मे महिनामा १२ हजार नेपाल भित्रिए, २३ हजार बाहिरिए
काठमाडौं । गत मे महिनामा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालय हुँदै १२ हजार नेपाल भित्रिएका छन् । अध्यागमन विभागले सार्वजनिक गरेको मे महिनाको तथ्याङ्कअनुसार १२ हजार ४०० जना नेपाल भित्रिएका हुन् । जसमा एक हजार ४६८ जना विदेशी नागरिक र १० हजार ९३२ जना नेपाली नागरिक स्वदेश भित्रिएका छन् । गत मेमा नेपाल भित्रनेभन्दा बाहिरिनेको तथ्याङ्क दोब्बर छ । सो अवधिमा २३ हजार १३५ बाहिरिएका छन् । बाहिरिनेमध्ये नौ हजार ९७७ विदेशी र १३ हजार १५८ जना नेपाली छन् । अन्य महिनाको तुलनामा मेमा कम सङ्ख्यामा विदेशी नेपाल भित्रिएका छन् । कोरोना महामारी र लामो समयको बन्दाबन्दीपछि नेपालमा सबैभन्दा धेरै पर्यटक अप्रिलमा नेपाल भित्रिएका थिए । विभागको तथ्याङ्कअनुसार अप्रिलमा १४४ देशबाट २२ हजार ४५० जना विदेशी नेपाल भित्रिएका थिए । यस्तै, गत अप्रिलमा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल हुँदै ५१ हजार ७७५ नेपाली विदेशिएका छन् ।
टानका अध्यक्ष सुवेदी भन्छन्ः बजेट विद्यार्थीले लेखेको निबन्ध जस्तो भयो
काठमाडौं । ट्रेकिङ एजेन्सिज एशाेसिएसन अफ नेपाल (टान)का अध्यक्ष खुम बहादुर सुवेदीले सरकारले प्रस्तुत गरेको बजेट चुनावमुखी भएको बताएका छन् । मंगलबार बिपी स्टडी युथ सर्कलले आयोजना गरेको भर्च्युअल भेलामा आफ्नो धारणा राख्दै उनले यस्तो धारणा राखेका हुन् । ‘यो सरकारको बजेट चुनावमुखी भयो, यसको कार्यान्वयन हुनेमा ठूलो शंका छ, एउटा विद्यार्थीले निबन्ध लेखे जस्तो बजेट भएको हामीले महसुस गरेका छौं, हामी यो बजेटलाई स्वागत गर्न सक्दैनौं,’ उनले भने । बजेटको कार्यान्वयन सुरु भए मात्रै स्वागत गर्न सकिने उनको भनाई छ । पर्यटन व्यवसायीका अधिकांश माग तथा सुझावहरु पनि सम्बोधन नभएको उनले बताए । अहिले निजी क्षेत्रले सरकारले ल्याएको बजेट कार्यान्वयन हुनेमा आशंका व्यक्त गरेका छन् ।
चार देशमा नियमित उडान खुला
काठमाडौं । सरकारले चार देशमा उडान खुला गरेको छ । मन्त्रिपरिषद्को निर्णय अनुसार मंगलबारदेखि चीन, कतार र टर्कीमा सातामा एक वटा उडान खुला भएको हो । यस्तै यसअघि नै सरकारले अन्य गन्तव्यमा उडान स्थगित गरेपनि भारतको नयाँदिल्लीमा सातामा दुई उडान नियमित रुपमा हुँदै आएको छ । भारतमा बुधबार नेपाल एयरलाइन्स र शुक्रबार एयर इन्डियाले दुई उडान गर्दै आएका छन्। तीन गन्तव्यमा उडान खुला सगैँ नेपाल नागरिक उड्डयन प्राधिकरणले टर्कीस एयरलाइन्सलाई बिहीबार उडानको अनुमति दिइसकेको छ ।क्यानका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार चीनको र नेपालको हिमालय एयरलायन्सले चीनमा नियमित उडान गर्न पाउनेछन्। त्यस्तै कतारको दोहामा कतार एयरलाइन्स र नेपाल एयरलाइन्सले हप्ताको एउटा उडान गर्नेछन्। ‘टर्कीमा नेपाली हवाइ कम्पनीको नियमित उडान छैन, त्यसैले टर्किस एयरलाइन्सको एउटा मात्रै उडान हुन्छ’, उनले भने, ‘चीन र कतारमा सम्बन्धित देशको जहाज र नेपाली कम्पनीले उडान भर्न पाउँछन्।’ अब चीन, कतार र भारतमा हप्ताको दुई उडान हुनेछन् भने टर्कीमा एक उडान हुनेछ। तर नेपाल भारत उडानमा भने दुई देशका नागरिक मात्रै आउजाउ गर्न पाउनेछन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विदेशबाट आउने नेपाली तथा विदेशीले नेपालमा आउँदा १० दिन क्वारेन्टिन बस्नुपर्ने व्यवस्था गरेको छ। मलेसियासहित खाडी मुलुक बस्ने नेपालीले भने ५ दिन होटल क्वारेन्टिन र १० दिन होम क्वारेन्टिन बस्नुपर्ने व्यवस्था गरेको छ। गत बैशाख २३ गतेदेखि स्थगित भएको अन्तराष्ट्रिय उडान आगामी जेठ १८ गतेसम्मका लागि स्थगित गरिएको छ ।