मेरा पिकमा फसेका ५ आरोहीको उद्धार

काठमाडौं । सोलुखुम्बु क्षेत्रको मेरा पिक (६४०० मिटर) मा फसेका ५ आरोहीको उद्धार गरिएको छ । निरन्तर परेका वर्षाका कारण मेरा पिक आरोहणमा गएका चार विदेशी र एक नेपाली आरोहीको बिहीबार आरोहण कम्पनीको पहलमा उद्धार गरिएको हो । नेपाल पर्वतारोहण संघ (एनएमए) बाट आरोहण लिएर मकालु एड्भेन्चर प्रालि मार्फत आरोहणका लागि गएका पाँचै जनाले उद्धार गरी ग्राण्डी अस्पतालमा उपचार भइरहेको कम्पनीले जनाएको छ । यस्तै मेरा पिक आरोहण गरी फर्कदै गर्दा हराएका शेर्पा इभेन्ट्स अर्गनाइजरका सदस्यहरुको पनि उद्धार गरी सुरक्षित रुपमा लुक्लामा ल्याइएको एमएमएले जनाएको छ । शेर्पा इभेन्टेस मार्फत आरोहणमा गएका छेतेन शेर्पा पछिल्लो ३ दिनदेखि सम्पर्कविहीन भएको जनाईएको छ । एमएमएले सम्बन्धीत आरोहण कम्पनीसँगको समन्वयमा पर्यटन मन्त्रालय, पर्यटन विभाग, जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु, नेपाल प्रहरी र नेपाली सेनासँगको समन्वयमा खोजी कार्य जारी राखिएको जनाएको छ ।

१५ महिनादेखि चिनियाँ जहाज ग्राउण्डेड गर्दा निगमलाई थपियो व्याजवाहेक साढे १८ करोड दायित्व

काठमाडौं । सरकारी स्वामित्वको नेपाल वायुसेवा निगम सञ्चालक समितिले सञ्चालन खर्च समेत धान्न नसकेको भन्दै ग्राउन्डेड गरेको चिनियाँ जहाजको अझै व्यवस्थापन हुन सकेको छैन । २०७७ को साउन १५ गतेबाट ग्राउन्डेड गरिएको सो जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको पार्किङमा १५ महिनादेखि थन्किएको छ । सञ्चालन खर्च समेत धान्न नसकेको भन्दै ग्राउन्डेड गरिएको जहाजबाट निगमलाई थप आर्थिक भार बढ्दै गएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको पार्किङमा राखिएको ६ थान चिनियाँ जहाजबाट निगमलाई १५ महिनाको अबधिमा साढे १८ करोड रुपैयाँ शुल्क थपिएको छ । विमानस्थलको पार्किङमा राखिएको शुल्क र बीमाबापत निगमलाई उक्त दायित्व थपिएको हो । ग्राउन्डेड भएको १५ महिनाको अबधिमा निगमले बीमाबापत ६ थान विमानको १८ करोड ११ लाख रुपैयाँ र विमानस्थलको पार्किङ शुल्क बापत ३४ लाख ९५ हजार रुपैयाँ गरी १८ करोड ४६ लाख रुपैयाँ थप आर्थिक भार थपिएको निगमको अर्थ विभागले जानकारी दिएको छ । उक्त जहाजका क्याप्टेन, कोपाइलट, एयरहोस्टेज तथा अन्य कर्मचारीको सेवा सुविधा बाहेक विमानस्थको पार्किङ र बीमा बापत उक्त रकम खर्च भएको हो । निगमले चिनियाँ जहाजका पाइटल तथा कोपाइलटलाई व्यवस्थापन गर्न नसक्दा उनीहरु पनि काम विहिन भएका छन् । अर्थ विभागको तथ्यांक अनुसार चिनियाँ कम्पनीको एम ए–६० जहाजको दैनिक पार्किङ शुल्क २ हजार ५ सय १४ रुपैयाँ र बीमा वापतको एक हजार ६१ अमेरिकी डलर दैनिक खर्च हुने गरेको छ । यसैगरी वाई–१२ ई जहाजको एक दिन विमानस्थल कार्यालयमा राखिएबापत विमानस्थल कार्यालयले ६ सय ८५ रुपैयाँ लिन्छ भने बीमाको लागि ३ सय १५ अमेरिकी डलर भुक्तानी गर्नुपर्छ । जहाज उडान तथा ग्राउन्डेड गरेर राखे तापनि वायुसेवा सञ्चालकले विमानस्थल कार्यालयलाई पार्किङ र बीमा कम्पनीलाई बीमा शुल्क बुझाउँनु पर्छ । विमानस्थलको पार्किङ शुल्क रुपैयाँमा भुक्तानी हुनेछ भने बीमा शुल्क डलरमा बुझाउनु पर्ने हुन्छ । निगमले चीनबाट ५६ सिट क्षमताका २ थान एमए–६० र १९ सिट क्षमताका ४ थान वाई–१२ ई जहाज अनुदान तथा खरिद गरेर ल्याएको थियो । दुई अर्ब ९४ करोड अनुदान र ३ अर्ब ७२ करोड ऋणमा २०७१ सालदेखि २०७४ सालसम्म ६ वटा जहाज नेपाल ल्याइएको थियो । खरिद गरेर ल्याईएको ४ थान जहाज १.५ प्रतिशत ब्याजमा चीनकै एक्जिम बैंकबाट नेपाल सरकारले ऋण लिएको थियो । कार्यान्वयनमा आएन अर्थको निर्देशन निगम व्यवस्थापनले जहाज ग्राउन्डेडको निर्णय गरेपछि जहाज व्यवस्थापनका लागि अर्थ मन्त्रालयसँग राय माग गरेको थियो । निगमले जहाज बिक्रीका लागि अर्थ मन्त्रालयसँग अनुमति मागपछि अर्थले गत चैतको १३ गते बिक्री तथा भाडामा लगाउने गरी २ विकल्प दिएको थियो । अर्थले स्वीकृति दिएको ७ महिनासम्ममा निगमले जहाज व्यवस्थापनको निर्णय गर्न नसक्दा निगममाथि आर्थिक भार थपिदै गएकोे छ । अर्थको अनुमति पछि जहाज भाडामा लगाउने प्रस्ताव तयार पार्न निगमले २०७८ को वैशाखमा निगमका उपप्रवन्ध निर्देशक केबी थापाको अध्यक्षतामा एक समिति बनाएको छ । सो समितिले ६ महिनासम्म प्रतिवेदन बुझाउन नसक्दा निगमले अहिलेसम्म जहाजको मासिक भाडा न्यूनतम शुल्क तय गर्ने र प्रस्ताव माग गर्ने काम गर्न सकेको छैन । निगमका महाप्रबन्धक डिमप्रकाश पौडेल कर्मचारीको आन्दोलनका कारण जहाज व्यवस्थापनको काम हुन नसकेको बताउँछन् । कर्मचारीको आन्दोलनका कारण उनी गत असारदेखि निगम प्रवेश गर्न पाएका छैनन् । उनले यसअघि नै कर्मचारीका कारण काम गर्न नसकिएको बताएका थिए ।

