पर्यटन मन्त्रालयले भन्यो, निगम निजीकरणबारे छलफल समेत भएको छैन
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायुसेवा निगम निजीकरणबारे छलफल समेत नभएको जनाएको छ । मन्त्रालयले आईतबार एक विज्ञप्ति जारी गर्दै निगमलाई निजीकरण गर्ने वा निजी कम्पनिमा रूपान्तरण गर्ने मन्त्रालयको हालसम्म कुनै योजना तथा कार्यक्रम नभएको जनाएको हो । मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारीले जारी गरेको प्रेश विज्ञप्ती अनुसार पछिल्लो समय निगमको निजीकरणबारे अनेक समाचार सम्प्रेषण भइरहेका बेला मन्त्रालयले आफ्नो ध्यानाकर्षण भएको समेत जनाईएको छ । निगममा कार्यरत कर्मचारीहरु निगम सञ्चालक समितिले रातारात निजीकरणको निर्णय गरेर नियमावली तथा प्रवन्धपत्र मन्त्रालयमा पठाएको भन्दै आन्दोलन गर्दै आएका छन् । उनीहरुले कर्मचारीलाई थाहा नदिई निजीकरणको फाइल पर्यटन मन्त्रालयहुँदै अर्थ मन्त्रालयमा पुगेको भन्दै निगमको प्रवन्धपत्र जलाउने देखि महाप्रबन्धक तथा निगममा तालाबन्दी समेत गरेका थिए । उनीहरुले निगमलाई कम्पनी मोडलमा लाने निर्णय फिर्ता नहुँदासम्म आन्दोलन नरोकिने जनाउँदै आएका छन् । निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले अर्थ मन्त्रालय र निगम सञ्चालक समितिको निर्देशनअनुसार काम गरेको भन्दै निजीकरणको विषय हल्लामात्र रहेको बताउँदै आएका छन् । ‘निगमलाई कम्पनी मोडलमा लैजानुपर्छ भन्ने कुरामा म स्पष्ट नै छु,’ पौडेल भन्छन् ‘तर अहिले ऋण धेरै भएकाले कम्पनी मोडलमा तत्काल लैजानु हुँदैन ।’ नियमावली तथा प्रबन्धपत्रमा भएका विषय मस्यौदा मात्रै भएकाले कस्ता प्रावधान राख्ने भन्नेबारे बृहत् छलफल गर्न सकिने उनले बताए । ‘यो कुनै कम्पनी मोडलमा लैजाने निर्णय पनि होइन र यो निगम निजीकरण गर्ने निर्णय पनि होइन, सञ्चालक समितिले पनि कुनै निर्णय गरेको छैन, समितिका निर्णय जहिले पनि नेपाल सरकारको निर्णयको अधिनस्त हुने हुनाले सरकारको निर्णय नै निगमको लागि सर्वमान्य हुन्छन’, उनले सामाजिक सञ्जालमा लेखेका छन, ‘धेरै विकल्पमध्ये कम्पनी मोडल संसारमा अहिलेसम्मको प्रचलित मोडल भएको तर, अहिलेको जस्तो न्यून पुँजी र अत्याधिक कर्जा लिएर कुनै पनि हातलमा कम्पनी मोडलमा जानुहुँदैन भन्ने निगमको स्पष्ट धारणा हो ।’ निगमका अनुसार बजेटमा व्यवस्था भए बमोजिम सङ्गठन सुधारका विभिन्न विकल्पको अध्ययन गर्ने क्रममा कम्पनी मोडलमा सञ्चालन गर्नुपर्ने अवस्थामा प्रयोग हुने प्रबन्धपत्र नियमावलीको ढाँचा तयार गरी असार १५ गते भित्र पेश गर्नु भने अनुसार सञ्चालक समितिले एक उपसमिति बनाइ उक्त उपसमितिले तयार गरेको रणनैतिक साझेदारसहितको ढाँचा हुबहु मन्त्रालयमा पेश गरिएको छ । निगम सञ्चालक समितिले निगमलाई पब्लिक कम्पनीमा रुपान्तरण गर्न प्रबन्धपत्र र नियमावली मस्यौदा गर्न सञ्चालक समिति सदस्य किशोर प्रधानको संयोजकत्वमा समिति गठन गरेको थियो ।
आजदेखि नियमित अन्तर्राष्ट्रिय उडान खुला, सातामा ५३ उडान हुने
