हिमालय एयरलाइन्सको काठमाडौं–बेइजिङ उडान सुरु
काठमाडौं । हिमालय एयरलाइन्सले चीनको राजधानी बेइजिङमा पहिलो उडान सुरु गरेको छ । उक्त एयरलाइन्सले आज मङ्गलबार पहिलो पटक काडमाडौँ–बेइजिङ उडान सुरु गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुराका अनुसार आज बिहान १० बजेर ४० मिनेटमा उक्त विमान काठमाडौंबाट उडेको र बेइजिङको तासिङ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । नेपालको काठमाडौं र बेइजिङलाई सीधा जोड्ने यो पहिलो उडान भएको छ । चीनको राजधानी बेइजिङमा झण्डै तीन वर्षपछि विदेशका अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले उडान थालेका छन् । तीमध्ये हिमालय एयरलाइन्स पहिलो भएको बताइएको छ । राजधानीको नयाँ विमानस्थल बेइजिङ तासिङ अन्तर्राष्ट्रिय विमानस्थलमा हिमालय एयरलाइन्सले हप्तामा एक पटक उडान भर्ने भएको छ । चीनले कोभिड–१९ महामारीपछि सन् २०२० को मार्च १ देखि सबै अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको थियो । अब चीनको चाइना साउदर्न एयरलाइन्स, चाइना इस्टर्न एयरलाइन्स, बेइजिङ क्यापिटल एयरलाइन्ससँगै हिमालय एयरलाइन्सले पनि उडान सुरु गरेको हो । तीमध्ये हिमालयले हाललाई साताको एक पटक काठमाडौँबाट उक्त विमानस्थलमा उडान भर्ने र चाइना साउर्दनले हङकङमा साताको तीन उडान गर्ने बताइएको छ । अब ती उडानबाट बेइजिङ हुँदै हवाई यात्रु युरोप, अमेरिका, एसिया र अष्ट्रेलियाका विभिन्न मुलुकमा जानसक्ने छन् । त्यसको निम्ति चीनले एक सय ४४ घण्टाको भीसा फ्रि नीति पनि सार्वजनिक गरेको जनाइएको छ । उक्त अवधिको सो नीति बेइजिङ, थ्येन्चिन र हपेइ क्षेत्रमा लागू हुनेछ । बेइजिङको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल सन् २०१९ को अक्टोबर २७ का दिन उडानको निम्ति खुला गरिएको थियो तर कोभिड–१९ महामारीका कारण पाँच महिनापछि नै बन्द भएको थियो । रासस
वायुसेवा निगमलाई गौरव गर्न लायक संस्था बनाउँछु : मन्त्री किराती
काठमाडौं । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले मुलुकको एक मात्र राष्ट्रिय ध्वजाबाहकमा देखिएको विकृति तथा विसङ्गतिलाई हटाएर गौरव गर्न लायक संस्थाको रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा पद तथा गोपनियताको शपथ लिएपछि सिंहदरबारमा पुगेर पदभार ग्रहण गर्दै मन्त्री किरातीले निगमलाई निगम जस्तो बनाउने बताएका हुन । उनले हवाई सुरक्षामा विशेष ध्यान दिने बताउँदै हवाई उडानलाइ व्यवस्थित र सुरक्षित बनाउनका लागि काम गर्ने बताए । मन्त्री किरातीले आफन्त, भनसुन र नातागोताका आधारमा कुनै पनि काम नहुने स्पष्ट पारे । आफूले कानुन, विधि र नियमअनुसार नै सबैसँग सहकार्य गर्दै अगाडि बढ्ने उनले बताए । कोरोना कहरपछि समस्यामा परेको पर्यटन क्षेत्रलाई उकास्न आफू लागिपर्ने उल्लेख गर्दै उनले मुलुकको आर्थिक उन्नतिको केन्द्रमा रहेको पर्यटन क्षेत्रको उन्नयनमा लागिपर्ने स्पष्ट पारे । म जहाजको ककपिटमा छु, एकैचोटी जहाज उडाउँदैनौँ, सबै जाँच गरेर मात्रै अब पर्यटन मन्त्रालय अगाडि बढ्छ, जातीय, क्षेत्रीय एवम् नातागोताले अब काम गर्दैन’, उनले भने । यही माघ १ गते मात्रै ठूलो हवाई दुर्घटना भएको र सम्बन्धित मन्त्रालय भएकोले छानबिन समितिलाई सहयोग गर्ने काम हुने उनले बताए । हवाई सुरक्षामा विशेष पहल गर्दै थप सुरक्षित बनाउने गरी सबै निकायसँगको समन्वयमा काम गर्ने मन्त्री किरातीको भनाइ छ । नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य किराती मुलुकको ४० औँ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेका छन् ।
ताप्लेजुङ-भद्रपुरमा उडान थप, भाडा कति ?
फुङ्लिङ। ताप्लेजुङमा सीता एयरले बुधबारदेखि काठमाडौँ–ताप्लेजुङ–काठमाडौं र ताप्लेजुङ–भद्रपुर–ताप्लेजुङ उडान भर्ने भएको छ । ताप्लेजुङमा पर्यटक तथा तीर्थयात्रीहरूको चहलपहल बढ्ने समय भएसँगै उडान थप गरिएको हो । सुकेटार विमानस्थलमा नेपाल एयरलाइन्स र सीता एयर गरी दुई कम्पनीले उडान गर्ने भएको छ । सुकेटार विमानस्थलबाट साताको सोमबार, बुधबार र शुक्रबार गरी तीन दिन उडान गर्ने तालिका रहे पनि सीता एयरले बुधबार भने दुईपटक उडान गर्ने कार्यालय प्रमुख सिरी खड्काले बताए । उनका अनुसार बुधबार ताप्लेजुङबाट झापाको भद्रपुर र काठमाडौँका लागि दुईपटक उडान हुनेछ । यस्तै हप्ताको चारपटक काठमाडौँ–ताप्लेजुङ–काठमाडौँ उडान गरिरहेको निमगको जहाजले पनि सातामा एकपटक ताप्लेजुङ–विराटनगर उडान गर्ने तयारी गरिहेको ‘स्टेशन इन्चार्ज’ लोकेन्द्र हाङ्गाम लिम्बूले बताए । प्रदेश नं १ को राजधानीलाई लक्षित गरी कम्तीमा सातामा एक दिन ताप्लेजुङ–विराटनगर उडान गर्ने तालिका बनिरहेको उहाँले जानकारी दिए । इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट समेत नेपाल वायु सेवा निमगको ट्वीनअटर जहाजले उडान भर्ने तालिकासँगै ताप्लेजुङ–विराटनगरको उडान तालिका पनि तय हुने उनको भनाइ छ । यस पहिले सीता एयरले काठमाडौँ–ताप्लेजुङ–काठमाडौँ उडान गर्दै आएकामा वर्षायामको सिजनमा भिजिबिलिटी कम भएका कारण उडान स्थगन भएको थियो । मौसम सफा हुने पर्यटकको चहलपहलसमेत वृद्धि हुने भएकाले उडानलाई निरन्तरता दिइएको बताइएको छ । सीता एयरले ताप्लेजुङबाट भद्रपुरका लागि पाँच हजार तीन सय ८५ र काठमाडौँसम्मका लागि नौ हजार दुई सय ८५ भाडादर निर्धारण गरिएको इन्चार्ज खड्काले जानकारी दिए ।