म्याग्दीका हिमालमा आरोही आउन थाले, महिला आरोहीले कीर्तिमान राख्ने तयारी
म्याग्दी । यहाँस्थित हिमाल आरोहणका लागि पर्यटक आउन थालेका छन् । संसारको सातौँ (८,१६७ मिटर) अग्लो धवलागिरि हिमाल आरोहणका लागि पर्यटक आउन थालेका हुन् । यो हिमाल धवलागिरि गाउँपालिका–४ मा पर्छ । विदेशी र स्वदेशी आरोही, शेर्पा, पथप्रर्दशक, भरिया र सहयोगी आधार शिविर पुग्न थालेपछि चहलपहल सुरु भएको छ । शरद्कालीन याममा हिमाल चढ्ने अनुमति लिएका आरोही हेलिकोप्टर र पैदलयात्रा गरेर आधार शिविरमा पुग्न थालेका छन् । सेभेन समिट र पाइनर ट्रेकमार्फत आएका आरोही बाबियाचौरबाट हेलिकोप्टर चढेर आधार शिविर गएका स्थानीयस्तरमा आरोहण टोलीको व्यवस्थापनमा खटिएका इन्द्रसिंह शेरचनले बताए । आरोही सडक र पदमार्ग अवरुद्ध भएकाले हेलिकोप्टर चढेर गएका हुन् । “बीस जनाको टोली हेलिकोप्टरबाट र २० पैदल हिँडेर आधार शिविर पुगेका छन्”, उनले भने, “हिमालयन र डोल्मा ट्रेकमार्फत अनुमति लिएका पर्वतारोही काठमाडौँबाट आउने तयारीमा छन् ।” जापान, चीन, स्पेनलगायत देशका पर्वतारोही धवलागिरि आरोहणका लागि आएका सेभेन समिट ट्रेकबाट आएकी माया शेर्पाले बताईन । उनीसहित पूर्णिमा श्रेष्ठलगायत नेपाली पर्वतारोहीको टोली पनि धवलागिरि आरोहणमा आएको छ । “धवलागिरिमा नेपाली महिलाले अहिलेसम्म आरोहण गरेका छैनन्”, उनले भनिन, “यो याममा हामी नेपाली महिला पर्वतारोही धवलागिरि चढ्ने तयारीमा छौँ ।” सो टोलीले गत वैशाखमा म्याग्दीमै रहेको अन्नपूर्ण प्रथम हिमाल पहिलोपटक चढ्ने नेपाली महिलाको कीर्तिमान बनाएको थियो । ८३ वर्षमा प्रबेश गरेका स्पेनका कार्लोस सोरिया पनि धवलागिरि आरोहणका लागि आएका छन् । उनले गत यामसहित ११ औँ पटकसम्म धवलागिरि हिमाल आरोणको प्रयास गरेका थिए । पर्यटन विभागले भदौ १५ गतेदेखि हिमाल आरोहणका लागि अनुमति दिन सुरु गरेको थियो । चालीस जनाले धवलागिरि हिमालको आरोहणका लागि अनुमति लिएर ४२ लाख १० हजार सरकारलाई सलामी दस्तुर तिरेका विभागले जनाएको छ । शरद्याममा सगरमाथाबाहेक आठ हजार मिटर अग्ला हिमाल आरोहण गर्न चाहने विदेशीले सलामी दस्तुर प्रतिआरोही ९०० डलर तिर्नुपर्छ । अन्य साना हिमालका लागि न्यूनतम १२५ देखि अधिकतम ४०० सम्म सलामी दस्तुर तिर्नुपर्छ । रासस
‘अनअराइभल भिसा’ दिने व्यवस्था तत्काल मिलाउन पर्यटन व्यवसायीको माग
काठमाडौं । पर्यटन क्षेत्रका अगुवा सङ्गठनले कोभिड–१९ विरुद्धको खोप लगाएका पर्यटकलाई क्वारेन्टिनमा नराखी ‘अनअराइभल भिसा’ मा नेपाल आउन दिने व्यवस्था तत्काल मिलाउन सरकारसमक्ष माग गरेका छन् । नेपाल एशोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा), ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान), होटल सङ्घ नेपाल (हान), प्यासिफिक एशिया ट्राभल एशोसिएशन (पाटा) नेपाल च्याप्टरलगायत १४ संस्थाले संयुक्त विज्ञप्ति जारी गर्दै व्यवसायीका माग तत्काल सम्बोधन नगरे अर्को सातादेखि सङ्घर्षमा उत्रने चेतावनी दिएका छन् । पर्यटक आगमन सहजताका लागि भारतसँगको सीमानाका तत्काल खोल्नुपर्ने, सरकारले घोषणा गरेको पर्यटकलाई एक महिनाको फ्रि भिसा तुरुन्तै लागू गर्न माग गरेका व्यवसायीले कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) को सट्टा सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई जिल्लाको कोभिड–१९ परिस्थितिअनुसार स्वास्थ्य मापदण्ड पालना गर्न लगाउनुपर्ने सुझाएका छन् । पर्यटन क्षेत्रलगायत अन्य क्षेत्रको माग सम्बोधनका लागि व्यवसायीको छाता संस्था नेपाल राष्ट्रिय उद्योग वाणिज्य महासङ्घ (एफएनसिसीआई), नेपाल चेम्बर अफ कमर्श (एनसिसी) र नेपाल उद्योग परिसङ्घ (सिएनआई) सँग सहकार्य गरेर अगाडि बढ्ने नाट्टाका अध्यक्ष अच्युत गुरागाईँले जानकारी दिए। उनले अन्तर्राष्ट्रिय जगत्मा ट्राभल एडभाइजरीमा नेपाललाई ‘रेडजोन’मा राखिएको हुँदा सो रेडजोन हटाउनका लागि पर्यटनकर्मीलाई पूर्णरूपमा कोभिडविरुद्धको खोप लगाइसकेको र कोभिड खोप लगाइसकेका पर्यटकलाई नेपालमा निर्वाधरूपमा आउन दिनुपर्ने बताए । क्वारेन्टिन हटाइएको अन्तर्राष्ट्रिय मिडियामा प्रचारप्रसार गरे मात्र ट्राभल एडभाइजरी रेडजोनबाट सुरक्षित जोनका रूपमा विश्वबजारमा सुरक्षित रहने सन्देश जाने भएकाले सोको अविलम्ब व्यवस्था गर्न व्यवसायीले अनुरोध गरेका छन् । चौधवटै संस्थाका अध्यक्ष तथा पदाधिकारीको बिहीबार भएको बैठकले पाँच बुँदे मागसहित विज्ञप्ति सार्वजनिक गरेका हुन् ।
आजदेखि २ गन्तव्यमा गुण एयरलाइन्सको पुनःउडान सुरु
काठमाडौं । निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी गुण एयरलाइन्सले आजदेखि आफ्नो नियमित उडान सुरु गरेको छ । आफ्ना दुई विचक्राफ्ट र थप गरिएका पाँच जेट स्ट्रिमसहित कूल सात जहाजबाट दैनिक उडान सुचारू गरेकाे हाे । सुरुआती उडान काठमाडौँबाट पोखरा, भरतपुर (चितवन) हुनेछ भने केही दिनपछि नै अन्य गन्तव्य तुम्लिङटार, विराटनगर, सिमरा, जनकपुर, भैरहवा, नेपालगञ्ज र सुर्खेतमा उडान भर्ने योजना बनाइएको छ । आन्तरिकतर्फ नियमिति उडानका लागि बुकिङ पनि धमाधम भइरहेको गुण एयरलाइन्सका प्रवक्ता एवं बजार प्रमुख प्रज्वल थापाले जानकारी दिए । नेपाली आकाशमा सिम्रिक एयरलाइन्सका रूपमा परिचित गुण एयरलाइन्सले पुनः उडान सुरु गरेको हो । गुण एयरलाइन्स सन् २००९ मा स्थापना भएको थियो । सन् २०१३ मा गुण एयरलाइन्स सिम्रिकमा परिवर्तन भएको थियो । सिम्रिकसँग दुई अमेरिकी विचक्राफ्ट जहाज थिए । त्यसमा थप पाँच जहाज खरिद गरी सङ्ख्या सात पु¥याइएको हो । गुण एयरलाइन्सले हालै यती एयरसँग रहेका पाँच जहाज खरिद गरेको थियो । गुणसँग दुई विचक्राफ्ट १८ सिट क्षमताका छन् । जेटस्ट्रिम भने ३० सिट क्षमताका हुन् ।