काठमाडौं । नेपाल पर्यटन बोर्डले कार्यकारी प्रमुख (सीईओ) पदका लागि दरखास्त आह्वान गरेको छ । बोर्डले आज एक सूचना जारी गर्दै योग्यता पुगेका नेपाली नागरिकहरूबाट आवेदन माग गरेको हो ।
बोर्डले नेपाल पर्यटन बोर्ड ऐन, २०५३ बमोजिम खुला प्रतिस्पर्धाबाट सीईओ छनोट गर्न लागिएको जनाएको छ । इच्छुक तथा योग्य उम्मेदवारले सूचना प्रकाशित भएको मितिले १० दिनभित्र आवश्यक सम्पूर्ण कागजातसहित आवेदन पेस गर्न बोर्डले सूचना जारी गरेको छ ।
सीईओ पदको लागि नेपाली नागरिक हुनुका साथै मान्यता प्राप्त शैक्षिक संस्थाबाट कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ । साथै, पर्यटन क्षेत्रमा कम्तीमा १० वर्षको कार्यअनुभव हुनु अनिवार्य गरिएको छ ।
आवश्यक कागजातहरु
उम्मेदवारले आफ्ना प्रमाणित व्यक्तिगत विवरण, शैक्षिक तथा अनुभवका प्रमाणपत्र पेश गर्नुपर्ने हुन्छ । त्यसको अतिरिक्त बोर्डको प्रभावकारिता अभिवृद्धिका लागि अधिकतम ३ हजार शब्दको ‘रणनीतिक कार्ययोजना’ पेश गर्नुपर्ने छ ।
यसका साथै, आफूले हासिल गरेका मुख्य उपलब्धि समेटिएको अधिकतम एक हजार शब्दको प्रतिवेदन र स्वघोषणा पत्रसमेत संलग्न गर्नुपर्ने सूचनामा उल्लेख छ ।
दरखास्त दस्तुर
आवेदनका लागि १५ हजार दस्तुर निर्धारण गरेको छ । आवेदकले नबिल बैंकको तीनधारा शाखामा रहेको नेपाल पर्यटन बोर्डको खातामा जम्मा गरी भौचर पेश गर्नुपर्नेछ । उम्मेदवारले भृकुटीमण्डपस्थित बोर्डको कार्यालयमा वा इमेलमार्फत आफ्नो आवेदन पठाउन सक्नेछन् ।