो समूहमा मात्र रहने, अनावश्यक भिडभाड नगर्ने व्यवस्था मिलाउन सम्बन्धित स्थानीय आरोहण व्यवस्थान गर्ने एसेन्सी र पर्वतीय पथ प्रदर्शकले मिलाउनुपर्नेछ । ६५९ आरोहीलाई आरोहण अनुमति यस सिजनको आरोहण अन्तर्गत पर्यगन विभागबाट १६ वटा हिमाल आरोहण गर्न ६ सय ५९ जना आरोहीले आरोहण अनुमति लिएका छन् । मंगलबार साँझसम्मको तथ्यांक अनुसार ५११ पुरुष र १४८ महिला आरोहीले आरोहण अनुमति लिएका हुन । विभागको तथ्यांक अनुसार सगरमाथा आरोहणमा सबैभन्दा धेरै ३७१ जना आरोहीले अनुमति लिएका छन् । यस्तै, ल्होत्सेमा १०४, अन्नपूर्णमा ४४, आमादब्लमा २७, धौलागिरीमा ३० र नुप्सेमा २३ जना आरोहीले आरोहण अनुमति लिइसकेका छन् । यस वर्षको आरोहण अन्तरगत अन्नपूर्ण हिमालको सफल आरोहण भइसकेको छ भने आरोहीहरु अन्य हिमाल आरोहणको तयारी गरिरहेका छन् । १६ वटा हिमाल आरोहणको अनुमतिबाट विभागले ४९ करोड रुपैयाँ बढी राजश्व संकलन गरिसकेको छ ।

स्टे अडरकै भरमा ठूला क्यासिनो, बक्यौता एक अर्ब

काठमाडौं । अर्बाैंको खेल खेलाउने चार क्यासिनो सञ्चालकका १३ क्यासिनोले सरकारलाई तिर्न बाँकी रोयल्टी रकम करिब एक अर्ब रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७०÷०७१ देखि क्यासिनो सञ्चालकले सरकारलाई शुल्क बुझाएका छैनन् । उनीहरु शुल्क नबुझाई अदालत जाने गर्दा बक्यौता रकम थपिने गरेको पर्यटन विभागले जनाएको छ । ती क्यासिनोहरुको ७५ करोड एक लाख ५१ हजार बढी रुपैयाँ बक्यौता रहेको छ । क्यासिनो ह्याप्पी आवर प्रालिले सञ्चालन गरेको ४ क्यासिनोले २१ करोड ५५ लाख रुपैयाँ बक्यौता रहेको छ । ह्याप्पीले आर्थिक बर्ष २०७३/०७४ बाट सरकारलाई बुझाउनुपर्ने बक्यौता रकम भुक्तानी गरेको छैन । विभागको तथ्यांक अनुसार ह्याप्पीले २०७३/०७४ मा ५ करोड ३२ लाख ५० हजार रुपैयाँ, २०७४/०७५ मा ५ करोड ९० लाख रुपैयाँ, २०७५/०७६ मा ५ करोड २० लाख रुपैयाँ र २०७६/०७७ मा ५ करोड १२ लाख ५० हजार रुपैयाँ रहेको छ । क्यासिनो ह्याप्पी आवर प्रालिका गोकर्ण लामिछाने, सुरेन्द्रवहादर सिह, भोजबहादुर बम, शारदादेवि सिंहले होटल स्वीटहि«म महेन्द्रनगर, होटल लाकौल भैरहवा, होटल स्नेहा नेपालगञ्ज र होटल ढाका काकडभित्तामा गरी चार स्थानमा सञ्चालन गर्दै आएका छन् । त्यस्तै, क्यासिनो रक (रक इन्टरनेशनल प्रालि) ले सञ्चालन गरेको चार वटा क्यासिनोको बक्यौता रकम ११ करोड ४५ लाख रुपैयाँभन्दा बढी रहेको छ । आर्थिक वर्ष २०७०/०७१ देखि बक्यौता रकम भुक्तानी नगरेको उक्त क्यासिनो अदालतको स्टे अडरकै भरमा हालसम्म सञ्चालन भइरहेको छ । आर्थिक बर्ष २०७०/०७१ मा २ करोड ९१ लाख ३७ हजार रुपैयाँ, २०७१/०७२ मा ४ लाख ४५ हजार, २०७२/०७३ मा ५ लाख, २०७३/०७४ देखि २०७६/०७७ मा २/२ करोड गरी ११ करोड ४५ लाख रुपैयाँभन्दा बढी