बागलुङका होटल व्यवसायीका दुःख : न खोप, न खोल्ने अनुमति
फाइल फाेटाे बागलुङ । कोरोना महामारीले होटल व्यवसायमा निम्त्याएको सङ्कट लम्बिँदो छ । निषेधाज्ञा खुकुलो पारिएपनि होटल, रेष्टुरा पहिला झैं खुल्न पाएका छैनन् । स्थानीय प्रशासनले ‘टेक अवे’ र ‘होम डेलिभरी’ मात्र गर्न पाउने प्रावधान तोकेको छ । झण्डै डेढ वर्षदेखि खराब स्थिति झेलिरहेका होटल व्यवसायीहरु कोरोनाविरुद्धको खोपमासमेत प्राथमिकतामा नपर्दा निराश भएका छन् । बन्दाबन्दी र निषेधाज्ञाको प्रत्यक्ष मार होटल व्यवसायमाथि छ । पर्यटन क्षेत्र ठप्प हुँदा र जिल्लाभित्रै पनि मानिसको आउजाउ घटेपछि प्रायः होटल सुनसान बनेका छन् । होटल व्यवसायीका अनुसार व्यापार छैन । घरभाडा, कर्मचारीको तलब, पानी र बिजुलीमा हुने खर्च भने नियमित छ । यहाँका ९५ प्रतिशत होटल भाडाको घरबाट सञ्चालित छन् । ऋणधन गरेर व्यवसाय थालेकाहरुलाई ब्याज र किस्ता चलाउनै धौ धौ छ । छिट्टै व्यवसाय लयमा नफर्के कतिपय व्यवसायी पलायन हुनुपर्ने स्थिति छ । होटल तथा रेष्टुराँ व्यवसायी सङ्घका अध्यक्ष निलेश राजभण्डारीले खोपमा आफूहरुलाई विभेद गरिएको बताए । उनले सेवा क्षेत्रको मुख्य र संवेदनशील व्यवसायलाई सरकारले उपेक्षा गरेको समेत आरोप लगाए । ‘सार्वजनिक यातायात, बजार, कार्यालय खुलेका छन्, तर होटल खोल्न अनुमति दिइएको छैन’, उनले भने । होटल पिस प्यालेसका सञ्चालकसमेत रहेका राजभण्डारीले रेष्टुराले जस्तो ‘टेक अवे’ र ‘होम डेलिभरी’ सेवा होटलले दिन नसक्ने जनाए । होटलमा खाना र रात बिताउनका लागि पाहुना आउने भएपनि त्यही बेला होटल बन्द गर्नुपर्ने नियम अमिल्दो भएको व्यवसायी बताउँछन् । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको निर्णयानुसार जारी निषेधाज्ञामा साँझ ७ बजेसम्म मात्र सेवा सञ्चालन गर्न पाइने उल्लेख छ । यहीबीच होटल व्यवसायीले सोमबार प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीलाई भेटेर व्यवसाय सञ्चालनमा सहजीकरण र खोपको प्रबन्ध गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका छन् । व्यवसायीका पीर मर्का सुनेका प्रजिअ कार्कीले होटल व्यवसाय माथिबाटै प्राथमिकताको सूचिमा नपरेका कारण खोप दिलाउन नसकिएको बताए । उनले केन्द्रको नीति अनुसार तोकेर आएमा अबको चरणमा होटल व्यवसायीलाई खोपको सुनिश्चितता गरिने प्रतिबद्धता व्यक्त गरेका थिए । किराना, मासु, फलफूल तथा तरकारी, ग्यास व्यापारीलगायतले खोप पाइसकेका छन् । अग्रपङ्क्तिमा खटिने सुरक्षाकर्मी, पत्रकार, स्वास्थ्यकर्मीपछि उमेर समूह र अति संवेदनशील व्यवसायलक्षित गरी अहिले खोप अभियान चलिरहेको छ । होटललाई पनि अति संवेदनशील व्यवसायमा सूचिकृत गरी यथाशीघ्र खोप उपलब्ध नगराए तालाचाबी बुझाएर आन्दोलनमा जान व्यवसायीहरु