५० प्रतिशतले घट्याे चिडियाखानाको आम्दानी
काठमाडाैं । कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण बन्द रहेको सदर चिडियाखाना गत साउन १ गतेदेखि सञ्चालनमा आएको छ । कोरोना महामारीका कारण मानिसहरु घुम्न ननिस्किँदा ललितपुरको जावलाखेलस्थित चिडियाखानाको आम्दानी आधाले घटेको छ । कोभिड–१९ सुरु हुनुभन्दा पहिलेको वर्षमा वार्षिक १५ करोडसम्म आम्दानी हुने गरेकामा गत आर्थिक वर्षमा सात करोड मात्र आम्दानी भएको चिडियाखानाको सूचना अधिकारी लिना चालिसेले जानकारी दिइन् । उनले भनिन्, ‘पहिले मानिस उत्साहका साथ अवलोकन गर्न आउथे । हाल त्यो अवस्था छैन । अहिले दैनिक ५०० मानिस मात्र आउँछन् । कोरोना अघि दुई हजार ५०० सम्म आउने गरेका थिए ।’ उनका अनुसार पहिलो पटक लकडाउन हुँदा आठ महिनापछि स्वास्थ्य मापदण्ड अपनाई पुनः खुला गरिएको थियो । लामो समय बन्द रहँदा खर्च व्यवस्थापनमै समस्या आएपछि कोरोनाको जोखिमकै बीच स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई चिडियाखाना अवलोकन गर्ने व्यवस्था गरिएको हो । सुरक्षाका मापदण्डमा अवलोकनकर्ताले अनिवार्य मास्क ल्याउनुपर्ने छ भने जनावरलाई खुवाउन, छुन पाइने छैन । यसअघिझै हरेक दिन बिहान १० देखि साँझ ५ बजेसम्म अवलोकनका लागि खुला गरिएको छ । हाल चिडियाखानामा ११० प्रजातिका एक हजार ६८ जीवजनावर रहेका छन् । त्यहाँका मुख्य आकर्षणको रूपमा बाघ, भालु, चितुवा र रातो हाब्रे छन् । ती प्रजातिमध्ये ३३ स्तनधारी, ६१ चरा, आठ उभयचर र १७ प्रजातिका माछा छन् । नेपालमा लोप हुन लागेको भनी सूचीकृत ३८ दुर्लभ वन्यजन्तुमध्ये १५ लाई चिडियाखानाले संरक्षण गरी प्रदर्शनीमा राखेको छ । चिडियाखाना अवलोकनका गर्न विदेशीको लागि रु एक हजार तथा सार्क राष्ट्रका नागरिकका लागि रु ५०० र नेपालीलाई रु २०० शुल्क तोकिएको छ । यसैगरी चिडियाखानाले नेपाली विद्यार्थीका लागि रु १३५ र ज्येष्ठ नागरिकका लागि १०० शुल्क लिँदै आएको छ । वार्षिक ११ लाख दर्शकसम्म अवलोकन गर्न आउने यहाँ प्रवेश शुल्कबाट नै वार्षिक १५ करोडसम्मको कारोबार हुने गरेको थियो । प्रवेश शुल्कबाट आएको आम्दानीले नै कर्मचारी र जनावरलाई खाना खुवाउने कामको व्यवस्थापन गर्दै आएको छ । चिडियाखाना व्यवस्थापनका अनुसार बन्द हुनुअघि हरेक दिन तीन हजार अवलोकनकर्ता चिडियाखाना अवलोकनका लागि आउने गरेका थिए । तत्कालीन राणा प्रधानमन्त्री श्री ३ जुद्धशम्शेर जङ्गबहादुर राणाले सन् १९३२ मा यसलाई निजी चिडियाखानाको रूपमा स्थापना गरेका थिए । विसं २०११ बाट सर्वसाधारणका लागि खुला गरिएको चिडियाखाना विसं २०५२ बाट यसको व्यवस्थापनको जिम्मेवारी ३० वर्षका लागि सरकारले राष्ट्रिय प्रकृति संरक्षण कोषलाई हस्तान्तरण गरेको थियो । सोहीअनुरुप कोषले व्यवस्थापन गर्दै आएको छ । रासस
