संचालनमा आयाे निगमकाे वाइडबडी
काठमाडौं । नेपाल एयरलाइन्सको ए३३० वाइडबडी संचालनमा आएको छ । गत २८ डिसेम्बरमा काठमाडौं(नारिता नियमित उडान गर्ने क्रममा सो विमानमा समस्या देखिएको थियो । विमानको चेकजाँच गर्दा इलेक्ट्रिकल कन्ट्रयाक्टर म्यानेजमेन्ट युनिटमा समस्या देखिएको थियो । श्रिलंकाबाट आवश्यक पाटपुर्जा ल्याई निगमकै दक्ष इन्जिनियरिङले विमान बनाएका थिए । निगमले विमानलाई उडानयोग्य बनाई सोही विमानबाट काठमाडौं-दिल्ली नियमित उडान गरिसकेको छ ।
मौसममा सुधारु आएसँगै बिहानैबाट आन्तरिक उडान सुचारु
काठमाडौं । मौसममा केही सुधार आएपछि आन्तरिक उडानहरु पुनः सुचारु भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले बिहीबारदेखि आन्तरिक उडानहरु सुचारु भएको जनाएको हो । प्रतिकूल मौसमका कारण बुधबार अधिकाशं आन्तरिक उडान रोकिएका थिए । आज बिहानबाट मौसममा सुधार आएसँगै सबै गन्तव्यका आन्तरिक उडान सुरु भएको विमानस्थल कार्यालयका प्रमुख भोलाप्रसाद गुरागाइँले जानकारी दिए । उनका अनुसार सबै गन्तव्यमा बिहानदेखि उडान सुचारु भैसकेको छ ।
पर्यटन बोर्डका सीईओलाई निलम्बनको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश
काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. धनञ्जय रेग्मीलाई निलम्बनको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वाेच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ । यसअघि संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय र बोर्डले सीईओ रेग्मीमाथि छानवीन गर्ने र सो अवधिका लागि निलम्बन गर्ने निर्णय गरेको थियो। सो निर्णयकाविरुद्ध रेग्मी अन्तरिम आदेश माग गर्दै अदालत गएका थिए। न्यायाधीश दीपककुमार कार्कीको इजलासले निलम्बनको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिँदै कारणसहित दुवै पक्षलाई छलफलमा बोलाएको छ।