लयमा फर्कंदै आन्तरिक उडान, विदेशी यात्रु नहुँदा बढेन नाफा
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोेखिमलाई ध्यानमा राख्दै सरकारले गरेको बन्दाबन्दी र निषेधाज्ञाको मारमा परेका आन्तरिक वायुसेवा कम्पनी विस्तारै पुरानै अवस्थामा फर्कन थालेका छन् । लामो सयमसम्मको बन्दाबन्दी र निषेधाज्ञाको मारमा परेका वायुसेवा कम्पनीले विस्तारै राहत महसुस गर्न थालेका हुन । पछिल्लो समय निषेधाज्ञामा खुकुलो, पर्याप्त मात्रामा लामो दुरीका सार्वजनिक यातायात सञ्चालन नहुनु र अन्य यातायातको तुलनामा हवाई यातायात भरपर्दाे र सुरक्षित भएपछि यात्रुको संख्यामा बृद्धि हुन थालेको जनाईएको छ । हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयबाट विभिन्न गन्तव्यमा दैनिक २ सय १० उडान तथा अवतरण हुने गरेको छ । २०७६ को चैत अघि (कोभिडको पहिलो लहर सुरु भएको भन्दै सरकारले गरेको बन्दाबन्दी) को दैनिक २१० देखि २१२ उडान तथा अवरतण हुँदै आएको थियो । बन्दाबन्दीको अगाडीकै तुलनामा दैनिक उडान तथा अवतरण भएपनि यात्रुको संख्यामा केही कमी आएको वायुसेवा कम्पनीका सञ्चालकहरु बताउँछन् । वायुसेवा संचालकहरुका अनुसार बन्दाबन्दी अघिकै तुलनामा उडान भएपनि वायुसेवा कम्पनीले आर्जन गर्ने नाफामा धेरै कमी आएको छ । विदेशी नहुँदा उडान सस्तो भयो बन्दाबन्दी अघिको तुलना जस्तै हाल उडान संख्या र यात्रुको संख्यामा बृद्धि भए तापनि विदेशी यात्रु नहुँदा वायुसेवा कम्पनीले मह्गो भाडादरको उपयोग गर्न पाएका छैनन । विदेशी यात्रुले डलरमा हवाई टिकट काट्दा भाडादर केही महङगो हुँदा वायुसेवा कम्पनीलाई नाफा धेरै हुन्थ्यो । कोरोनाले लामो समय बन्द भएको हवाई सेवा विस्तारै सहज भए तापनि विदेशी नहुँदा उडान सस्तो भएको वायुसेवा कम्पनीका अधिकारीहरु बताउँछन् । पछिल्लोपटक कोभिड–१९ संक्रमणको दोस्रो लहर तीव्र बनेसँगै गत वैशाख १६ देखि असार १६ सम्म आन्तरिक उडानमा पूर्णरुपले रोक लगाइएको थियो। असार १७ बाट उडान पुनः खुला गरिएसँगै उडान पुरानै रुपमा हुन थालेको हो । प्रतिघण्टा ८ उडानको अनुमति कोरोना संक्रमणलाई ध्यानमा राख्दै पछिल्लो समय विमानस्थल कार्यालयले प्रतिघण्टा ८ वटा वायुसेवा कम्पनीलाई उडान अनुमति दिने गरेको छ । धेरै उडान हुँदा यात्रुको बढी भिडभाड हुने भन्दै आन्तरिक उडानमा प्रतिघण्टा ८ वटा वायुसेवा कम्पनीलाई उडानको अनुमति दिईएको विमानस्थल कार्यालयका प्रमुख प्रताप तिवारी बताउँछन् । उनका अनुसार पछिल्लो समय वायुसेवा कम्पनीको उडान संख्या र यात्रुको संख्यामा बृद्धि हुन थालेको छ । ‘हामीले उडान संख्या तोकेनौ भने यात्रुको बढी भिडभाडा हुँदा संक्रमणको जोखिम उच्च हुन्छ । आन्तरिक उडान गर्ने वायुसेवा कम्पनीको मागका आधारमा हामीले भिडलाई कम गर्न उडान संख्या तोकेका हौँ’, उनले भने । पछिल्लो समय अनुमान गरेभन्दा बढी मात्रामा आन्तरिक उडान भएको छ । आन्तरिक उडानको तुलनामा अन्तर्राष्ट्रिय उडानको संख्या न्यून मात्रामा रहेको छ । धेरै देशले नेपाली उडानमाथि लगाएको प्रतिबन्द फुकुवा नगर्नु र नेपालमा कोरोना संक्रमितको संख्यामा बृद्धि हुँदा अन्तर्राष्ट्रिय उडान बढ्न नसकेको हो । बुद्धको दैनिक १३० उडान पछिल्लो समय बुद्ध एयरले विभिन्न गन्तव्यमा दैनिक १३० वटा उडान तथा अवतरण मार्फत दैनिक ७ हजार यात्रुलाई सेवा दिएको जनाएको छ । नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले दिएको अनुमति अनुसार यसअघि नै उडान गर्दै आएका गन्तव्यमा दैनिक उक्त संख्यामा उडान तथा अवतरण गर्दै आएको बुद्धका बजार निर्देशक रुपेश जोशीले जानकारी दिए । कोरोना महामारीपछि पछिल्लो समय अन्य वायुसेवा कम्पनीको तुलनमा बुद्ध एयरले धेरै उडान तथा अवतरण गर्दै आएको छ । उनका अनुसार हाल १० वटा एटीआर–७२, तीनवटा एटीआर–४२ र २ वटा विचक्राफ्ट गरी १४ जहाजबाट बुद्धले दैनिक सय उडान गर्दै आएको छ । बुद्धले हालकाठमाडौं विमानस्थलबाट भद्रपुर, तुम्लिङटार, विराटनगर, राजविराज, जनकपुर, सिमरा, भरतपुर, पोखरा, भैरहवा, नेपालगञ्ज, सुर्खेत र धनगढीमा उडान गरिरहेको छ । यस्तै पोखरा विमानस्थललाई केन्द्र बनाएर नेपालगन्ज, भैरहवा र भरतपुरमा उडान गर्दै आएको छ । श्रीको दैनिक ३२ उडान यस्तै, आन्तरिक उडान गर्दै आएको श्री एयरलाईन्सले पछिल्लो समय दैनिक ३२ उडान तथा अवतरण गर्ने गरेको छ । श्रीका प्रवक्ता अनिल मानन्धर निषेधाज्ञा पछि आन्तरिक हवाई उडान पुरानै अवस्थामा फर्किन थालेको बताउँछन् । केही गन्तव्यमा फूल अकुपेन्सीमा उडान भए तापनि केही गन्तव्यमा एक तर्फमात्र उडान हुने गरेको उनी बताउँछन् । उनका अनुसार काठमाडौं आउने यात्रुको संख्यामा बृद्धिहुँदा बाहिरिने संख्यामा कमी आएको छ । यतिको ९५ प्रतिशत उडान आन्तरिक गन्तव्यमा उडान गर्दै आएको यति एयरलाइन्सले कोरोना महामारीपछि ९५ प्रतिशत उडान हुँदै आएको जनाएको छ । यतिका प्रवक्ता सुदर्शन बर्ताेला दैनिक ४० उडान तथा अवतरण मार्फत २७ सय यात्रुलाई सेवा दिएको बताउँछन् । ‘हाम्रो क्षमता करिब २८ सय जति हो । दैनिक २७ सय यात्रुलाई सेवा दिएका छौँ, महामारीपछि पुरानै अवस्थामा आन्तरिक उडान फर्कन थालेको छ’, उनले भने, ‘उडान तथा प्रशासनिक खर्च विस्तारै धान्नेको छ । विदेशी पर्यटक नहुँदा सस्तो टिक बिक्री बढेको छ ।’ यसअघि नेपाली यात्रुको तुलनामा विदेशी यात्रुले धेरै हवाई सेवाको उपयोग गर्ने गरेकोमा कोरोना महामारीपछि अधिकाशं नेपाली यात्रुले हवाई सेवाको उपयोग गर्न थालेको उनको बुझाई छ ।
