खप्तड जोड्ने सडकमा कालोपत्र सुरु, ४० करोडमा ठेक्का सम्झौता

डोटी । सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड जोड्ने सिलगढी–झिग्राना सडकमा कालोपत्रको काम सुरु गरिएको छ । उक्त सडक कालोपत्रका लागि सुदूरपश्चिम प्रदेश सरकारले बजेट विनियोजन गरी काम शुरु गरेसँगै अहिले कालोपत्र गर्ने काम धममाधम भइरहेको छ । अहिले सिलगढीबाट ओखरबोट हुँदै ओसाइल–बगलेकसम्मको पहिलो ठेक्काअन्तर्गतको सडक कालोपत्रको काम सुरु गरिएको इञ्जिनीयर राजेन्द्र चौधरीले बताए । उनले भने, ‘सिलगढीबाट ओखरबोट हुँदै ओसाइल–बगलेकसम्म कालोपत्र काम सुरु भएको छ, बाँकी काम पनि चाँडै सुरु हुनेछ ।’ सिलगढीबाट झिग्रानासम्मको सडक निर्माणको काम दुई चरणमा सम्झौता भएको छ । पहिलो चरणको ठेक्काअन्तर्गत करिब ७.३५ किमी रहेको उक्त सडकको ६५ प्रतिशत काम सम्पन्न भएको इञ्जिनीयर चौधरीले जानकारी दिए । खप्तड जोड्ने सिलगढी–झिग्राना सडकमा १५.६ किलोमिटर कालोपत्र गर्न ४० करोड ठेक्का सम्झौता भएको छ । उक्त निर्माणको जिम्मा सिएबी कन्स्ट्रक्सन प्रालि जावलाखेल ललितपुरले लिएसँगै कामले तीव्रता पाएको स्थानीयवासी सिद्धराज जोशीले बताए । उनले भने, ‘खप्तड जोड्ने सडकको कामले तीव्रता पाएको छ, समयमै काम सकिए अब खप्तड पुग्न पर्यटकलाई निकै सहज हुनेछ ।’ विगतमा उक्त सडक वर्षात्मा हिलाम्मे र हिउँदमा धुलाम्मे हुँदा वर्षौँदेखि यहाँका स्थानीयवासी सडकको समस्याले आजित बन्दै आएका थिए भने यहाँका प्रमुख पर्यटकीयस्थल खप्तडमा जानसमेत समस्या खेप्दै आएका थिए । अब सडक कालोपत्र हुन थालेपछि यहाँका पर्यटकलाई खप्तड भ्रमणका लागि निकै सहज हुने होटल व्यवसायी सङ्घका जिल्ला अध्यक्ष राजेन्द्र शाहीले बताए । उनले भने, ‘सडक सञ्जाल नभएकै कारण सुन्दर सुदूरपश्चिमको मुटु मानिएको खप्तडमा खासै पर्यटक भित्र्याउन सकेका थिएनौँ, अब सडक कालोपत्र हुने भएपछि पर्यटक भित्र्याउन सहज हुने र यहाँका नागरिकको आयस्तर वृद्धि हुने देखिन्छ ।’ कोरोना जोखिमले देश आक्रान्त बनेको बेला उक्त सडकमा काम गर्ने कामदारको स्वास्थ्य अवस्थालाई ख्याल गर्दै तथा कोरोना जोखिमबाट बच्न अपनाउनुपर्ने सबै विधि अपनाएर काम सुरु भइरहेको सडक निर्माण तथा कालोपत्रको जिम्मा पाएको सिएबी कन्स्ट्रक्सन प्रालि जावलाखेल ललितपुरले जनाएको छ । रासस

