दक्ष जनशक्ति र उपकरण नहुँदा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलकाे परीक्षण उडान अनिश्चित

काठमाडाैं । विदेशबाट दक्ष जनशक्ति र जहाजसहितको उपकरण ल्याउन नसक्दा गाैतमबुद्ध विमानस्थलकाे परीक्षण उडान अनिश्चित बनेको छ । आयोजना प्रमुख ईन्जिनियर प्रवेश अधिकारीले कोरोना भाइरसका कारण थाईल्याण्ड सरकारले प्राविधिकलाई आउन नदिएकोले यस्ताे भएकाे बताए । हाल प्राविधिक कामहरुलाई सम्पन्न गर्नको लागि सरकारले थाईल्याण्ड सरकारसँग कुटनीतिक पहल थालेको उनले बताए । रुपन्देहीको भैरहवास्थित रहेकाे विमानस्थलको निर्माण कार्य अन्तिम चरणमा रहेको छ ।विमानस्थलको भौतिक प्रगति ९८ प्रतिशत भइसकेको छ भने वित्तिय प्रगति पनि ७७ प्रतिशत काम सम्पन्न भइसकेको हो । अब साना केही प्राविधिक कामहरु मात्रै बाँकी रहेकोले आइसीपी जिरो २ ठेक्का सम्झौताअनुसार थाइल्याण्डको एरोथाइ कम्पनीले प्राविधिक पठाए १० दिनमै विमानस्थलको सबै काम सम्पन्न हुने आयोजना प्रमुख ईन्जिनियर अधिकारीले बताए । प्रमुख ईन्जिनियर अधिकारीले अहिले बनिरहेको टर्मिनल बिल्डिङ रिलेटिभ रुपमा सानो भएको सरकारको अनुमान रहेकोले यसलाई ठूलो बनाउनुपर्ने विषयमा अध्ययन भइरहेको बताए । उक्त टर्मिनल बिल्डिङले मात्र ४ सय सेवाग्राहीलाई सेवा दिनसक्ने भएकोले अन्तर्राष्ट्रिय विमानस्थलका लागि यो पर्याप्त नहुने भन्दै नेपाल सरकार र नेपाल नागरिक उड्डयन प्राधिकरणले नयाँ टर्मिनल बिल्डिङ बनाउने विषयमा अध्ययन गरिरहेको उनले बताए । विमानस्थलमा परीक्षण फ्लाइट भएको करिब तीन महिनापछि अन्तर्राष्ट्रिय उडान शुरु गर्ने जनाइएको छ । राडर र फ्लाइट प्रणाली (धावन र आकाश) को तथ्यांक चेकजाँच गर्न परीक्षण फ्लाइट गरिन्छ ।

