शंकर ग्रुपले नक्सालमा ८ अर्बको लगानीमा पाँचतारे होटल बनाउँदै

काठमाडाैं । कोरोना महामारीबीच काठमाडौंको नक्सालमा आठ अर्ब लगानीमा पाँचतारे होटल निर्माण भइरहेको छ । नेपालको व्यावसायिक घरानाका रुपमा स्थापित हुँदै गएको शङ्कर समूहले जगदम्बा हस्पिटालिटी गुप्र प्रालिअन्तर्गत काठमाडौं महानगरपालिका–१ स्थित नक्सालमा ‘होटल हिल्टन काठमाडौं’ निर्माण गर्न लागेको हो । आठ रोपनी क्षेत्रफलमा निर्माण हुन लागेको उक्त होटललाई चेन होटलका रुपमा निर्माण गर्न लागिएको जगदम्बा हस्पिटालीटी गुप्र प्रालिका उपाध्यक्ष नीतिन शर्माले जानकारी दिए । विश्वमा छ हजारभन्दा बढी चेन होटल रहेको हिल्टन होटलको नेपालमा पहिलो पटक चेन होटल निर्माण गर्न लागिएको हो । सन् २०२० मा होटल निर्माण सम्पन्न गर्नेगरी सन् २०१६ बाट होटल निर्माण शुरु गरे पनि कोरोना महामारीका कारण होटल निर्माणमा ढिलाइ भएको हो । सन् २०२२ को अन्त्य सम्ममा होटल निर्माण सम्पन्न गरिसक्ने गरी काम तीव्रगतिमा भइरहेको उपाध्यक्ष शर्माको भनाइ छ । पाँचतारे लक्जरी होटल हिल्टन काठमाडौंमा १७५ गेष्ट रुम रहनेछन् । हेल्थ क्लब स्पा, वातावरण अनुकूल स्वीमिङ पुल र फिटनेस सेन्टरसहितका सुविधा उक्त होटलमा उपलब्ध हुने प्रालिले जनाएको छ । उक्त होटलले स्थानीय तथा अन्तर्राष्ट्रिय स्वादका खाना उपलब्ध गराउने बताइएको छ । उक्त होटलमा विवाह तथा सभा समारोहका लागि छुट्टै सभाकक्ष निर्माण हुने भएको छ । दुई तला अण्डर ग्राउण्डसहित बन्न लागेको १८ तल्ले भवनको १६औँ तलामाथि स्वीमिङ पुल रहनेछ । होटलमा नाइट क्लब, जिम हल, स्पालगायतका सुविधासमेत हुनेछन् । अमेरिकाबाट आयात गरिएको सेस्मिक ड्याम्पर प्रविधिबाट निर्माण गरिएको होटल भूकम्प गएका बेलामा समेत सुरक्षित हुने शङ्कर गुप्रका प्रबन्ध निर्देशक शाहिल अग्रवाल बताउँछन् । विदेशी पर्यटकलाई पूर्ण रुपमा सुरक्षित बनाउने आफ्नो योजना रहेको उनको भनाइ छ । निर्माण सम्पन्न भएर सञ्चालनमा आएका तारे होटलको सङ्ख्या नेपालमा १४३ पुगेको छ । यो मुलुकभर सञ्चालनमा आएका एकतारेदेखि पाँचतारे होटलको सङ्ख्या हो । पर्यटन विभागका सूचना अधिकारी मोहनबहादुर जिसीका अनुसार नेपालमा पाँचतारे १६, चारतारे १९, तीनतारे ३३, दुई तारे ४१ र एकतारे ३४ होटल सञ्चालनमा छन् । यस्तै पाँचतारे होटलस्तरका दुई बुटिकसमेत सञ्चालनमा छन् । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरे पनि कोरोना महामारी विश्वभर फैलिँदा नेपालमा भ्रमण वर्षको कार्यक्रम स्थगित गरिएको थियो । विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको पहिलो तथा दोस्रो चरणको कोरोना सङ्क्रमण देखिँदा नेपाल भ्रमणका लागि आउने विदेशी पर्यटकको सङ्ख्यामा कमी आएको छ । रासस

