पर्यटन क्षेत्रमा रोजगारी गुमाएकाले १५ लाखसम्म ऋण पाउने

काठमाडौं । कोभिड-१९ को कारण पर्यटन क्षेत्रमा रोजगारी गुमाएका व्यक्तिले १५ लाखसम्म ऋण पाउने भएका छन् । उनीहरुले स्वरोजगार हुने गरी व्यवसाय सञ्चालन सो मात्राको कर्जा पाउने भएका हुन् । नेपाल राष्ट्र बैंकले मंगलबार एक सर्कुलर जारी गर्दै उक्त व्यवस्था गरेको हो । साथै, बैंकले ऋणी स्वयम् रोजगार हुने उद्देश्यले सवारी साधन खरिद गर्न प्रवाह हुने २५ लाख रुपैयाँसम्मको कर्जा दिने नयाँ व्यवस्था गरेको छ । यससँगै महिला उद्यमीद्वारा लघु उद्यम तथा स्वरोजगारमूलक व्यवसाय सञ्चालन गर्न परियोजनाको धितोमा २० लाख रुपैयाँसम्मको कर्जा प्रवाह हुने छ । यस्तो कर्जाको अनिवार्य रुपमा बीमा गर्नु पर्ने राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, वास्तविक कृषि व्यवसायीलाई २० लाखसम्म कृषि व्यवसाय सञ्चालन गर्न परियोजनाको धितोमा पनि कर्जा दिने र यस्तो कर्जाको अनिवार्य रुपमा बीमा गर्नु पर्ने बैंकले जनाएको छ ।

बैंकहरुले होटलमा लगानी गर्न छोडे

काठमाडौं । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण संकटमा परेको होटल क्षेत्रमा बैंकहरुले लगानी गर्न छोडेका छन् । कोरोनाको कारण सबै भन्दा बढी समस्यामा परेको होटल क्षेज्ञमा लगानी गर्दा बढी जोखिम देखिएपछि नेपाली बैंक तथा वित्तीय क्षेत्रहरुले कर्जा लगानी गर्न छोडेका हुन् । नेपाल सरकारले सार्वजनिक गरेको बजेट र नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिमा कोरोना प्रभावित व्यवसायी तथा क्षेत्रलाई बचाउनका लागि भनेर विभिन्न व्यवस्थाहरु गरेपनि बैंकहरुले भने लगानी गर्न छोडेका हुन् । जोखिमसँगै बैंकमा बैंकसँग लगानीयोग्य पूँजी नभएर बिजनेस नै गर्न नसक्ने अवस्थामा पुगेपछि बैंकहरुले होटल क्षेत्रमा लगानी गर्न छोडेका हुन् । पुराना होटलहरुलाई कर्जा दिएको भएपनि नयाँ आउने होटललाई कर्जा दिन रोकेको होटल व्यवसायीहरु बताउँछन् । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस कारण अहिले पर्यटन क्षेत्र ठप्प छ । विदेशीसँगै स्वदेशी पर्यटकहरुको आवागमन अहिले ठप्प छ । त्यसैले पनि अधिकांश होटलहरु अहिले बन्द अवस्थामा छन् । बैंकर्सहरु पनि होटल क्षेत्रमा लगानी गर्न छोडेको स्वीकार्छन् । सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) सुमन शर्मा अहिले बैंकिङ क्षेत्रले नै होटलमा लगानी गर्न रोकेको बताउँछन् । अहिले होटल क्षेत्रमा सबैभन्दा बढी जोखिम रहेको र लगानीयोग्य रकममा पनि कमी आएको कारण कर्जा प्रवाह कम भएको हुन सक्ने उनको भनाई छ । ‘बैंकिङ क्षेत्रले मात्र होइन, राष्ट्र बैंक र नेपाल सरकारले पनि होटल क्षेत्रमा जोखिम देखेको हो, केन्द्रिय बैंकले होटल तथा पर्यटन क्षेत्रमा गएको कर्जाको व्याजदर स्थीर राख्नुहोस्, जरिवाना नगर्नुहोस्, उनीहरुलाई सर्भाईव हुन दिनुहोस् भन्नु भनेको जोखिम छ भन्ने बुझ्नु पर्छ, कोरोनाको कारणले होटल क्षेत्रमा विश्वव्यापी रुपमै जोखिम छ,’ उनले भने । बैंकले सर्वसाधारणको पैसा चलाउने भएको र सो रकम सुरक्षित राख्नको लागि भएपनि जोखिम छ वा छैन भनेर पहिचान गरेर नै लगानी गर्नु पर्ने उनको भनाई छ । ‘जुन क्षेत्रमा बढी जोखिम छ, त्यसमा लगानी गर्न पछि हट्छन्, लगानी गरेर त्यो क्षेत्रले रिभाइव गर्न सक्छ कि सक्दैन ? बैंकले रिटर्न पाउँछ कि पाउँदैन भन्ने हुन्छ, जहाँ जोखिम बढी छ त्यहाँ फेरि लगानी गर्न बैंकहरु अवश्य नै पछि हट्छन्,’ उनले भने । उनका अनुसार सनराइज बैंकले पनि लगानी कम गरेको छ । ‘होटल क्षेत्रमा पहिले पनि हाम्रो त्यति धेरे लगानी थिएन, अहिले पनि धेरै लगानी छैन, कुल कर्जाको २ प्रतिशत मात्रै होटल क्षेत्रमा लगानी छ,’ उनले भने । उनका अनुसार बैंकिङ क्षेत्रमै २ प्रतिशतको हाराहारीमै होटलमा कर्जा लगानी भएको हुन सक्छ । यस्तै, नेपाल बैंकर्स संघका उपाध्यक्ष तथा कृषि विकास बैंकका सीईओ अनिल उपाध्याय पनि होटल क्षेत्रमा खासै कर्जा प्रवाह नभएको बताउँछन् । ‘कोरोनामा लगानी घट्नु स्वभाविक हो, होटल क्षेत्र कोरोनाको ठूलो समस्यामा छ, जोखिम पनि कायमै छ, त्यसैमाथि अहिले तरलताको पनि अभाव छ, त्यस कारणले पनि घटेको हुन सक्छ,’ उनले भने । उनका अनुसार कृषि विकास बैंकले पनि होटल क्षेत्रमा खासै लागानी गरेको छैन । ‘धेरै कर्जा त घटेको छैन, बरु एग्रेसिभ भएको छैन, हामीले होटलभन्दा पनि होमस्टे र कृषिमा बढी लगानी गरिरहेका छौं,’ उनले भने । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत पुँजी-कर्जा-निक्षेप अनुपात (सीसीडी रेसियो) खारेज गरेर कर्जा-निक्षेप अनुपात (सीडी) लागू गरेपछि बैंकहरु केही समस्या पर्न सक्ने धारणा राखिरहेका छन् । मौद्रिक नीतिमा सीडी रेसियो ९० प्रतिशतसम्म हुनु पर्ने व्यवस्था गरेको छ सो व्यवस्थाले पनि यस्तो अवस्थामा कुनै पनि बैंकहरु कर्जा प्रवाह गर्न सक्ने अवस्था नरहेको उनीहरुको भनाई छ । नेपाल राष्ट्र बैंकका अनुसार गत असारसम्म मात्रै होटल क्षेत्रमा २५ अर्ब रुपैयाँ मात्रै होटल क्षेत्रमा कर्जा प्रवाह भएको छ । नयाँ आर्थिक वर्ष सुरु भएसँगै बैंकहरुले बैंकमा लगानी झन् घटाएका छन् ।

पुनःनिर्माण गरेका १९ विमानस्थल: गोरु चर्छन्, विमान चल्दैनन्