बहराइनका राजकुमारसहितको टोलीले गर्यो सगरमाथा आरोहण

काठमाडाैं । बहराइनका राजकुमार शेख मोहम्मद अल खलिफासहितको टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथा (८८८४.८६ मिटर) को सफल आरोहण गरेको छ । बहराइनको राजपरिवारका सदस्यसहितको टोली आज बिहान ६ः४० बजे सगरमाथाको चुचुरोमा पुगेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पर्यटन विभागले जनाएको छ । सगरमाथाको आधार शिविरमा रहेकी विभागका निर्देशक मीरा आचार्यले सामाजिक सञ्जालमा पोष्ट गरेकी छिन्, ‘सन् २०२१ मे ११ स्थानीय समय बिहान ६ः४० बजे बहराइनको राजपरिवारका सदस्यसहितको टोली सगरमाथाको शिखर तथा नेपाली गौरव, शान तथा अनुपम सम्पत्ति सगरमाथाको सफल आरोहण गरेको जानकारी प्राप्त भएको छ । सफल आरोहीलाई सगरमाथा जतिनै उच्च बधाई ।’ बहराइनका अधिराज्यका युवराज शेख नसेर बिन हमिद अल खलिफाका भाइ राजकुमार खलिफासहित १६ जनाको टोली सगरमाथा आरोहणमा गएको थियो । उक्त आरोहण टोलीमा बहराइन रोयल गार्ड (डिफेन्स फोर्स)मा कार्यरत १३ बहराइनी तथा तीन बेलायती छन् । वसन्तयामको सगरमाथा आरोहणका यही वैशाख २४ देखि सुरु भएको थियो । कीर्तिमानी आरोही कामीरिता शेर्पा नेतृत्वको १२ शेर्पा आरोही टोलीले आरोहणका लागि बाटो बनाउन सगरमाथाको चुचुरोमा पुगेको (रोप फिक्सिङ) गरेपछि व्यावसायिक आरोहण सुरु भएको थियो । पर्यटन मन्त्रालयका अनुसार सगरमाथाका लागि सर्वाधिक ४३ आरोही समूहका ४०८ आरोहीले आरोहण अनुमति लिएका छन् । यसमा ९३ महिला र ३१५ पुरुष छन् । वसन्तयामको हिमाल आरोहणमा ७९ देशका ८६ आरोही समूहमा जम्मा ७७४ जना आरोहीले आरोहण अनुमति लिएका छन् । सगरमाथासहितका विभिन्न १९ हिमाल तथा पिक आरोहणका लागि विभिन्न २४ एक्सिपीडिसन कम्पनीमार्फत पर्वतारोही गन्तव्यमा निस्केका हुन् । वसन्तयामको हिमाल आरोहणबाट हालसम्म रु ७१ करोड ४८ लाखभन्दा बढी रोयल्टी सङ्कलन भएकोे छ । सगरमाथाबाट मात्रै रु ६६ करोडभन्दा बढी रोयल्टी जम्मा भएको छ ।

वायुसेवा सञ्चालक संघले भन्यो, कोभिड उद्धारको नाममा बढी भाडा लिइएको छैन

काठमाडाैं । वासुसेवा स‌चालक संघले काेभिड उद्धारकाे नाममा आफुहरुले बढी भाडा नलिएकाे बताएकाे छ । संघले साेमबार एक विज्ञप्ती जारी गर्दै आफुहरुले क्यानले ताेके बमाेजीम भाडा लिएका जनाएकाे हाे । संघले विषम परिस्थितिमा आफुहरुले सामाजिक उत्तरदायित्व सम्झी आफ्नाे ज्युज्यानकाे मतलब नगरी आमजनताकाे जिवन रक्षामा वायुसेवा कम्पनीका कर्मचारीहरु, पाइलट, इन्जिनिएर, ग्राउण्ड स्टाफहरु दिनरात खटिरहेकाे जनाएकाे छ । संघले नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले ताकेको उडान भाडादर अनुसार भाडा लिएको समेत स्पष्ट पारेको छ । विज्ञप्ती अनुसार एएस ३५० हेलिकप्टरकाे युएस डलर १५०० प्रतिघण्टा एवं राेविन्सन्स हेलिकप्टरकाे युएस डलर १००० प्रतिघण्टाकाे दरमा हाल उद्धार गर्दै आइरहेकाे जनाइएकाे छ । स्वास्थ्य मन्त्रालयबाट जारी मापदण्ड अनुसार उडान गर्नुपर्ने हुँदा खटिने पाइलट तथा कर्मचारीहरुलाई पिपिइ सेट, प्यारामेडिकल टाेली, सेमी भेन्टिलेटर मेसिन, थप बीमा र प्रत्येक उडान पश्चात स्यानिटाइजेसन लगायत सामग्री प्रयाेग हुँदा अन्य उडानमा भन्दा समय समेत बढी लाग्ने र प्रति उडान १ लाख ५० हजारभन्दा बढी लाग्ने गरेकाे संघले जनाएकाे छ ।