हुम्लामा तुवाँलोले दुई दिनदेखि हवाई सेवा प्रभावित, आज पनि सम्भावना कम

हुम्ला । हुम्लाको मुख्य यातायातको साधनका रूपमा रहेको हवाई सेवा दुई दिनदेखि प्रभावित भएको छ । जिल्लामा लागेको बाक्लो तुवाँलोका कारण सिमकोट विमानस्थलको हवाई सेवा दुई दिनदेखि प्रभावित भएको हो । आइतबार बिहानदेखि देखिएको धुवाँजस्तो देखिने तुवाँलोका कारण दुई दिनदेखि नेपालगञ्ज तथा सुर्खेतबाट हुने सम्पूर्ण हवाई सेवा बन्द भएको छ । तुवाँलोको कारण दई दिनमा दुई दर्जनभन्दा बढी उडान रद्द भएका छन् । तुवाँलोले सोमबार साँझसम्म पनि जिल्लाभर छोपेकाले आज पनि उडानको सम्भावना कम रहेको छ । उडान नभएपछि यात्रुलाई आवतजावत गर्न असहज भएको छ । काठमाडौंसहित देशभर असर गरेको वायुप्रदूषणले जिल्लाको हवाई सेवा प्रभावित बनाएको हो । आइतबार बिहानदेखि जिल्लामा दृश्य क्षमता (भिजिबिलिटी) नपुग्दा दुई दिनदेखि हवाई सेवा प्रभावित बनेको हो । जिल्लाको एक मात्रै अन्तर जिल्ला जोड्ने हवाई सेवा प्रभावित हुँदा निर्माण सामग्रीदेखि दैनिक उपभोग्य सामग्रीको ढुवानीमा समेत समस्या भएको छ । नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको खाद्यान्न ढुवानीमा समेत बाधा पुगेको छ । रासस

मुस्ताङ जोड्ने सडक थप दुई दिन बन्द

म्याग्दी । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा सिधा यातायात सेवा बन्द हुने समय दुई दिन थपिएको छ । विस्फोटक पदार्थको प्रयोग गरेर स्तरोन्नति र विस्तारको काम गर्न जिल्ला प्रशासन कार्यालय मुस्ताङमा सोमबार बसेको बैठकले चैत १९ गतेसम्म यातायात बन्द गर्ने निर्णय गरेको हो । यसअघि चैत १४ देखि १७ गतेसम्मलाई बेनी–जोमसोम सडकमा सिधा यातायात बन्द गरिएको थियो । प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेलको अध्यक्षतामा बसेको बैठकले तीव्ररूपमा भइरहेको सडक विस्तारको कामलाई पूर्णता दिन दुई दिन समय थप गर्ने निर्णय गरेको बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालय जोमसोमका प्रशासन शाखा प्रमुख नारायण पौडेलले जानकारी दिए । प्रजिअ पौडेलसहित सुरक्षा र आयोजनाका अधिकारीले सडक निर्माणस्थलको स्थलगत निरीक्षण गरेपछि समय थप गर्नुपर्ने निष्कर्ष निकालेका हुन् । उत्तर/दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाले म्याग्दी र मुस्ताङको सिमानामा पर्ने काभ्रेभिर र कैकुखोला क्षेत्रमा सवारी आवतजावत बन्द गरिएको छ । सडक स्तरोन्नति, बेस बगाउने तथा पहिराका कारण सवारी साधन चल्न नसक्ने र चलाउँदा पनि अत्यन्तै जोखिमयुक्त हुने भएकाले सम्भावित जोखिम र दुर्घटना रोक्न सवारी आवागमन बन्द गर्नुपरेको आयोजनाका सूचना अधिकारी अश्विनीकुमार यादवले बताए । सडक बन्द हुने स्थानबाहेकका ठाउँमा भने सवारी चलेका छन् । यातायात व्यवसायीले सवारी साधन परिवर्तन गरेर गन्तव्यमा पुग्ने व्यवस्था मिलाएका छन् । म्याग्दी र मुस्ताङ खण्डको आन्तरिक यातायात सेवामा भने असर नपर्ने बताइएको छ । बेनी–जोमसोम ७६ किमी सडक चार प्याकेजमा स्तरोन्नति भइरहेको छ । प्याकेज नं २ को काभ्रेभिरमा गत पुस १९ गतेदेखि सडक चौडा गर्न शर्मा–गजुरमुखी जेभीले पहाड काट्ने काम गरिरहेको छ । त्यहाँ एक किलोमिटर ६०० मिटर दूरीमा पहाड काट्नुपर्ने जनाइएको छ । काभ्रेभिर बेनी–जोमसोम सडकको जोखिमयुक्त सडक पनि हो । निर्माण कम्पनीले नेपाली सेनाको सहयोगमा विस्फोटक पदार्थको प्रयोग गरी सडक चौडा गर्ने काम गरिरहेको छ । यस्तै सोही खण्डको थासाङ–४ कैकुमा पटक–पटक बाढीले सडक बगाउने र पहिरो जाने हुँदा सडक अवरुद्ध हुने गर्छ । करिब रु छ अर्ब लागतको राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक आयोजना विसं २०७४ देखि निमार्ण शुरु भएको हो । एक सय १० किलोमिटर दूरीको जोमसोम–कोरला सडक ग्राभेल गर्ने काम भइरहेको छ । करिडोरका अनुसार जोमसोम–कोरला सडकको सात प्याकेजमध्ये चार प्याकेजको काम निर्माण सकिएको छ । बेनी–जोमसोम सडकमा ६० प्रतिशत र जोमसोम–कोरला सडकमा ८५ प्रतिशत भौतिक प्रगति भएको छ । रासस

