काठमाडौं । यस वर्षको शरद ऋतुमा विभिन्न ६ वटा हिमाल आरोहणका लागि ६३ देशका ४६ वटा टोलीका ५१३ जना आरोहीहरूले अनुमति पाएका छन् । पर्यटन विभागको तथ्यांकअनुसार हिमाल आरोहण अनुमतिबापत सरकारले कुल २१ करोड ७९ लाख ५२ हजार ८३ रुपैयाँ (१४ लाख ३४ हजार १९३ अमेरिकी डलर) रोयल्टी सङ्कलन गरेको छ ।
यस याममा आरोहीहरूको पहिलो रोजाइ मनास्लु हिमाल बनेको छ । कुल ५१३ आरोहीमध्ये ४६६ जना मनास्लु आरोहणका लागि ३९ वटा टोलीमा प्रस्थान गर्दैछन् । जसमा ३४२ जना पुरुष र १२४ जना महिला रहेका छन् । मनास्लुबाट मात्रै २१ करोड २४ लाख ४८ हजार ७५० रुपैयाँ रोयल्टी संकलन भएको छ ।
मनास्लुपछि धौलागिरी आरोहणका लागि १९ जनाले अनुमति लिएका छन् । उक्त हिमालबाट सरकारले ४३ लाख ३० हजार ९५० रुपैयाँ रोयल्टी संकलन गरेको छ ।
मकालु हिमाल आरोहणका लागि ३ जनाले अनुमति लिएका छन् । जसबाट सरकारले ६ लाख ८८ हजार ५० रुपैयाँ रोयल्टी संकलन गरेको छ । दंगा हिमाल आरोहणका लागि १६ जनाले अनुमति लिएका छन् । उक्त हिमालबाट सरकारलाई १ लाख ७६ हजार ५२८ रुपैयाँ रोयल्टी प्राप्त भएको छ ।
त्यस्तै, थ्रोङ पिक हिमालबाट ७ जना आरोहीले अनुमति लिएका छन् । उक्त हिमालबाट १ लाख ८६ हजार ४४५ रुपैयाँ रोयल्टी संकलन भएको छ । गंगापूर्ण वेस्ट हिमालबाट १ लाख २१ हजार ३६० रुपैयाँ रोयल्टी संकलन भएको छ । उक्त हिमाल आरोहणका लागि २ जनाले अनुमति लिएका छन् ।
कुन देशबाट कति आरोही ?
हिमाल आरोहणका लागि सबैभन्दा धेरै चिनियाँ आरोहीहरू रहेका छन् । चीनबाट मात्रै ११५ जना आरोहीले अनुमति लिएका छन् । जसमा ८२ जना पुरुष र ३३ जना महिला रहेका छन् ।
चीनपछि रुसबाट हिमाल आरोहणका लागि ५३ जनाले अनुमति लिएका छन् । जसमा ३४ जना पुरुष र १९ जना महिला रहेका छन् । त्यस्तै, संयुक्त राज्य अमेरिकाबाट ३७ जना आरोहीले अनुमति लिएका छन् । तीमध्ये २८ जना पुरुष र ६ जना महिला छन् ।
फ्रान्सबाट २७ जना आरोहीले हिमाल आरोहणको लागि अनुमति लिएकोमा २३ जना पुरुष र ४ जना महिला रहेका छन् । त्यस्तै, जर्मनी र जापनबाट १६/१६ जनाले हिमाल आरोहणको लागि अनुमति लिएका छन् ।
अस्ट्रेलिया, क्यानडा, पोल्याण्ड र नेपालबाट १५/१५ जनाले हिमाल आरोहणको लागि अनुमति लिएका छन् । त्यस्तै, भारतबाट १४ जना, स्पेन र स्विट्जरल्याण्डबाट १०/१० र युक्रेनबाट ९ जनाले आरोहण अनुमति लिएका छन् ।