चार्टर उडानमा महंगो भाडाः तीन वायुसेवा कम्पनीलाई कारवाही गर्न सिफारिस

काठमाडौं । सरकारले गठन गरेको छानविन समितिले निषेधाज्ञाको समयमा विभिन्न वायुसेवा कम्पनीले चार्टर उडानमा महंगो भाडा लिएको निष्कर्ष निकालेको छ । कोरोना संक्रमणको जोखिमलाई आंकलन गर्दै सरकारले गरेको बन्दाबन्दी र निषेधाज्ञाको समयमा विभिन्न वायुसेवा कम्पनीले अन्तर्राष्ट्रिय उडानमा महंगो भाडा लिएका थिए । संकटको समयमा वायुसेवा कम्पनीले लुटधन्दा चलाएको भन्दै आलोचना भएपछि संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले छानविन गर्न एक समिति गठन गरेको थियो । मन्त्रालयको निर्देशनका आधारमा गत असार ७ गते नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) का महानिर्देशक राजन पोखरेलको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो । उक्त समितिले बुधबार मन्त्रालयका सचिव यादव कोइरालालाई बुझाएको प्रतिवेदनमाअनुसार केही एयरलाइन्सले चार्टर्ड उडानका दौरान तोकिएको भन्दा बढी भाडा लिएको उल्लेख छ । समितिलाई हवाई भाडा महंगो भएको सम्बन्धमा २५ वटा उजुरी परेको जनाईएको छ । सो उजुरीमध्ये सबैभन्दा धेरै कतार एयरवेजले गरेको चार्टर उडानको विषयमा उजुरी परेको थियो । २५ उजुरीमध्ये कतार एयरवेजको १६, टर्किस एयरलाइन्सको ७, हिमालय एयरलाइन्सको २ वटा उजुरी परेको थियो । जसमध्ये निर्धारितभन्दा बढी भाडा लिएको भन्दै कतार एयरवेजको चार्टर उडानको टिकटका सम्बन्धमा ९ वटा, टर्किस एयरलाइन्स र हिमालय एयरलाइन्सको टिकटका सम्बन्धमा २/२ वटा उजुरी परेका थिए । सो समितिले निर्धारण गरेभन्दा बढी भाडा असुल गरेको भन्दै ३ वायुसेवा कम्पनीलाई भाडाको सम्बन्धमा थप अध्ययन गरेर कारवाहीका लागि सम्बन्धित नियामक निकायमा सिफारिस गर्नुपर्ने उल्लेख गरेको छ । गत वर्षको बन्दाबन्दीको समयमा समेत वायुसेवा कम्पनी र ट्राभल एजेन्सीको मिलोमोतोमा चर्को शुल्क लिएको भन्दै चौततर्फी विरोध भएपछि अध्ययन गर्न समिति गठन गरिएको थियोे । भाडाको विषयमा सो समितिले अध्ययन गरेतापनि हालसम्म प्रतिवेदन सार्वजनिक गरिएको छैन ।

कोभिडले १७ प्रतिशत होटल पूर्णरूपमा बन्द भयाे: व्यवसायी

काठमाडौं । नेपाल उद्योग परिसंघले पर्यटन क्षेत्रसँग सम्बन्धित संघरसंस्थाका प्रतिनिधिसँग विद्यमान संकट र त्यसको समाधानका उपायका विषयमा छलफल गरेको छ। परिसंघका उपाध्यक्ष राजबहादुर शाहले नेपाल पर्यटन बोर्डसहित पर्यटन क्षेत्रलाई प्रतिनिधित्व गर्ने संघ संस्थाका प्रतिनिधिसँग यस क्षेत्रमा कोभिडले पारेको प्रभाव र पुनरोत्थानका लागि गर्नुपर्ने कामका विषयमा छलफल गरेका हुन् । छलफलका क्रममा व्यवसायीहरूले कोभिडका कारण १७ प्रतिशत होटल बन्द भएको बताएका छन्। यसैगरी पर्यटन उद्योगमा कार्यरत १० लाखभन्दा धेरै श्रमिकरमजदूरको रोजगारी जोखिममा परेको उल्लेख गरेका छन् । छलफलमा सहभागीहरूले कोभिड १९ को संक्रमण बढेसँगै विकसित मुलुकहरूले नेपाललाई नकारात्मक सूचीमा सूचीकरण गरेसँगै पर्यटक आगमन ठप्प रहेको उल्लेख गरेका छन्। उनीहरूले देशव्यापीरूपमा कोभिड १९ विरुद्धको भ्याक्सिन लगाएर नेपाललाई भ्रमणका लागि सुरक्षित गन्तव्यको पहिचान दिन सरकारले काम गर्नुपर्ने बताएका छन्। पर्यटन क्षेत्रसँग सम्बन्धित १७ वटा संघरसंस्थाका प्रतिनिधि सम्मिलित छलफलमा उनीहरूले पर्यटन उद्योगको पुनरोत्थानमा सरकारले विशेष जोड दिनुपर्ने पनि बताएका छन् । व्यवसायीहरूले पुनरोत्थानका लागि विना धितो ऋण र कर पुनर्कर्जाको सुविधा सम्पूर्ण व्यवसायीलाई उपलब्ध गराउने व्यवस्था मिलाउन माग गरेका छन् । यसैगरी पिसिआर रिपोर्टमा नेगेटिभ उल्लेख भएका र भ्याक्सिनको पूर्ण डोज प्राप्त गरेका पर्यटकलाई क्वारेन्टाइनमा राख्नु नपर्ने व्यवस्था गर्न पनि माग गरेका छन्। सरकारले पर्यटन क्षेत्रलाई कोभिडको अति प्रभावित क्षेत्रको सूचीमा सूचीकरण गरेको भए पनि आफूहरूले घोषणाअनुसारको सुविधा प्राप्त नगरेको उनीहरूको गुनासो छ ।  

मनास्लु आरोहण गर्न ४ समूहका ५२ आरोहीले लिए अनुमति

काठमाडौं । पर्यटन विभागबाट शरद ऋतुमा हिमाल आरोहणका लागि चार समूहका ५२ आरोहीले आरोहण अनुमति लिएका छन् । गोरखा जिल्लामा रहेको ८ हजार १६३ मिटर उचाईमा रहेको मनास्लु आरोहण गर्न ४ समूहका ४३ पुरुष र ९ महिलाले आरोहण अनुमति लिएका हुन । विभागका अनुसार मंगलबार र बुधबार २÷२ समूहका आरोहीले आरोहण अनुमति लिएका हुन । चार समूहका आरोहीलाई आरोहण अनुमतिबाट विभागले ५६ लाख बढी राजश्व संकलन गरेको छ । कोरोना महामारीका कारण नेपालले विदेशीलाई हिमाल आरोहण वा पदयात्रामा जानुअघि ७ दिन होटल क्वारेन्टाइनमा बस्नुपर्ने नियम अनिवार्य गरेको छ । यस्तै, नेपाल आउनुअघि विदेशीले ७२ घन्टाको पीसीआर गरी रिपोर्ट नेगेटिभ आएको हुनुपर्नेछ । गत वर्ष शरदयाममा विभागले ६ हजारदेखि ८ हजार माथिका ७ वटा हिमालका लागि ५८ जनालाई अनुमति दिएको थियो । जसमा ९ जना नेपाली थिए ।