पूर्व अर्थमन्त्री पौडेल भन्छन्ः गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा सरकारको नै अवरोध
काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपमहासचिव एवम् पूर्वअर्थमन्त्री विष्णु पौडेलले सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काममा अवरोध गरिरहेको आरोप लगाएका छन् । उपमहासचिव पौडेलले सो विमानस्थलको दोस्रो चरणको काम तत्काल अघि बढाउन पनि सरकारसँग माग गरे । रुपन्देहीको भैरहवामा निर्मित उद्योग व्यापार संगठनको कार्यालय भवनको शनिबार उद्घाटन गर्दै उनले सो विमानस्थलको कामलाई अघि बढाउनका लागि एशीयाली विकास बैंक (एडीबी)सँग शिघ्र सम्झौंता गरेर बजेटको आवश्यक व्यवस्था मिलाउन पनि सरकारलाई ढिलाई नगर्न सचेत गराए । उपमहासचिव पौडेलले सो विमानस्थलको दोस्रो चरणको काम अविलम्ब गराउन दवावकारी भूमिका निर्वाह गर्न पनि स्थानीयबासीलाई आह्वान गरे । उनले भने, ‘सेकेन्ड फेजको निर्माणको काम अघि बढाउनका लागि एडीबी ७ अर्ब लगानी गर्न तयार भएको बसेको छ, डिजाईनका कामहरु सम्पन्न भएका छन, अत्याधुनिक टर्मिनल निर्माणको डिजाईनको काम सकिएको छ, यो आयोजना अगाडि बढाउनका लागि सरकारले कुनै पनि प्रकारको विलम्ब ग¥यो भने हाम्रो निम्ति मान्य हुने छैन ।’ उपमहासचिव पौडेलले गृहजिल्ला रुपन्देहीलाई देशभरकै नमूना जिल्ला हुने गरी विकास गर्ने र त्यसका लागि आवश्यक बजेटको व्यवस्था आफू अर्थमन्त्री हुँदा गरेको दावी समेत गरे । उनले सिद्धार्थ राजमार्गको स्तरोन्नतिका लागि छुटट्याइएको बजेट सरकारले कटौति गरेको भन्दै असन्तुष्टि समेत जनाए।
चन्द्रागिरी: घाम र कुहिरोसँग लुकामारी…
काठमाडाैं । फुस्फुस उड्डै आउने कुहिरोको शीतल स्पर्श । फेरि छिनमै पारिलो घामको न्यानोपन । बादलसँगै कुहिरोको शीत र घामको किरणको लुकामारी चल्छ । यही स्वर्णीम मौसमका कारण काठमाडौँका शिर झैँ उभिएको अग्लो चन्द्रागिरिको चुचुरो अचेल बादलभित्रको स्वर्ग झैँ रमणीय बनेको छ । यति बेला चन्द्रागिरि पुग्ने पर्यटक त्यसैमा रमाएर फुरुङ्ग छन् । आगन्तुक हरियो डाँडामा कुहिरो र घामकोे अलौकिक दृष्यलाई पृष्ठभूमि पारेर हतारहतार क्यामेरामा कैद गर्न मरिहत्ते गर्छन् । बढ्दै गएको चिसोकैमाँझ जाडो याममा भने यहाँ हिउँ खस्छ । हिउँसँग खेल्ने प्रतिक्षामा धेरै छन् । मनसुन घर्किंदै गएको बखत, बिहीबार घरी आकास खुल्ने त घरी डम्म बादलले भरिनेक्रम दिनभरजसो नै जारी रह्यो । बेलाबेलामा प्राप्त हुने तापिलो सूर्यको किरणले आगन्तुकलाई शरद् ऋतुले स्वागत गरेएको झैँ मौसमको अनुकूलता अनुभूत गरायोे । सिङ्गो काठमाडौँ उपत्यकालाई चन्द्रागिरिको टुप्पोबाट नियाल्न पाउँदा आगन्तुक दङ्ग पर्छन् । “खाल्डोभरिका घर त सानासाना बट्टा जस्ता ओइ हेर न”, एक