बाध्य हुने होटल व्यवसायी महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष अर्जुन चोखालले बताए । महासंघ र जिल्ला संघले संयुक्त रुपमा प्रजिअसमक्ष बुझाएको ज्ञापनपत्रमा यही साउन १५ गतेभित्र माग पूरा नभए १६ गतेदेखि धर्नालगायत विरोधका कार्यक्रम गरिने उल्लेख छ । यसअघि पटकपटक ध्यानाकर्षण गराउँदा पनि खोप नपाएको व्यवसायीको गुनासो छ । शुरुमा एक सय व्यवसायीलाई मात्र भएपनि खोपको प्रबन्ध गर्न माग गरिएको जिल्ला संघका अध्यक्ष राजभण्डारीले बताए । उमेर समूह र प्राथमिकताप्राप्त क्षेत्र÷पेशा बाहेकका व्यक्तिले पनि भनसुनका आधारमा खोप लगाइरहेका बेला होटल व्यवसायी भने अहिलेसम्म खोपबाट बञ्चित छन् । खोपसँगै सहज रुपमा व्यवसाय सञ्चालन र व्यवसाय पुनःउत्थानका लागि सरकारले राहत र सहुलियत दरको कर्जा प्रवाहको योजना ल्याउनपर्ने व्यवसायीको माग छ । पर्यटन व्यवसाय उकास्नका लागि गण्डकी प्रदेश सरकारले ल्याएको राहत प्याकेजबाट व्यवसायीहरुले नै लाभ लिन नसकेको महासंघका अध्यक्ष चोखालले बताए । ‘कर्जा दिनका लागि बैङ्कले धितो खोज्यो, हाम्रा व्यवसायीहरु अधिकांश गाउँबाट आएर होटल चलाएका छन्, धितो राख्न सक्ने अवस्था छैन’, उनले भने, ‘पहिले पनि कर्जा लिएका र ठूला व्यवसायीले मात्र लाभ लिए ।’ कर्जामा ब्याज मिनाहा, पुनःकर्जा, कर छुटलगायतका योजनाबाट सबै व्यवसायी समान रुपमा लाभान्वित हुने वातावरण बनाउनुपर्ने अध्यक्ष चोखालको भनाइ छ । उनले महामारी अझै यस्तै रहिरहे र राहत पनि नपाउने हो भने व्यवसायीहरु होटल बन्द गर्नुपर्ने अवस्थामा आएको बताए । स्वास्थ्य मापदण्डको पूर्ण पालनासहित होटल व्यवसायलाई नियमित सञ्चालनका लागि अनुमति दिनुपर्ने आवाज व्यवसायीबाट उठेको छ । होटल व्यवस्थापनले पनि भौतिक दूरी कायम गर्ने, पाहुना कम राख्ने, स्वास्थ्य सावधानी अपनाउने कुरामा सचेत हुनुपर्नेमा अध्यक्ष चोखालको जोड छ । यहाँ झण्डै दुई सय होटल, रेष्टुरा छन् । बागलुङ नगरपालिकामा मात्र त्यो सङ्ख्या ७० को हाराहारीमा छ । साना, ठूला सबै होटलमा गरी करिब रु. ५० करोड लगानी छ । पर्यटकीयस्तरका होटलको सङ्ख्या भने १५ छ । होटल व्यवसायी महासंघ गण्डकी प्रदेशले गत वर्ष नै प्रदेशभर सञ्चालित होटलको संख्या र लगानी विवरणसमेत संकलन गरेको थियो । होटलको स्थिति बुझने र सोही अनुसार राहत कार्यक्रमका लागि पहल गर्न विवरण उठाइएपनि त्यसले कुनै परिणाम दिन सकेन । कोरोना महामारी साम्य नभएसम्म होटल, रेष्टुरा व्यवसाय पुरानै अवस्थामा फर्कन कठिन छ । धेरै जनसङ्ख्यालाई खोपको पहुँचमा पु¥याउन सके स्थिति सहज हुने ठानिएको छ । कोराना मत्थर भएर निषेधाज्ञा पूर्ण रुपमा हटेपछि आन्तरिक पर्यटक घुम्न निस्कने र त्यसबाट होटल व्यवसाय चलायमान हुनेमा व्यवसायी आशावादी छन् । कोरोना सङ्क्रमणको जोखिमलाई दृष्टिगत गरी होटलमा पूर्वाधार, गुणस्तर र स्वास्थ्य सावधानीका लागि व्यवसायीले पनि लगानी बढाउनुपर्ने अवस्था छ । रासस
