ताप्लेजुङकाे सुकेटार विमानस्थलमा नियमित उडान शुरु
फुङ्लिङ । ताप्लेजुङ जिल्लाको सुकेटार विमास्थलमा आजदेखि नियमित नेपाल वायु सेवा निगमले उडान शुरु गरेको छ । कोभिडका कारणले नियमित उडान दुई महिना बन्द भएको थियो । आज काठमाडौँबाट नौ यात्रु लिएर आएको विमान मौसम खराबीका कारण अवतरण हुन नसकेको सुकेटार विमानस्थलका स्टेशन इन्चार्ज लोकेन्द्र लिम्बूले बताए । बाह्र मिनेटभन्दा बढी अवतरणको प्रयास गर्दा पनि मौसमका कारणले अवतरण हुन नसकेर काठमाडौंमै फर्किएको जनाइएको छ । ताप्लेजुङबाट १२ यात्रु काठमाडौँ जानका लागि बुकिङ गरेर सुकेटार विमानस्थलसम्म पुग्नुभएको थियो । मौसमका कारणले विमान अवतरण हुन नसक्दा पूर्न फुङ्लिङ बजार फर्कीएको लिम्बूले बताए । सुकेटारमा हप्तामा चार दिन (सोमबार, बुधबार, शुक्रबार र शनिबार) नियमित उडान हुने सुकेटार विमानस्थल कार्यालयले जनाएको छ । तत्कालका लागि काठमाडौंदेखि ताप्लेजुङसम्म सात हजार ५० र ताप्लेजुङदेखि काठमाडौं सात हजार १९० भाडा शुल्क तोकिएको सुकेटार विमानस्थल कार्यालयले जनाएको छ । निगमले ताप्लेजुङदेखि प्रदेश नं १ राजधानी विराटनगरमा पनि नियमित उडानका लागि प्रक्रिया अगाडि बढाइरहेको बताइएको छ । रासस
निषेधाज्ञामा भित्रिए ११ सय विदेशी पर्यटक, बाहिरिनेको संख्या धेरै
काठमाडौं । गत जुन महिनामा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालय हुँदै जम्मा एक हजार १०० विदेशी नेपाल भित्रिएका छन् । दोस्रो लहरको कोरोना भाइरस सङ्क्रमणलाई ध्यानमा राख्दै नेपाल सरकारले गत वैशाख २३ गतेदेखि अन्तरराष्ट्रिय उडान बन्द गरेको थियो । अध्यागमन विभागले सार्वजनिक गरेको जुन महिनाको तथ्याङ्कअनुसार नियमित उडान बन्द भएका समयमा चार्टर्ड तथा उद्धार उडानमार्फत १११ देशबाट एक हजार १४३ विदेशी नेपाल भित्रिएका हुन् । यसमा ७०८ पुरुष, ४३४ महिला र एक जना अन्य नागरिक भित्रिएका हुन् । विभागको तथ्याङ्कअनुसार जुन महिनामा एक हजार १४३ विदेशी र नौ हजार ५५९ जना नेपाली गरी एक महिनामा १० हजार ७०२ जना नागरिक स्वदेश भित्रिएका छन् । निषेधाज्ञाका समयमा नेपाल भित्रनेभन्दा बाहिरिने विदेशी पर्यटक धेरै रहेका छन् । जुन महिनामा एक हजार १४३ विदेशी नेपाल भित्रने तीन हजार ६०६ बाहिरिएका छन् । एक महिनामा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालय हुँदै तीन हजार ६०६ जना विदेशी र नौ हजार ६५१ नेपाली गरी १३ हजार २५६ जना बाहिरिएका हुन् । कोरोना महामारी र लामो समयको बन्दाबन्दीपछि नेपालमा सबैभन्दा धेरै पर्यटक अप्रिल महिनामा नेपाल भित्रिएका थिए । विभागको तथ्याङ्कअनुसार अप्रिल महिनामा १४४ देशबाट २२ हजार ४५० जना विदेशी नेपाल भित्रिएका थिए । सन् २०२१ को छ महिनामा नेपालमा विभिन्न देशका ५८ हजार ५८ जना विदेशी पर्यटक भित्रिएका छन् ।
उडान सङ्ख्या थप्न वायुसेवा सञ्चालक संघको माग
काठमाडौं । वायु सेवा सञ्चालकको छाता सङ्गठन नेपाल वायु सेवा सञ्चालक सङ्घले यात्रु उद्धार सहज र सस्तोका लागि उडान सङ्ख्या थप्न सरकार समक्ष माग गरेको छ । हाल तोकिएको ५० प्रतिशत उडान सङ्ख्याले यात्रु उद्धार गर्न कठिनाइ भएको तथा उडान सङ्ख्या घट्नेबित्तिकै निषेधाज्ञा अगाडिको सस्तो हवाई भाडा वायुसेवा कम्पनीले धान्नै नसकिने भएकाले सङ्घले विज्ञप्तिमार्फत उडान सङ्ख्या थप्न माग गरेको छ । ‘हामी यसका लागि सस्तो भाडादर तथा सहज र सङ्क्रमण नफैलिने तरिकारले उडान गर्न प्रतिबद्धता व्यक्त गर्दछौँ । सहज र सस्तो उडानका लागि निषधाज्ञा अगाडिकै उडान सङ्ख्या बढाइदिन हार्दिक अनुरोध गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ । अहिलेको अविरल वर्षाले विभिन्न क्षेत्रमा बाटोघाटो, सडक र पुलपुलेसामा क्षति पु¥याउँदा सर्वसाधारण यात्रु विभिन्न ठाउँमा रोकिएका भन्दै सङ्घले असहज परिस्थितिमा सरकारसँग हातेमालो गर्न तयार रहेको पनि स्पष्ट पारेको छ । हवाई उडानबाट सङ्क्रमण नफैलिने अन्तर्राष्ट्रिय अध्ययनले पनि पुष्टि गरेको हुँदा नेपाली एयरलाइन्सले सङ्क्रमणरहित हवाई यात्राका लागि अन्तर्राष्ट्रिय मापदण्ड तथा सरकारद्वारा जारी निर्देशिकाको कडाइका साथ पालना गरिएको छ । स्यानिटाइजर, मास्क र फेशशिल्डको अनिवार्य प्रयोग तथा उडानपिच्छै जहाजको सङ्क्रमणरहित सरसफाइमा विशेष ध्यान दिएको सङ्घले जनाएको छ ।