वैदेशिक रोजगारीमा जाने श्रमिकलाई निगमले ४० वटा सस्तो टिकट दिने

काठमाडौं । नेपाल वायुसेवा निगमले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई ४० वटा सस्तो टिकट दिने भएको छ । मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेम आलेले विदेशमा पसिना बगाएर मुलुकमा विप्रेषण भित्र्याउने वैदेशिक रोजगारीमा जाने श्रमिकको सम्मानका लागि निगमले कम्तीमा पनि ४० वटा सस्तो टिकटको व्यवस्था गर्न निगम नेतृत्वलाई निर्देशन दिएका थिए । निगमले यसअघि २० वटा यस्तो टिकट उपलब्ध गराउने गरेको थियो । मन्त्री आलेले रोजगारीमा जाने मजदुरलाई निगम हाताभित्रैबाट टिकट दिलाउने र बिचौलियाबाट रोक्ने गरी व्यवस्थापन गर्न आग्रह गरेका थिए । पर्यटन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले निगमको व्यापार हिस्सा बढाउन र यसको साखलाई अभिवृद्धि गर्न मन्त्रालय पनि गम्भीर रहेको बताएका थिए । उनले व्यावसायिक कार्ययोजनाका साथ उपलब्ध स्रोत, साधन र जनशक्तिको भरपुर उपयोग गरी खर्च कम गरेर नाफा बढाउनेतिर लाग्न निगम व्यवस्थापनलाई निर्देशन दिए । सचिव न्यौपानेले निगमलाई जहाज थपेर सेवालाई गुणस्तरीय र भरपर्दो बनाइनुपर्ने आवश्यकता औँल्याएका थिए । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले निगमको आन्तरिक तथा अन्तर्राष्ट्रिय गन्तव्यमा बजार हिस्सा बढाउने गरी भएका जहाजको प्रभावकारी व्यवस्थापन र आवश्यक जहाज खरिदका लागि कार्ययोजनाका साथ अघि बढेको जानकारी दिए । उनले निगमको प्रमुख आयस्रोत भूमिस्थ सेवा खोस्न निजी एयरलाइन्स लागि परेको भन्दै निगमको भविष्यसँग जोडिएको यो सेवालाई निगमले नै पाउने गरी निर्णय गर्न पर्यटनमन्त्रीसमक्ष अनुरोध गरे । उनले निगमले विश्वका प्रख्यात एयरलाइन्ससँग सहकार्य गरेर निगमकै टिकटमा निगमका जहाज नपुग्ने विश्वका विभिन्न गन्तव्यमा पनि यात्रुले यात्रा गर्ने वातावरण सिर्जना भएको भन्दै यसले निगमको साखलाई उँचो बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेका थिए ।

वायुसेवा निगमले नयाँ जहाज खरिद गर्दै, सरकारसँग माग्यो १५ अर्ब

काठमाडौं । नेपाल वायु सेवा निगमले नयाँ जआज खरिद गर्ने भएको छ । मंगलबार निगममा आयोजित कार्यक्रममा निगमले नयाँ जहाज खरिद गर्ने निर्णय गर्ने बताएको हो । नयाँ जहाज खरिद गर्नको लागि निगमले सरकारसँग १५ अर्ब रुपैयाँ माग गरेको छ । वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले निगमले १५ अर्ब रुपैयाँ माग गरेको बताए । अधिकारीले केही दिनमै नयाँ जहाज खरिदबारे निर्णय गरिने भन्दै पर्यटनमन्त्री समक्ष यस्तो माग गरेका हुन् । सरकारी स्वामित्वको नेपाल वायुसेवा निगमले खर्च सञ्चालन खर्च धान्न नसक्ने भन्दै २०७७ साउन १५ गतेबाट ग्राउन्डेड गरिएका ६ थान चिनियाँ जहाज अझै पनि सञ्चालन गर्न सकेको छैन । सञ्चालन खर्च समेत धान्न नसकेको भन्दै ग्राउन्डेड गरिएको जहाजबाट निगमलाई थप आर्थिक भार बढ्दै गएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङमा राखिएको ६ थान चिनियाँ जहाजबाट निगमलाई करोडौं आर्थिक भारत परेको छ । विमानस्थलको पार्किङमा राखिएको शुल्क र बीमाबापत निगमलाई उक्त दायित्व थपिँदै गएको छ । निगमले चीनबाट ५६ सिट क्षमताका २ थान एमए–६० र १९ सिट क्षमताका ४ थान वाई–१२ ई जहाज अनुदान तथा खरिद गरेर ल्याएको थियो । दुई अर्ब ९४ करोड अनुदान र ३ अर्ब ७२ करोड ऋणमा २०७१ सालदेखि २०७४ सालसम्म ६ वटा जहाज नेपाल ल्याइएको थियो । खरिद गरेर ल्याईएको ४ थान जहाज १.५ प्रतिशत ब्याजमा चीनकै एक्जिम बैंकबाट नेपाल सरकारले ऋण लिएको थियो । नयाँ जहाज खरिद गर्न तयारी अवस्थामा रहेको निगम वार्षिक करिब २ अर्ब नजिक घाटामा छ । हाल निगमको सञ्चित घाटा ५ अर्ब ५३ करोड रुपैयाँ छ । ऋणभारसँगै निगमको हालसम्मको सञ्चित घाटा १० अर्बको हाराहारीमा पुगेको बताइएको छ ।

निगम निजीकरणको निर्णय खारेज

काठमाडौं । सरकारी स्वामित्वमा सञ्चालित नेपाल वायुसेवा निगमलाई निजीकरण गर्ने निर्णय खारेज भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले निगमलाई निजीकरण गर्नभन्दै निगम व्यवस्थापन सँगै पर्यटन मन्त्रालयले गरेको निर्णय खारेज गरिएको बताए । मंगलाबार निगम कार्यालयमा व्यवस्थापन र कर्मचारीहरुसँग छलफल गर्दै उनले यसअघि भएका निर्णय आफूले खारेज गरेको बताएका हुन । उनले केही दिन अघि मन्त्री स्तरीय निर्णय गर्दै निजीकरणको विषय नै खारेज गरेको बताए । यसअघिको सरकारले नेपाल एयरलाइन्सलाई निजीकरण गर्ने तयारी गरेपछि निगममा कार्यरत कर्मचारीहरु आन्दोलित भएका थिए । कर्मचारीहरुले निजीकरणको निर्णय गर्ने तत्कालीन महाप्रबन्धक डिमप्रकाश पौडेलले कार्यालय प्रवेशमा रोक लगाउँदै आन्दोलन गरेका थिए । कर्मचारीले निगम निजीकरणको व्यापक विरोध गरेपछि नवनियुक्त पर्यटनमन्त्री आलेले महाप्रबन्धक पौडेललाई हटाएर कार्यकारी अध्यक्षको रुपमा युवाराज अधिकारीलाई नियुक्त गरेका थिए ।