बक्यौता रहेको छ । किशोर सिलवाल र उषा सिलवालले सञ्चालन गर्दै आएको होटल साथी धनगढी, होटल सूरज विरगञ्ज, होटल नान्स भैरहवा, होटल रियाज काकडभित्तामा क्यासिनो सञ्चालन गरेका छन् । सेन्ट्ररल मिडिया प्रालिले सञ्चालन गरेको सि एम जी क्लब –मिनि क्यासिनो) ले होटल आपेरा महेन्द्रनगर, होटल भिस्वा विरगञ्ज, होटल रत्ना विराटनगर, होटल प्लाटिनियम ताहाचल काठमाडौंमा गरि चार स्थानमा सञ्चालन गरेको क्लबको १३ करोड बढी बक्यौता रकम रहेको छ । उक्त क्यासिनोले आर्थिक वर्ष २०७०/०७१ देखि सरकारलाई बुझाउनुपर्ने गर्नुपर्ने बक्यौता रकम भुक्तानी गरेको छैन । उक्त क्यासिनोले गत आर्थिक २०७०/०७१ मा ४ करोड ८७ लाख, २०७१/०७२ मा एक करोड ४० लाख, २०७३/०७४ देखि २०७५/०७६ सम्मको दुई करोड ४० गरी तीन वर्षको सात करोड २० लाख र २०७६/०७७ मा दुई करोड ९० लाख गरी सात वर्षको १३ करोड ३९ लाख ५० हजार बढी रुपैयाँ बक्यौता रहेको छ । यसैगरी पाँच तारे होटल र्याड क्यासिनो (भेनस रिक्रियशन प्रालि) ले आर्थिक वर्ष २०७०/०७१ देखि बक्यौता रकम भुक्तानी गरेको छैन । उक्त क्यासिनाले २०७०/०७१ मा ७ करोड २५ लाख, २०७१/०७२ मा ४ करोड ९० लाख, २०७२/०७३ मा एक करोड ९० लाख, २०७३/०७४ मा तीन करोड १५ लाख, २०७५/०७६ मा ५ करोड ४० लाख र २०७६/०७७ ६ करोड ५५ लाख गरी सात वर्षको २८ करोड ८० लाख बढी बक्यौता रकम रहेको छ । ठूला क्यासिनोका लागि तीन करोड र सानो क्यासिनोलाई ७५ लाख रुपैयाँ शुल्क तोकिएकोमा आर्थिक बर्ष २०७५/०७६ देखि क्यासिनो सञ्चालन रोयल्टी शुल्कमा वृद्धि भएको छ । नयाँ नियमावली अनुसार ठूला क्यानिसो सञ्चालन गर्दा चार करोड र साना क्यासिनो सञ्चालन गर्न एक करोड रुपैयाँ तिुर्नपर्ने हुन्छ । ठूलो क्यासिनो सञ्चालन गर्न २५ करोड पुँजी र सानो क्यासिनो सञ्चालन गर्न १५ करोड पुँजी आवश्यक पर्छ । यसको फाइदा उठाउँदै सञ्चालकले पहुँचका भरमा अदालतबाट अन्तरिम आदेश जारी गराएर क्यासिनो सञ्चालन गरिरहेका छन् । क्यासिनो रक २०७१ असार १३ गतेको अन्तरिम आदेशपछि बक्यौता रकम भुक्तानीबिनै सञ्चालन भइरहेको छ । यस्तै, सीएमजी क्लब (मिनी क्यासिनो) ले २०७१ साल साउन १५ गते, र्याड क्यासिनो र क्यासिनो ह्याप्पी आवरले २०७३ जेठ १६ गते अन्तरिम आदेश लिँदै क्यासिनो सञ्चालन गर्दै आएका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २०७१ साल बैशाख ५ गते चारवटै क्यासिनो बन्द गर्न दिएको आदेश नमान्ने भन्दै क्यासिनो सञ्चालकहरु अदालत गएका थिए । अदालतले अन्तिम टुङगो नलागेसम्म कार्यान्वयन नगर्नु भन्दै सर्वाच्च अदालले २०७३ जेठ १६ गते निवेदकलाई यथावत पेशा, रोजगार र वयवसाय सञ्चालन गर्न दिनु भनी नियमावली २०४९ को नियम ४१ (१) बमोजिम क्यासिनो सञ्चाललको नाममा अन्तिरिक आदेश जारी गरेको थियो ।