इलाममा १५० मिटर लामो सिसाको पुल र साइकल ट्रयाक बन्दै, ८ करोड खर्च लाग्ने

फिक्कल । प्रदेश नं १ को पर्यटकीय नगरी इलामको सूर्योदय नगरपालिकामा सिसाको पुल (ग्लास ब्रिज) सहितको साइकल ट्र्याक निर्माणको कार्य सुरु गरिएको छ । पर्यटकलाई थप आकर्षित गर्नका लागि नगरपालिकाले कन्याममा एक सय ५० मिटर लामो सिसाको पुल निर्माणको थालनी गरेको छ । नगरप्रमुख रणबहादुर राईले मङ्गलबार उक्त आयोजनाको शिलान्यास गरे । उनले भने, ‘नगरको गौरवको आयोजनाका रूपमा देशमै पहिलो पटक उक्त सिसाको पुलको निर्माण सुरु गरेका छौँ ।’ राईले पर्यटकीय क्षेत्रमा नयाँ आयाम थपिएको बताए । उनका अनुसार दीर्घकालीन आयआर्जनको स्रोत पर्यटन हो । सिसाको पुलसहितको साइकल ट्र्याक निर्माणले यस क्षेत्रका स्थानीयको आयस्तरमा सुधार हुने विश्वास राखिएको छ । प्रदेश सरकारको नवप्रवद्र्धन साझेदारी कोष र नगरपालिकाको संयुक्त लगानीमा दुई वर्षभित्रमा यी आयोजनाको काम सम्पन्न हुने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराईले बताए । उनका अनुसार सो आयोजनाका लागि नगरपालिका र प्रदेश सरकारको नवप्रवद्र्धन साझेदारी कोषको गरी सात करोड ९३ लाख ६४ हजार लागत रहेको छ । आगामी २०८१ माघमा काम सम्पन्न गर्ने गरी बिएस कन्स्ट्रक्सन कम्पनीले ठेक्का लिएर काम सुरु गरेको हो । अत्याधुनिक शैलीमा निर्माण गरिने उक्त सिसाको पुल देशकै लामो भएको नगरपालिकाले दाबी गरेको छ । एक सय ५० मिटर लामो उक्त पुल निर्माण भएपछि पर्यटकले पुलबाट सहजै नेपाल र भारतका विभिन्न भूभागको अवलोकन गर्न पाउनेछन् । यस्तै नगरपालिका र प्रदेश सरकारको नवप्रवद्र्धन साझेदारी कोषको गरी ५५ लाख ५० हजारको लागतमा २०७९ असार मसान्तसम्ममा सक्ने गरी १३ दशमलव पाँच किलोमिटर साइकल ट्र्याक निर्माणका लागि राजलवट निर्माण सेवाले ठेक्का सम्झौता गरी काम सुरु गरेको नगरपालिकाले जनाएको छ । पुल र साइकल ट्र्याक सञ्चालनमा आएपछि देशभरका साइकलयात्रीले इलामको सौन्दर्य हेर्दै नागबेली पथमा यात्रा गर्न पाउनेछन् । पर्यटकलाई नयाँपन दिनका लागि नयाँ योजना सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ । सूर्योदय–६ को कन्याममा रहेको डुँडे गैरादेखि सूर्योदय–११ को पूर्णेडाँडासम्म साइकल ट्र्याक निर्माण हुनेछ । नगरप्रमुख राईले पर्यटकको रोजाइमा रहेको सूर्योदयमा ग्लास ब्रिज र साइकल ट्र्याक निर्माणले देशभरका पर्यटकको ध्यान तान्ने बताउनुभयो । परियोजनाअन्तर्गत सूर्योदय–६ को कन्याममा ५९ लाख ८३ हजारको लागतमा साझा सुविधा केन्द्र निर्माण गरिनेछ । जहाँ ताजा सागसब्जी र तरकारीको सङ्कलन र बिक्री केन्द्र रहनेछ । यस्तै परियोजनाले लोपोन्मुख लेप्चाजातिको फेन्सिङ गुम्बाको मर्मत गरिनेछ । परियोजनाले मन्यूमेन्ट पार्क र हेल्थ पार्कसमेत निर्माण गरेको छ । उक्त परियोजनाभित्रै कन्याम लगायतका स्थामा चारवटा शौचालय निर्माण गरिनेछ । उक्त परियोजनाले पर्यटन क्षेत्रलाई थप व्यावसायिक बनाउनका लागि अग्र्यानिक उत्पादनसम्बन्धी सचेतना कार्यक्रम, स्थानीय खाद्य परिकार तयारीसम्बन्धी र जैविक मल उत्पादनसम्बन्धी तालिम कार्यक्रम सम्पन्न गरिसकेको छ । रासस