लयमा फर्कदै अन्तर्राष्ट्रिय उडान, बुधबार १७ उडान हुदैँ

काठमाडौं । दोस्रो लहरको कोरोना भाइरस संक्रमणका कारण रोकिएका अन्तर्राष्ट्रिय उडान पुरानै रुपमा फर्कन थालेका छन् । सिमित देशले नेपालमा उडान सुचारु गरेसगैँ न्यून भएका अन्तर्राष्ट्रिय उडान विस्तारै सुचारु हुन थालेका हुन । गत बैशाख यता अन्तर्राष्ट्रिय उडानको संख्या न्यून रहेकोमा बुधबार सबैभन्दा धेरै उडान हुँदैछ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार बुधबार १७ वटा अन्तर्राष्ट्रिय उडान तथा अवतरण हुदैँछन् । बुधबार १७ गन्तव्यमा ११ वायुसेवा कम्पनीले १५ उडान तथा १४ अवतरण रहेको छ । उक्त उडान मध्येमा १३ नियमित उडान, ३ कार्गाे उडान तथा एक युएनको चाटर्ड उडान रहेको छ । कार्यालयका अनुसार आज नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सको विभिन्न गन्तव्यमा चार उडान तथा अवतरण गर्दैछन् । जसमध्ये, नेपाल वायुसेवा निगमले काठमाडौं–क्वालालाम्पुर, नयाँदिल्ली र दुवईमा २ उडान गर्दैछ । यस्तै, हिमालय एयरलाइन्सले काठमाडौंबाट कतारको दोहा, दमाम र दुबईमा चार उडान गर्दैछ । फ्लाई दुबईले दुबई–काठमाडौं, जजिरा एयरवेजले कुवेत–काठमाडौं, कतार एयरवेजले कतारको दोहा–काठमाडौं, मालिन्दो एयरले क्वालालाम्पुर–काठमाडौं, कोरियन एयर, सिंगापुर एयरलाइन्सले सिंगापुर–काठमाडौं, इथिकन एयरलाइन्सले दिल्ली–काठमाडौं र सिचुवान एयरलाइन्सले छेङदु–काठमाडौं उडान तालिका रहेको छ । यसअघि नेपाल नागरिक उडड्यन प्राधिकरणले अगष्ट महिनामा सातामा ६७ उडान हुने गरी उडान तालिका सार्वजनिक गरेको छ । जसमध्ये सरकारी स्वामित्वमा सञ्चालित नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले सातामा १५ र नेपाल–चीन संयुक्त लगानीमा सञ्चालित हिमालय एयरलाइन्सलाई सातामा १३ उडान गर्ने गरि उडान अनुमति दिएको छ । पहिलो चरणमा खुला गरेका मुलुकमा अनुमति पाएका कम्पनीहरुले काठमाडौं गन्तब्य बनाएर उडान गर्नेछन् ।

अगष्ट महिनामा सातामा ६७ अन्तर्राष्ट्रिय उडान गर्ने अनुमति (सूचिसहित)

काठमाडौं । नेपाल नागरिक उडड्यन प्राधिकरणले (क्यान) अगष्ट महिनाका लागि सातामा कुल ६७ उडान गर्ने गरी अन्तर्राष्ट्रिय हवाई उडान तालिका सार्वजनिक गरेको छ । दोस्रो लहरको कोरोना संक्रमणलाई ध्यानमा राख्दै उडान खुला भएका देशका लागि प्राधिकरणले सातामा ६७ उडान हुने गरी अगष्ट महिनाको उडान तालिका सार्वजनिक गरेको हो । प्राधिकरणले सार्वजनिक गरेको तालिका अनुसार सरकारी स्वामित्वमा सञ्चालित नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले सातामा १५ र नेपाल–चीन संयुक्त लगानीमा सञ्चालित हिमालय एयरलाइन्सलाई सातामा १३ उडान गर्ने गरी उडान अनुमति दिएको छ । पहिलो चरणमा खुला गरेका मुलुकमा अनुमति पाएका कम्पनीहरुले काठमाडौं गन्तब्य बनाएर उडान गर्नेछन् । कुन देशका कति उडान ? क्यानले दिएको अनुमति अनुसार सरकारी स्वामित्वमा सञ्चालित नेपाल वायुसेवा निगमलाई कतारको दोहामा दैनिक एक उडान गर्ने गरी अनुमति दिईएको छ । यस्तै, निगमले दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा साताको दुई (सोमबार र बुधबार), मलेसियाको क्वालालाम्पुरमा साताको दुई (मंगलबार र शुक्रबार), भारतको नयाँ दिल्लीमा साताको तीन (सोमबार, बुधबार र शनिबार) र जापानको नारितामा हरेक बिहीबार एक उडान गर्ने गरी अनुमति दिइएकाे छ । हिमालय एयरलाइन्सले मलेसियाको क्वालालाम्पुरमा सातामा ५ उडान (आइतबार, बुधबार, बिहीबार, शुक्रबार र शनिबार), दुबई इन्टरनेशनल एयरर्पोटमा साताको तीन (सोमबार, बुधबार र शनिबार), कतारको राजधानी दोहामा साताको पाँच (सोमबार देखि शुक्रबारसम्म) उडान गर्न अनुमति पाएको प्राधिकरणले जनाएको छ । यस्तै, एयर इण्डियाले भारतको राजधानी नयाँ दिल्लीबाट हरेक आइतबार, मंगलबार र शुक्रबार नेपाल उडान गर्नेछ । फ्लाई दुबईले भने दुबईबाट मंगलबार, बुधबार र शुक्रबार गरी सातामा तीन उडान गर्न अनुमति पाएको छ । जजिरा एयरवेजले कुवेतबाट हरेक दिन नेपाल उडान गर्नेछ । कोरियन एयरले हरेक बुधबार काठमाडौं उडान गर्ने भएको छ । मालिन्दो एयरको जहाज क्वालालाम्पुरबाट सोमबार, बुधबार र शनिबार काठमाडौं आउनेछ । मलेसिया एयरलाइन्सले हरेक शनिबार क्वालालाम्पुरबाट काठमाडौंमा उडान गर्ने गरी अनुमति पाएको छ । कतार एयरवेजले कतारको दोहाबाट काठमाडौंमा दैनिक २ उडान गर्ने गरि अनुमति पाएको छ । सलाम एयरले ओमानको मस्कटबाट आइतबार, मंगलबार र बिहीबार नेपालमा जहाज ल्याउने छ । टर्किस एयरलाइन्सले सोमबार, बिहीबार र शनिबार नेपाल उडान गर्ने भएको छ । सिंगापुर एयरलाइन्सले भने हरेक आइतबार नेपाल उडानको अनुमति पाएको छ ।