वर्षाका कारण काठमाडौँ–विराटनगर हवाई उडान अवरुद्ध

काठमाडौं । लगातारको वर्षापछि आएको बाढीका कारण विराटनगर विमानस्थल डुबानमा परेको छ । विमानस्थल जलमग्न भएपछि सम्पूर्ण उडान प्रभावित भएको छ । काठमाडौँ–विराटनगर हवाई उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । विमानस्थल अवरुद्ध भएपछि बुद्ध एयर र यती एअरलाइन्सले काठमाडौँ–विराटनगरका सबै उडान रद्द गरेका छन् । उडान रद्द हुँदा सयौँ यात्रु समस्यामा परेका छन् । आन्तरिक उडानका दुवै ठूला एयरलाइन्सले सूचना निकालेर काठमाडौँदेखि विराटनगर गन्तव्यका सबै उडान रद्द गरिएको जानकारी गराएका हुन् । यो गन्तव्यमा बुद्ध एयरको दैनिक ११ देखि १३ उडान हुन्थ्यो । विराटनगरको विकल्पमा भद्रपुरमा उडान थप्ने क्रममा रहेको सो एयरलाइन्सले जनाएको छ । भद्रपुर विमानस्थबाट यात्रुले आवतजावत गर्नसक्नेछन् । बुद्धले भद्रपुरमा दैनिक पाँच उडान गर्दै आएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको सहयोगमा अब यात्रुको माग अनुसार केही उडान थप्न लागिएको बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले जानकारी दिए । स्थानीय केसलीया खोलामा आएको बाढी विमानस्थलमा पसेकाले धावनमार्ग, पार्किङ एरिया लगायतका स्थान डुबानमा परेका छन् । हाल भारतको विहार र उत्तर प्रदेश आसपास रहेका न्यून चापिय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले नेपालमा विगत चार दिनदेखि बदली र वर्षा भइरहेको छ । हाल देशको प्रदेश नं १ प्रदेश नं २ र बागमती प्रदेशमा पूर्ण बदली र बाँकी भूभागमा सामान्यदेखि पूर्ण बदली रहेको छ । प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ का थोरै र प्रदेश नं २, बागमती र गण्डकी प्रदेशमा एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । आज काठमाडौँको अधिकतम २१ दशमलव आठ र न्यूनतम तापक्रम १८ दशमलव सात डिग्री सेल्सियस छ ।

