अब सातामा २१ वटा मात्र अन्तर्राष्ट्रिय उडान हुने

काठमाडौं । आजदेखि सातामा २१ वटा अन्तर्राष्ट्रिय उडान हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले जुलाई महिनाका लागि नियमित अन्तर्राष्ट्रिय उडानको तालिका स्वीकृत गर्दै उक्त संख्या तोकेको हो । सरकारले भारत, कतार, यूएई, टर्की, साउदी अरेबिया, कुवेत, मलेसिया, ओमान, जापान, चीन र कोरियाका लागि निश्चित संख्या तोकी नियमित उडान सुरु गरिसकेको छ । उक्त गन्तव्यमा विभिन्न वायुसेवा कम्पनीले निश्चीत उडान गर्नेगरी कोटा तोकिएको हो । सरकारले ११ गन्तव्यका लागि अन्तर्राष्ट्रिय उडान खुला गरेतापनि हालसम्म कोरिया र चीनमा उडान हुन सकेको छैन । नेपालका कम्पनी नजाने गन्तब्यमा भने सम्बन्धित मुलुकका वायुसेवा कम्पनीको मात्र उडान हुनेछ । कोरिया, टर्की, कुवेत र ओमान नेपाली वायुसेवा कम्पनी नजाने गन्तब्य हुन् । नेपाल सरकारले टर्कीमा उडान खुला गरेतापनि टर्की सरकारले नेपाल उडानलाई कालोसूचीमा राखेको छ । नेपालबाट अन्तर्राष्ट्रिय उडानको अनुमति पाएको नेपाल एयरलाइन्सले भारतको नयाँदिल्ली, कतारको दोहा, युएईको दुबई, मलेसियाको क्वालालाम्पुर र जापानको नारितामा उडान गर्नेछ । यस्तै, नेपाली तथा चिनियाँ संयुक्त लगानीमा सञ्चालित हिमालय एयरलाइन्सले साउदी अरेबियाको दमाम, युएईको दुबई र मलेसियाको क्वालालाम्पुरमा उडान अनुमति पाएको छ । नेपालबाट अन्तर्राष्ट्रिय उडान अनुमति पाउनेमा कतार एयरवेज, सलाम एयर, एयर इन्डिया, फ्लाइ दुबई, जजिरा एयरवेज, टर्किस एयर र मालिन्दो एयर रहेका छन् ।