पोखरा महोत्सवमा १० करोडको कारोबार

गण्डकी । पोखरास्थित युनाइटेड क्लबद्वारा अमरसिंह खेलमैदानमा आयोजित १३औं संस्करणको पोखरा महोत्सव १० करोडको कारोबार गर्दै सम्पन्न भएको छ । गत पुस २७ गतेदेखि माघ १० गतेसम्म सञ्चालन भएको महोत्सवमा दुई लाख ५० हजार दर्शकले अवलोकन गर्नाका साथै स्टलमा राखिएका विभिन्न सामग्री खरिदबिक्रीबाट १० करोड बराबरको कारोबार भएको आयोजकले जनाएको छ । गण्डकी प्रदेशमा नयाँ पर्यटकीय गन्तव्यको पहिचान, चिडियाखाना निर्माण, सेती नदीलाई साहसिक पर्यटकीय गन्तव्य बनाउने तथा शिक्षा, स्वास्थ्य र खेलकुदको विकास गर्ने लक्ष्यका साथ क्लबले महोत्सव गर्दै आएको अर्थ व्यवस्थापन समितिका संयोजक सूर्यबहादुर बानियाँले जानकारी दिए । महोत्सवस्थलबाट लेखनाथस्थित पँचभैयामा निर्माणाधीन चिडियाखाना अध्ययन अवलोकनका लागि निःशुल्क बस सेवाको व्यवस्था गरिएको थियो । सो अवधिमा आठसयभन्दा बढी दर्शकले सेवा लिएका थिए । महोत्सवको अर्को आकर्षण घोडचडी थियो । यसबाट पाँच सय जनाले घोडसवारको मज्जा लिनाका साथै एक हजार पाँच सय बालबालिकाले भिआर नाइनडीको मज्जा लिएका थिए । कास्की निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य मनबहादुर गुरुङले महोत्सव समापन समारोहमा युनाइटेड क्लबले महोत्सवको माध्यमबाट सामाजिक सेवामा पु¥याएको योगदानको उच्च कदर गर्दै यस्ता कार्यको अन्य सङ्घ संस्थाले पनि अनुशरण गर्नुपर्नेमा जोड दिए । रासस

होटल रोयल सिंगीको २५ वर्ष पुरा, फेब्रुअरीभर २५ प्रतिशत छुट

काठमाडौं । होटल रोयल सिंगीले २५ वर्ष पुरा गरेकाे अवसरमा विभिन्न सेवाहरुमा छुट अफर ल्याएकाे छ । जनवरी २० मा २५ वर्ष पुरा गरेकाे हाेटलले विभिन्न सेवामा छुट अफर ल्याएकाे हाे । कम्पनीले फेब्रुअरी १ देखि २८ सम्म होटलको लोकप्रिय आउटलेट ‘द बिएलभिडी’मा खाना र पेय पदार्थमा २५ प्रतिशत छुट प्रदान गर्ने जनाएकाे छ । हाेटलले यो अफर ए ला कार्टे लन्च वा डिनरमा बढीमा ८ अतिथिहरुका लागि मान्य हुने बताएकाे छ । यस्तै, फेब्रुअरी महिनाभरि, प्रोन्टो क्याफे (लबी र गार्डेन) मा चिया, कफी र केक बिहान ११ बजेदेखि ७ बजेसम्म २५० रुपैँया र साँझ ५ बजेपछि २५ प्रतिशत छुट दिइने हाेटलले जानकारी दिएकाे छ  । यति मात्र नभएर हाेटलले विवाहको रिसेप्शन बुकिङ गर्ने पहिलो २५ जनालाई २५औं वार्षिकोत्सवको अवसरमा प्रति व्यक्ति २५०० नेटको विशेष दरमा मेनु उपलब्ध गराउने जनाएकाे छ । होटलले २५औं वार्षिकोत्सव विशेष प्याकेज पनि तयार गरेको छ, आफ्नो २५औं वार्षिकोत्सव मनाउने अतिथिका लागि यो प्याकेजको मूल्य प्रति रात र सिंगल अकुपेन्सी मात्र २५ सय नेट रहेको छ ।