मौसम खुलेपछि यस्तो देखियो हल्चोक-कलङ्की-चन्द्रागिरि क्षेत्र

काठमाडौं । नेपालमा पानी पार्ने प्रणाली पूर्वी भेगबाट बाहिरिएसँगै मुलुकभर मौसममा सुधार आएको छ । आज बिहानै काठमाडौं उपत्यकालगायत अधिकांश क्षेत्रमा घाम लागेको छ । वरिष्ठ मौसमविद् बरुण पौडेलका अनुसार अबको चार/पाँच दिनयता अर्को प्रणाली विकसित हुने देखिएको छैन । भारतको विहारमा रहेका न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले असोज ३१ देखि कात्तिक ३ गतेसम्म नै भारी वर्षा गराएको थियो । हाल उक्त प्रणाली बाहिरिए पनि सामान्य प्रभाव भने नेपालमा रहेको छ । “त्यस्ता प्रणालीले जलवाष्प र चिसो छाडेको हुन्छ, त्यसैले कतै बादल त कतै कुहिरो देखिन्छ”, पौडेलले भने, “कतैकतै छिटफुट वर्षाको सम्भावना पनि रहन्छ ।” त्यसले ठुलो प्रभाव भने नगर्ने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सफा मौसममा स्वयम्भूनाथ मन्दिर महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १ र बागमती प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षा भएको छ । देशभर आंशिकदेखि सामान्य बदली रहने छ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश १ र गण्डकी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । उक्त प्रणाली गएको असोज ३१ बाट विकसित भएको थियो । कात्तिक १ र २ गते नेपालको पश्चिम (कणाली र सुदूरपश्चिम) क्षेत्रमा भारी वर्षा गराएको थियो भने कात्तिक २ को रातिबाट बुधबार साँझसम्मै त्यसभन्दा पूर्व क्षेत्र प्रदेश १, २ बागमती, गण्डकी प्रदेशमा बर्षा गराएको थियो । बेमौसम (कात्तिक) मा परेको भारी वर्षाका कारण मुलुकका विभिन्न २० भन्दा बढी जिल्लामा ठूलो जनधनको क्षति गराएको छ । भौतिक संरचना तहसनहस पारेको छ भने भित्रिने बेलाको धानबालीसमेतमा निकै क्षति पुरयाएको छ । रासस मौसम खुलेपछि स्वयम्भूबाट देखिएको हल्चोक क्षेत्र मौसम खुलेपछि स्वयम्भूबाट देखिएको कलङ्की चन्द्रागिरि क्षेत्र । तस्वीरः प्रदीपराज वन्त