युवती सङ्गीसँग भन्दै हुनुहुन्थ्यो । पश्चिम नेपालबाट घुम्न आएकी ८७ वर्षीया आमा भद्रकला र श्रीमती नन्दासँगै ६६ वर्षका प्रमा थानीले त्यही मौसमको मजा लिए । चन्द्रागिरि यात्रा भद्रकलाका लागि पहिलो हो । उनले जीवनकै नौलो क्षण बटुले । आउँदा वनको माथिमाथि मन्द गतिको केबलकार यात्राले उनलाई थप पुलकित बनायो । केबलकारबाट तल हरिया थुङ्गा झैँ रुख देखिए । सयौँ थरीका बोटबिरुवाको रौनक अर्कै थियो । केबलकार वनको केही नजिक पुग्दा लता लहरामा फुलेका वनफूलको सौन्दर्यले मन उसै लोभ्याउँथ्यो । “यो बुढेसकालमा नयाँ ठाउँ घुम्न पाउँदा कति रमाइलो कति, पुरानो महत्व बोकेको ठाउँ पनि हो, एकपटक हेरौँ भनेर आएको”, भद्राकुमारीले पहिलो अनुभव सुनाइन् । माथि पुगेपछि ठाउँठाउँ सामूहिक अनि ठाउँठाउँ एक्लाएक्लै तस्वीर लिने आन्तरिक पर्यटक बाक्लै थिए । फाट्टफुट्ट विदेशीसमेत मिसिन्थे । पृथ्वीनारायाण शाहको शालिक नजिक पुगेर औँलो उठाएको भान पार्दै पालैपालो तस्वीर कैद गर्न कसैले छुटाएनन् । यहाँ रहेको भालेश्वर मन्दिरसँगै मानव निर्मित आकर्षक संरचनामा रमाउन पाउँदा पर्यटक खुसी देखिन्थे । पर्यटक समूहगतरुपमै धेरै थिए । त्यसबीच काठमाडौँ बस्ने कल्पना शर्मा पनि साथीभाइसँग सेल्फीमा रमाइन्। ठाउँठाउँमा प्रेमिल जोडी फरकफरक दृष्यमा रमाइरहेका भेटिए । समूहमा आएका एकै स्थानमा बसेर टिकटक बनाउँदै गीतमा नाँच्ने गाउने गरिरहेका भेटिए । त्यतिमात्र हैन विद्यालय खुल्ने वा बन्द हुने अन्यौलका बीच रमाइलो गर्न पुगेका बालबालिका पार्कमा खेलकुदको मजा लिन भ्याए । लामो समयदेखि बन्द रहेर गत भदौ १९ बाट यहाँको केबलकार सञ्चालनमा आएपछि झनै चहलपहल थपिएको छ । कोभिड–१९ को दोस्रो लहरका कारण उक्त केबलकार गएको वैशाख १६ गतेदेखि बन्द थियो । चन्द्रागिरि हिल्सका महाप्रबन्धक अभिषेखविक्रम शाहले स्वास्थ्यका मापदण्ड पालना गरेर केबलकार सञ्चालन गरिएको र अहिले विस्तारै विभिन्न जिल्लाबाट मानिस घुम्न आउन थालेको जानकारी दिए । यहाँ अहिले जीपलाइन र रिसोर्टसमेत सञ्चालनमा छ । दैनिक एक हजार पर्यटक पुग्न थालेका छन् । बिदाको दिनमा बढी पुग्छन् । चन्द्रागिरिको फेदबाट अलिक उकालिएपछि केबलकारको व्यवस्थापन क्षेत्र सुरु हुन्छ । यहाँ पुग्ने पर्यटक छोटो समय जीप लाइनको मजा लिन पनि हौसिन्छन् । उनीहरु आकर्षक संरचनालाई पृृष्ठभूमि पारेर सेल्फी लिन्छन् । चन्दागिरिबाट देखिने काठमाडौँ उपत्यकाको मनोरम दृष्यले जो कसैलाई लोभ्याउने गरेको उनी सुनाउन्छन् । सहरको भिडभाड र सवारी साधनको हो–हल्लाबाट पर प्रकृतिको काखमा रहेको चन्द्रागिरि पर्यटकका लागि आजकाल मन बिसाउने चौतारी बनेको छ । यहाँ पुगेपछि व्यस्त सडकको धुवाँ धुलोबाट केही समय राहत मिल्छ । काठमाडौँ जिल्लाको