२ महिनापछि सुरु भयो आन्तरिक उडान, दैनिक ६७ जहाज उड्ने

काठमाडौं । कोभिड–१९ महामारी नियन्त्रणका लागि स्थगन गरिएको मुलुकको आन्तरिक हवाई उडान झण्डै दुई महिनाको अन्तरालपछि पुनः सञ्चालनमा आएको छ । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आन्तरिक वायुसेवा कम्पनीको दैनिक ६७ उडान सञ्चालन गर्नेगरी उडान तालिका बनाएको छ । कोभिड महामारी नियन्त्रणका लागि सरकारले वैशाख १६ देखि निषेधाज्ञा लागू गरेको थियो । वैशाख २० गतेदेखि आन्तरिक र वैशाख २३ गतेदेखि अन्तर्राष्ट्रिय उडान स्थगन गरिएको थियो । नेपाल नागरिक उडड्यन प्राधिकरणले हाललाई जुलाई महिनाभर (असार १७ देखि साउन १६ गतेसम्म) का लागि मात्रै दैनिक ६७ वटा उडान तालिका स्विकृत गरेको जनाएको छ । त्यसैगरी काठमाडौंबाट लुक्ला, फाप्लु, ताप्लेजुङ, भोजपुर लगायत दुर्गम भेगका लागि दैनिक ८ वटा उडान हुने छन् । बिहान साढे ६ बजेबाट बेलुकी ६ बजेसम्मका लागि आन्तरिक उडानको अनुमति दिईएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान रोकिराखेको अवस्थामा सङ्क्रमणको हालको स्थितिको मूल्याङ्कन गर्दै विमानस्थल टर्मिनलको क्षमताअनुसार भिडभाड नहुने गरी वायुसेवा कम्पनीले निषेधाज्ञाअघि सञ्चालन गरेको उडान सङ्ख्याको आधार सङ्ख्यामा १० मिनेटको अन्तरालमा उडान तालिका दिइएको छ । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार बुद्ध एयरलाई ३१, यती एयरलाइन्सलाई १५, श्री एयरलाइन्सलाई १०, सौर्य एयरलाइन्सलाई तीन तथा स्टकतर्फ उडान गर्ने वायुसेवाका लागि तीन/तीन उडान स्वीकृति दिइएको छ । विमानस्थलले कोभिड–१९ महामारीको हालको जोखिम स्थितिलाई ध्यानमा दिई यात्रुको सुरक्षित आवागमनका लागि नेपाल सरकार र विमानस्थलबाट जारी गरिएको स्वास्थ्यसम्बन्धी मापदण्ड/प्रोटोकल प्रभावकारी रूपमा पालना गराउनेछ । यसका लागि सुपरिवेक्षण समितिसमेत गठन गरिएको छ । आन्तरिक उडानका अग्रणी वायुसेवा प्र्रदायक कम्पनी बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्स, सौर्य एयरलगायतले जनस्वास्थ्यको मापदण्डलाई कडाइका साथ पालना गर्दै सङ्क्रमणरहित उडानमा जुटेको जनाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनस्वास्थ्यको मापदण्डको पूर्ण पालना हुने गरी अर्को आदेश जारी नभएसम्मका लागि असार १७ देखि कुल उडान सङ्ख्याको ५० प्रतिशत नबढ्नेगरी आन्तरिक उडान सञ्चालन गर्न नियामक क्यानलाई निर्देशन दिएको थियो कहाँ कहाँ हुदैछ उडान करिब दुई महिनापछि उडान सुरुभएपनि यसअघि उडान हुँदैआएका केही गन्तव्यमा भने तत्काल उडान नहुने भएको छ । सिमित संख्यामा उडान हुने हुँदा वायुसेवा कम्पनीहरुले यात्रुको धेरै चापँ हुुने विमानस्थलमा मात्र उडानको तयारी गरेका छन् । आजदेखि आन्तरिक उडान गर्दै आएका वायुसेवा कम्पनीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट धनगढी, नेपालगन्ज, सुर्खेत, भैरहवा, पोखरा, भरतपुर, सिमरा, जनकपुर, विराटनगर, तुम्लिङटार र भद्रपुर उडान गर्नेछन् । विमानस्थल कार्यालयका अनुसार यती, बुद्ध, सौर्य र श्री एयरलाईन्सले काठमाडौंबाट दैनिक विराटनगर १०, भैरहवा ९, नेपालगन्ज र भद्रपुर ७/७, जनकपुर र सिमरा ६/६, पोखरा ५ र धनगढी ४ वटा उडान गर्नेछन् । यस्तै, उक्त वायुसेवा कम्पनीले काठमाडौंबाट लुक्ला, फाप्लु, ताप्लेजुङ, भोजपुरलगायत दुर्गम क्षेत्रमा दैनिक ८ वटा उडान हुने प्राधिकरणले जनाएको छ । करिब दुई महिनापछि खुला भएको आन्तरिक उडानमा यसअघिको तुलनामा भाडादर केही बढेको छ । २ महिनादेखि उडान बन्द भएको र नेपाल आयल निगमले तेलको मूल्य बढाएको भन्दै वायुसेवा कम्पनीले उडान शुल्क बढाएका छन् । वायुसेवा कम्पनीहरुले यसअघिको तुलनामा केही भाडा समायोजना भएतापनि नेपाल सरकारले तोकेको शुल्कभन्दा बढी नलिने जनाएका छन् ।

