मनाङमा रोकिएका विदेशी पर्यटकको उद्धार
काठमाडौं । नयाँ भेरियन्ससहितको कोरोना महामारीका कारण हिमालपारिको जिल्ला मनाङमा रोकिएर रहेका पर्यटकलाई उद्धार गरिएको छ । महामारीले जिल्लामा सङ्क्रमितको सङ्ख्या बढ्दै गएका बेला अन्नपूर्ण पदमार्गमा आएका पर्यटकको खोजी गर्दै फिर्ता पठाउने गरिएको छ । केही दिनअघि मात्रै जिल्लाभित्र विभिन्न देशका पर्यटक रोकिएको जानकारी पाएसँगै जिल्ला प्रशासन कार्यालयले उनीहरूको खोजी कार्य थालेको थियो । कुन ठाउँमा कति पर्यटक छन् र उनीहरूको अवस्था कस्तो छ भन्ने सम्बन्धमा अन्नपूर्ण संरक्षण क्षेत्रसँग पर्यटकको तथ्याङ्क लिइएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद लामिछानेले जानकारी दिए । उनका अनुसार अन्नपूर्ण संरक्षण क्षेत्रको तथ्याङ्कमा जिल्लाभित्र २२ विदेशी नागरिक रहेका र उनीहरूलाई फिर्ता पठाउने काम भइरहेको छ । हालसम्म २२ मध्ये १० पर्यटकलाई उद्धार गरिएको छ भने अन्य बाँकी पनि फिर्ता पठाउने काम भइरहेको छ । अन्नपूर्ण संरक्षण क्षेत्रका प्रमुख लेखनाथ गौतमका अनुसार जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र अन्नपूर्ण संरक्षण क्षेत्रको समन्वयमा ङिस्याङ गाउँपालिकाबाट पाँचजना फिस्टेल एयरबाट काठमाडौँ तथा पाँच जनालाई बलेरो जीपबाट पोखरा पठाइएको हो । ङिस्याङ गाउँपालिकाको गाउँमा १४, खाङ्सार तिलिचो बेसक्याम्पमा चार, ङावोलगाउँमा तीन र पिसाङ गाउँमा एकजना गरी जम्मा २२ विदेशी पर्यटक यस जिल्लामा रोकिएका थिए । गौतमका अनुसार अब जिल्लामा १२ पर्यटक बाँकी रहेका छन् । “यहाँबाट हिजो मात्रै जर्मनी, इजरायली, नेदरल्यान्ड, आइरिस र फ्रान्सका नागारिकलाई फिस्टेल हेलिकोप्टरबाट काठमाडौँ पठाइएको छ । केही पर्यटकलाई जिल्ला प्रशासन कार्यालयले सवारी पास बनाई पोखरा पठाएको छ, एकदुईजना आफैँ हिँडेर लमजुङतर्फ गएका पनि छन्”, उनले भने । अन्य जिल्लामा निषेधाज्ञा भए पनि यहाँ भएको छैन । जिल्लामा नेपाल सरकारको स्वास्थ्य मापदण्ड पालना गर्दै हिँड्डुल जारी छ । वैशाखमा १४४ पुरुष र ९७ महिला गरी २४१ विदेशी पर्यटक जिल्ला भित्रिएका थिए । त्यस्तै १९७ ले थोरङ्ला पास गरी मुस्ताङ पुगेका छन् भने १० जना मनाङबाट फर्किएका छन् । नेदरल्यान्डका नागारिक सङ्क्रमित भेटिएपछि मात्र जिल्ला प्रशासन कार्यालयले जिल्लाभित्र रहेका विदेशी पर्यटकको खोजी गर्न थालेको हो । अन्नपूर्ण संरक्षण क्षेत्रले तथ्याङ्क उपलब्ध गराएसँगै यहाँ रहेका पर्यटकको खोजी गरी उनीहरूको इच्छाअनुसार जिल्ला प्रशासन कार्यालयले सवारी पास बनाई गन्तव्यसम्म पठाउने काम गरिरहेको प्रजिअ लामिछानेले बताए । उनका अनुसार केही पर्यटक यहाँ नै बस्न चाहेकाले उनीहरुलाई सुरक्षित साथ रहन आग्रह गर्दै जिल्लाबाहिर जान चाहनेलाई सवारी पासको व्यवस्था गरिएको छ । विदेशी नागरिक अन्नपूर्ण क्षेत्रमा रहेका चेक पोष्टमा परमिट दर्ता गरेर आउने भए पनि अहिलेको अवस्थामा कतिपय दर्ता नभएका पनि रहेको अन्नपूर्ण संरक्षण क्षेत्रले जनाएको छ । कतिपय पर्यटक विना गाइड प्रवेश गरेको संरक्षण क्षेत्रका प्रमुख गौतमले जानकारी दिए । “हाम्रो ठाउँठाउँमा चेक पोष्ट छ, चेक पोष्टमा दर्ता भएकाको तथ्याङ्क हामीसँग हुन्छ तर दर्ता नभएकाको तथ्याङ्क नहुँदा समस्या आउने गरेको छ”, उनले भने । दुई भारतीय नागारिक, तीन इजरायली तथा अन्य फ्रान्स, नेदरल्यान्ड र ब्रिटिस नागरिक रहेका अन्नपूर्ण संरक्षण क्षेत्रले जनाएको छ । हालसम्ममा १० पर्यटकको उद्धार भइसकेको छ भने अन्य १२ जनालाई पनि उद्धार गरी गन्तव्यसम्म पु¥याइने अन्नपूर्ण संरक्षण क्षेत्रले जनाएको छ ।
