श्री एयरलाइन्सको जहाज रनवेमा चिप्लियो

काठमाडौं । श्री एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा चिप्लिएको छ । मंगलबार बिहान रनवेमा चिप्लिएको जहाज घाँसतिर गएको हो  । धावनमार्गमा नभएको कारण उडान सुचारु छ । पार्किङबाट रनवेमा जाने क्रममा चिप्लिएको विमानस्थल कार्यालयले जनाएको छ । मंगलबार बिहान काठमाडौंबाट नेपालगन्ज जानका लागि पार्किङमा यात्रु राखेर रनवेमा जाने क्रममा जहाज चिप्लिएको हो । ९ एन-एएनएच कलसाइनको भएको क्यु-४०० काठमाडौंबाट नेपालगञ्जका लागि चालकदलका ४ सदस्यगरी ८० जना यात्रुसहित उडानका क्रममा रहेको जहाज ट्याक्सी वेमा चिप्लिएको हो। चिप्लिएर घासे मैदानमा गएको जहाजबाट सबै यात्रुलाई निकालिसकिएको छ । रनवेबाट घासे मैदानमा गएका कारण विमानस्थल अवरुद्ध भने भएको छैन । यसअघि गत सोमबार काठमाडौंबाट विराटनगर गएको बुद्धको जहाज ल्याणिङ गिएरमा समस्या भएर ल्याण्ड गर्न नसकेपछि काठमाडौं र्फकाईएको थियो ।

एक महिनामै भित्रिए १० हजार विदेशी पर्यटक

काठमाडौं । कोरोना महामारीपछि पछिल्लो समय नेपालमा विदेशी पर्यटकहरु भित्रने थालेका छन् । नेपाल पर्यटन बोर्डका अनुसार एक महिनामा करिब १० हजार विदेशी पर्यटक नेपाल भित्रिएका हुन । बोर्डको तथ्यांक अनुसार गत सेप्टेम्बर २०२१ मा ९ हजार ८ सय ९८ जना पर्यटक नेपाल भ्रमणमा आएका हुन् । सन् २०१९ को सेप्टेम्बरका ९२ हजार ६ सय ४ जना पर्यटक नेपाल आएका थिए । गत वर्ष २०२० मा भने यो महिनामा मात्र ५८४ जना मात्र पर्यटक आएका थिए । नेपाल पर्यटन बोर्डका अनुसार अप्रिलपछि घटेको पर्यटक आगमन ५ महिनापछि केही सुधारिएको हो । अगस्ट महिनामा ५ हजार ९ सय १७ जना पर्यटक आएको बोर्डको तथयांकमा उल्लेख छ । भारतीय धेरै सेप्टेम्बरमा नेपाल भित्रने विदेशीमध्ये सबैभन्दा धेरै भारतीय नागरिक रहेका छन् । तथ्यांक अनुसार भारतबाट एक महिनामा ३ हजार ५२३ जना पर्यटक नेपाल आएका छन् । यस्तै, अमेरिकाबाट १ हजार ८६४, बेलायतबाट ४३८ र चीनबाट २३३ जना पर्यटक नेपाल आएका छन् । एक महिनाको अवधिमा सार्क मुलुकबाट ३ हजार ७३४, सार्कबाहेक एसियाली मुलुकबाट ५८५, यूरोपबाट १ हजार ७३३, अष्ट्रेलिया–न्यूजिल्याण्डबाट ८१, अमेरिकी महादेशबाट २ हजार १२५ र अन्य क्षेत्रबाट १ हजार ६४० जना पर्यटक नेपाल आएको बोर्डले जनाएको छ । सरकारले विदेशी पर्यटकलाई लक्षित गर्दै विमानस्थलबाटै अनअराइभल भिसा दिन थालेपछि विदेशी पर्यटक बढ्ने अनुमान गरिएको छ ।

यती एयरलाइन्सको दशैं अफरः स्कुटरदेखि हिरा उपहार

काठमाडौं । यती एयरलाइन्सले दशैं, तिहार र छठपर्वलाई लक्षित गरेर हवाई यात्रुहरुका लागी विभिन्न उपहार सार्वजनिक गरेको छ । एयरलाइन्सले २३ औं बर्षगाँठ मनाईरहँदा धमाकेदार दशैँ तिहार अभियान अन्तर्गत स्कुटरदेखि हिरासम्मका उपहार सार्वजनिक गरेको हो । उक्त अभियानमा प्रथम विजेतालाई यमाहाको फसिनो १२५ एफ आई स्कुटर, दोस्रो विजेता एक जोडीका लागी दुबई जानेआउने हवाई टिकट र तेस्रो हुनेलाई हिराको टप प्रदान गरिने कम्पनीले जनाएको छ । सो योजना असोज २१ देखि कार्तिक २४ सम्म यती एयरलाईन्स मार्फत उडान गर्ने सम्पूर्ण यात्रुहरुमा लागू हुनेछ । यस अन्तर्गत विभिन्न समयमा टिकट काटे पनी यो अवधीमा उडानगर्ने यात्रुहरुमा लागुहुने कम्पनीले जनाएको छ । प्रथम पुरस्कारको प्रायोजन यमाह को आधिकारीक बिक्रेता एम ए डब्लु, दोस्रो पुरस्कार सस्तो टिकट अनलाइन ट्राभल एजेन्सी र तेस्रो पुरस्कार श्री बालाजी डाइमण्ड प्रालिले प्रायोजन गरेको छ । चाडपर्वमा यती एअरलाइन्समार्फत् यात्रा गर्ने यात्रुलाई लक्षित गरेर कम्पनीले सो योजना सञ्चालन गर्न लागिएको जनाएको छ । यात्रुहरुले आरामदायी यात्रा सँगै उपहार पनि प्राप्त गरुन भन्ने उद्देश्य रहेको प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । उनका अनुसार सो अफरमा सहभागी हुनका लागि यती एयरलाइन्सका यात्रुले विमानस्थलमै चेक ईन गर्दा वोर्डिङ पास संगै प्रदान गर्ने ‘लक्की ड्र’ कुपन भरेर ड्रप बक्समा खसाल्नुपर्नेछ । एकतर्फी यात्रा गर्दा १ वटा मात्र कुपन पाइने छ भने सो अवधिका लागी एकैपटक दुईतर्फी टिकट काटेर यात्रा गर्दा एकतर्फी मै २ वटा कुपन पाइने योजना सार्वजनिक गरिएको छ । अर्थात् दुइतर्फी यात्रा गर्दा एकैजनाले ४ वटा लक्की ड्र कुपन पाउने छन् । ‘यती एयरलाइन्सको जहाजबाट जतिधेरै यात्रा गर्नुहुन्छ, त्यति नै धेरै उपहार जित्ने सम्भावना रहने छ’ प्रवक्ता बर्तौलाले भने । असोज २१ देखि कार्तिक २४ सम्म भरिएका कुपनहरुलाई संकलन गरी गोलाप्रथा मार्फत प्रथम, द्धितीय र तृतीय विजेता छु्ट्याइने र यसको जानकारी आफ्ना सोसल मिडिया मार्फत सार्वजनिक गरीने कम्पनीले जनाएको छ । हाल यतीले ५ वटा एटिआर–७२ विमान मार्फत विभिन्न ८ वटा गन्तव्यहरुमा उडान भर्दै आएको छ ।