विद्युत् प्राधिकरणका कर्मचारीले नेपाल एयरलाइन्सबाट यात्रा गर्दा १५ प्रतिशत छुट पाउने
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कर्मचारीले नेपाल एयरलाइन्सबाट यात्रा गर्दा १५ प्रतिशतसम्म छुट पाउँने भएका छन् । सोमबार नेपाल विद्युत प्राधिकरण र नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) बीच कर्मचारी विदेश भ्रमण जाँदा र कार्गो -सामान ढुवानी_ गर्दा निगमकै जहाज प्रयोग गर्ने सम्झौंतामा हस्ताक्षर भएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम बहादुर आले र सचिव महेश्वर न्यौपानेको उपस्थितिमा सोमबार प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले एमओयूमा हस्ताक्षर गरेसँगै प्राधिकरणका कर्मचारीले छुट पाउने भएका हुन । कर्मचारीले छुट पाउन प्राधिकरणको सिफारिस पत्रका साथै परिचयपत्र अनिवार्य रुपमा पेश गर्नु पर्नेछ । निगमको बिक्री कार्यालयबाट टिकट खरिद गर्नेले मात्र छुट सुविधा पाउने छन् । प्राधिकरणले निगमको उडान गन्तव्य रहेका स्थानबाट कार्गो ढुवानी गर्दा परिमाणका आधारमा ५–१० प्रतिशत छुट पाउने छ । प्राधिकरणले आफ्ना कर्मचारीलाई सम्भव भएसम्म अन्तर्राष्ट्रिय यात्रा गर्दा निगमको जहाजमार्फत गर्न परिपत्र गर्ने जनाएको छ । कार्यक्रममा मन्त्री आलेले डुब्न लागेको प्राधिकरणलाई उकास्न त्यहाँको व्यवस्थापनले चालेको कदमबाट पाठ सिकेर काम गर्न निगम व्यवस्थापनलाई आग्रह गरे । उनले अन्तर्राष्ट्रिय उडानका लागि जहाज थप्ने विषयमा निगम व्यवस्थापनले व्यापारिक योजना तयार गरी सञ्चालक समितिमा पेश गरिसकेकोले यस बारेमा छिट्टै निर्णय गरिने बताए । सचिव न्यौपानेले १८ घण्टासम्मको लोडसेडिङ अन्त्य, घाटाको संस्थाको वित्तीय तथा प्रशासनिक अवस्थालाई सुधार गरी नाफा आर्जन गरेको जस्ता प्राधिकरणका सफलतालाई मानक बनाएर निगम व्यवस्थापनले आफ्नो सेवालाई नियमित र भरपर्दो बनाउनु पर्नेमा जोड दिए । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले एमओयूमा गरिएका व्यवस्था कार्यान्वयका लागि तत्काल परिपत्र गरिने बताए ।
सन् २०२१ मा डेढ लाख बाह्य पर्यटक नेपाल भित्रिए
काठमाडौं । कोभिड–१९ महामारीको असहज परिस्थितिको अवस्थामा पनि मुलुकमा बाह्य पर्यटक आगमनमा झिनो सुधार भएको पाइएको छ । सन् २०२१ मा डेढ लाख बाह्य पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार हवाइ तथा भूमार्ग हुँदै एक लाख ५० हजार ९६२ जना पर्यटक नेपाल भित्रिएका छन् । सन् २०२० को तुलनामा गत वर्ष नेपाल भित्रिने पर्यटकको सङ्ख्यामा २५ प्रतिशतले कमी आएको छ । बोर्डका निर्देशक मणि लामिछानेले कोभिड महामारीकाबीच पर्यटक आगमनमा झिनो सुधार आएको बताए । उनले अघिल्लो वर्षको तुलनामा पर्यटक सङ्ख्या कम देखिनुमा उक्त वर्ष कोभिड–१९ पूर्व नै जनवरी र फेब्रुअरीमा उल्लेख्य सङ्ख्यामा बाह्य पर्यटक आएका थिए । सन् २०२० मा दुई लाख ३० हजार बाह्य पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् २०१९ मा भने नेपाल भित्रिने बाह्य पर्यटकको सङ्ख्या ११ लाख ९७ हजार १९१ थियो । जुन १२।५ प्रतिशतले बढी हो । नेपाल भित्रिएका पर्यटकमध्ये सबैभन्दा बढी भारतीय छन् । वर्षभरीमा ६४ हजार ६७३ भारतीय नागरिकले नेपाल भ्रमण गरेका थिए । भारतपछि अमेरिकाबाट २२ हजार ८५३ पर्यटक नेपाल आएका थिए । संयुक्त अधिराज्य ९बेलायत० बाट आठ हजार ६८० पर्यटक आएका थिए । छिमेक मुलुक चीनबाट ६ हजार १९६ तथा बङ्गलादेशबाट पाँच हजार ४४ पर्यटक नेपाल भ्रमणमा आएको बोर्डको विवरणमा उल्लेख छ ।
काठमाडौं-सुर्खेत उडान सुरु गर्दै गुण एयरलाइन्स
काठमाडौं । निजी वायुसेवा कम्पनी गुण एयरलाइन्सले आइतबारदेखि काठमाडौँ–सुर्खेत व्यावसायिक उडान सुरू गर्न लागेको छ । सन् २०२२ को सुुरूआतमै यो कम्पनीले थप गन्तव्यका रूपमा सुर्खेत उडान गर्न लागेको हो । हाल बुद्ध एयरलाइन्सले मात्र काठमाडौँ–सुर्खेत रुटमा उडान गर्दै आएको छ । गुण एयरलाइन्सका प्रवक्ता एवं बजार प्रमुख प्रज्ज्वल थापाले आइतबार (पुस १८ गते) देखि १८ सिटे जहाजबाट उडान सुरुआत गर्न लागेको जानकारी दिए । काठमाडौँ–सुर्खेत उडानका लागि भाडादर तोकिसकेको छ । अनलाइन टिकटमा काठमाडौैँ–सुर्खेतका लागि आठ हजार ५४५, नौ हजार ५४५ र ११ हजार ४२० रुपैयाँ भाडादर तोकेको उक्त एयरलाइन्सले दैनिक बिहान ८ः३० बजे काठमाडौँबाट र सुर्खेतबाट ९ः५० बजे उडान भर्ने जनाएको छ । प्रवक्ता थापाले यही पुस २६ गतेदेखि भने दिउँसो २ः३० बजे काठमाडौँबाट र सुर्खेतबाट ३ः५० बजे उडान गर्ने बताए । बुद्ध एयरले भने दैनिक बिहान ७ः२० बजे काठमाडौँबाट उडान भर्दै आएको छ ।