काठमाडौं । हाल देशका १९ वटा विमानस्थल बन्द अवस्थामा छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का अनुसार विभिन्न जिल्लामा निर्माण गरिएका १९ वटा विमानस्थल अहिले बन्द अवस्थामा रहेका छन् । यीमध्ये केहीमा उडान भएर बन्द भएका छन् भने केही निर्माण सम्पन्न भए पनि परीक्षण उडानसमेत हुन सकेका छैनन् । विभिन्न कारणले लामो समयदेखि बन्द भएका विमानस्थल सञ्चालनमा सरकारले चासो नदेखाउँदा उडानविहीन भएका हुन् । अहिले ती विमानस्थल गौचरणमा परिणत भएका छन् । केन्द्र, प्रदेश र स्थानीय गरी तीन तहमा सरकारी पहुँच हुँदासमेत सरकारको करोडौंको लगानी खेर गएको छ । ठूला नेताको दबाब र निर्वाचन एजेन्डाका रूपमा विमानस्थल निर्माण भएका कारण पनि यस्तो अवस्था आएको जानकारहरु बताउँछन् । सरकार परिवर्तनसँगै कतिपय विमानस्थलमा परीक्षण उडान हुने गरे पनि नियमित उडान नहँुदा सरकारको करोडौँ लगानी डुबेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार एउटा विमानस्थल निर्माण गर्दा न्यूनतम हिमाली क्षेत्रमा ४५ करोड, पहाडमा ३५ करोड र तराईमा ५० करोड रुपैयाँ खर्च हुन्छ । कालोपत्रे भएकै विमानस्थल बन्द नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले २०६९ मा ९ करोड रुपैयाँ खर्च गरेर हिमाली जिल्ला मनाङको हुम्डे विमानस्थलको रन–वे कालोपत्रे गरेको थियो । तर, विमानस्थल हाल प्रयोगविहीन भएको छ । कालोपत्रे गरेको केही दिनमै परीक्षण उडान भएपनि हालसम्म नियमित उडान नभएको प्राधिरकणले जनाएको छ । ६ सय मिटरको धावनमार्ग रहेको हुम्डे विमानस्थल कालोपत्रे गरिएसँगै बढाएर नौ सय मिटर बनाएको छ । बरु कालोपत्रे हुनु अघि पोखराबाट सातामा दुई दिन नेपाल वायुसेवा निगमले उडान भर्दै आएको थियो । गण्डकी प्रदेश सरकारले पुनः उडान सुरु गर्ने भन्दै परीक्षण उडान गरेतापनि नियमित उडान सुरु हुन सकेको छैन । तीन हजार तीन सय ३० मिटर उचाइमा रहेको हुम्डे विमानस्थलमा २०३९ असोजबाट उडान सुरू गरिएको थियो । यस्तै, २०७५ जेठ २१ गते परीक्षण उडान भएको इलाम नगरपालिका–९, गोलाखर्कस्थित फाल्गुनन्द विमानस्थलको धावनमार्गमा कालोपत्रेको गरिएको थियो । ६७० मिटर लम्बाइ र २० मिटर चौडाइको धावनमार्ग भएको सो विमानस्थलमो तारा एयरले परीक्षण उडान गरेयता नियमित उडान हुन सकेको छैन । करिब २८ करोड लगानीमा निर्माण गरिएको सो विमानस्थल हाल गौचरणमा परिणत भएको छ । पुरानो विमानस्थल गौचरणमा परिणत २०१६ बाट सञ्चालनमा आएको गोर्खाको पालुङटार विमानस्थल गौचरनमा परिणत भएको छ । विमानस्थल निर्माण भएको १९ वर्षपछि २०३५ बाट उडान बन्द भएको विमानस्थल