अक्सिजन सिलिण्डर लिन बेइजिङ जाँदै निगम
काठमाडौं । नेपाल वायुसेवा निगमको जहाज अक्सिजन सिलिण्डर र भेन्टिलेटर लिन चीन जाने भएको छ । चीन सरकारले अनुदानमा दिन लागेको अक्सिजन सिलिण्डर र भेन्टिलेटर लिन निगमको जहाज सोमबार साँझ बेइजिङ जान लागेको हो । शनिबार ओमानबाट अक्सिजन सिलिण्डर ल्याउर बेइजिङ गएको निगमको जहाजले आईतबार ४ सय थान अक्सिजन र १३० थान अक्सिजन कन्सर्नटेटर ल्याएको थियो । यस्तै आईतबार साँझ बेइजिङ उडेको जहाजले सोमबार बिहान ५७५ थान अक्सिजन र २७ थान अक्सिजन कन्सर्नटेटर ल्याइसकेको निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले जानकारी दिए । उनका अनुसार आईतबार र सोमबार मात्र निगमले बेइजिङबाट ९७५ थान अक्सिजन सिलिण्डर र १५७ थान अक्सिजन कन्सर्नटेटर ल्याईसकेको छ । यस्तै, चिनियाँ अनुदानको सामग्री लिन सोमबार र मंगलबार बेइजिङ जानेछ । महाप्रबन्धक पौडेलल सामाजिक सञ्जालमा लेखेका छन, ‘दुई उडान सकेपछि जहा जे पाईन्छ ल्याउने । तर अभाब अक्सिजन जेनेरेटरको हो । खोप को हो । सरकारको प्राथमिकता पनि त्यतै छ । सरकार र यसका निकायहरु एवं नेपाल वायुसेवा निगमले सकेको गरेको छ । आशा गरौं देशले कोरोना माथी बिजय प्राप्त गर्नेछ ।’
काठमाडौंलाई ट्रान्जिट बनाएका भारतीय नागरिक साउदी जान पाउने
काठमाडौं । नेपालमा रोकिएका भारतीय नागरिकलाई साउदी अरब लैजान सरकारले दुई वायुसेवा कम्पनीलाई चार्टर्ड उडान अनुमति दिएको छ । नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले सोमबार नेपाल वायुसेवा निगम र हिमालय एयरलाईनलाई साउदी उडानको अनुमति दिएको हो । कोरोना भाइरस संक्रमणलाई ध्यानमा राख्दै सरकारले गत बैशाख २३ गतेदेखि नियमित अन्तराष्ट्रिय उडान बन्द गर्दा साउदी जान काठमाडौं आएका भारतीय नागरिक नेपालमा रोकिएका थिए । ठूलो संख्यामा भारतीय नेपालमा रोकिएपछि भारतीय दुतावास र साउदी सरकारले आग्रहमा चार्टड उडानको अनुमित दिईएको क्यानका अधिकारीहरु बताउँछन् । कोरोना संक्रमणलाई ध्यानमा राख्दै साउदी सरकारले भारत लगायतका देशबाट हुने उडानमा प्रतिबन्ध लगाएसगैँ भारतीय नागरिकले नेपाललाई ट्राजिन्ट हव बनाएका थिए । कोभिड–१९ संक्रमणलाई ध्यानमा राख्दै सरकारले गत बैशाख १६ गतेदेखि काठमाडौं उपत्यकाका तीन जिल्ला सहित अधिकांश जिल्लामा निषेधाज्ञा लागु गरेको छ । निषेधाज्ञा लागु गरेसगैँ गत बैशाख २० गतेदेखि अनिश्चितकालका लागि आन्तरिक तथा जेठ १७ गतेसम्मका लागि अन्तराष्ट्रिय उडानमा प्रतिबन्ध लगाईएको छ । कुन एयरलाइन्सको कति उडान क्यानले भारतीय नागरिक साउदी लैजानका लागि १० उडान अनुमति दिएको छ । जसमा नेपाल वायुसेवा निगमलाई ७ र हिमालय एयरलाइन्सलाई तीन उडानको अनुमति दिईएको हो । क्यानले हिमालय एयरलाइन्सलाई मंगलबार उडान गर्ने गरी अनुमति दिएको छ । हिमालयले साउदीको दमामका लागि मंगलबार तीन उडान गर्ने तयारी भएको जनाएको छ । यस्तैगरी नेपाल वायुसेवा निगमले हिमालयको उडान पछि उडान गर्ने तयारी गरेको छ । नियमित रुपमा हुने उडान बन्द भएपनि क्यानले चार्टर्ड, उद्धार तथा कार्गाे उडानलाई अनुमित दिने गरेको छ । नेपालमा निषेधाज्ञा सगैँ पछिल्लो समय नेपालमा रोकिएका विदेशीहरु चार्टर्ड उडान मार्फत स्वदेश फर्कने गरेका छन् । उद्धार उडान अन्तरगत सोमबार नेपालमा रोकिएका अमेरिकी नागरिक लैजान टर्किस एयरलाइन्सको जहाज काठमाडौं आउँदैछ । यसअघि आईतबार मात्र नेपालमा रोकिएका अमेरिकी नागरिक लैजाने अमेरिकी दुतावासको पहलमा चार्टर्ड उडान भएको थियो ।