दक्षिण पश्चिममा पर्छ चन्द्रागिरि । छोटो समयमा मजा लिएर फर्कनसक्ने क्षेत्र हो । त्यसमाथि केबलकारले थप सहज र छिटो बनाइदिएको छ । चन्द्रागिरि सधैँ व्यस्त रहेने उपत्यकावासीको थकान भुल्याउने मुख्य थलोका रुपमा पछिल्लो समय उदाउँदो छ । त्यसो त उपत्यका आसापासका धेरैजसो पहाड र पर्यटकीय क्षेत्रमा यसैगरी पर्यटक जाने गरेका छन् । चन्द्रागिरि मात्रै होइन कोभिड–१९ सङ्क्रमणका कारण प्रभावित पर्यटन क्षेत्रमा विस्तारै चहलपहल बढ्न थालेको छ । आन्तरिक पर्यटक घुम्नेक्रम बढेको तत्क्षेत्रका पर्यटन व्यवसायीले बताएका छन् । फूलचोकी, काठमाडौँ, भक्तपुर र ललितपुरका दरबार स्वायर, सुन्दरीजल, स्वयम्भु, बौद्ध, बूढानीलकण्ठ, शिवपुरी, चोभार, नगरकोटलगायत क्षेत्रमा विस्तारै चहलपहल बढेको छ । चन्द्रागिरि प्राकृतिक सुन्दरतासँगै धार्मिक तथा ऐतिहासिक महत्वसमेत जोडिएको छ । राष्ट्र निर्माता पृथ्वीनारायण शाहले ससुराली मकवानपुरबाट फर्किंदा यहाँबाट खाल्डोलाई नियालेकाे इतिहास छ । गोर्खा राज्यलाई एकीकृत गर्ने पहिलो योजना उनले यहीँ बसेर बनाएको भन्ने विभिन्न ऐतिहासिक दस्तावेजमा उल्लेख छ । यहाँ रहेको भालेश्वर मन्दिर धार्मिकस्थलका रुपमा प्रख्यात छ । यही मन्दिर दर्शन गरेर शाहले उपत्यका विजयको शक्ति प्राप्त गरेको लोक कथन पनि छ । त्यसैले यहाँ दर्शन गर्दा मनोकामना पूरा हुने विश्वास रहिआएको छ । यहाँ स्वस्थानी व्रतकथाअनुसार महादेवले बोकेर हिँडेकी मृत सतीदेवीको निधार पतन भएकाले भालेश्वर नाम रहेको किंवदन्ती छ । प्राकृतिक हिसाबले मनोरम चन्द्रागिरिबाट सगरमाथा, अन्नपूर्ण लाङ्टाङ, गौरिशङ्करलगायतका हिमशृङ्खलाको दृष्यपान गर्न किन्छ । विभिन्न चाडपर्वमा यहाँ मेला लाग्छ । हिमवत्खण्डको धार्मिक कथनअनुसार स्वर्गकी अप्सरा रम्भाले श्राप दिएपछि सुखुम गन्धर्व भौँतारिएर हिँडिरहेका बेला गालप ऋषिको उपदेशबमोजिम दर्शन गर्न जाँदा भालेश्वर महादेव प्रकट भएका हुन् । उसो त चन्द्रागिरि काठमाडौँ उपत्यकाको हरियाली प्रवद्र्धन गर्ने मुख्य पर्वत हो । साथै नजिकका भेगका खानेपानीको पूर्ति गर्ने प्रमुख स्रोत पनि हो । काठमाडौँको थानकोटस्थित गोदामचौरबाट झण्डै १२/१३ मिनेटको केबलकार यात्रापछि यहाँ पुग्न सकिन्छ । यहाँ पुग्न सडकमार्ग र ट्रेकिङ रुट समेत छ । यहाँ पछिल्ला समयमा पैदलै चन्द्रागिरि पुगेर रमाइलो गर्ने पर्यटनकोसमेत वृद्धि हुन थालेको छ । चन्द्रागिरिबाट हाइकिङ रुट पनि सुचारु छ । जहाँबाट सिधै काठमाडौँबाट मकवानपुरको ऐतिहासिक पर्यटकीयस्थल चित्लाङसम्म पैदलमार्गबाट पुग्न सकिन्छ । पृथ्वीनारायण शाह यही बाटोहुँदै चन्द्रागिरि उक्लिएकाेे भन्ने भनाइ छ । रासस
सिजनमै खुल्यो अनअराइभल भिसा, पर्यटन व्यवसायीमा छायो खुशी