काठमाडौं । आजदेखि नियमित अन्तर्राष्ट्रिय उडान खुला भएको छ । दोस्रो लहरको कोरोना भाइरस संक्रमणलाई ध्यानमा राख्दै गत बैशाख २३ गतेदेखि सरकारले भारत बाहेक अन्य गन्तव्यको उडान बन्द गरेको थियो । करिब तीन महिनापछि आजबाट नियमित उडान सुरु भएको हो । मन्त्रिपरिषद्कोे निर्णयका आधारमा नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले आजदेखि विभिन्न गन्तव्यमा सातामा ५३ वटा उडानको अनुमति दिएको हो । विभिन्न मुलुकका गन्तव्यमा उडान गर्दै आएका स्वदेशी र विदेशी विमान कम्पनीले अनुमति पाएका छन् । यसअघि उडान खुला गरेका गन्तव्यमध्ये भारत बाहेकका मुलुकमा हुने उडान संख्या थप गरिएको हो । गत वर्षको बन्दाबन्दीपछि एयर बबल अवधारण अन्तरगत खुला गरिएको भारतको उडान हालसम्म सोही अवधारण अनुसार भइरहेको छ । नेपाल÷भारत दुबै देशको लगानीमा सञ्चालित दुई वटा वायुसेवा कम्पनीले सातामा एक/एक उडान गर्दै आएका छन् । जसअनुसार भारतको नयाँ दिल्लीमा नेपाल वायुसेवा निगमले बुधबार र एयर इन्डियाले सोमबार उडान अनुमति पाएका छन् । यस्तै, दुबईमा नेपाल एयरलाइन्सले हरेक मंगलबार र बिहीबार तथा हिमालय एयरलाइन्सले आइतबार, मंगलबार र बिहीबार उडान अनुमति पाएका छन् । फ्लाई दुबईले आइतबार, बुधबार र शुक्रबारका लागि अनुमति पाएको छ । कतारको दोहामा नेपाल एयरलाइन्स र कतार एयरवेजले हरेक दिन एक–एक उडान गर्नेछन् । हिमालय एयरलाइन्सले दमाममा साताको चार दिन आइतबार, सोमबार, बुधबार र शुक्रबार उडान गर्नेछ । क्वालालाम्पुरमा नेपाल एयरलाइन्सले बुधबार र शनिबार तथा हिमालय एयरलाइन्सले बिहीबार, शुक्रबार र शनिबार, टर्किस एयरलाइन्सले टर्कीको इस्तानबुलमा सोमबार, बिहीबार र शनिबार उडानको अनुमति पाएको छ । यस्तैगरी, जजिरा एयरवेजले कुवेतमा साताको पाँच दिन सोमबार, मंगलबार, बुधबार, बिहीबार र शनिबार उडान गर्नेछ । सलाम एयरले ओमानको मस्कटमा सातामा तीन दिन सोमबार, बुधबार र शनिबार उडानको अनुमति पाएको हो । एयर अरेबियाले आबुधाबीमा आइतबार र मंगलबारको उडान तालिका पाएको छ । सिंगापुर एयरले हरेक आइतबार काठमाडौं उडान गर्नेछ । कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले गत वैशाख २० गतेदेखि आन्तरिक तथा वैशाख २३ देखि अन्तर्राष्ट्रिय उडान स्थगन गरेको थियो । असार १७ देखि खुलेको आन्तरिकतर्फको उडान हाल लकडाउन पहिलेको उडान संख्याको आधारमा ५० प्रतिशत मात्रै सञ्चालनमा थियो । अब भने सबै उडान पहिलेकै अवस्थामा फर्किएका छन् । वायुसेवा कम्पनीको मागका आधारमा क्यानले आन्तरिक उडानको अनुमति दिने जनाएको छ ।
२ महिनापछि सुकेटार विमानस्थलमा जहाज अवतरण
फुङ्लिङ । कोभिड—१९का कारणले लामो समयसम्म बन्द रहेको ताप्लेजुङको सुकेटार विमानस्थलमा आज नेपाल वायुसेवा निगमको जहाज अवतरण भएको छ । कोभिडको कारणले दुई महिनादेखि नियमित उडान बन्द भएकामा आज पहिलोपटक जहाज अवतरण भएको हो । नेपाल वायु सेवा निगमको जहाजले काठमाडौँबाट सात जना यात्रु लिएर आज बिहान सुकेटार आइपुगेको थियो । ताप्लेजुङबाट १६ जना यात्रु लिएर जहाज काठमाडौं फर्केको सुकेटार विमानस्थलका स्टेशन इन्चार्ज लोकेन्द्र लिम्बुले बताए । निगमले गत सोमबारदेखि नै नियमित उडान शुरु गरेको थियो । गत सोमबार काठमाडौँबाट नौ जना यात्रु लिएर आएको विमान मौसम खराबीका कारण अवतरण हुन नसकेपछि जहाज पुनः काठमाडौं फर्केको थियो । सोमबार अवतरण हुन नसकेको जहाज आज अवतरण भएको सुकेटार विमानस्थलका स्टेशन इन्चार्ज लिम्बुले बताए । सुकेटारमा हप्तामा चार दिन (सोमबार, बुधबार, शुक्रबार र शनिबार) नियमित उडान हुने सुकेटर विमानस्थल कार्यालयले जनाएको छ । तत्कालका लागि काठमाडौंदेखि ताप्लेजुङसम्म सात हजार ५० विमान भाडा शुल्क र ताप्लेजुङदेखि काठमाडौं सात हजार १९० भाडा शुल्क तोकिएको कार्यालयले जनाएको छ । निगमले ताप्लेजुङदेखि १ नम्बर प्रदेश राजधानी विराटनगरमा पनि नियमित उडानको लागि प्रक्रिया आगाडि बढिरहेको लिम्बुल बताए । रासस