पोखरामा विमानस्थल बन्यो, अब प्याराग्लाइडिङको चिन्ता
पोखरा । पोखरा प्राकृतिक सौन्दर्यसँगै साहसिक पर्यटनको सहरका रुपमा पनि परिचित छ । पोखराको प्याराग्लाइडिङले साहसिक पर्यटनका क्षेत्रमा धेरै पर्यटकको मन जितेको छ । यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पछिल्लो पटक प्याराग्लाइडिङ पनि पर्ने गरेको छ । पहिलो चरणको कोरोना महामारीको बन्दाबन्दीपछि खुलेको समयमा त पोखराको प्याराग्लाइडिङ आन्तरिक पर्यटकको पनि विशेष रोजाइमा प¥यो । सायद महिनौँदेखि घरमै थुनिएर बस्नु परेका नेपालीहरु बन्दाबन्दी खकुलो भएसँगै राम्रोसँग रमाउन चाहेर पनि हुनसक्छ, पोखरा आएका धेरैले प्लाराग्लाइडिङ नै रोजेका थिए । पोखराको पर्यटनलाई चलायमान बनाउन पनि यसले निकै सहयोग पु¥यायो । कम्पनीले ५० देखि ६० प्रतिशत छुटसहित दैनिक पाँच सयदेखि सात सय उडानले पोखराको आकाशलाई रङ्गीन बनाएको थियो भने आन्तरिक पर्यटक बढ्दा व्यवसायीमा पनि बन्दपछिको अवस्थामा केही आशा पलाएको थियो । यतिबेला पोखराको पर्यटन फेरि कोरोना भाइरसको नयाँ प्रजातिका कारण क्षेत्र ठप्प छ । पर्यटन व्यवसायीहरु सहज खोप र पर्यटनमैत्री नीति ल्याएर यस क्षेत्रका व्यवसायीलाई विस्थापित हुनबाट जोगाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराइरहेका छन् । यसैबीच पोखराको क्षेत्रीय विमानस्थलको निर्माण कार्य अन्तिम चरणमा पुगिरहँदा यस क्षेत्रका प्याराग्लाइडिङ व्यवसायीहरु व्यवसायको भविष्य खोज्दै निरन्तरताको खोजीमा जुटेका छन् । सन् २०१७ मा पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य प्रारम्भ भएदेखि नै पोखराको सराङकोटबाट प्याराग्लाइडिङ उडान निरन्तरता हुन सक्छ कि सक्दैन भन्ने विषयले चर्चा पाएको थियो । अहिले विमानस्थलको काम करिब ८२ प्रतिशत सम्पन्न भइसकेको छ । निकट भविष्यमै सञ्चालनमा आउन लागेको विमानस्थलका कारण वर्षौंदेखि सञ्चालन भइरहेको प्याराग्लाइडिङ विस्थापित गर्नुपर्ने अवस्था आउने त होइन भन्ने चिन्ता यतिबेला व्यवसायीमा देखिएको छ । यसैबीच हवाई खेलकुद संस्था (ना) को टोलीले केही दिनअघि विमानस्थलको अवलोकन गरेर व्यवस्थापनसमक्ष प्याराग्लाइडिङ व्यवसायीका संस्थागत धारणाहरु राखेको छ । संस्थाका अध्यक्ष कृष्ण भण्डारीले पोखराको साहसी खेलका रुपमा ब्रान्डिङ भएको प्याराग्लाइडिङलाई उच्चतम प्रविधि र व्यवस्थापनमा जोड