बुद्धको अफरः माउन्टेन उडानमा एउटा टिकट काट्दा अर्को सित्तैमा
फाइल फोटो काठमाडौं । निजी हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले हरेक शनिबारको माउन्टेन उडानमा अफर योजना ल्याएको छ। कम्पनीले मंगलबार अफर सार्वजनिक गर्दै एक टिकट काट्दा एक सित्तैमा रहेको जनाएको छ । कम्पनीले हरेक शनिबार माउन्टेन उडानका लागि ९ हजार ९ सय ९९ रुपैयाँ बराबरको टिकट काट्दा अर्काे फ्रिमा दिनेछ । अफरमा दिईने टिकटबाट झालमा बस्न भने पाइनेछैन् । बुध्द एयरसँग १५ वटा जहाजमध्ये १० एटीआर ७२, ३ वटा एटीआर ४२ र २ वटा बिचक्राफ्ट जहाजबाट आन्तरिक उडान गर्दै आएको छ भने कोभिड पछि अन्तर्राष्ट्रिय उडान सुचारु हुन सकेको छैन ।
२४ वर्षमा यती एयरः जेटस्ट्रिम युगको अन्त्य गरी एटीआरमा प्रवेश
काठमाडौं । निजी क्षेत्रको लगानीमा सञ्चालित वायुसेवा कम्पनी यती एअरलाइन्स मंगलरबारदेखि २३ वर्ष पूरा गरी २४ वर्षमा प्रवेश गरेको छ । २१ सेप्टेम्वर, १९९८ बाट पहिलो उडान शुरु गरेको यतीले सोही दिनलाई बार्षिक उत्सवको रुपमा मनाउने गरेको छ । नेपालका दुर्गम क्षेत्रका बासिन्दालाई मानवीय सेवा गर्ने उद्देश्य लिएर स्थापना भएको यती एअरलाइन्सले आफ्नो भगिनी संस्था तारा एअरसहित २३ वर्षदेखि नेपाली आकाशमा उत्कृष्ट सेवा प्रदान गर्दै आएका जनाएको छ । स्थापनाको सुरुवाती दिनमा यातायात सञ्जाल नजोडिएका हिमाली क्षेत्र र कर्णालीका बासिन्दालाई खाद्यान्न, औषधी, लत्ताकपडालगायत सामग्री ढुवानी गर्दै आएको यतीले पछिल्लो समय अन्तर्राष्ट्रिय स्तरमा समेत आफ्नो सञ्जाल बढाउँदै लगेको एअरलाइन्सका प्रमुख कार्यकारी अधिकृत (सिईओ) अनोज रिमालले जानकारी दिए । ‘यती एअरलाइन्स र तारा एअरका साहसी पाइलट एवं आत्मविश्वासी चालकदल, दक्ष प्राविधिक, तालिम प्राप्त कर्मठ कर्मचारी, साझेदार सङ्घसंस्थाहरुको लगन, मेहनत, इमान्दारी तथा यात्रुहरुको विश्वासले यती एअरलाइन्सले गौरवमय २३ वर्षे इतिहास पूरा गर्न सफल भएको हो, यसका लागी हामी सवैलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौँ’, उनले भने । २४ वर्षे यात्रासंगै यतीले जेटस्ट्रिम युगको पूर्णरुपले अन्त्य गरी एटिआर युगमा प्रवेश गरेको छ । हालै यतीले आफूसंग रहेको ५ वटा विमान गुण एयरलाइन्सलाई विक्री गरिसकेको छ । २३ औँ वार्षिकोत्सवको अवसरमा यतीले ग्राहकलाई थप सहजता प्रदान