लुम्बिनी क्षेत्रको पर्यटकलाई रोक्यो सडकले

बुटवल । कोरोना संक्रमणको जोखिम कम भएसँगै लुम्बिनी क्षेत्रमा आन्तरिक/बाह्य पर्यटकको आवागमन बढ्ने अनुमानलाई सडकको अवस्थाले बिथोलेको छ । लुम्बिनी क्षेत्रसम्म पुग्ने सडक मार्गहरुमा मर्मत र विस्तारको काम चलिरहेकोले लुम्बिनी क्षेत्रमा आन्तरिक/बाह्य पर्यटकको आवागमनलाई सडकको अवस्थाले बिथोलेको हो । नारायणगढ हुँदै लुम्बिनी पुग्ने पूर्वपश्चिम राजमार्गको विस्तारको काम भइरहेको छ भने भैरहवा लुम्बिनी सडक खण्डको मर्मतसम्भार भइरहेको छ । सडकको अवस्थाले पर्यटकीय मौसममा पनि लुम्बिनी क्षेत्रका होटल पर्यटन व्यवसायीले लाभ लिन सकेका छैनन् । काठमाडौं बाहिरका धेरै पर्यटकीय क्षेत्रमा आन्तरिक पर्यटकको घुइँचो बढ्दा लुम्बिनी क्षेत्र सामान्यमै रहेको छ । लुम्बिनी होटल संघका महासचिव पुरुषोत्तम अर्यालले लुम्बिनी क्षेत्रको १५ प्रतिशत होटल मात्रै सञ्चालनमा आउन सकेको बताए । विगतमा दशैँ र तिहारको बीचमा लुम्बिनी क्षेत्र घुम्न आउने पर्यटक धेरै भएर सेवा दिन भ्याइ नभ्याइ हुने गरेको तर यो वर्ष खासै पर्यटक नआएको महासचिव अर्यालले बताए । लुम्बिनीलाई गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले पनि सिधा जोड्दै छ र आन्तरिक पर्यटक पनि थपिँदै जाने निश्चित छ । यस्तो अवस्थामा अविलम्व सडक सुधार गर्नु पर्ने आवश्यक्ता रहेको व्यवसायीहरुले बताएका छन् । यसकासाथै लुम्बिनीलाई कोरोना मुक्त क्षेत्र भनेर विश्वभर सन्देश दिनसके पर्यटक बढ्ने निश्चित छ ।  

