प्रतिकुल मौसमका कारण हवाई उडान प्रभावित, विमानस्थलमा यात्रु अलपत्र
काठमाडौं । मौसमी गडबढीका कारण हवाई उडान प्रभावित भएको छ । भिजिविलिटी कम हुँदा उडानमा समस्या भएको बताइएको हो । विमानस्थल कार्यालयका अनुसार शनिबार बिहानका लागि निर्धारि विमानहरु भिजिविलिटीका कारण केही ढिलो उडान भइरहेका छन् । गन्तव्यमा समयमै पुग्नु पर्ने यात्रुहरु विमान ढिलो हुँदा समस्या भएको गुनासो गरेका छन् । जहाज एक/दुई घण्टा नै ढिलो हुँदा उनीहरु अलपत्र अवस्थामा परेका हुन् ।
जानकी मन्दिरमा पनि डिजिटल भुक्तानी
काठमाडौं । नेपाल एसबिआई बैंकले जानकी मन्दिरलाई कयुआर कोड र पिओएस मेसिन हस्तान्तरण गरेको छ । योसँगै अब जानकी मन्दिरमा डिजिटल माध्यमबाट तीर्थयात्रीहरुले भुक्तानी गर्न पाउनेछन् । यससँगै बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जानकी मन्दिर व्यवस्थापनलाई मन्दिर परिसरलाई सफा राख्न १२ वटा डस्टबिन उपलब्ध गराएको छ । यस पहलले जानकी मन्दिरको सौन्दर्यमा वृद्धि हुनका साथै पर्यटन प्रवद्र्धन र मन्दिर दर्शन गर्न आउने तीर्थयात्रीको आरामदायी बसाईमा सहयोग पुग्ने विश्वास बैंकले लिएको जनाएको छ ।
लयमा फर्कदै पर्यटन, एक महिनामै नेपाल आए २६ हजार विदेशी
काठमाडौं । कोभिड महामारीपछि पछिल्लो समय नेपाल आउने पर्यटकको सङ्ख्यामा वृद्धि हुन थालेको छ । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको मासिक पर्यटक आगमनको तथ्याङ्कअनुसार पछिल्ला महिनाहरूमा विदेशी पर्यटकको आगमन बढ्दै गएको देखिएको छ। बोर्डले सार्वजनिक गरेको नोभेम्बर महिनाको तथ्यांक अनुसार एक महिनामा २६ हजार १३५ विदेशी नेपाल भित्रिएका हुन । बोर्डले सार्वजनिक गरेको तथ्यांक अनुसार सन् २०२१ मा नोभेम्बर महिनामा धेरै विदेशी नेपाल भित्रिएका हुन् । बोर्डको तथ्यांक अनुसार जनवरी महिनामा ८ हजार ८७४ विदेशी पर्यटक नेपाल आएउका थिए । जनवरीको तुलनामा नोभेम्बर महिनामा झन्डै १८ हजार बढी पर्यटन नेपाल आएका हुन । यस्तै, गत फेब्रुअरीमा ९ हजार १४६, मार्चमा १४ हजार, अप्रिलमा २२ हजार, मे मा एक हजार ४ सय, जुनमा १ हजार ११३ विदेशी नेपाल आएका थिए । यस्तैगरी, जुलाईमा २ हजार ९ सय, अग्रष्टमा ५ हजार ९ सय, सेप्टेम्बरमा ९ हजार ८ सय र अक्टोबरमा २३ हजार २ सय विदेशी नेपाल आएका थिए ।