साउन १७ गतेबाट पोखरा–नेपालगन्ज उडान गर्दै बुद्ध एयर
काठमाडौं । निजी क्षेत्रकोे लगानीमा सञ्चालित बुद्ध एयरले आगामी साउन १७ गतेबाट पोखरा–नेपालगन्ज उडान शुरु गर्ने भएको छ । बुद्धले यसअघि नै उक्त गन्तव्यमा उडान विस्तारको तयारी गरेतापनि कोरोना महामारीका कारण उडान शुरु हुन सकेको थिएन । कम्पनीका अनुसार साताको यो रुटमा साताको तीन उडान नियमित हुने भएको हो । जहाज आइतबार, बुधबार र शुक्रबार पोखराबाट बिहान ९ः१० मा उड्नेछ । सुरुवाती चरणमा सातामा तीन उडानको तयारी गरेको कम्पनीले यात्रुको माग र आवश्यकता अनुसार उडान थप गर्दै लैजाने जनाएको छ । यसबाट भारतीय पर्यटकलाई समेत पोखरा आकषिर्त गर्न सहज हुनेछ । सरकारले आन्तरिक उडानमा मागेजति उडान खुला गरेसँगै अब एयरलाइन्सहरुले यात्रु आकर्षित गर्न प्याकेजहरु समेत लागू गर्दैछन् । बुद्ध एयरका बजार निर्देशक रुपेश जोशी नेपालगन्जमा उडान विस्तारसगैँ केही घण्टाको दुरीमा रहेको बर्दिया राष्ट्रिय निकुञ्ज तथा कणार्ली चिसापानीतिर पर्यटकको मुभमेन्टमा बृद्धि हुने बताउँछन् । नेपालगञ्जका वासिन्दा पनि पर्यटकीय शहर पोखरा तथा वरिपरि रहेका तालतलाउ तथा हिमाल श्रृंखलाको आनन्द लिन सक्छन् । ९ वटा एटीआर–७२, तीनवटा एटीआर–४२ र २ वटा विचक्राफ्ट गरी १४ जहाजबाट बुद्धले दैनिक सय उडान गर्दै आएको छ । बुद्धले हाल भद्रपुर, तुम्लिङटार, विराटनगर, राजविराज, जनकपुर, सिमरा, भरतपुर, पोखरा, भैरहवा, नेपालगञ्ज, सुर्खेत र धनगढीमा उडान गरिरहेको छ । काठमाडौं, पोखराबाट माउन्टेन फ्लाईट गरिरहेको छ ।
राजदुतसँग पर्यटन बोर्डः पर्यटन प्रवद्र्धन गर्न स्थानीय भाषाका सामग्री तयार पार्न सुझाव
काठमाडाैं । नेपाल पर्यटन बोर्डले नेपालको पर्यटन प्रवद्र्धनका विषयमा मंगलवार विभिन्न देशका राजदूतहरुसंग छलफल गरेको छ । कार्यक्रममा पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले नेपालको पर्यटन प्रवद्र्धनका लागि बोर्डले गरेका काममहरूबारे जानकारी दिएका छन् । उनले कोभिडको कारण थलिएको पर्यटनलाई उकास्न नयां रणनीति,प्रडक्ट र कार्यनीति आवश्यक भएको र बोर्डले सोही अनुरुप काम गरिरहको जानकारी दिए । सीईओ डा. रेग्मीले नेपाललाई सबै सिजन र सबै उमेर समुहको गन्तव्यका रुपमा विकास गर्न र प्रचार गर्न आवश्यक रहेको बताउ‘ंदै बोर्डले दुतावासहरुसँग सहकार्य गरी पर्यटन प्रर्वद्धनका काम गर्ने बताए । कार्यक्रममा राजदूतहरूले कोभिडको समयमा सबैतिर समस्या भएपनि त्यसपछिका लागि अहिले देखि नै तयारी आवश्यक रहेको बताए । खोपको विकास र विस्तारसँगै अन्तर्राष्ट्रिय पर्यटन चलायमान भएको भन्दै उनीहरुले नेपालको