७७ जनाको ज्यान जोगाउने पाइलट शेर्पासहित चालक दल ग्राउन्डेड, बुद्धले प्लेन उडाउन किन दिएन ?
काठमाडौं । प्राविधिक समस्या देखिएको जहाजमा रहेका ७७ जना यात्रुलाई सुरक्षित रुपमा काठमाडौं विमानस्थलमा अवतरण गराएको भनेर सामाजिक सञ्जालमा प्रशंसा कमाइरहेका पाइटल एजी शेर्पालाई बुद्ध एयरले उडानमा रोक लगाएको छ । सोमबार भएको सो घटनाका कारण उनीहरुको मनोवलमा कमि आउन सक्ने भन्दै कम्पनीले साे उडानका चालक दलका सबै सदस्यलाई केही समय उडानमा रोक लगाएको हो । चालक दलका सबै सदस्यलाई उडानमा रोक लगाएको बुद्ध एयरले एटीआर ‘अल्फा नोभेम्बर इन्डिया’ जहाज प्राविधिकहरुले जाँचेपछि मंगलबारबाटै उडाउन सुरु गरेको छ । जहाजमा समस्या नआएको जनाउँदै पुनः सुचारु गरे तापनि चालक दलका सदस्यलाई ग्राउन्डेड (उडानमा रोक) लगाएको भन्दै विरोध समेत भएको छ । बुद्धले प्रारम्भिक अनुमान अनुसार ल्यान्डिङ गियर खुलेको तर ककपिटमा रहने दुई इन्डिकेटरमध्ये एउटाले खुलेको, अर्कोले नखुलेको देखाएका कारण चालक दलले विराटनगरमा अवतरण नगरेको पाइएको जनाएको छ । बुद्धले गत सोमबार नै जहाजमा ल्यान्डिङ गियरका लागि रहेका दुइटा इन्डिकेटर मध्येमा प्राइमरी इन्डिकेटरमा ग्रिन संकेत नदेखिदा पाइलटले अवतरण नगरी काठमाडौं फर्काएको जनाएको थियो । ‘ककपिटमा रहेको (अगाडी) प्राइमेरी र पाइलटको टाउको माथि रहेको सेकेन्डरी इन्डिकेर दुबैमा ल्याण्डीङको समयमा ग्रिन सिंग्नल बल्छ । हामीले सोही सिंग्नका आधारमा ल्याण्डिङ गर्ने हो । सोमबार बुद्धको जहाजमा देखिएको प्राविधिक समस्या यसअघि कुनै पनि जहाजमा देखिएको सुनेको छैन’, एटीआर ७२ का एक पाइटलले भने । उनका अनुसार सोेमबारकोे उडानमा क्याप्टेनले संयमता अपनाउँदा ठूलो दुर्घटना हुनबाट बुद्ध एयर जोगिएको हो । ‘जहाजको म्यानुअलमा दुई इन्डिकेटरमध्ये एउटाले डाउन देखाउँदा ल्याण्ड गर्न मिल्छ, तर बुद्धका प्रशिक्षक पाइटल समेत रहनुभएका शेर्पाले म्यानुअल अनुसार ल्याण्ड गर्नुभएन । प्राङग्रा नर्झदा ल्याण्ड गरेको भए ठूलो दुर्घटना हुन सक्थ्यो, तर उहाँले सबैलाई सुरक्षित रुपमा काठमाडौंमा अवतरण गर्न सफल हुनुभयो’, ती पाइलटले भने । सोमबारको उडानका कमान्डर शेर्पा एटीआर–७२ का प्रशिक्षक पाइलट तथा प्राधिकरणमा पाइलटलाई जाँच लिने डीसीपी (डेजिग्नेटेड चेक पाइलट) हुन । बुद्धको सो घटनाका सम्बन्धमा अध्ययन गर्न नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) र कम्पनीले छानविन समिति गठन गरेको छ । क्यानका निमित्त महानिर्देशक राजकुमार क्षेत्री छानविनका क्रममा तथ्य–प्रमाण सबै जुटाउनु पर्ने भएकाले क्याप्टेन शेर्पालाई केही समयका लागि उडानमा रोक लगाइएको बताउँछन् । क्यानको उडान सेप्टीको नियम अनुसार पाइलट शेर्पासँगै उडान दलका सबै सदस्यलाई केही समय उडानमा रोक लगाइएको छ । यस्तै पर्यटन मन्त्री समेत रहेका प्रधानमन्त्री शेरवहादुर देउवाले बुद्धको जहाजमा देखिएको प्राविधिक समस्यामा चासो देखाएका छन् । उनकाे चासोपछि मन्त्रालयले बुद्धको जहाजमा मात्रै नभएर सबै जडाजमा सो समस्या पुनः देखिन सक्ने भन्दै सबै जहाजको प्राविधिक अध्ययन गर्न ५ सदस्यीय अध्ययन समिति गठन गरेकाे छ । समस्या नभएपछि जहाज उडाईयो: बुद्ध प्राविधिकले जहाजको अवस्थाको बारेमा चाजँबुझ गर्दा कुनै पनि प्राविधिक समस्या नदेखिएपछि उडान सुचारु गरिएको बुद्ध एयरले जनाएको छ । ‘हाम्रा प्राविधिकले र क्यानका प्राविधिकले जहाजमा कुनै पनि समस्या नरहेका जनाएपछि पुनः उडान सुचारु गरिएको हो, बाँकी कुरा अध्ययन समितिले बुझाएको प्रतिवेदन सार्वजनिक भएपछि थाहा भैहाल्छ’, बुद्धका एक कर्मचारीले भने, ‘क्यानको निर्देशन अनुसार केही समय रिफरेस्सका लागि चालक दलका सदस्यलाई बिदामा राखिएको हो ।’