गौतमबुद्ध विमानस्थलमा एरो थाईले क्यालिब्रेसन फ्लाइट गर्ने

काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) गर्न थाइल्याण्डको एरो थाईले अनुमति पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले पूर्व सम्झौता अनुरुप एरो थाईलाई क्लालिब्रेशन फ्लाइट गर्न अनुमति दिएको हो । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको भैरहवा (रुपन्देही) मा निर्माण गरिएको गौतमबुद्ध विमानस्थल क्यालिब्रेशन फ्लाइटका लागि तयारी अवस्थामा छ । क्यालिब्रेसन फ्लाइट भनेको विमानस्थलमा विमान उडान र अवतरणका साथै अन्य कार्य निर्देशित गर्न धावनमार्ग, टावरलगायतका क्षेत्रमा जडान भएका उपकरणले काम गरेका छन् या छैनन् भनेर परीक्षण गर्ने प्रक्रिया हो । यसका लागि जहाज नै ल्याएर उडान अवतरण गर्नुपर्छ । एरो थाइले क्लालिब्रेसन फ्लाईट गर्ने अनुमति पाएसँगै परीक्षण उडानको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले जानकारी दिए । उनका अनुसार अबको एकमहिनाभित्रै परीक्षण उडान हुनेछ । त्यसबीचमा प्राधिकरणले आन्तरिक तयारी गर्नेछ । एरो थाई थाइल्याण्डको प्रतिष्ठित हवाई कम्पनी हो । थाई एयरवेजका लागि एटिसिलगायत प्राविधिक जनशक्ति एरो थाइले उपलब्ध गराउने गरेको बताइन्छ । आगामी नोभेम्बर २२ तारिखमा एरो थाईले प्राविधिक जनशिक्तसहित नेपालमा जहाज ल्याएर प्रक्रिया पुरा गरी क्लालिब्रेसन फ्लाइट गर्ने प्राधिकरणले जनाएको छ । यो काम एकसाता अवधिको हुनेछ । कोभिड–१९ महामारीका कारण अघिल्लो वर्ष नै उद्घाटन गर्ने भनिएको उक्त आयोजना केही बिलम्ब भएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनबमोजिम प्राधिकरणले क्लालिब्रसन फ्लाइटको टुङ्गो लगाएको हो । महानिर्देशक क्षेत्रीले भूकम्प, नाकाबन्दी तथा ठेकेदारले बेलैमा पैसाको जोहो र निर्माण सामग्री गर्न नसक्नुले पनि आयोजना सम्पन्नमा ढिलाइ भएको छ । स्थानीय तहसँगको समन्वय गर्न नसक्नु तथा पछिल्लो कोभिड–१९ महामारीका कारण आयोजना प्रभावित बन्यो । क्यालिब्रेसन फ्लाइट विदेशीलाई पैसा तिरे पनि गुहार्नुपर्ने कारणले पनि आयोजना ढिलो भएको उनले बताए । महाप्रबन्धक क्षेत्रीले भने, ‘गौतमबुद्ध विमानस्थलको प्राविधिक प्रक्रिया लगभग पूरा गरिसकेका छौँ, तुरुन्त गर्नुपर्ने केलिब्रेसन फ्लाइट, अबको एक महिनाभित्रै सक्छौँ, त्यसको तीन महिनाभित्र परीक्षण उठान गरी अर्को पाँच महिनाभित्र व्यावसायिकरुपमा सञ्चालनमा ल्याउने योजना छ ।’ परीक्षण उडान गरेपछि अन्तर्राष्ट्रिय वायुसेवालाई नियमित उडानका लागि आह्वान गरिने उनको भनाइ छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अबको पाँच महिनामा अन्तर्राष्ट्रिय उडान हुने जनाइएको छ । विमानस्थलको टेक्निकल स्टाटस (प्राविधिक स्थिती) को काम लगभग सकिसकेकाले अबको पाँच महिनामा अन्तर्राष्ट्रिय उडान हुने महानिर्देशक क्षेत्रीले बताए । गौतमबुद्ध विमानस्थल अङ्ग्रेजी वर्ष सन् २०२१ को सुरूआतबाट सञ्चालनमा ल्याइने जनाइएको थियो । सन् २०१७ डिसेम्बरभित्र निर्माण सक्नेगरी सन् २०१५ को सुरूमा थालनी भएको विमानस्थलको काम बीचमा ठेकेदार कम्पनीको लापरवाहीले अवरोध भएको थियो । पछि थपिएको दुई वर्षको अवधिमा आयोजनाको काम उल्लेख्यरूपमा प्रगति भयो । पछिल्लो पटक सन् २०२० को मार्च महिनासम्मका लागि विमानस्थलको निर्माण अवधि थपिएको थियो । प्राविधिक कारण ढिलाइ भएको उक्त आयोजनालाई कोरोनाको सन्त्रासले थप विलम्ब बनाएको हो । विमानस्थल चिनियाँ निर्माण कम्पनी नर्थवेस्ट सिभिल एभिएसन कन्स्ट्रक्सन ग्रुपले निर्माण गरेको हो । एशियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भएको उक्त आयोजनाका लागि दुवै चरणमा गरी सात अर्ब ३२ करोड हाराहारी खर्च हुने प्राधिकरणले जनाएको छ । कुल ४५ मिटर चौडाइ र तीन हजार मिटर लामो धावनमार्गको यो विमानस्थललाई व्यावसायिक सञ्चालनमा आउँदा हालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप न्यूनीकरण हुने विश्वास लिइएको छ । प्राधिकरणका अनुसार हाल ८० प्रतिशत भौतिक प्रगति सकिएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पनि अबको छ महिनामा परीक्षण उडान हुने गरी तयारी भइरहेको जानकारी दिँदै एक वर्षभित्र अन्तर्राष्ट्रिय उडान सञ्चालन गरिने बताए । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा २०० हजार पीसीआर शुल्क लिएको पाइएपछि पर्यटनमन्त्रीले विमानस्थलको छड्के निरीक्षण गर्दै शुल्क घटाउन निर्देशन दिएका थिए । सोहीअनुरुप विमानस्थलमा पीसीआर परीक्षण गर्दा लाग्ने शुल्क दुई हजारबाट एक हजार २०० कायम गरिएको महानिर्देशक क्षेत्रीले बताए । आन्तरिक विमानस्थलको सुदृढीकरण गर्दै आवश्यकताका आधारमा विमानस्थल सञ्चालन गर्न तथा धनगढीलगायत विमानस्थलको स्तरोन्नतिको काम पनि सुरु भइसकेको प्राधिकरणले जनाएको छ । रासस