पोखराको होटलमा पौने चार खर्ब लगानी, ८५ प्रतिशत पर्यटक आन्तरिक

गण्डकी । दसैँयता पोखराका तालतलैया, गुफा, धार्मिकस्थल अधिकांश स्थानमा आन्तरिक पर्यटकको चहलपहल देखिएको छ । कोरोना कहरका कारण झण्डै दुई वर्षयता सुनसान बनेको पोखरामा पर्यटकको आगमन बढ्न थालेसँगै पर्यटन क्षेत्रमा पनि आशा जगाएको छ । फेवातालमा डुङ्गा शयर होस् वा आसपासका सराङकोट, काहुँकोट, विश्वशान्ति स्तुप, पुम्दीकोट, हुडिकोट आदि स्थानमा पर्यटकको बाक्लै उपस्थिति देखिएको छ । यी स्थानबाट देखिने सूर्योदयको अवलोकनसँगै हिमाली दृश्यले पर्यटकलाई लोभ्याएको छ । पोखरामा विशेषतः सेप्टेम्बरदेखि डिसेम्बरसम्मको समय अत्यधिक पर्यटक आउने समय भए पनि कोरोनाका कारण सुनसान बनेको यहाँको पर्यटनलाई दसँैंको आगमनले ठूलै राहत पु¥याएको पश्चिमाञ्चल होटेल सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले बताए । दसैंँमा कार्यालयमा हुने बिदाका साथै घटस्थापनादेखि कोजाग्रतसम्म नै शैक्षिक संस्था बन्द हुने भएका कारण यसअवधिमा विगतमा पनि देशका विभिन्न स्थानबाट आएका पर्यटकले चलायमान बनाउँथ्यो । कोरोनाको सङ्क्रमण पनि घट्दै गएका कारण दसैसँगै पर्यटक आउनेक्रम बढेको यहाँका पर्यटन व्यवसायी बताउँछन् । दसैँ अघिसम्म सुनसान जस्तै रहेका पोखराका होटेलमा यतिखेर क्षमताको करिब ३५ प्रतिशत आन्तरिक पर्यटकले भरिएको लेकसाइडस्थित होटेल एशियाका सञ्चालक धर्मराज पन्थीले जानकारी दिए । पोखरामा साना ठूला गरी झण्डै एक हजार होटेल छन् । जसमध्ये १६ वटा तारे होटेल छन् । कोरोना कहरपछि यहाँका ठूला होटेलले पर्यटकका लागि प्याकेज उपलब्ध गराएका कारण ती होटेलमा साना तथा मझौला होटेलको तुलनामा बढी पर्यटक पुगेका छन् । विभिन्न वित्तीय संस्था, कार्यालय आदिका कार्यक्रम ठूला होटेलमा गरिनुले पनि ती होटेलमा पर्यटकको सङ्ख्या बढेको हो । यो समयमा पोखरा भित्रिएका पर्यटकमध्ये ठूला होटेलमा क्षमताको ५० प्रतिशत पर्यटक पुगेका छन् भने साना होटेलमा क्षमताको २५ प्रतिशत पर्यटक पुगेको हान पश्चिमाञ्चलका अध्यक्ष सुवेदीले जानकारी दिए । उनका अनुसार पोखराका होटेलमा हालसम्म झण्डै पौने चार खर्ब बराबरको लगानी भइसकेको छ । हाल पोखरा भित्रिएका पर्यटकको तथ्याङ्कअनुसार १० प्रतिशत भारतीय पर्यटक छन् भने अन्य बाह्य पर्यटक पाँच प्रतिशत छन् । कूल पर्यटकको ८५ प्रतिशत आन्तरिक पर्यटक छन् । सेप्टेम्बरदेखि डिसेम्बरसम्म पदयात्रा र पर्वतीय पर्यटनका लागि विदेशी पर्यटक आउने गर्दछन् । पोखरा आउने विदेशी पर्यटकमध्ये ८० प्रतिशत पदयात्रामा जाने गरेको ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल(टान) पश्चिमाञ्चल क्षेत्रीय सङ्घ पोखराका अध्यक्ष सुशीलराज पौडेलले जानकारी दिए । उनका अनुसार यस याममा पदयात्राका लागि फाट्टफुट्ट बुकिङ आउन थालेको छ । आन्तरिक पर्यटकले घान्द्रुक, घोरेपानी, मर्दी, अन्नपूर्ण आधार शिविर, कफुचे, कोरी आदि स्थानमा पदयात्रामा जाने गरेको उनले जानकारी दिए । दसँैंका अवसरमा सरकारी तथा निजी कार्यालय र कम्पनीले दसैँ पेश्की एवं बोनस दिने गरेका कारण अधिकांशले यसको उपयोग घुमफिरमा खर्चने गरेको पाइन्छ । आन्तरिक पर्यटकको पहिलो रोजाइँ पोखरामा पर्ने भएकोले अधिकांशले दुईदेखि तीन दिनसम्मको समय छुट्याएर पोखरा आउछन् । पोखरा आउने पर्यटकले माछापुच्छ«े हिमालको छायाँ देखिने फेवातालमा डुङ्गा शयर गरी तालबाराहीको दर्शन गर्दछन् भने हिमाली दृश्यावलोकनका लागि सराङकोट, विश्वशान्ति स्तुप, पुम्दीकोटलगायतका स्थान पुग्ने गर्दछन् । पोखराको तालबाराहीसहित विन्ध्यवासिनी, भद्रकाली, गुप्तेश्वर महादेव गुफा धार्मिक पर्यटकीयस्थल हुन् भने यहाँका पातले छाँगो, सेती नदीको गल्छी, महेन्द्र गुफा, चमेरे गुफा, अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयले पोखरामा पर्यटकको बसाइँ लम्ब्याउने गरेको छ । लेखनाथ क्षेत्रका बेगनास, रुपा, दीपाङ, मैदी, गुँदे जस्ता तालले पनि पर्यटकलाई आकर्षित गर्ने गरेका छन् । रासस

मनकामना केबलकार दुई दिन बन्द हुने

काठमाडाैं । मनकामना केबलकार सेवा दुई दिन बन्द हुने भएको छ । आज र भोलि विजया दशमीका दिन मनकामना केबलकार बन्द गरिने भएको हो । केबलकारकार असोज ३० गतेदेखि पुनः नियमित सञ्चालन हुने मनकामना दर्शन प्रालिले जनाएको छ ।