८ वर्षपछि पुरानै ब्राण्डमा गुण एयरलाइन्स, असोज १ गतेदेखि उडान सुरु

काठमाडौं । निजी क्षेत्रको लगानीमा सञ्चालित गुण एयरलाइन्सले असोज १ गतेदेखि आन्तरिक उडान सुचारु गर्ने भएकोे छ । यसअघि सिम्रिक एयरलाइन्सको नामबाट उडान सञ्चालन गर्दै आएको सो एयरलाइन्सको नाम परिवर्तन पछि असोज १ गतेबाट उडान सुचारु गर्न लागेको हो । कम्पनीले सिम्रिक एयरलाइन्सले उडान गर्दै आएकोे गन्तव्य मध्ये पहिलो चरणमा भरतपुर र पोखरामा उडान सञ्चालनको तयारी गरेको हो । तयारी स्वरुप मंगलबारदेखि २ गन्तव्यका लागि टिकट बुकिङ खुला गरिएको कम्पनीले जनाएको छ । गुण एयरलाइन्सका प्रवक्ता एवम् बजार तथा बिक्री प्रमुख प्रज्वल थापा असोज १ गतेबाट दुई गन्तव्यमा उडान सञ्चालनको तयारी स्वरुप आजबाट बुकिङ खुला गरिरएको बताउँछन् । ‘हामीले सुरुवाती चरणमा काठमाडौँ–भरतपुर र काठमाडौं–पोखरा उडान सुचारु गछौँ । पहिलो उडान भएको १ सातापछि पुनः अन्य गन्तव्यमा उडान सुचारु गर्ने तयारीमा छौँ’, उनले भने, ‘उडान सुचारुको सम्पूर्ण तयारी पूरा भइसकेको छ ।’ कम्पनीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललाई आधार बनाएर काठमाडौंबाट पोखरा, भरतपुर, भैरहवा, सिमरा, जनकपुर, विराटनगर, नेपालगन्ज र तुम्लिङटार लगायतका गन्तव्यमा उडान विस्तारको तयारी गरेको जनाएकोे छ । बक्यौता भुक्तानी पछि उडान अनुमति सिम्रिक एयरलाइन्सको नाममा रहेको विमानस्थल सेवा शुल्क बापतको बक्यौता रकम भुक्तानी गरेपछि क्यानले उडान अनुमति दिएको हो । यसअघि नै उडानको तयारी गरेतापनि पुरानो रकम भुक्तानी नहुँदासम्म क्यानले उडान अनुमति दिएको थिएन । २०७६ चैत देखि उडान बन्द गरेको सिम्रिक एयरलाइन्सको बक्यौता सवा २ करोडभन्दा बढी थियो । गुणसँग अहिले ७ वटा जहाज भएको छ। जसमा २ वटा सिम्रिकमा नाममा रहेको विचक्राफ्ट जहाज र यती एयरसँग किनेको ५ वटा जेट स्ट्रिम जहाज रहेको छ। ८ वर्षपछि पुरानै ब्राण्डमा ८ वर्षअघि बन्द भएको गुण एयरलाइनस पुरानै ब्राण्डमा फर्कने तयारी गरेको छ । तत्कालीन समयमा पुरानो ब्राण्ड छोडेर सिम्रिक एयर भएको गुण बन्द भएको ८ वर्षपछि पुरानै ब्राण्डमा फर्किएको हो । सन् २०१३ मा व्यवसायिक उडान बन्द भएको गुण एयरलाइन्सका अध्यक्ष राजेन्द्र शाक्यले यसअघि सञ्चालनमा रहेको सिम्रिक एयरलाइन्सको नाम परिवर्तन गरी गुण एयरलाइन्सबाटै उडान भर्न लागेका हुन । कम्पनीले निजी क्षेत्रको लगानीमा सञ्चालित यती एयरलाइन्ससँग भएको ५ थान जेट इञ्जिन विमान खरिद गरी ब्राण्ड नामसमेत परिवर्तन गरिसकेकाे छ । यती एयरलाइन्सले सन् १९९८ मा खरिद गरेको ५ थान विमान केही समयअघि मात्र गुण एयरलाईन्सले खरिद गरेको थियो । यतीसँग किनेको ५ थान जहाज गरी सिम्रिकसँग ७ थान विमान रहेका छन् । थप समाचार ८ वर्षपछि पुरानै ब्राण्डमा फर्किदै गुण एयरलाइन्स, मन्त्रालयबाट पायो ५ जहाज उडानको अनुमति  

