काठमाडौंको ३६० दृश्यको आनन्द लिन सकिने ताहिना टेरेस चैत ३१ गतेदेखि खुल्दै

काठमाडौं । काठमाडौं म्यारियट होटलको नयाँ पूर्वी मेडीटेरियन रेस्टुरेन्ट, ताहिना टेरेस अप्रिल १३ अर्थात आगामी चैत ३१ गतेदेखि खुल्ने भएको छ । यो टेरेस सो दिनदेखि साँझ ४ बजेदेखि रातीको १० बजेसम्म सार्वजनिक रुपमा खुला हुन लागेको हो । उक्त टेरेसबाट हिमालको काठमाडौं शहरको ३६० दृश्यको आनन्द लिन सकिनेछ । साँझको लागि भर्खरको बनाइएको पूर्वीय मेडीटेरियन स्नाक्स, सुन्दर ढङ्गले प्रस्तुत गरिएको छ । मेज्जे प्लेटर र रमाईलो बारबेक्यु र कबाबहरु खानेहरुको लागि यो एउटा उत्तम स्थल हो । काठमाडौं शहरको पूर्ण सौन्दर्यता महसुस गर्न सकिने यस ताहिना टेरेसबाट पहाडको सूर्यास्त देख्न सकिने छ । ताहिना टेरेसले आरामदायक भाइब्स, फल्टलेस सर्विस, स्वादिलो खाना र पेय पदार्थहरुको अफर गर्दछ । यस भेन्यूको केही मुख्य हाइलाटहरु भनेका यसका क्याजुअल लाउन्ज एम्बियन्स, ट्रेन्डी शिश, फियूजन सिग्नेचर ककटेलको साथ ताजा बेक्ड मानकिश र अठेन्टिक अरबीक ग्रीलहरु हुन् ।

कर्मचारीले लुकाएर राखेको जहाजका पाटपुर्जा बेच्दै वायुसेवा निगम

काठमाडौं । नेपाल वायुसेवा निगमले कर्मचारीले लुकाएको विमानको पाटपूर्जा बिक्री गर्ने भएको छ । लामो समयदेखि निगमका कर्मचारीेले लुकाएर राखेको पाटपूर्जा निगम सञ्चालक समितिले बिक्री गर्न लागेको हो । तीन वर्षअघि बिक्री भएको जहाजको समेत गरी अन्य जहाजको पाटपूर्जा करिब ३८ लाख अमेरिकी डलर बराबरमा बिक्री गर्न निगमले टेन्डर आह्वान गरेकोे छ । निगमले दुई थान बोइङ जहाजमा प्रयोग हुने इन्जिन र आवश्यक पाटपूर्जा छुट्टाछुट्टै मूल्य तोकेर बिक्रीको प्रस्ताव गरेको छ । दुई थान विमानका लागि आवश्क पर्ने पाटपूर्जाको निगमले ३८ लाख ५४ हजार ८०५ अमेरिकी डलर भन्दा माथिको मूल्य राखेको छ । यस्तै सबैभन्दा बढी शुल्क इन्जिमा राखिएको छ । निगमले ३३ लाख ५५ हजार बढी डलरमा इन्जिन रहेको जनाएको छ । कसरी पत्ता लाग्यो लुकाएको पाटपूर्जा ? नेपाल वायुसेवा निगमले तीन वर्षअघि विस्थापन गरेको बोइङ ७५७ को पाटपूर्जा एक वर्ष अघि भेटिएको थियो । जहाज बिक्री भएपछि लामो समयसम्म निगमका कर्मचारीले लुकाएका उक्त पाटपूर्जा तत्कालीन पर्यटनमन्त्री योगेश भटराईले निगम सुधारका लागि गठन गरेको कार्यदलले भेटाएको थियो । उक्त कार्यदलले लामो समय लगाएर निगम सुधारका लागि आवश्यक सुझाव सहितको प्रतिवेदन पेश गरेका थिए । कार्यदलले बुझाएको अध्ययन प्रतिवेदनका आधारमा निगमले उक्त पाटपूर्जा बिक्री गर्न लागेको हो । करिब तीन महिना लामो समय लगाएर अध्ययन गरेको उक्त कार्यदलले निगमको विमानस्थलको ह्याङगरमा गएर अध्ययन गर्दा शिल नै नतोडेका उपकरणहरु भेटाएको थियो । जहाजका लागि आवश्यक नै नपर्ने उपकरणहरु कर्मचारीहरुले प्रलोभवनमा परी खरिद गरि लुकाएर राख्ने गरेको पाइएको कार्यदलका एक सदस्यले जानकारी दिए । आफूहरुले अध्ययन गर्दा जहाजका लागि आवश्यक नै नपर्ने पाटपूर्जाहरु खरिद गरेको देखिएको र अध्ययन गर्दै जादा तीन वर्षपछिका लागि आवश्यक पर्ने धेरै पाटपूर्जाहरु भेटिएको उनको भनाई छ । बिक्री भइसकेको जहाजको पाटपूर्जाहरु निगमका कर्मचारीहरुले लुकाएको भेटेपछि बिक्री गर्न लागिएको हो । ‘निगमका ईन्जिनियरिङ विभागका कर्मचारीहरुको मिलोमोतोमा धेरै पाटपूर्जाहरु खरिद गर्ने तर जडान नै नगरी थन्काएर राखिने गरेकोे रहेछ । एउटा पार्टको उपकरण बिग्रिएको छ, अन्यको समेत खरिद गरेर राखिने रहेछ । कर्मचारी प्रलोभवनमा परी नबिग्रिएको पाटपूर्जा समेत विदेशमा गएर साटिने रहेछ, नबिग्रिएको उपकरण साटेर कमशल ल्यायो, दुई÷तीन महिनापछि बिग्रिन्छ पुनः विदेशमा मर्मतका लागि लग्ने भन्दै कमिसन खायो, निगममा जहाजका पाटपूर्जा लुकाउने नबिग्रीएकोलाई बिग्रीएको भन्दै बनाउन पठाउने चलन नै रहेछ,’ एक सदस्यले भने । उनका अनुसार पर्यटन मन्त्रीको रुपमा नियुक्त हुने मन्त्रीका लागि चुनाव खर्च उठाउने र निगममा नियुक्त भएर आउने महाप्रबन्धकका लागि कमाउने माध्यन नै निगम बन्ने गरेको थियो । तत्कालिन मन्त्री भटराईले निगममा समग्र सुधार ल्याउने गरी आवश्यक सुझाव दिन पूर्व पर्यटन सचिव सुशील घिमिरेको संयोजकत्वमा ५ सदस्यीय ‘नेपाल वायुसेवा निगम सुधार सुझाव कार्यदल’ गठन गरेका थिए । समितिका सदस्यहरुमा चार्टर्ड एकाउन्टेन्ट प्रमोद कर्ण, व्यवस्थापन विज्ञ डिमप्रकाश पौडेल, पुर्व क्याप्टेन सुधीरशमशेर राई र सदस्य सचिवको रुपमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने थिए । कार्यदलका संयोजक घिमिरेलाई मन्त्री भट्टराईको सिफारिसमा मन्त्रिपरिषद्को बैठकले ४ वर्षका लागि निगम सञ्चालक समितिको अध्यक्षमा नियुक्त गरेको थियो । यसैगरी कार्यदलका सदस्य डिमप्रकाश पौडेललाई गत असोजमा निगमको प्रबन्ध निर्देशकको रुपमा नियुक्त गरिएको छ ।

