चार महिनापछि खुल्यो मनकामना मन्दिर

गाेरखा । नेपालको प्रसिद्ध धार्मिक गन्तव्यका रूपमा चिनिने गोरखाको मनकामना मन्दिर करिब चार महिनापछि आजदेखि खुलेको छ । कोभिड–१९ को सङ्क्रमणको जोखिमका कारण गत वैशाख २३ गतेदेखि पूजाआजा गर्न रोक लगाइएको मनकामना मन्दिर भक्तजनका लागि पूजा गर्न खुल्ला गरिएको मन्दिरका मूलपुजारी इन्सानबहादुर थापामगरले जानकारी दिए । मनकामना क्षेत्र विकास समितिले मन्दिरमा सरकारले तोकेको स्वस्थ्य मापदण्डको पालना गर्ने गरी सर्वसाधारणका लागिसमेत पूजाआजा गर्न मन्दिर खोल्ने निर्णय गरेसँगै आजदेखि मन्दिर सर्वसाधारणका लागि खुल्ला गरिएको उनले बताए । ‘आज बिहान नियमितरूपमा गरिने नृत्यपूजा गरेर सर्वसाधारणलाई पनि पूजाआजाका लागि मन्दिरमा प्रवेश गराइएको छ, मूलपुजारी थापाले भने, ‘पुजारी र भक्तजनको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर तत्कालका लागि मन्दिर बाहिरको झ्यालबाट पूजा सामग्री पुजारीलाई दिने गरी व्यवस्था मिलाइएको छ ।’ मन्दिरमा भाकल बुझाउन आउने भक्तजनका लागि बलि दिने स्थानमा समेत छुट्टै पुजारीको व्यवस्था मिलाइको उनले बताए । चार महिनापछि मन्दिर खुल्ला भएको पहिलो दिनमै सयौँ भक्तजन पूजापाठका लागि आएको मूलपुजारी थापाले जानकारी दिए । मन्दिरमा पुग्ने भक्तजनले अनिवार्य मास्कको प्रयोग गर्नुपर्ने, सामाजिक दूरी कायम गर्नुपर्ने लगायतका व्यवस्थासमेत गरिएको उनको भनाइ छ । यता मन्दिर परिसरमा पुग्ने भक्तजनको स्वास्थ्य अवस्थालाई मध्यनजर गरी मन्दिर परिसरमै हेल्थ डेस्कसमेत स्थापना गर्ने तयारी गरिएको शहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापामगरले जानकारी दिए । यसैबीच कोरोना सङ्क्रमणको जोखिमका कारण बन्द रहेको गोरखाको अर्को प्रसिद्ध धार्मिक गन्तव्यको रूपमा चिनिने गोरखा दरबारस्थित कालिका मन्दिर पनि आजदेखि सर्वसाधारणका लागि खुल्ला गरिएको छ । रासस