अन्नपूर्ण बेस क्याम्प असोज पहिलो साताबाट खुल्ने

गण्डकी । कोरोनाले बन्द अन्नपूर्ण आधारशिविर पदयात्रा आगामी असोज पहिलो साताबाट खुल्ने भएको छ । कोरोनाबीच देशका धार्मिक, सांस्कृतिक र पर्यटकीय गन्तव्य खुल्न थालेसँगै सो आधारशिविर पदमार्ग खुल्ने भएको हो । विश्वकै उत्कृष्ट १० मध्येको उक्त पदमार्गमा पर्ने सो आधारशिविर क्षेत्रमा स्वास्थ्यमापदण्ड बनाएर पदयात्रा खोल्न लागिएको छोम्रोङ पर्यटन व्यवस्थापन समितिका सचिव दिलीप गुरुङले बताए । ‘पदयात्रामा जानेलाई लक्षित गरी असोज पहिलो साताबाट यो क्षेत्र खुलाउन लागेका हौं’, उनले भने,’दयात्राका क्रममा पर्यटकलाई कोभिडको आशङ्का लागेमा छोम्रोङमा एन्टिजेन परीक्षणको प्रवन्ध गर्नेबारे छलफल भइरहेको छ ।’ नजिकैबाट हिमाल नियाल्दै पदयात्रा गर्न पाउनु यो पदमार्गको विशिष्टता हो । यहाँ आउनेलाई पर्याप्त सुविधा उपलब्ध गराउन पर्यटन पूर्वाधार विस्तार गर्न व्यवसायी सक्रिय भएको अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवका संयोजक ललित गु्रुङले जानकारी दिए । सो क्षेत्रका २६ होटेलले पर्यटकलाई सेवा दिइरहेका छन् । अन्य १० होटेल थप्ने भनिएपनि कोरोनाले त्यो सम्भव भएन । चार दशकअघि उक्त आधारशिविर जाने पर्यटक त्यहाँका भेँडीगोठ र चित्रा/भकारीले बारेका झुपडीमा बस्नुपर्ने बाध्यता थियो । विसं २०४३ मा स्थापित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को पहलमा २०४९ सालपछि उक्त क्षेत्रमा होटल सञ्चालनमा आएका हुन् । एक्यापले निर्धारण गरेको मापदण्डअनुसार पदयात्रा मार्गका सिनुवा, बाम्बो, हिमालयन, दोभान, देउराली, माछापुच्छे« र अन्नपूर्ण आधार शिविरसम्म होटेल चलेका थिए । मापदण्डअनुसार प्रत्येक होटलमा ६ सहित १५६ कोठामा पर्यटक बस्न सकिने व्यवस्था छ । कोरोना सुरु हुनुभन्दा अघिका वर्षमा ८० हजार आन्तरिक तथा बाह्य पर्यटकले भ्रमण गर्ने उक्त क्षेत्रमा बढ्दो पर्यटकीय आकर्षणलाई दृष्टिगत गरी यसको उचित व्यवस्थापन, प्रवद्र्धनलगायतमा सहयोग पु¥याउने उद्देश्यले २०७४ सालदेखि अन्नपूर्ण सेञ्चुरी पर्यटन महोत्सव थालिएको छ । गएको दुई वर्ष सो महोत्सव स्थगित भयो । सन् १९५० जुन ३ मा फ्रान्सका मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमालको आरोहण गरी विश्व कीर्तिमान राखेसँगै अन्नपूर्ण क्षेत्रले विश्वव्यापी चर्चा पाएको हो । आठ हजार ९१ मिटर उचाइको सो हिमाल आरोहणको सफलतापछि सन् १९५३ मे २९ मा तेञ्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका थिए । अन्नपूर्ण आरोहणको डेढ दशकपछि सन् १९६६ मा विश्वप्रख्यात पदयात्री एरिक सिप्टनले चार हजार १३० मिटरको उचाइमा अवस्थित अन्नपूर्ण आधार शिविरको पदयात्रा गरेपछि सो क्षेत्र उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा चिनियो । घान्द्रुकबाट अन्नपूर्ण आधार शिविरसम्म पुग्न बाह्यले सामान्यतः चार र आन्तरिक पर्यटकले तीन दिन लगाउँछन् । विगतमा पदयात्रामा आउने बाह्य पर्यटकले स्थानीय परिकार खानुपर्ने बाध्यता थियो । पछिल्ला वर्षमा यहाँका होटेलले विदेशी परिकार पनि पस्कन थालेका छन् । एक्यापले स्थानीयवासीलाई बेलाबेलामा तालिम दिँदै आएको छ । होटेलले विदेशी परिकार बनाउन सक्ने कुक राख्न थालेका छन् । होटेलको क्षमता विस्तारसँगै पदमार्ग क्षेत्रका देउरालीको पूर्वतर्फको पहाडमा रहेका बुद्धाकृति, दोभान र हिमालको बीचमा अवस्थित प्राचीन पुजनीयम् बराह तथा सो मन्दिर परिसरबाट देखिने १०८ धारा, झिनुडाँडास्थित तातोपानीको कुण्डजस्तास्थललाई थप व्यवस्थित गर्न चासो बढ्दै गएको छ । कोरोनाले थलिएको पर्यटनलाई विस्तारै पूर्ववत् अवस्थामा फर्काउनुपर्ने वर्तमान अवस्थामा स्वास्थ्य मापदण्डसहित पर्यटकीय गन्तव्य खोल्नुपर्ने पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष सोम थापाले बताए । ‘विश्व बजारमा मापदण्डसहित पर्यटकीयस्थल खुल्न थालेका छन्, हामीले पनि अब पर्यटकीयस्थल बन्द गरेर बस्न हुँदैन’, थापाले भने, ‘पर्यटक र व्यवसायीलाई सुरक्षित बनाउन चाँडो कोरोना विरुद्धको खोप व्यवस्था गरी थलिएको पर्यटनलाई उठाउनुपर्छ ।’ रासस