पुनःसंचालन हुन सकेको छैन । त्यस्तै, २०१७ बाट सञ्चालनमा आएको मेघौली विमानस्थल २०६७ मंसिरदेखि २०६९ मंसिरसम्म दुई वर्ष उडान बन्द भएको थियो । बन्द भएको विमानस्थलमा २०६९ को मंसिरबाट पुनः सञ्चालनमा ल्याइए पनि त्यसले पूर्णता पाउन सकेन । सातामा तीन वटा उडान भर्ने योजनाअनुसार पुनः सञ्चालनमा आएको विमानस्थल अहिले बन्द छ । कुन–कुन विमानस्थल बन्द ? उडानविहीन भएका १९ विमानस्थलमध्ये सन् १९८६ मा सञ्चालनमा आएको दार्चुला विमानस्थल, सन् १९७३ सालमा सञ्चालनमा ल्याईएको बाग्लुङ विमानस्थल, सन् १९७३ सालमा सञ्चालनमा ल्याईएको रुकुम चौरजहाजी विमानस्थ हाल बन्द रहेका छन् । २०७५ जेठ २१ गते परीक्षण उडान भएको इलाम नगरपालिका–९, गोलाखर्कस्थित फाल्गुनन्द विमानस्थल, सन् १९७३ बाट सञ्चालनमा आएको ढोरपाटन विमानस्थल, २०७६ पुस ७ गते परीक्षण उडान गरिएको सिजी चण्डेश्वरी विमानस्थल र विस २०७५ जेठ २५ गते परीक्षण उडान गरिएको गुल्मी रेसुङगा विमानस्थल सञ्चालन हुन सकेको छैन । यस्तैगरी, सन् १९७६ बाट सञ्चालनमा आएको जिरी विमानस्थल, सन् २००३ बाट सञ्चालनमा आएको खन्गेलडाँडा विमानस्थल, सन् १९७३ बाट सञ्चालनमा आएको महेन्द्रनगर विमानस्थलमा पनि अहिले बन्द छन् । यसैगरि, सन् १९८१ बाट सञ्चालनमा आएको मनाङको हुम्डे विमानस्थल, सन् २०१४ बाट सञ्चालनमा आएको मसिनेचौर (डोल्पा) विमानस्थल, सन् १९६० बाट सञ्चालनमा आएको गोर्खाको पालुङटार विमानस्थल, सन् १९६६ बाट सञ्चालनमा आएको मेघौली विमानस्थल, सन् १९८४ बाट सञ्चालनमा आएको टीकापुर विमानस्थलमा पनि अहिले उडान हुन सकेको छैन । स्याङबोचे विमानस्थल, लाङटाङ विमानस्थल र रोल्पा विमानस्थलमा पनि प्रयोगविहीन भएका छन् । प्राधिकरणका महानिर्देशक राजन पोखरेलका अनुसार नेपालभर ठूला साना गरि ५४ वटा विमानस्थल रहेका छन् । जसमा ३४ वटा विमानस्थलको धावनमार्ग कालोपत्रे गरिएको छ भने तीन विमानस्थल निर्माणको चरणमा रहेका छन् । १२ विमानस्थल मापदण्ड विपरीत देशभर रहेका विभिन्न १२ वटा विमानस्थल मापदण्ड विपरीत निर्माण भएको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५८औं प्रतिवेदन अनुसार हाल सञ्चालनमा रहेका १२ वटा विमानस्थल मापदण्ड अनुसार निर्माण नभएको पाइएको जनाएको हो । उक्त प्रतिवेदन अनुसार हवाई नीति, २०६३ अनुसार निकटस्थ विमानस्थलबाट प्रस्तावित विमानस्थलको दुरी कम्तीमा हिमाली र पहाडी क्षेत्रमा साधारणतया २० नटिकल माइल र तराई तथा भित्रि मधेशमा ४० नटिकल माइलको हुनुपर्नेमा सञ्चालनमा नरहेका १२ वटा विमानस्थल सो मापदण्ड अनुसार निर्माण भएको उल्लेख गरिएको छ ।