गर्ने भन्दै रिजर्भेसन सेन्टरलाई अपग्रेड गर्दै आजबाट कल सेन्टरको औपचारिक शुभारम्भ समेत गरेको छ । कल सेन्टरको शुभारम्भसँगै अब ०१–५९७००७४ मा फोन गरी उडान सम्बन्धी जानकारी लिन सकिने र उडान सम्बन्धी जिज्ञासा अनुत्तरित नरहने यती एअरलाइन्सले जनाएको छ । एअरलाइन्सका प्रवक्ता एवम् हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले उपयुक्त भाडादर, झन्झट रहित यात्रा, गुणस्तरीय सेवा र यात्रुहरुलाई पहिलो प्राथमिकतामा राखी उडान गरेको कारण यती एअरलाइन्स स्वदेशी तथा विदेशी यात्रुको रोजाईमा पर्न सफल भएको बताए । ‘विरामी, अपाङ्गता वा फरक क्षमता भएका यात्रु महानुभाव, बालबालिका तथा ज्येष्ठ नागरिकलाई विशेष प्राथमिकतामा राखि सुरक्षित रुपमा गन्तव्यमा पु¥याई सन्तुष्ट सेवा प्रदान गर्दै आएका छौँ,’ उनले भने । यती एअरलाइन्स नेपालको पहिलो र एकमात्र कार्वन न्युट्रल एअरलाइन्स हो । वातावरण संरक्षणमा यती एअरलाइन्स उत्तिकै संवेदनशील र सक्रिय रहेको प्रवक्ता बर्तौलाको भनाई छ । यतीले कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न निकायहरुको सहकार्यमा सगरमाथा सफाई अभियानमार्फत् सगरमाथा लगायत खुम्बु क्षेत्रबाट हालसम्म करिब १०० टन फोहोर एअरलिफ्ट गरिसकेको छ । यस्तै, विभिन्न जिल्लमा दुईलाख ७२ हजार ६०० वटा विरुवा वृक्षारोपण गरिसकेको छ । वायुयानभित्र प्लाष्टिक कपको सट्टा पेपर कप प्रयोगमा ल्याएको, विद्युतीय सवारीसाधनलाई प्राथामिकताका साथ प्रयोगमा ल्याएको कम्पनीले जनाएको छ । हवाई र पर्यटनमा मात्र नभई खेलकुदको क्षेत्रमा पनि यतीको विशेष योगदान रहेको छ, विशेषगरी क्रिकेट, फुटबल र गल्फमा पनि यती एअरलाइन्सको प्रत्यक्ष योगदान रहेको छ । आगामी वर्षमा वायुयानको संख्या थप गर्ने, नयाँ गन्तव्यमा उडान थप गरी बजार हिस्सा बढाउने, थप रोजगारी सृजना गर्ने, चार्टर उडान मार्फत् अन्तर्राष्ट्रिय गन्तव्यमा सेवा विस्तार गर्ने, नयाँ प्रविधिहरुलाई प्रयोगमा ल्याई हवाई सेवालाई परिष्कृत गर्दै थप गुणस्तरीय बनाउने र यात्रुहरुलाई प्रत्यक्ष लाभ हुने सहुलियत अफरहरु ल्याउने तथा सामाजिक उत्तरदायित्वहरुलाई निरन्तरता दिने प्रवक्ता बर्तौलाले जानकारी दिए । यतीले हाल पाँचवटा एटिआर विमानमार्फत् नेपालगञ्ज, भद्रपुर, जनकपुर, पोखरा, सिमरा, भैरहवा र विराटनगरमा उडान भर्दै आएको छ भने भगिनी संस्था तारा एअरको ४ वटा ‘ट्वीन–अटर’ विमानमार्फत् दुर्गम हिमाली तथा पहाडी भागहरु लुक्ला, फाप्लु, जोमसोम, हुम्ला, जुम्ला, रारा, डोल्पा, वाजुरा जस्ता विमानस्थलमा सेवा दिँदै आएको छ ।