काठमाडौं । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले २०७६ को फागुनदेखि रोकिएको विदेशीलाई अनअराइभल भिसा खुला गर्ने निर्णय गरेसँगै पर्यटन व्यवसायीहरु उत्साहित बनेका छन् । झन्डै १९ महिनादेखि शर्तसहित विदेशी पर्यटकलाई नेपाल खुला गरेसँगै सिजनमा उल्लेख्य मात्रामा विदेशी भित्रने अपेक्षा गरिएको व्यवसायीहरु बताउँछन् । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेण्टस (नाट्टा) का अध्यक्ष अच्युत गुरागाईं सरकारले ढिलै भएपनि पर्यटन व्यवसायीको माग सम्बोधन गर्दै अनअराइभल भिसा खुला गरेको बताउँछन् । ‘हामीले पर्यटकको मुख्य सिजनका रुपमा मानिने सेक्टेम्बर, अक्टुबर र नोभेम्बरका लागि धेरै विदेशी ल्याउने योजना बनाएका थियौं, सेक्टेम्बर सकिसक्यो, अब बाँकी २ महिनामा उल्लेख्य विदेशी आउने अपेक्षा गरिएको छ, उनले भने, नाट्टाका सदस्य व्यवसायीहरुले धेरै पर्यटकहरुले बुकिङ गरिसकेको जनाएका छ । अब विस्तारै पर्यटकीय क्षेत्रहरुले गति लिनेछन् । उनले सरकारले नेपाल आउने विदेशीका लागि विमानस्थलबाटै अनअराइभल भिसा पाउने व्यवस्था गरेसँगै टर, ट्रेकिङ र ट्राभल्सका लागि रुचि राख्ने अमेरिका, युरोप, भारत, बंगलादेशी र श्रीलंकाका विदेशीहरु नेपाल आउने भन्दै होटल बुक गरिसकेको जानकारी दिए । गुरागाइका अनुसार अन्य देशका विदेशी सँगै अष्ट्रेलियाका नागरिकले पनि नेपालको बारेमा चासो देखाए तापनि अष्ट्रेलियाले आप्ना नागरिकलाई बाहिर जाने अनुमति नदिदा उनीहरु रोकिएका छन् । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का उपाध्यक्ष भरत सापकोटा धेरै विदेशीहरुले नेपाल आउने तयारी गरेको जानकारी गराएका बताउँछन् । उनका अनुसार झन्डै २ वर्षपछि बिना झन्झट विदेशी नेपाल आउन पाउने भएसँगै धेरैले इच्छा देखाएका छन् । नेपालको बारेमा सोधपुच्छ गरेकामध्ये अधिकाशंले होटल बुक समेत गरिसकेको जानकारी आएको छ, लामो समयदेखि सिथिल बनेको नेपालको पर्यटन क्षेत्रले विस्तारै गति लिने अपेक्षा गरिएको उनको भनाई छ । हिमालय आउटरडोर टुर्स पालिका सञ्चालक राममणी रिजाल सरकारले अनअराइभल भिसा खुला गरेसँगै विदेशी आउने तयारीमा रहेको जानकारी दिए । उनले बुधबार मात्रै आप्नो कम्पनीमार्फत ४० भन्दा बढी विदेशीहरुले नेपाल आउने भन्दै बुक गरिसकेको जानकारी दिए । ट्रेकिङ र टुरमा रुचि राख्ने विदेशीका लागि अहिले सिजन नै हो । सिजनकै समयमा सरकारले विदेशीका लागि अनुमति नदिदा नेपाल आउने तयारी गरेका विदेशीहरु अन्य देशमा गए, उनले भने । विदेशीका लागि नेपाल खुला भएसँगै युरोप अमेरिका लगायतका विदेशीहरुले उनको कम्पनीमार्फत नेपाल आउन बुक गरेका छन् । सम्बन्धित समाचार विदेशीका लागि १८ महिनापछि खुल्यो नेपाल, अब विमानस्थलबाटै अनअराइभल भिसा