सर्वाेच्चको आदेशपछि माउन्टेन गाइडलाई लाइसेन्स दिन रोक

काठमाडौं । पर्यटन विभागले माउन्टेन गाइडलाई वितरण गरेको परिचयपत्र (लाइसेन्स) अनिश्चीत समयका लागि स्थगीत गरेको छ । नेपाल पर्वतारोहण संघ (एनएमए) को रातो किताबको आधारमा माउन्टेन गाइडलाई प्रमाणपत्र वितरण नगर्न सर्वाेच्चले आन्तरिक आदेश जारी गरेपछि विभागले स्थगीत गरेको हो । चैत ९ गतेसंस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय सहित पर्यटन विभागलाई रातो किताबको आधारमा माउन्टेन गाइडलाई प्रमाणपत्र वितरण नगर्न सर्वाेच्चले आन्तरिक आदेश जारी गरेको थियो । सर्वाेच्चले आदेश दिएको ६ दिनपछि विभागले सोमबार एक सूचना जारी गर्दै लाइसेन्स वितरणको कार्य स्थगीत भएको जनाएको हो । सर्वाेच्चको आदेश विपरित चैत १० गतेदेखि विभागले माउन्टेन गाइडलाई परिचयपत्र वितरण शुरु गरेको छ । विभागले कीर्तिमानी आरोही कामिरिता शेर्पालाई पहिलो परिचयपत्र दिएको सरकारी लाइसेन्स वितरण शुरु गरेको हो । चैत १० गते अर्थात पहिलो दिन ८८ जनालाई लाइसेन्स वितरण गरको विभागले ५ दिनको अबधिमा १ सय १० भन्दा बढी गाइडलाई लाइसेन्स वितरण गरिसकेको छ । सर्वाेच्च अदालतबाट नजिकै भृकुटिमण्डपमा रहेको पर्यटन विभागमा अदालतबाट आदेश भएको ७ दिनपछि सोमबार बिहान मात्र जानकारी आएको विभागले जनाएको छ । ‘आज बिहान हामीलाई सर्वोच्चबाट जानकारी आएको छ, आधिकारिक रुपमा जानकारी आएपछि हामीले वितरणको कार्य स्थगीत गरेका हौँ’, विभाग स्रोतले भन्यो । सर्वोच्चले सो विषयमा १५ दिनभित्र लिखित जवाफसहित उपस्थित हुन दुबै पक्षलाई आदेश दिएको छ । यस्तै, चैत १८ गते छलफलका लागि पक्ष र विपक्षलाई सर्वोच्चमा बोलाएको छ । नेपाल पर्वतीय पथ प्रदर्शकको परिचय पत्र उपलब्ध गराउने निर्णयको विरुद्धमा ४३ जनाको प्रतिनिधित्व गर्दै अधिवक्ता प्रविण खरेलले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।