अन्नपूर्ण पदमार्गमा १६ हजार पर्यटकले घुमफिर गरे

लमजुङ । यहाँस्थित विश्व चक्रिय अन्नपूर्ण पदमार्गमा  सन् २०२२ मा १५ हजार नौ सय विदेशी पर्यटकले घुमेका छन्। ती मध्ये १० हजार तीन सय ६४ पुरुष र पाँच हजार पाँच सय ३६ महिला रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप पर्यटक जाँच केन्द्र धारापानीले जनाएको छ। पर्यटकमध्ये सबैभन्दा धेरै फ्रान्सका दुई हजार १२ पर्यटक आएको बताइएको छ। यस केन्द्रका पर्यटन सहायक क्षेत्रबहादुर गुरुङका अनुसार सन् २०२१ मा भन्दा सन् २०२२ मा १३ हजार छ सय २७ जना बढी पर्यटक आएका थिए। सन् २०२१ मा एक हजार पाँच सय ६२ पुरुष र सात सय ११ जना महिला गरी दुई हजार दुई सय ७३ जना पर्यटक आएको थियो। कोरोना सङ्क्रमका कारण प्रभावित हुँदै आएको यस पदमार्गमा अघिल्लो वर्षहरुमा भन्दा गत वर्षमा पर्यटक वृद्धि भएको उनको भनाइ छ। उनले भने, ‘लामो समय कोरोना सङ्क्रमणका कारण प्रभावित भएपनि विस्तारै सङ्क्रमणको जोखिम कम भएसँगै पर्यटक आगमन हुन थालेको छ।’ सरकारले आवश्यक प्रचारप्रसार गर्न नसक्दा सन् २०२२ मा उक्त सङ्ख्यामा मात्र आयो नत्र त्योभन्दा दब्बल तेब्बर नै हुने थियो। त्यस्तै, सन् २०२० मा एक हजार नौ सय ७६ जना पर्यटक आएको थियो। त्यस्तै, केन्द्रका अनुसार सन् २०१९ मा ३६ हजार छ सय ४७ जना पर्यटक, सन् २०१८ मा २९ हजार चार सय ८४ जना पर्यटक, सन् २०१७ मा २१ हजार ६८ जना पर्यटक पदमार्गमा आएका थिए। सन् २०१७ बाट पर्यटक आगममा वृद्धि हुँदै गर्दा सन् २०२० मा कोरोना सङ्क्रमणको पहिलो लहर आएयता पदमार्ग क्षेत्र नै प्रभावित भएको थियो। यस पदमार्गमा आउने पर्यटकमध्ये, छिमेकी मुलुक चीन, भारत, जापान, अष्ट्रेलिया, बेलायतलगायतबाट आउने पर्यटक बढी रहेको उक्त केन्द्रका पर्यटन सहायक गुरुङले बताए। केही समयसम्म दैनिक एक सय ५० जनाभन्दा बढी आउने गरे पनि चिसो बढेसँगै यति बेला भने एक दुई विराएर दुई चार जना मात्र आउने गरेको उक्त केन्द्रले जनाएको छ। अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका–७ मनाङे चौतार रहेको छ। यस पदमार्ग लमजुङ, मनाङ, कास्की, मुस्ताङ र म्याग्दी गरी पाँच वटा जिल्ला जोडिएको छ। पर्यटक हिमाली, पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्नलाई साथै मनाङबाट थुम्रापास गरी मुस्ताङ कोही पोखरा जानका लागि अन्नपुर्ण पदमार्गमा पर्यटक आउने गर्छन्। साथै मनाङमा रहेको विभिन्न हिमाल चढ्न तथा हेर्नका लागि आउने गरेको पाइन्छ। यस पदमार्ग आसपासमा रहेका पर्यटन व्यवसायी पर्यटक आगमन हुँदा व्यवसाय राम्रो सञ्चालन हुन्छ तर पर्यटक घट्न व्यवसाय नै घट्ने गर्दा उनीहरु चिन्तित हुने गर्दछन्।