कोरोनाका कारण नेपाल आउने विदेशी पर्यटक घटे, तर लम्बियो बसाई अवधि

काठमाडौं । कोरोना भाइरस महामारीका कारण नेपालमा आउने विदेशी पर्यटकको संख्यामा कमी आएको छन् । सन् २०१९ को तुलनामा सन् २०२० मा मात्र करिब ८० प्रतिशतले विदेशी पर्यटक घटेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार कोरोना महामारीसगैँ विदेशी पर्यटक घट्न थालेका हुन । उक्त तथ्यांक अनुसार सन् २०१९ को तुलनामा सन् २०२० मा हवाई मार्ग हुँदै ८१.६ प्रतिशत तथा स्थल मार्ग हुँदै ७६.७ प्रतिशतले विदेशी पर्यटक घटेका हुन् । सन् २०२० मा हवाईमार्गहुँदै एक लाख ८३ हजार १३० जना र स्थलमार्ग हुँदै ४६ हजार ९५५ गरी एक वर्षमा दुई लाख ३० हजार ८५ जना नेपाल भित्रिएका हुन । सन् २०१९ मा हवाई मार्ग हुँदै नौ लाख ९५ हजार ८८४ जना तथा स्थलमार्ग हुँदै दुई लाख १ हजार ३०७ जना विदेशी नेपाल भित्रिएका थिए । सन् २०१९ को तुलनामा सन् २०२० मा हवाई मार्गबाट आउने पर्यटकमा ८१ दशमलव ६ र स्थलमार्गबाट आउने पर्यटकमा ७६ दशमलव ७ प्रतिशतले कमी आएको छ । गत वर्ष १ लाख २४ हजार ४८ पुरुष र १ लाख ६ हजार ३७ महिला पर्यटक आएका थिए। अघिल्लो वर्ष ६ लाख २६ हजार ८ सय ६६ पुरुष र ५ लाख ७० हजार ३ सय २५ महिला पर्यटक नेपाल आइपुगेका थिए । मन्त्रालयका अनुसार २०२० मा नेपाल आएकामध्ये सबैभन्दा धेरै भारतबाट आएका थिए। भारतबाट ४० हजार ३ सय ६६ जना आएका थिए । त्यसपछि म्यानमार, थाइल्यान्ड, चीन र अमेरिकाबाट धेरै पर्यटक आएका थिए। भारतबाहेक तेस्रो मुलुकबाट गत वर्ष १ लाख ८९ हजार ७ सय ४९ पर्यटक आएका थिए । पर्यटन मन्त्रालयका अनुसार बिदा मनाउन १ लाख ३९ हजार २ सय २, धार्मिक यात्राका लागि २८ हजार ५ सय ३०, पदयात्रा तथा पर्वतारोहणका लागि ३५ हजार ८ सय ९३ र अन्य उद्देश्यले २६ हजार ४ सय ६० पर्यटक नेपाल आएका थिए । बसाई दर लम्बियो पर्यटक आगमन घटे पनि उनीहरूको नेपाल बसाइ दर भने लम्बिएको देखिएको छ । सन् २०२० मा नेपाल आएका पर्यटकको औसत बसाइ दर १५.१ दिन रहेका छ । सन् २०१९ मा बसाई अबधि १२.७ दिन थियो । सन् २०१९ को तुलनामा ३.६ दिन बसाई अबधि लम्बिएको छ । बढी यात्रु बोक्ने निगम २०२० मा सबैभन्दा धेरै अन्तर्राष्ट्रिय यात्रु बोक्ने वायुसेवा कम्पनीमध्ये सरकारी स्वामित्वमा सञ्चालित नेपाल वायुसेवा निगम पहिलो नम्बरमा परेको छ । त्यसपछि क्रमशः कतारको कतार एयरवेज, दुबईको फ्लाई दुबई, भारतको एयर इन्डिया र सारजहाँको एयर अरेबियाले बढी पर्यटक ल्याएका थिए। सन् २०१९ मा समेत सबैभन्दा धेरै यात्रु बोक्ने पहिलो नम्बरमा निगम नै रहेको थियो । ५७ वर्षमा करिब २ करोड विदेशी भित्रिए नेपालमा ५७ वर्षकोे अवधिमा करिब दुई करोड विदेशी पर्यटक भित्रिएका छन् । मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार सन् १९६५ देखि २०२० को अवधिमा विभिन्न देशबाट १ करोड ९३ लाख ९३ हजार ८७२ विदेशी पर्यटक नेपाल भित्रिएका हुन् । उक्त अवधिमा जहाजबाट १ करोड ५६ लाख १० हजार ९२७ र स्थल मार्गबाट ३७ लाख ८२ हजार ९४५ आएका थिए । नेपालमा सबैभन्दा बढी पर्यटक सन् २०१९ मा ११ लाख ९७ हजार १९१ आएका थिए ।