दिएर सोही स्थानबाट निरन्तरता पाउनेमा आफू विश्वस्त रहेको बताए । उनले भने, “केही प्राविधिक कुराहरु देखाइएको छ तर उच्च प्रविधिको प्रयोगसँगै व्यवस्थापन गर्न सक्यो भने उडान असम्भव छैन, सिङ्गापुरमा प्रत्येक सेकेन्डमा हवाई उडान सम्भव छ भने यहाँ यी कुराहरु व्यवस्थापन गर्न असम्भव छैन ।” उनले नेपालकै लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थल विश्वकै जोखिमयुक्त विमानस्थलमध्ये एक नम्बरमा रहे पनि कुशल व्यवस्थापनका कारण सुरक्षाको प्रत्याभूतका साथ सञ्चालन भइरहेको उदाहरण दिए । “नागरिक उड्डयन प्राधिकरणले पनि कुशल व्यवस्थपनमा जोड दिन सके विमानस्थल सञ्चालनसँगै प्याराग्लाइडिङ सञ्चालनमा बाधा पुग्दैन”, उनले भने । उनले विमानस्थल निर्माण कार्य अन्तिम चरणमा पुग्दै गर्दा अब हुने ‘अपरेशन प्रोस्युडियर डिजाइन’मा प्याराग्लाइडिङलाई पनि सोही स्थानमा सञ्चालन गर्न सक्ने गरी योजना बनाउन व्यवस्थापनसमक्ष माग गरेको बताए । संस्थाका महासचिव बलराम आचार्यले पोखरामा प्याराग्लाइडिङ उडान प्राविधिक हिसाबले समस्या देखिएको हो भने अन्तर्राष्ट्रिय अभ्यासहरु हेरेर सोही मोडेलअनुरुप निरन्तरता दिन सकिने बताए । “समस्याहरु होलान् तर समाधान हुनै नसक्ने समस्या देखिँदैन, मात्र विज्ञले ‘सेफ जोन’ बनाएर नीतिनियमको कडाइका साथ पालन गर्ने हो भने विमानस्थलसँगै प्याराग्लाइडिङ पनि उडान गर्न सकिन्छ”, उनले भने । पर्यटकीय गतिविधिको एउटा उत्पादन प्याराग्लाइडिङ पनि भएकाले यसलाई यहाँबाट विस्थापित गर्दा पर्यटकीय आकर्षण कमी आउन सक्ने अनुमान उनको छ । उनले २०७६ साल भदौ १६ गते नागरिक उड्डयन मन्त्रालयको निर्णयअनुसार पाराग्लाइडिङ सञ्चालन तथा व्यवस्थापनसम्बन्धी अध्ययन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक सुभाष झाको संयोजकत्वमा आठ सदस्यीय कार्यदल गठन भएको र त्यसले क्षेत्रीय विमानस्थल सञ्चालनमा आएपश्चात् आउने अवस्थाका बारेमा जानकारी गराएको बताए । सो कार्यदलले प्याराग्लाइडिङबारे बुझाएको प्रतिवेदनमा दुई विकल्प उल्लेख छ । पहिलो विकल्पमा साबिकको क्षेत्रबाट सेवा सञ्चालन गर्नका लागि केही सर्त अघि सारेको छ जसमा आधुनिक प्रविधिको प्रयोग गर्दै वा अन्य कुनै व्यवस्थापकीय माध्यम अपनाई यस्तै प्रकृतिका अन्तर्राष्ट्रिय विमानस्थल आसपासमा प्याराग्लाइडिङ अपरेशन गरिरहेका स्विट्जरल्यान्ड, इटाली, फ्रान्स लगायतका देशले अवलम्बन गरेका नमूनास्वरुप गर्न सुझाएको छ । प्याराग्लाइडिङ अपरेशनका लागि दुई घण्टा समय तोक्ने, ‘प्याराग्लाइडिङ जोन’को अधिकतम उचाइलाई कडाइका साथ पालन गरेर एटीसी टावरमा