प्रधानमन्त्रीको चासो बुद्धको जहाजमा, सबै जहाजको प्राविधिक अध्ययन गरिने
काठमाडौं । गत सोमबार बिहान काठमाडौं–विराटनगर र काठमाडौं–पोखरा दुई रुटका लागि उडान भरेको बुद्ध एयरको जहाजमा देखिएको समस्यामा प्रधानमन्त्रीले चासो देखाएका छन् । एकै दिन २ वटा उडानमा प्राविधिक समस्या देखिएपछि संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रीसमेत रहेका प्रधानमन्त्री शेरवहादुर देउवाले चासो देखाएका हुन । प्रधानमन्त्रीको निर्देशन अनुसार मन्त्रालयले बुधबार सबै जहाजको प्राविधिक अध्ययन गर्न ५ सदस्यीय समिति गठन गरेको छ । मन्त्रालययका सहसचिव बुद्धिसागर लामिछानेको संयोजकत्वमा गठित गरिएको उक्त समितिले जहाजको अवस्थाको बारेमा तीन महिनाभित्र प्रतिवेदन बुझाउने समय दिईएको छ । पाँच सदस्यीय छानबिन समितिमा नेपाल नागरिक उडड्यन प्राधिकरणका पूर्वनिर्देशक भेषराज सुवेदी, वरिष्ठ क्याप्टेन कृष्णबहादुर पौडेल, मन्त्रालयका उपसचिव प्रमोद नेपाल र प्राधिकरणका प्रवन्धक लक्ष्मण देवकोटा रहेका छन् । सो समितिले नेपालमा दर्ता भएर सञ्चालनमा रहेका आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान गर्दै आएका सबै वायुसेवा तथा हेलिकप्टरको प्राविधिक अध्यायन गर्नेछ । पोखरा उडानका क्रममा ककपिटमा धुवा देखिएको थियो भने विराटनगर उडानका क्रममा ल्याण्डिङ गियरमा समस्या आएपछि २ घण्टापछि काठमाडौंमा अवतरण गरेको थियो । पछिल्लो समय उडानका क्रममा बुद्ध सँगै अन्य वायुसेवा कम्पनीका जहाजमा विभिन्न समस्या देखिने गरेको छ ।
कुमारी बैंक र यती एयरलाइन्सबीच ‘स्वाइप एण्ड फ्लाई अभियान’को व्यवसायिक सहकार्य
काठमाडौँ । कुमारी बैंक लिमिटेड र यती एयरलाइन्सबीच ‘स्वाइप एण्ड फ्लाई अभियान’ अन्तर्गत व्यवसायिक सहकार्य भएको छ । बैंक र एयरलाइन्सबीच व्यवसायिक साझेदारी गर्दै संयुक्त रुपमा नेपालमै पहिलोपटक ‘स्वाइप एण्ड फ्लाई अभियान’को सुरुवात भएको जनाईएको छ । यतीको स्काई क्लब कार्ड र कुमारी बैंकको भिजा डेविट कार्ड (एटिएम कार्ड) लाई एकीकृत गरेर कुमारी स्काई क्लब ‘को–ब्राण्ड’ कार्ड जारी गरिएको हो । बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिनाले कुमारी स्काई क्लव कार्डका वाहकले अब हरेक खरिदमा सो कार्डबाट भुक्तानी गर्दा हवाई यात्रा नगर्दा पनि हवाई यात्रा गरे सरह नै निश्चित अङ्क प्राप्त गरिने भन्दै हवाई यात्राका लागि बैंकका ग्राहकहरुलाई प्रोत्साहीत हुने जनाए । उनका अनुसार हवाई र वित्तीय क्षेत्रबीच यस किसिमको व्यवसायिक सहकार्य भिन्न शैलीमा नेपालमा पहिलोपटक भएको हो । एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत (सिईओ) अनोज रिमालले कुमारी बैंक र एयरलाइन्सबीचको साझेदारीले दुबैका ग्राहकले जुनसुकै समयमा सो सुविधा प्राप्त गर्न सक्ने बताए । यस किसिमको सहकार्य दुबै पक्षका लागि नवीन र महत्वपूर्ण भएको रिमालको भनाई छ । ‘स्वाईप एण्ड फ्लाई अभियान’ले बैंकका ग्राहकले कुमारी स्काई क्लब कार्डबाट खर्च मात्र नभई खर्च गरे बापत प्वाइन्ट्स पनि कमाउने छन् अनि सो प्वाइन्ट्सबाट ग्राहकले यती एयरलाइन्सको निःशुल्क टिकट प्राप्त गर्न सक्नेछन् । उक्त अभियानले दुईवटा कार्ड बोकिरहन नपर्ने र एउटै कार्डले दुईवटा काम गर्ने यती एइरलाइन्सले जनाएको छ । यतीका व्यापार प्रमुख युवराज विष्टले बैंक र एयरलाइन्सको साझेदार ग्राहकले जुनसकै स्थानमा कार्डबाट भुक्तानी गर्दा प्वाइन्ट्स जम्मा हुने जानकारी दिए । निश्चित माइलेज प्वाइन्ट्स जम्मा भइसकेपछि साझेदार ग्राहकहरुले सजिलै उपभोग गर्न सक्ने र आवश्यकतानुसार एएरलाइन्सले उडान भर्ने नेपालको जुनसुकै गन्तव्यमा निःशुल्क यात्रा गर्न पाउने व्यवस्था मिलाइएको उनको भनाई छ । कुमारी बैंकको डेविट कार्डबाट १०० भुक्तानी गर्दा १ प्वाइन्ट जम्मा हुनेछ ।