कोरोना अवधिभर होटल व्यवसायीको कर मिनाहा

काठमाडौं । धुलिखेल नगरपालिकाले कोभिड-१९ संक्रमणको जोखिम रहुञ्जेल होटल व्यवसायले तिर्नुपर्ने व्यवसाय कर मिनाहा गर्ने भएको छ । कोभिड-१९ संक्रमणको पहिलो लहरको समयमा अघिल्लो बर्ष निषेधाज्ञा, बन्दाबन्दीको समयमा होटल व्यवसाय चल्न नसकेको भन्दै बन्दाबन्दीको समयको व्यवसाय कर मिनाहा गरेको थियो । बिहीबार धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जु श्रेष्ठले कोरोनाका कारण अप्ठ्यारोमा परेका व्यवसायीहरुलाई व्यवसाय कर छुट दिन लागेका बताए । उनले होटल तथा पर्यटन व्यवसायले धुलिखेललाई महत्वपुर्ण योगदान दिएको भन्दै उनले आफुहरुले पनि व्यवसायीको समस्या बुझेर कर छुट दिने निर्णय गरेको बताए । धुलिखेल नगरपालिका क्षेत्रमा सामान्यदेखि विश्वस्तरीय होटलहरु सञ्चालनमा छन् । स्वच्छ वातावरण, हिमालको मनोरम दृश्य देख्न सकिने भएकाले सप्ताअन्तमा आराम गर्न जानेहरुको लागि धुलिखेल परिचित छ । धुलिखेल क्षेत्रका होटल व्यवसायले दिने सेवालाई पनि उत्कृष्ट मानिने गरिन्छ ।

निगमका महाप्रबन्धक भन्छन्ः आगामी १०/१२ दिनमै अक्सिजनको समस्या समाधान हुन्छ

काठमाडौं । नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले आगामी १०/१२ दिनमा अक्सिजनको समस्या समाधान हुने बताएका छन् । उनले नेपाल सरकार सम्बद्द सबै निकायहरुको अहोरात्र सक्रियतामा आगामी १०/१२ दिनमा अक्सिजनको समस्या समाधान हुने जनाएका हुन् । उनले बिहीबार बिहान सामाजिक सञ्जाल (फेसबुक) मा एक सूचना राख्दै साे कुरा बताएका हुन् ।  यस्तै उनले निगमका सबै जहाज तयारी अवस्थामा राखिएको बताएका छन् । उनले सरकारले भनेको अवस्थामा स्वास्थ्य सामग्री ल्याउनेदेखि उद्धार उडान गर्न सबै जहाज तयारी अवस्थामा राखिएको बताएका हुन् । पछिल्लो समय नेपालका अधिकांश स्थानमा अक्सिजन अभावका कारण धेरै कोरोना संक्रमित विरामीको मृत्यु भएको छ । मृत्यु हुने अधिकांश विरामी अक्सिजन अभावका कारण मृत्यु भएको र देशकै ठूला अस्पतालहरुले अक्सिजन अभावका कारण उपचार गर्न नसक्ने भन्दै हात उठाउँदै आएका छन् । नेपालमा अक्सिजन र सिलिण्डर अभाव भयो भनिरहँदा चीन लगायत धेरै देशबाट सहयोग दिने बताईसकेका छन् । जसमा चीन, बंगलादेशबाट अक्सिजन सिलिण्डर नेपाल ल्याईसकिएको छ । नेपाल वायुसेवा निगमले सरकारलाई आवश्यक परेमा जहाज उपलब्ध गराउन तयारी भएको उनकाे भनाई छ ।

अक्सिजन सिलिण्डर लिन शनिबार ओमान जादैँ निगम

काठमाडौं । नेपाल वायुसेवा निगमको जहाज अक्सिजन सिलिण्डर लिन ओमान जाने भएको छ । गैरआवासीय नेपाली संघको सहयोग र नेपाली दूतावास ओमानको सहकार्यमा सहयोग स्वरुप नेपाललाई दिने ६ सय थान अक्सिजन सिलिण्डर लिन निगमको जहाज ओमान जाने भएको हो । उक्त सहयोग स्वरुपका अक्सिजन सिलिण्डर लिन शनिबार ओमानको राजधानी मस्कट जाने तयारी भएको निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले जानकारी दिए । उनका अनुसार निगमको जहाज ओमनबाट फर्केर शनिबार साझ नै बेईजिङ जाने तयारी भएको छ । चीनमा संकलन भएको ४ सय थान अक्सिजन कन्सर्नटेटर, ४ सय थान सिलिण्डर र अन्य चिकित्सा सामग्री ल्याउने तयारी भएको छ । त्यसपछि हरेक दिन ५५० थान सिलिन्डर उत्पादन हुने भएकोले हरेक दिन नै ए ३३० विमान बेइजिङ पठाउने तयारी एयरलाइन्सले गरेको छ । पौडेलले बिहीबार बिहान सामाजिक सञ्जाल मार्फत अन्यत्र उपलब्ध हुन सक्ने सामानहरु ल्याउन निगमका सबै जहाजहरु तयारी अवस्थामा राखिएको जनाएका छन् ।