१० हिमाल आरोहण गर्न ४१९ आरोहीले लिए अनुमति

काठमाडौं । सन् २०२१ को वसन्त ऋतुको हिमाल आरोहण गर्न पर्यटन विभागबाट ४ सय १९ आरोहीले अनुमति लिएका छन् । स्वदेशी तथा विदेशी आरोहीको माग अनुसार विभागले १० हिमाल आरोहणको अनुमति जारी गरिसकेको छ । शुक्रबार साँझसम्म विभागबाट ४९ समूहका ३२९ पुरुष तथा ९० जना महिला आरोहीले अनुमति लिएका हुन् । विभागबाट आरोहण अनुमति लिनेमा सबैभन्दा धेरै सगरमाथा आरोहणको रहेको छ । सगरमाथा आरोहण गर्न २६ समूहका २ सय ४४ जना आरोहीले अनुमति लिएका छन् । यसैगरी, सगरमाथा पछि सबैभन्दा धेरै आरोहीको आर्कषण ल्होत्सेमा रहेको छ । ल्होत्से आरोहण गर्न ७ समूहका ५५ जना आरोहीले अनुमति लिएका छन् । यस्तै, अन्नपूर्ण आरोहण गर्न ४ समूहका ४४, धौलागिरी आरोहण गर्न ४ समूहका ३०, नुप्से आरोहण गर्न ३ समूहका २३ र तिलिचो आरोहण गर्न एक समूहका ८ जना आरोहीले अनुमति लिएका छन् । कोरोना महामारिका कारण गत वर्ष रोकिएको हिमाल आरोहण यस वर्ष सुरु हुन लागेकोे हो । विभागले आरोहीको माग अनुसार यस सिजनको पहिलो हिमाल आरोहण फागुन २५ गते जारी गरेको थियो । १० हिमाल आरोहण अनुमतिबाट विभागले ३३ करोड बढी राजश्व संलकन गरेको छ । आरोहण शूल्क सगरमाथा आरोहणका लागि विदेशीले प्रतिव्यक्ति ११ हजार डलर रोयल्टी तिनुपर्ने व्यवस्था छ भने नेपालीले ७५ हजार रुपियाँ रोयल्टी तिर्नुपर्छ । सगरमाथा आरोहणका लागि बढीमा १५ जनाको समूह बनाउन पाउने व्यवस्था छ । सरकारले आरोहणका लागि ४१५ हिमाल खुला गरेको छ, अझै आरोहणयोग्य १३ सयभन्दा बढी हिमाल रहेको बताइन्छ ।