अत्याधुनिक प्रविधिबाट निगरानीे गर्ने र कन्ट्रोल गर्न सकिने प्रतिवेदनको सुझाव दिएको छ । त्यसैगरी दोस्रो विकल्पका रुपमा कार्यदलले साबिक क्षेत्रभन्दा अन्य क्षेत्रबाट सञ्चालन गर्न सक्ने उल्लेख गरेको छ । हाल सञ्चालनमा आइरहेको सराङकोट, तोरीपानी, मान्द्रेढुङ्गा क्षेत्रबाहेकका क्षेत्रहरुबाट प्याराग्लाइडिङ सञ्चालन गराउनु पर्दा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको एयरस्पेसभन्दा बाहिर पर्ने तर पोखरा उपत्यका आपासका क्षेत्रहरु पञ्चासे, माछापुच्छ्र«े गाउँपालिका लगायतका क्षेत्रहरुबाट सञ्चालन गराउनसक्ने जनाएको छ । विमानस्थल आयोजना प्रमुख बिनेश मुनकर्मीले अन्तर्राष्ट्रिय उडान र अवतरणमा सराङकोट क्षेत्र प्रयोग नहुने भए पनि अवतरण हुन नसकेका अवस्थामा सिधै जहाज सराङ्गकोटतर्फ उड्ने भएकाले सो ठाउँ सुरक्षाका हिसाबले त्यति उपयुक्त हुन नसक्ने धारणा राखे । अर्कातर्फ आन्तरिक उडानको रुट नै त्यही क्षेत्र पर्ने भएकाले प्याराग्लाइडिङ सञ्चालनमा बाधा पुग्न सक्ने उनको भनाइ थियो । मुनकर्मीले यस विषयमा आफूहरु सकारात्मक रहेपछि जहाज उडान र अवतरणको काम निकै संवेदनशील भएकाले सुरक्षालाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । यद्यपि, उनले आफू यस विषयको विज्ञ नभएकाले अहिले नै हुन्छ या हुन्न भन्नुभन्दा पनि प्राविधिक विज्ञहरुको अध्ययनपश्चात् मात्र आधिकारिक धारणाबाहिर आउँदा राम्रो हुने जानकारी दिए । परामर्श समूहका प्रमुख यम भण्डारीले समग्र अध्ययन र ‘म्यापिङ’ बिना नै अहिले यस विषयमा भन्न नमिल्ने बताए । “प्राविधिक तथा हवाई सुरक्षाको अवस्था अध्ययन गरेर मात्र विकल्पहरु खोज्न सकिन्छ तर अहिले नै प्याराग्लाइडिङ सञ्चालन गर्न सकिन्छ, सकिँदैन भन्ने निष्कर्षमा जान मिल्दैन,” उनले भने । पोखरा र आसपास क्षेत्रमा सर्वप्रथम सन् १९९७ देखि अल्ट्रालाइट विमानबाट तथा सन् २००१ देखि यन्त्ररहित प्याराग्लाइडरबाट सेवा सञ्चालन भएको थियो । त्यसयता ७९ वटा कम्पनी सञ्चालनमा आएका छन् । प्याराग्लाइडिङ कम्पनी ७०, प्याराग्लाइडिङ फ्लाइङ स्कुल तीन, अल्ट्रालाइट कम्पनी चार र हटएयर बेलुन कम्पनी एकवटा सञ्चालनमा छन् । संस्थाका उपाध्यक्ष अनिल केसीका अनुसार हाल प्याराग्लाइडिङका ६० वटा कम्पनी सञ्चालनमा रहेका छन् । रासस
एक महिनाभित्र कोरोना खोपको व्यवस्था गर्न पर्यटन व्यवसायीको माग