कोभिड महामारीमै होटल व्यवसायीले ल्याए चाडपर्व प्याकेज, न्यूनतम ४ हजार रुपैयाँ

चितवनको पटिहानीमा १ अर्ब लगानीमा निर्माण गरिएको पाँचतारे होटल पटिहानी काठमाडौं । कोभिडका कारण थला परेका चितवनका होटल व्यवसायीले चार्डपर्वलाई लक्षित गर्दै अफर सार्वजनिक गरेका छन् । कोभिडका कारण ठूलो नोक्सान व्यहोरिसकेका व्यवसायीहरुले कोभिड संक्रमितको संख्यामा कमिसँगै चाडपर्व नजिकिएको भन्दै होटल व्यवसायीले प्याकेज सार्वजनिक गरेका हुन् । आन्तरिक पर्यटकलाई लक्षित गरी सस्तो मूल्यमा प्याकेज सार्वजनिक गर्न थालिएको हो । होटल नचल्दासमेत कोठा सरसफाई गरिरहनुपर्ने हुन्छ । सौराहाका युवा व्यवसायी सुमन घिमिरेले कोभिडका समयमा ‘पे नाउ, गो लेटर’ प्याकेजमार्फत ३०० जनाभन्दा बढीको बुकिङ गराएका थिए । यी पाहुना यस वर्ष आउनेछन् । उनले भने, ‘गएको असारमा मलाई बैंकको ब्याज, किस्ता र अन्य खर्चमा समस्या भएन ।’ उनका पाहुनाले असारअघि नै रकम जम्मा गरिसकेका छन् । यस वर्ष उनीहरू भ्रमणमा आउनेछन् । जङ्गल सफारी लजका सञ्चालक घिमिरेले यसपालिको दशैँ–तिहार सौराहा अफर सार्वजनिक गरेका छन् । दुई रात तीन दिनको सो प्याकेजमा एउटा लञ्च, दुईवटा डिनर र दुईवटा ब्रेकफास्टसँगै पर्यटकलाई थारू संस्कृति, थारू म्युजियम र हात्ती प्रजनन् केन्द्र घुमाइने छ । होटल एशोसिएशन नेपालका सदस्य ज्ञानेन्द्रकुमार विष्टको रेन फरेष्टमा पनि यो प्याकेज घोषणा गरिएको छ । विष्टले भने, ‘हामीले दशैँ–तिहारलक्षित प्याकेज सार्वजनिक गरेका छौँ ।’ उनका अनुसार प्याकेजमा एक रात दुई दिनको चार हजार ४४४ रूपैयाँ पर्दछ । जसमा एक–एकवटा लञ्च, डिनर र ब्रेकफाष्ट पर्दछन् । यससँगै जीप वा हात्ती सफारीमध्ये एक र कल्चरल डान्स प्याकेजमा पर्दछ । होटल सेभेनस्टारले दशैँ–तिहार अफर ४० प्रतिशत छुट गरेको छ । कोठामा यो छुट गरिएको हो । होटलका प्रबन्ध निर्देशक माधव दुवाडीले खानामा पनि १० प्रतिशत छुट गरिएको बताए । कर्पोरेट कार्यक्रममा पनि विशेष छुट दिइएको उनको भनाई छ । उनले भने, ‘कर्पोरेट कार्यक्रम, विवाहसँगै कोठा बुकिङ हुन थालेका छन् । भारतीय र मारवाडी समुदायको विवाहको बुकिङ धेरै आएका छन् ।’ क्षेत्रीय होटल संघका महासचिव गुणराज थपलिया धेरै होटलले केही सस्तोमा नेपाली पर्यटक लक्षित प्याकेज सार्वजनिक गर्न थालेको बताउँछन् । उनले भने, ‘अब पर्यटक आउँछन् भन्नेमा हामी आशावादी रहेका छौँ ।’ राष्ट्रियरूपमा नै सौराहामा अन्य समयको तुलनामा अफरमार्फत आन्तरिक पर्यटकलाई छुटको व्यवस्था भएको सन्देश पु¥याइदिन उनको आग्रह छ । आन्तरिक पर्यटक भित्र्याउन सकेमा होटल टिक्ने व्यवसायीहरु बताउँछन् । सौराहामा ११० होटल र १०० हाराहारीमा रेष्टुरेराँ रहेका छन् । रेष्टुरेन्ट एण्ड बार एशोसिएशन (रेवान) का अध्यक्ष दीपेन्द्र खतिवडाले अब रेष्टुरेन्ट साँझ अबेरसम्म चल्न पाउने भएसँगै छुटका अफर ल्याउने विषयमा छलफल थालिएको जानकारी दिए । कोभिड घटेको र चाडपर्व आएकाले अब पर्यटक आउनेमा आफूहरू आशावादी भएको खतिवडाको भनाइ छ । उनले भने, ‘जे–जति नोक्सान हामीले व्यहो¥यौँ अब नहोलाजस्तो लाग्छ ।’ आन्तरिक पर्यटकलाई लक्षित गरी नेपाली परिकारको गुणस्तर विकास गर्नेतर्फ व्यवसायी लागेको उनले जानकारी दिए । क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष दीपक भट्टराई अधिकांश होटलले आन्तरिक पर्यटक लक्षित गरेर प्याकेज सार्वजनिक गरेको बताए । मतिपयले प्याकेज बनाएका छन् भने कतिपयले एकमुष्ट छुट दिएको उनको भनाइ छ । गत वर्षको चैतयता होटल बन्द हुँदा ठूलो नोक्सान व्यहोरेका व्यवसायीले अब होटल खुल्दै गर्दा आन्तरिक पर्यटकलाई आकर्षित बनाएर व्यवसाय क्रमशः पूर्ववत् अवस्थामा फर्काउन लागिरहेको उनी बताउँछन् । चितवन राष्ट्रिय निकुञ्जभित्र जीप सफारीबाहेकका सबै गतिविधि सञ्चालनमा रहेका छन् । निकुञ्जमा दुर्लभ वन्यजन्तु हेर्न यहाँ पर्यटक आउने गर्दछन् । निकुञ्जको मुख्य प्रवेशद्धार सौराहा हो । यो देशकै पर्यटकीय गन्तव्य हो । रासस

खराब मौसमका कारण पोखराका सबै उडान प्रभावित

काठमाडौं । खराब मौसमका कारण सोमबार बिहानैदेखि काठमाडौं–पोखराका उडान प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार सोमबार बिहानैदेखि पोखराको उडान प्रभावित भएको हो । पोखराको उडान प्रभावित भएतापनि अन्य गन्तव्यका उडानहरु सुचारु भएका छन् । विमानस्थलका अनुसार धनगढी, नेपालगंज, विराटनगर, भरतपुर, भद्रपुर, भैरहवा, जनकपुर लगायत गन्तब्यमा भने नियमित उडान भइरहेको छ।