बागलुङ विमानस्थलकाे कालोपत्र अन्तिम चरणमा, छिटै उडान सुरु हुने

फाइल फाेटाे बलेवा । धावनमार्ग कालोपत्रको काम अन्तिम चरणमा पुगेपछि बलेवा विमानस्थलमा नियमित उडानका लागि पहल सुरु भएको छ । बागलुङ नगरपालिका र यहाँका विभिन्न राजनीतिक दलका नेताहरुले विमानस्थलमा नियमित उडानका लागि पहल थालेका हुन् । नेपाल एयरलायन्सले बलेवामा उडान गर्नका लागि प्रस्ताव गरेकाले काम सकिँदा बित्तिकै उडान सम्झौता गरिने बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए । ‘नेपाल एयरलायन्स सम्झौताका लागि तयार छ, अन्य निजी कम्पनीहरुसँग पनि कुराकानी भइरहेको छ’, उनले भने, ‘हामी बनेको पूर्वाधारको यथेष्ट उपयोग गर्छौं, त्यसका लागि पहल भइरहेको छ ।’ नेकपा एमालेका नेता लीलबहादुर थापाले बलेवा विमानस्थल पुनर्निर्माणको काम तत्काल सम्पन्न गरी उडान सञ्चालनको तयारी थाल्न नियामक निकायको ध्यानाकर्षण गराएक छन् । मङ्गलबार नेपाल नागरिक उड्डयन प्राधिकरणमा पुगेर बागलुङका पूर्वजिल्ला सभापतिसमेत रहेका थापाले महानिर्देशक राजकुमार क्षेत्रीलाई विमानस्थल पुनर्निर्माण काम तत्काल सम्पन्न गरी नियमित उडानको तयारी थाल्न ध्यानाकर्षण गराएक हुन् । नागरिक उड्डयन प्राधिकरणको केन्द्रीय कार्यालयमा भएको भेटमा बलेवा विमानस्थल बागलुङको भविष्यसँग जोडिएको विषय भएकाले पुनर्निमार्णपछि यसको सञ्चालन कसरी गर्न सकिन्छ भन्ने विषयमा नेता थापाले महानिर्देशकसँगै प्राधिकरणमा कार्यरत अन्य विज्ञ कर्मचारीसँग छलफल गरेक थिए । छलफलमा विज्ञहरूले बलेवा विमानस्थल निर्माणाधीन कालीगण्डकी करिडोरको केन्द्रमा पर्ने भएकाले यसलाई नियमित उडान सञ्चालनको अलावा, एभिएसन स्पोर्टसका रुपमा अघि बढाउन सके धौलागिरि क्षेत्रकै मुहार फेरिने धारणा राखेका थिए । विसं २०७७ फागुन मसान्तसम्म एक वर्षमा सक्नेगरी काम सुरु भएको विमानस्थल कालोपत्रको काम कोरोना महामारीका कारण प्रभावित हुँदा दुई वर्षमा सकिँदै छ । आउँदो चैतसम्म विमानस्थल कालोपत्रको काम सकेर हस्तान्तरण गरिने निर्माण कम्पनीले जनाएको छ । निर्माण कम्पनीका अनुसार आवश्यक पूर्वाधारको काम सकिएकाले कालोपत्रको काम मात्रै २० दिनमा सकिन्छ । तापक्रमले साथ दिएमा पुस मसान्तभित्रै विमानस्थल कालोपत्र हुने निर्माण कम्पनी काष्टमण्डप एन्ड उमा जेभीले जनाएको छ । रासस

धावनमार्ग ममर्तका लागि सुर्खेत विमानस्थल बन्द

काठमाडौं । सुर्खेत विमानस्थल केही समयका लागि बन्द हुने भएको छ । विमानस्थलको धावनमार्ग (रनवे) मर्मत सम्भारका लागि केही समय विमानस्थल बन्द गर्न लागिएको हो । धावनमार्ग मर्मत गर्नुपर्ने भएपछि आगामी साताबाट सुर्खेत विमानस्थलमा भइरहेको उडान–अवतरण बन्द हुने नेपाल नागरिक उडड्यन प्राधिकरणले जनाएको छ । सुर्खेत विमानस्थलको उडान बन्द हुने भएपछि वायुसेवा कम्पनीहरुले विकल्पमा नेपालगन्ज विमानस्थलमा दैनिक थप गर्ने जनाएका छन् । बुधबार बुद्ध एयरले सुर्खेत विमानस्थल बन्द हुनेभएपछि नेपालगन्जमा १ उडान थप गरिएको जनाएको छ । बुद्धले हाल नेपालगन्जमा दैनिक ६ वटा उडान गर्ने भएको छ । यात्रुलाई सुर्खेत विमानस्थलको नजिकको विकल्प रोज्न सहज होस भनी नेपालगन्जमा उडान थपेको कम्पनीको भनाई छ । सुर्खेत संघीय राजधानी काठमाडौंलाई कर्णालीसँग हवाईमार्गले जोड्ने एक मात्र विमानस्थल हो ।

कोभिडले रोकेको काठमाडौँ–बैङ्कक हवाई उडान पुनः सुचारु हुने

काठमाडौं । कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेको काठमाडौँ–बैङ्कक हवाई उडान पुनः सुचारु हुने भएको छ । संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले र नेपालका लागि थाईल्याण्डका राजदुत भोसिता भोरासफ बिच आज बिहिबार मन्त्रालयमा भएको सिष्टाचार भेटघाटका क्रममा राजदुत भोरासफले केही दिन भित्रमा काठमाडौँ–बैङ्कक नियमित हवाई उडान गरिने जानकारी दिएका हुन । राजदुतसँगको भेटवार्तापछि अब केही दिन भित्रमा काठमाडौँ–बैङ्कक नियमित हवाई उडान हुँने भएको छ । भेटघाटका क्रममा मन्त्री आलेले राजदुत भोरासफलाई लुम्बिनी क्षेत्रमा थाईल्याण्ड सरकारले गरेको सहयोग प्रति धन्यबाद व्यक्त गर्दै लुम्बिनीमा रहेको मेटरनेटी हस्पिटलका लागि सहयोग गर्न आग्रह गरे । यसैगरी मन्त्री आलेले नेपाली नागरिकलाई थाईल्याण्डको भिसाका लागि सहजिकरण गर्न तथा नेपाली नागरिकहरु उपचारका लागि बैङ्कक जाँदा सहुँलियत पूर्ण उपचारको व्यवस्था मिलाउन समेत आग्रह गरे । भेटवार्ताकै क्रममा मन्त्री आलेले नेपाल थाईल्याण्डको पुरानो एैतिहासिक सम्बन्ध रहेको र त्यसलाई थप मज्बुद बनाइराख्न दुबै देशका थर्फबाट अधिकतम प्रयास गरिनु पर्ने कुरामा जोड दिएका थिए । राजदुत भोरासफले लुम्बिनीको बृद्धि विकासका लागि आफ्ना तर्फबाट अधिकतम प्रयास गर्ने बताउँदै नेपाल सरकारले गरेको सहयोग प्रति धन्यबाद प्रकट गरेका थिए ।