फाइल फाेटाे काठमाडौं । पर्यटनसँग सम्बन्धित विभिन्न छाता सङ्गठनले पर्यटकीय गन्तव्यमा अग्रपङ्क्तिमा खटिएका व्यवसायी, कामदार एवं कर्मचारीलाई ३० दिनभित्र कोरोना खोपको व्यवस्था गर्न माग गरेका छन् । कोरोनाका कारण थला परेको पर्यटन व्यवसायलाई पुनरुत्थान गर्नका लागि मङ्गलबार साँझ पर्यटनसँग सम्बन्धित विभिन्न छाता सङ्गठनले संयुक्त विज्ञप्ति जारी गरी यथाशीघ्र सबै नागरिकलाई कोभिडविरुद्धको खोप उपलब्ध गराई विश्व पर्यटन क्षेत्रमा विश्वसनीय वातावरणका लागि पहल गरी सम्पूर्ण पर्यटकीय क्षेत्र खुला गर्न माग गरेका हुन् । आर्थिक वर्ष २०७८र७९ को बजेटमा घोषणा गरिएको पर्यटनसँग सम्बन्धित नीति तथा कार्यक्रमलाई यथाशीघ्र लागू गर्नुपर्ने, कोभिडविरुद्धको खोपको मात्रा पूरा गरी नेपाल आउने पर्यटकलाई क्वारिन्टनमा बस्न नपर्ने तथा विमानस्थल र अन्य प्रवेश विन्दुमा पिसिआर परीक्षणको व्यवस्था मिलाउनुपर्ने नेपाल एशोसिएशन अफ ¥याफ्टिङ एजेन्सिज् (नारा) का महासचिव शिशिर खनालले बताए । पर्यटकको यात्रा सहजीकरण तथा नेपाल घुम्न प्रेरित गर्नका लागि अनलाइन भिसा सेवा प्रणालीमार्फत सहजरूपमा ‘भिसा अन–अराइभल’ व्यवस्था लागू गर्नका लागि फ्रि भिसाको कार्यान्वयन अविलम्ब सुरु गरी पर्यटकीय सेवा प्रदायक होटलरएजेन्टमार्फत मात्र भ्रमण गर्न पाउने व्यवस्था गर्न माग गरिएको छ । स्वास्थ्य सुरक्षा प्रोटोकल कार्यान्वयन प्रभावकारी बनाउन देशव्यापी तालिम तथा अनुगमन संयन्त्रको व्यवस्था गर्नुपर्ने, सिसीएमसीमा पर्यटनसम्बद्ध मुख्य छाता सङ्गठनका अध्यक्षबाट प्रतिनिधित्व हुनुपर्ने, पर्यटक सवारी साधनमा छुट्टै किसिमको इम्बोस्ड नम्बर प्लेटको व्यवस्था गर्न नेपाल सरकारलाई आग्रह गरिएको छ । ट्रेकिङ, टूर, ¥याफ्टिङलगायतको व्यवसायलाई बचाइराख्नका लागि न्यूनतम अधिकृत पूँजी २५ लाख बराबर बिनाधितो शून्य प्रतिशत ब्याजदरमा ऋणको व्यवस्था गर्नुपर्ने ट्रेकिङ एजेन्सिज् एशोसिएशन अफ नेपाल (टान) का अध्यक्ष खुमबहादुर सुवेदी बताउँछन् । कोभिडका कारण पर्यटन यातायात सञ्चालन नभएको अवस्थामा सवारी कर पूर्णरूपमा छुट गर्नुका साथै आव २०७६र७७ र २०७७र७८ को जरिवना पूर्ण छुट गर्न माग गरिएको छ । पर्यटकीय यातायात व्यवसायीका लागि तीन प्रतिशतमा कर्जा उपलब्ध गराउनुपर्ने साथै सवारी साधन जाँचपास तथा प्रदूषण परीक्षण शीर्षकमा लाग्ने कर तथा जरिवना एक वर्षका लागि मिनाहा गर्नुपर्ने टुरिष्ट बस एशोसिएशन अफ नेपाल (टिवान) का अध्यक्ष ईश्वर शर्माले बतााए । संयुक्त विज्ञप्ति जारी गर्नेमा टान, टिवान, नारा, नेपाल एसोशिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाटा), होटल सङ्घ नेपाल (हान), नेपाल पर्वतारोहण सङ्घ (एनएमए), नेपाल एशोसिएशन अफ टुर अप्रेटर (नाटो), हिमालय उद्धार सङ्घ .एचआरएं) लगायतका पर्यटकीय सङ्घसंस्था रहेका छन् ।