‘टान’को ४३ औँ अधिवेशन आगामी माघ २८ मा

काठमाडाैं । पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज् एशोसिएशन अफ नेपाल (टान)को ४३ औँ वार्षिक साधारणसभा एवं अधिवेशन आगामी माघ २८ गते हुने भएको छ । सस्थाका अध्यक्ष खुमबहादुर सुवेदीले कोरोनाका कारण रोकिएको ४२ तथा ४३औँ साधारणसभा तथा अधिवेशन माघ २८ गते गर्न लागिएको जानकारी दिए । विसं २०३५ मा स्थापना भएको सस्थामा हाल देशभर दुई हजारका हाराहारीमा पर्यटन व्यवसायी आवद्ध छन् । पदयात्रा तथा पर्वतारोहणको क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेको टानले कोरोनाका समयमा सरकार र निजी क्षेत्रबीच सहजीकरण गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो । कोरोनाका बीच विभिन्न पर्यटन ऐनलगायत विदेशी पर्यटकलाई सहजीकरणको भूमिका प्रदान, टान फुड बैंक स्थापना, पर्यटन श्रमिकलाई पर्यटन वोर्डमार्फत रोजगारी सिर्जाना, व्यवसायी तथा ट्रेकिङ गाइडलाई क्रेडिट कार्डको सुविधालगायतका कार्य गरेको थियो ।

त्रिशुली रिभरसाइड रिसोर्टले ल्यायो अङ्ग्रेजी नयाँ वर्षको अफर

काठमाडौं । नजिकिदै गरेको नयाँ वर्षको अवसरमा काठमाडौं नजिकैको आकर्षक ‘होलिडे डेस्टिनेसन’ त्रिशुली रिभरसाइड रिसोर्टले विभिन्न प्याकेज तथा छुटहरूको अफर ल्याएको छ । काठमाडौबाट ६५ किलोमिटर दुरिमा पृथ्वी राजमार्गको मलेखु नजिकै मालिङ्गामा रहेको रिसोर्ट एड्भेन्चर पारखीका लागि प्रसिद्ध छ । न्यु इयर इभ र न्यु इयरको दिनमा लाइभ ब्याण्ड एवम् डिजे पार्टी समेत गरिने बताइएको छ । डे पिकनिकको लागि तीनपटकको खाना सहित प्रति व्यक्तिको एक हजार पाँच सय रुपैयाँको अफर छ भने ¥याफटिङको लागि निशुल्क फोटो सहित प्रति व्यक्ति आठ सय रुपैयाँको अफर रहेको छ । जिपलाइन राइडको ओपनिङ अफरको रुपमा तीस प्रतिशत छुट सहित  एक हजार पचास रुपैयाँको अफर रिसोर्टले ल्याएको रिसोर्टका सन्चालक उद्वब कँडेलले बताए । गतिविधि मात्र नभएर रिसोर्टले नयाँ वर्षको अवसर अकोमोडेशनमा पनि छुटको व्यवस्था गरेको छ । बालकनी र कौसी सहितको एसी डिलक्स रुमको तीन हजार पाँच सय रुपैयाँ तोकिएको छ । त्यस्तै ग्रुप रुमको भने प्रति व्यक्ति दुई हजार दुई सय रुपैयाँ तोकिएको छ । त्यस्तै टेन्टको भने एक हजार छ सय रुपैयाँ प्रतिव्यक्ति तोकिएको छ । यी सबै आवसिय प्याकेजमा तिन पटकको खाना, डिजे पार्टी र फोटो समावेश हुनेछन् । यो सँगै रिसोर्टले गाडीको पनि व्यवस्था गरेको छ । काठमाडौं देखि रिसोर्ट र रिसोर्ट देखि काठमाडौंको लागि बसमा प्रति व्यक्ति आठ सय रुपैयाँ र सोही रुटमा निजी कार रिजर्भ गर्न चाहेमा छ हजार पाँच सय रुपैयाँ, जीपको लागि दस हजार रुपैयाँ, हायस माइक्रोको लागि बाह्र हजार पाँच सय, मिनी बसको चौध हजार र टुरिस्ट बसको बीस हजार रुपैयाँ तोकिएको छ ।

बैतडी विमानस्थल स्तरोन्नतिका लागि साढे एक करोड विनियाेजन

बैतडी । बैतडी विमानस्थल स्तरोन्नतिका लागि एक करोड ५० लाख ४४ हजार २४७ विनियोजन गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा बसेको नेपाल नागरिक उडड्यन प्राधिकरणको बैठकले बहुवर्षीय आयोजनाअन्तर्गत बैतडीसहित सुदूरपश्चिम प्रदेशका विभिन्न विमानस्थल स्तरोन्नतिका लागि बजेट विनियोजन गरेकाले सो रकम प्राप्त भएको हो । बैठकले धनगढी विमानस्थलका लागि एक अर्ब, दार्चुलाको गोकुलेश्वर विमानस्थलका लागि दुई करोड ६५ लाख उपलब्ध गराउनका साथै डोटी, साँफेबगर, कमलबजार, महेन्द्रनगर, बाजुरा र डडेल्धुरा विमानस्थलका लागि पनि बजेट विनियोजन गरेको छ । पाटनमा रहेको विमानस्थल २६ वर्षपछि विसं २०७७ असोज अन्तिम सातादेखि पुनः सञ्चालनमा आएको हो । विमानस्थल कालोपत्र गर्न विसं २०७३ मा ११ करोड बजेट विनियोजन गरिएकामा सो काम सम्पन्न भइसकेको जनाइएको छ । हाल साताको एक दिन शुक्रबार पाटन–धनगढी नियमित उडान हुने गरेको छ । पाटनमा विसं २०३२ मा विमानस्थल निर्माण थालिएकामा २०३५ सालदेखि हवाई उडान सुरु भएको थियो । पछि २०५२ सालदेखि विमानस्थल बन्द भएको थियो । त्यतिबेला पहाडी जिल्लामा सडक सञ्जाल पुगेको र यात्रु कम भएको भन्दै विमानस्थल बन्द गरिएको थियो । विसं २०५८ मा तत्कालीन विद्रोही माओवादीले विमानस्थलको टावरमा आगो लगाएर ध्वस्त बनाएको थियो । विमानस्थलको धावनमार्ग निर्माण भए पनि टर्मिनल भवन र कन्ट्रोल टावरको निर्माण भने सुरु नै भएको छैन । रासस