त्रिअविको महाप्रबन्धकमा गुरागाईँ

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको महाप्रबन्धकमा भोलाप्रसाद गुरागाईँले जिम्मेवारी पाएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले एभिएशन सेफ्टी एण्ड सेक्युरिटी विभाग प्रमुख रहेका गुरागाईँलाई विमानस्थल प्रमुखको जिम्मेवारी दिएको हो । प्राधिकरणले विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीलाई सरुवा गरी कर्मचारी प्रशिक्षण प्रतिष्ठान प्रमुखको जिम्मेवारी दिएको छ । हाल प्रतिष्ठान प्रमुख रहेका देवचन्द्रलाल कर्णलाई प्राधिकरणमा ल्याइएको छ । जिम्मेवारी हेरफेर आजैबाट लागू हुने प्राधिकरणले जनाएको छ । एक साताअघि प्राधिकरणको महानिर्देशक बनेका राजकुमार क्षेत्रीले विभिन्न विभागमा जिम्मेवारी हेरफेर गरेका छन् । यसअघि प्राधिकरणका निर्वतमान महानिर्देशक राजन पोखरेलले प्राधिकरणबाट बाहिरिने क्रममा कर्मचारीको सरुवा गरेका थिए । मन्त्रिपरिषद्को यही कात्तिक ९ गते भएको बैठकले क्षेत्रीलाई महानिर्देशक पदमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

हवाई इन्धनको मूल्य बढाएको प्रति वायुसेवा सञ्चालक संघको विरोध

काठमाडौं । वायुसेवा सञ्चालक संघले हवाई इन्धन बढाएको प्रति विरोध जनाएको छ । संघले आइतबार एक विज्ञप्ति जारी गर्दै विरोध जनाएको हो । हवाई इन्धनमा प्रति लिटर १० रुपैयाँ बढाउने नेपाल आयल निगमको निर्णय प्रति संघले विरोध जनाएको विज्ञप्तिमा उल्लेख छ । छिमेकी मुलुकको तुलनामा नेपालमा हवाई इन्धनको मूल्य बढी भएको भन्दै संघले निर्णय सच्याउन पनि अनुरोध गरेको छ ।

चन्द्रागिरिका महाप्रबन्धक शाह ‘वर्ल्ड बुक अफ रेकर्डस्’ बाट सम्मानित

काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेक विक्रम शाह सम्मानित भएका छन् ।  बेलायतस्थित वर्ल्ड बुक अफ रेकर्डस्ले हस्पिटालिटी र पर्यटन क्षेत्रमा पुर्याएको योगदानको लागि शाहलाई सम्मान गरेको हाे। आइतबार आयोजित एक विशेष कार्यकमकाबीच उपराष्ट्रपति नन्दबहादुर पुनले शाहलाई उक्त सम्मानबाट सम्मानित गरेका हुन् । व्यवसायिक र सामाजिक क्षेत्रमा महत्त्वपूर्ण योगदान गर्ने प्रभावशाली व्यक्तित्वहरुलाई सम्मान गर्दै जाने परम्परा अनुरुप उक्त सम्मानबाट शाहलाई सम्मानित गरिएको वर्ल्ड बुक अफ रेकर्डस् नेपाल च्याप्टर प्रमुख सागर कटुवालले बताए । शाह गत ६ वर्षदेखि उक्त कम्पनीमा कार्यकारी प्रमुखकाे जिम्मेवारीमा छन् । ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्त्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क, सेमिनार हल तथा रिर्सोट लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।