अबको ५ महिनामा गौतम बुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडान हुन्छः महानिर्देशक क्षेत्री

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अबको ५ महिनामा अन्तर्राष्ट्रिय उडान हुने बताएका छन् । महानिर्देशक क्षेत्रीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको टेक्निकल स्टाटस (प्राविधिक स्थिती) को काम लगभग सकिसकेको बताउँदै अबको ५ महिनामा अन्तर्राष्ट्रिय उडान हुने बताएका हुन । उनले अबको एक महिनामा केलिब्रेशन फ्लाइट (परीक्षण उडान) गर्ने र त्यसबीचमा आफ्ना आन्तरिक गृहकार्य सम्पन्न गर्ने लक्ष्य लिएको बताए । नाकाबन्दी, भूकम्प, आन्तरिक गृहकार्यमा ठेकेदारले पैसाको जोहो गर्न नसक्नु, स्थानीय निकायसँगको समन्वय गर्न नसक्नु, कोभिड १९, केलिब्रेशन फ्लाइट हामीसँग नभएर विदेशीलाई पैसा तिरे पनि गुहार्नुपर्ने कारणले ढिलो भएको उनको भनाई छ । उनले एरो थाइले पहिलेको सहमतिअनुसार नै परीक्षण उडान गरिदिने भएको जानकारी दिँदै अब सस्तो र राम्रो कम्पनीलाई छानेर परीक्षण उडान भर्ने बताए । क्षेत्रीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको फिजिकल एन्फास्ट्रक्चरको काम ८० प्रतिशत सकिएको जानकारी दिए । सरकारले रिट्ठेपानी डाँडा काट्ने काम गरिदिए र ल्याण्डफिल्ड बनाइदिए अबको ६ महिनामा परीक्षण उडान हुने बताउँदै एक वर्ष भित्र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पनि अन्तर्राष्ट्रिय उडान भर्न सकिने बताए । महानिर्देशक क्षेत्रीले युरोपियन युनियन ९इयू०ले नेपालको एयरलाइन्सलाई ब्ल्याक लिस्ट ९कालोसूची०मा राखेकोले त्यसबाट हटाउन आफ्नो नेतृत्वमा काम भइरहेको बताए। उनले आफ्नो कार्यकालमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई सञ्चालनमा ल्याउने, पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई सञ्चालन योग्य बनाउने बताए। महानिर्देशक क्षेत्रीले आफ्नो पहलमा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा पीसीआर टेस्ट गर्दा लाग्ने शुल्क २ हजारबाट १ हजार २ सयमा झारेको बताए । ‘पोखरा इन्टरनेशनल एयरपोर्टको स्टाटस सिभिल एब्रेशनको पार्टबाट फिजिकल एन्फास्ट्रक्चर डेभलपमेण्टमा झन्डै ८० प्रतिशत भन्दा धेरै सकिसकेका छौँ, फाइनान्सियल ७० प्रतिशत बढी काम सकिसकेको छ, २० प्रतिशत अरुकामहरु जति नै ढिलो गरेपनि ६ महिनामा सकिन्छ, एउटा रिट्ठेपानी डाँडा, ल्याण्डफिल्ड साइटको कामले अड्काएको छ, एक वर्षमा सञ्चालनमा आउँछ।’ उनले भने, ‘मेरो कार्यकालमा भैरहवा विमानस्थललाई सञ्चालन योग्य बनाउँछु, पोखरालाई एउटा ट्रयाकमा ल्याउँछु, इयूले ब्ल्याक लिस्टमा राखेको थियो अब हट्नेछौँ, त्यही अनुसार काम गरिरहेका छौँ।’ महानिर्देशक क्षेत्रीले कोरोनाका कारणले काममा केही असर गरेपनि काम नरोकिएको बताउनुभयो । केही असर गरेको छ, केही काम रोकिएका छन् तर काम अब सुचारु भइसकेको छ केही ढिला मात्रै भएको हो । पोखरा विमानस्थलमा भैरहवा भन्दा राम्रो विमानस्थल बन्न लागेको र निकट भविष्यमै सञ्चालनमा आउने बताए । उनले निजगढ विमानस्थलको काम पनि शुरु भइसकेको र लगानीको जोहो कसरी गर्ने रु कुन मोडलमा गर्ने रु भन्ने निर्णय गरे प्राधिकरण तयार रहेको बताए । महानिर्देशक क्षेत्रीले अहिले नेपालमा हरेक जिल्लामा विमानस्थल चाहिन्छ भन्ने कुरा विकास भएको भएपनि यो सम्भव नभएको बताए ।