लागि छिमेकी देशहरु नै ठूलो स्रोत बजार भएकोले त्यसतर्फ ध्यान दिई प्रवद्र्धनात्मक कार्य गर्न बोर्डलाई सुझाव दिए । यस्तै, राजदूतहरूले नेपालको हवाई भाडा अति महँगो भएकोले पर्यटक आगमनमा समस्या पर्ने गरेकोले त्यसलाई समायोजन गर्न आवश्यक रहेको बताए । कार्यक्रममा बंगलादेशका लागि नेपाली राजदूत डा. वशिधर मिश्रले नेपालका लागि बंगलादेश ठूलो बजार रहेपनि सोही अनुरूप काम हुन नसकको धारणा राखे । बंगलादेशमा करिब डेढ करोड हिन्दु र ८० लाख बुद्धिष्ट जनसंख्या भएकोले केही प्रवद्र्धनात्मक काम तथा कनेक्टिभिटीमा जोड दिन सके बंगलादेशबाट ठूलो सँख्यामा पर्यटक नेपाल लैजान सकिने बताए । उनले लामो समयदेखि हुन नसकिरहको उच्चस्तरीय भ्रमण गत वर्ष भएको र त्यस्ता कार्यक्रमलाई निरन्तरता दिन पनि आवश्यक रहको बताए । यस्तै, पाकिस्तानका लागि नेपाली राजदूत तपस अधिकारीले सीमा पर्यटनलाई जोड दिन आवश्यक रहको धारणा राखे । उनले अंग्रेजी अन्तर्राष्ट्रिय भाषा भएपनि विश्वमा अंग्रेजी नबुझुनेको संख्या ठूलो रहेकोले स्थानीय भाषामा प्रवद्र्धनका सामग्री तयार पार्न बोर्डलाई सुझाव दिए । यस्तै भारत स्थित नेपाली दुतावासका मिनिष्टर इकोनोमिक्स नीता पोखरेलले नेपालको लागि भारत प्रमुख स्रोत बजार भएकोले भारतमा थप प्रवद्र्धनात्मक कार्यक्रम आवश्यक रहेको बताए । उनले भाषा,धर्म संस्कृति र खानपानका कारणले पनि भारतीयहरुलाई नेपाल सहज गन्त्वय भएकोले प्याकेज सहितको बजारीकरणलाई जोड दिनु पर्ने बताए श्रीलँका स्थित नेपाली दूतावासका सेकेण्ड सेक्रेटरी विश्वास भट्टले श्रीलँकाको लागि प्रमुख आर्कषण लुम्बिनी भएपनि साहसिक पर्यटनको लागि पनि श्रीलंकन पर्यटकलाई नेपाल लैजान सकिने बताए । उनले पर्यटन पूर्वाधारका विषयमा नेपालले श्रीलंकाबाट धेरै सिक्न सक्ने धारणा राख्दै थप पर्यटक लैजान नेक्टिभिटीमा जोड दिन आवश्यक रहको बताए । विभिन्न देशका राजदूतहरुसँग निरन्तर छलफल गरिरहेको बोर्डले मंगलवार भारत,बंगलादेश,पाकिस्तान र श्रीलँकाका राजदूत तथा राजदूतावासका अन्य अधिकारीसँग भच्र्युअल अन्तरक्रिया गरेको थियो । बोर्डले यस अघि कोभिड महामारीबिच पनि नेपालको पर्यटन प्रवद्र्धनका लागी के कसरी सहकार्य गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित रहेर अमेरिका मध्यपूव,उत्तरपूर्वी एशिया र युरोपका विभिन्न देशका राजदूलरहरुसँग पनि अन्तरक्रियाकार्यक्रम सम्पन्न गरिसकेको छ । बोर्डले कोभिड महामारीको परिवेशमा पनि के कस्ता नयाँ तरिका, प्रविधि र शैलि अपनाई नेपालको पर्यटकिय छविलाई अन्तराष्ट्रिय क्षेत्रमा कायम राखी प्रवद्र्धनात्मक कार्यहरु सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा छलफल केन्द्रित गरेको बोर्डका मार्केटिङ म्यानेजर लक्ष्मण गौतमले जानकारी दिए ।