मानसरोवर माउन्टेन फ्लाइट हुँदै
नेपालगन्ज । ‘वेष्टर्न ट्राभल मार्ट’ को दोस्रो संस्करणमा मानसरोवर ‘माउन्टेन फ्लाइट’ हुने भएको छ । मानसरोवर माउन्टेन फ्लाइट लागि बुद्ध एयरसँग सम्झौता भएको मार्ट आयोजक मूल समितिका संयोजक श्रीराम सिग्देलले बताए । माघ १५ गतेदेखि नेपालगञ्जमा ट्राभल मार्टको दोस्रो संस्करण आयोजना हुँदैछ । वेष्टर्न ट्राभल मार्टमा माघ १६ गते माउन्टेन फ्लाइट गर्ने सम्झौता भएको जानकारी दिँदै सिग्देलले भने, ‘पर्यटन प्रर्वद्धनका लागि हामीले पहिलो रेखा कोरेका छौं ।’ यो माउन्टेन फ्लाइटले भारतीय पर्यटकलाई मानसरोवर दर्शन गर्न ठूलो सहयोग गर्ने र पश्चिममा पर्यटक भित्र्याउन ठूलो भूमिका खेल्ने उनले बताए । ९० मिनेट हुने फ्लाइटका क्रममा कैलाश मानसरोवरसँगै रारा ताल र शे–फोक्सुन्डो ताल पनि हेर्न सकिने सिग्देलको भनाइ छ ।
धार्मिक पर्यटनको गन्तव्य बन्दै बाँके, छुट्याइयो ३८ लाख बजेट
बाँके । बाँकेको चुरे क्षेत्रमा पर्ने बर्फानी बाबा मन्दिर र सन्तानेश्वर महादेवको मन्दिर धार्मिक पर्यटनको गन्तव्यको रुपमा विकास हुन थालेको छ । जिल्लाको राप्ती सोनारी गाउँपालिका–४ स्थित बर्फानी मन्दिर र नरैनापुर गाउँपालिका–५ वेदिहिवा चुरे पहाडमा रहेको सन्तानेश्वर महादेव मन्दिरमा धार्मिक पर्यटनका लागि प्रदेश सरकारले पूर्वाधार निर्माण सुरु गरेको छ । पूर्वाधार निर्माणका लागि बनाइएको विकास योजना अन्र्तगत हेलिप्याड निर्माणको सुरुवात गरिएको लुम्बिनी प्रदेशका मन्त्री कृष्णा केसीले जानकारी दिए । ‘त्यहाँ पुग्ने दर्शनार्थीका लागि आवश्यकपर्ने धर्मशाला निर्माण, पानी तथा शौचालयको व्यवस्थापनका लागि आवश्यक पूर्वाधार निर्माण सुरु भएको छ’, उनले भने । हिँडेर त्यहाँसम्म पुग्न नसक्ने तीर्थालु तथा पर्यटकले हेलिकप्टर प्रयोग गर्न सकुँन् भने हेलिप्याड निर्माण गर्न लागिएको मन्त्री केसीले जानकारी दिए । बाबा बर्फानी पुग्नका लागि नरैनापुर क्षेत्रबाट बाटो पनि बनाउन लागिएको छ । अघिल्लो वर्ष नै बाटोको योजना बनाइएको भ एपनि यो वर्ष मात्रै पूर्णता पाउने जानकारी दिँदै मन्त्री केसीले आश्रमलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न लुम्बिनी प्रदेश सरकारले ३८ लाख बजेट विनियोजन गरिसकेको उल्लेख गरे । बाबा बर्फानी मन्दिर क्षेत्रलाई धार्मिक तथा पर्यटकीयस्थलका रुपमा विकास गरेर आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढाउन, आवागमनका लागि आवश्यक पूर्वाधार बनाउन आफूले पहल गरेको उनको भनाइ थियो । राप्तीसोनारी र नरैनापुर गाउँपालिकाको सङ्गमस्थलमा पर्ने चुरे पहाडमा रहेको उक्त मन्दिरमा पर्यटनको विकास गरी प्राकृतिक धार्मिक पर्यटकीय सर्किट निर्माण गरिने योजना समेत रहेको मन्त्री केसीले जानकारी दिए । नरैनापुरस्थित सन्तानेश्वर मन्दिरलाई पनि पूर्वाधारयुक्त बनाउन आवश्यक अध्ययन गरिरहेको बताउँदै उनले सन्तानेश्वरमा खानेपानीका खोलाबाट सोलार प्रविधिमार्फत पानी लैजाने सम्भावनाको अध्ययन भइरहेको बताए । ‘सो क्षेत्रको स्थलगत अवलोकन गर्दैै स्थानीय जनप्रतिनिधि, स्थानीय बासिन्दा र मन्दिरका पुजारी श्री १००८ केशव गिरीलगायतसँग छलफल पनि गरिरहेका छौं’, केसीले भने । नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देलले डिपीआर निर्माण गरेर दीर्घकालीन महत्वका पूर्वाधार बनाउन आवश्यक रहेको सुझाव दिँदै सरकारले पर्यटन क्षेत्रलाई बुझेर मात्रै लगानी गर्दा समुदायले पनि लाभ लिन सक्ने बताए । सन्तानेश्वरमा पनि हेलिकप्टरबाट आउन चाहने तीर्थालु भक्तजन तथा पर्यटकका लागि हेलिप्याड निर्माणको काम सुरु भएको छ ।
जहाज समयमा उडाउनुहोस्, नेपाली समयको बदनाम नगर्नुहोस् : पर्यटनमन्त्री
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई जहाज समयमै उडाउन निर्देशन दिएका छन् । आज वायुसेवा निगमको कार्यालय निरिक्षण गर्दै मन्त्री किरातीले निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई एक सेकेन्डको पनि महत्व हुने भन्दै समयमै जहाज उडाउन र नेपाली समयको बदनाम नगर्न निर्देशन दिएका हुन् । ‘विश्वमा युद्ध लड्दा एक सेकेन्डको पनि ठूलो महत्व हुन्छ, तोकिएको समयमै जहाज उडाउनुहोस्, नेपाली समयलाई बदनाम नगराउनुहोस्,’ उनले भने । मन्त्री किरातीले निगम सुधारका लागि छिट्टै आर्थिक योजना पेस गर्न र एक महिनाभित्र अनलाइनमार्फत् टिकट काट्ने व्यवस्था गर्न पनि अध्यक्ष अधिकारीलाई निर्देशन दिए । ‘जहाज अब उप्रान्त समयमै उड्नु पर्छ, हिजो के भयो त्यो म हेर्दिन, जहाज स्टार्ट भइसक्यो अब रोकिनु हुँदैन’, उनले भने, ‘नकारात्मक काम गर्दिन, सकारात्मक काममा सधै साथ दिन्छु ।’