असारमै सक्नुपर्ने पोखरा विमानस्थलको काम ८७ प्रतिशत मात्रै, अर्थमन्त्रीले भनेः छिटो सक्नुस्
काठमाडाैं । अर्थमन्त्री जनार्दन शर्माले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य चाँडो सकाउन ताकेता गरेका छन् । उनले यसको लागि सरकारको तर्फबाट गर्नुपर्ने काममा कुनै पनि ढिलाई नहुने बचन समेत दिएका छन् । निर्माणाधीन विमानस्थलको शनिवार निरीक्षण गर्ने क्रममा मन्त्री शर्माले भने ‘काम छिटो सकेर उडान सञ्चालन गर्नको लागि सरकारको तर्फबाट के काम गर्नुपर्नेछ त्यसमा कुनै ढिलाई हुँदैन, निर्माणकर्ताहरुले पनि तीव्र गतिमा काम अघि बढाउनुप¥यो,उनले थपे ‘सरकारले कुनै नीतिगत निर्णय गरिदिनुपर्नेछ कि वा बजेट व्यवस्था गर्नुपर्नेछ कि तपाईहरुले भन्नुस् । त्यसको व्यवस्थापन सरकारले गर्छ तर काम चाँडो सक्नुपर्छ ।’ आगामी २०७९ असार मसान्तसम्म कार्य सम्पन्नता म्याद रहेको विमानस्थल निर्माणको भौतिक प्रगति ८७ प्रतिशत र वित्तीय प्रगति ६७.७० प्रतिशत भएको आयोजनाले जनाएको छ । विमानस्थल निर्माणको क्रममा विभिन्न समस्याहरु पनि देखिएका छन् । ल्याण्डिङ्ग एप्रोचमा पूर्वपट्टि रहेको रिठ्ठेपानी डाँडाको ४० मिटर हाईट कटान गर्नुपर्नेछ । वन मन्त्रालयको झन्झटिलो प्रक्रियाको कारण उक्त काममा ढिलाई भइरहेको आयोजनाको गुनासो छ । त्यसको लागि बल्ल वातावरणीय प्रभाव मूल्याङ्कनको काम सुरु भएको छ । यस्तै आयल निगमले हवाई इन्धन भण्डारण (आयल डिपो) निर्माणको काम पनि सुरु गरेको छैन । विमानस्थलबाट करिब २ कि.मि. उत्तरमा रहेको ल्याण्डफिल साईड स्थानान्तरणको काम सुरु हुन नसक्दा उडान संचालनमा ‘बर्ड ह्याजार्ड’ को समस्या देखिएको छ । ‘आइकाओ क्याटागोरी’ को पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण ठेक्का चाइना सीएएमसी इन्जिनियरिङ्ग कम्पनी लिमिटेडले पाएको छ । करिब २ सय १६ मिलियन अमेरिकी डलर लागत रहेको आयोजना निर्माणको लागि २०१४ मई २२ मा नागरिक उड्डयन प्राधिकरण र सीएएमसीबिच सम्झौता भएको हो । चाइना एक्जिम बैंकको ऋण सहयोगमा बन्न लागेको विमानस्थलमा तिन वटा अन्तर्राष्ट्रिय र आठ वटा आन्तरिक विमानहरु पार्किङ्ग गर्न सकिने बनाइएको छ । विमानस्थल निर्माणको लागि वि.सं. २०३२ सालमै ३१०६ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । पछि ७९३ रोपनी थप गरी विमानस्थलको कुल क्षेत्रफल ३८९९ रोपनी रहेको छ । निरीक्षणको क्रममा स्थानीयले विमानस्थलमा चाँडोभन्दा चाँडो अन्तर्राष्ट्रिय उडान संचालन गर्न संघीय सरकारका अर्थमन्त्रीसँग माग गरेका छन् ।
५ अर्बको लगानीमा गोल्यान समूहले खोल्यो पाँच तारे होटल, यस्ता छन् विशेषता
काठमाडौं । काठमाडौंको काठमाडौंको सोल्टीमोडस्थित ताहचलमा हायात ब्राण्डको नाममा अर्को पाँचतारे होटल हायात प्लेस खुलेको छ । गोल्यान समूहले करिब ५ अर्ब रुपैयाँ लगानीमा होटल हायात प्लेस सञ्चालनमा ल्याएको हो । गोल्यान समूहका अनुसार होटल अन्तर्राष्ट्रियस्तरकै रहेको छ । होटल हायात प्लेस अन्तर्राष्ट्रिय ब्राण्ड हायातकै ‘चेन अफ होटल’ हो । १४ तला अग्लो विल्डिङ सहितको होटलमा तीन स्वीट्स रुमसहित ७ सिट आउट ट्यरिस् रुम र १५३ गेष्ट रुमहरु उपलब्ध छन् । यसको अतिरिक्त होटल गार्डेन, जिम हल, स्विमिङ पुल लगायतका सुविधाहरु उपलब्ध रहेको कम्पनीले जनाएको छ । होटलको सम्पूर्ण तयारी पुरा भइसके पनि आगामी कात्तिक २९ गते हरिबोधिनी एकादशीका दिनदेखि मात्रै होटल औपचारिक रुपमा सञ्चालनमा आउनेछ । होटलमा गोल्यान समूहसँगै कमलेश अग्रवाल लगायतको पनि लगानी छ ।
चन्द्रागिरि हिल्सलाई नेपालकै बेष्ट लक्जरी रिर्सोटको अवार्ड
काठमाडौं । काठमाडौँको चन्द्रागिरि हिल्समा अवस्थित चन्द्रागिरि हिल्स रिसोर्टलाई यस वर्षको नेपालकै उत्कृष्ट लक्जरी रिसोर्ट पुरस्कार ‘अन्तर्राष्ट्रिय हस्पिटालिटी एण्ड ट्राभल अवार्ड २०२१’ प्रदान गरिएको छ । भारतको नयाँ दिल्लीमा शुक्रबार साँझ आयोजित कार्यक्रमका प्रमुख अतिथी नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्री प्रेम बहादुर आले र भारतका पूर्वमन्त्री एवम् राज्यसभाका सांसद विजय गोयलले उक्त पुरस्कार प्रदान गरेका हुन् । ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्त्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क, सेमिनार हल तथा लक्जरी रिर्सोट लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।