नारायणी नदीमा आजदेखि क्रुजसिप चलाइने

चितवन। नारायणी नदीमा आजदेखि ‘क्रुजसिप’ सञ्चालनमा आउने भएको छ। राइनो वाटर इन्टरटेन्मेन्ट कम्पनीले क्रुजसिप सञ्चालनमा आउने जनाएको हो। दुई वर्ष पहिले नै क्रुजसिपको परीक्षण गरिएको थियो। कोभिड माहामारी र केही नीतिगत व्यवधानका कारण क्रुजसिप सञ्चालनमा ल्याउन कठिन भएको कम्पनीले जनाएको छ। कम्पनीका कार्यकारी निर्देशक दीपक ढुङ्गेलका अनुसार सबै प्रक्रिया पूरा गरेर क्रुजसिप सञ्चालन गर्न लागिएको जानकारी दिए। उनका अनुसार आज दिउँसो १ बजे विशेष क्रुजिङको समय हुनेछ। तीन तलाको क्रुजसिपमा कुल एक सय ८० जना सवार गर्न सक्नेछन्। क्रुजसिपमा यात्रा गर्ने यात्रुहरुको १० लाख बराबरको बीमा गरिएको छ। क्रुजसिपमा सवार हुनका लागि टिकट सात सय, ब्रेकफास्ट क्रुजिङको एक हजार पाँच सय, लञ्च क्रुजिङ  दुई हजार र डिनर क्रुजिङ दुई हजार पाँच सय तेकिएको ढुङ्गेलले जानकारी दिए। भरतपुर महानगरपालिका वडा नम्बर १६ ज्ञानेश्वर सामुदायिक वन स्थित काभ्रेघाटमा क्रुजसिपको स्टेसन छ। एक पटकमा यात्रुले करिब एक घण्टा नारायणी नदीमा क्रुजको मज्जा लिन पाउनेछन्। क्रुजसिपमा विवाह, ब्रतबन्ध, पास्नी, जन्मोत्सव, वैवाहिक वर्षगाँठ लगायतका गतिविधिहरु गर्न पाइने कम्पनीका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलले बताए। क्रुजसिप निर्माणमा १५ करोड बढी खर्च भएको कँडेलले जानकारी दिए। उनका अनुसार क्रुज सञ्चालनका लागि ४० किलोमिटरसम्मको अनुमति लिइएको छ। रुट पहिचान गरेर सोही अनुसार यात्रा गराइने उनले जानकारी दिए। क्रुजसिपभित्र रेष्टुराँ, कार्यक्रमका लागि स्टेज, बैठक सेमिनार गर्न मिल्ने हल, सेल्फी प्वाइन्ट पनि निर्माण गरिएको छ।

नेपाल एयरलाइन्सले आजदेखि इलाम–काठमाडौं उडान भर्दै

मङ्गलबारे । नेपाल एयरलाइन्सले आजदेखि इलाम-काठमाडौँ उडान सुरु गर्ने भएको छ । सातामा एउटा उडान गर्ने गरी इलाम नगरपालिका र नेपाल एयरलाइन्सबीच सहमति समेत भएको छ । एक वर्षअघि करिब तीन महिना उडान भएर स्थगन भएको इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा आजदेखि पुनः उडान सञ्चालन हुने भएको हो । इलाम नगरपालिका–९ मा रहेको यस फल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट गत वर्ष इलाम नगरपालिकाले तारा एयरसँग सम्झौता गरेर केही उडान गरेको थियो । तर सम्झौता सकिएसँगै उडानसमेत बन्द भएको छ । विमानबाट इलाम–काठमाडौँ करिब एक घण्टामा एकोहोरो उडान गर्न सकिन्छ । आज करिब ८ बजे काठमाडौँबाट उडान गर्ने तालिका रहेको छ । इलाममा करिब ९ बजे आउने र साढे नौ बजे काठमाडौँका लागि उड्ने तालिका निर्धारण भएको इलाम नगर प्रमुख केदार थापाले बताए । उनले उडानसँगै इलाममा पर्यटकको सङ्ख्यामा वृद्धि हुने अपेक्षा लिएको जानकारी दिए । इलामबाट १९ सिट क्षमताको ट्वीनअटर जहाज सञ्चालन हुनेछ । इलामबाट काठमाडौँको एकतर्फी भाडा रु छ हजार तीन सय तोकिएको छ । काठमाडौँबाट इलामका लागि भने एकतर्फी भाडा रु छ हजार पाँच सय तोकिएको छ । तर ज्येष्ठ नागरिक, विद्यार्थी र बालबालिकालाई विशेष छुटको सुविधा उपलब्ध गरिएको नगरपालिकाले जनाएको छ । एक उडानमा दुई जना ७० वर्ष नाघेका ज्येष्ठ नागरिकलाई करबाहेकको रकममा ५० प्रतिशत भाडा छुट गरिएको छ । यात्रुले इलाम बजारस्थित सिटीमार्टको पहिलो तलाबाट टिकट लिने व्यवस्था मिलाइएको नगरपालिकाले जनाएको छ । यो विमानस्थलबाट इलामसहित पाँचथर, ताप्लेजुङ र भारतको दार्जिलिङका बासिन्दाले पनि सुविधा पाउने अपेक्षा गरिएको छ । पर्यटकीय क्षेत्र इलाम भएका कारण नियमित उडान राख्दा यात्रु पाउन समस्या नहुने नगरपालिकाले जनाएको छ । यस विमानस्थल छ सय ७० मिटर लम्बाइ र २० मिटर चौडाइको धावनमार्ग कालोपत्र गरिएको छ ।