अब दैनिक ८ घण्टा मात्रै हवाइ उडान !

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाइ उडान सुरक्षित बनाउन नयाँ व्यवस्था लागू गर्ने भएको छ । माघ १ गते यती एयरलाइन्सको पोखरा दुर्घटनापछि प्राधिकरणले उडानलाई सुरक्षित बनाउन नयाँ व्यवस्था लागू गर्न लागेको हो । हवाइ दुर्घटनाको मुख्य कारण क्याप्टेनको मेन्टालिटी रहेको जनगुनासो आउने गरेपछि प्राधिकरणले दैनिक उडान आवर तथा उडान/अवतरणको संख्यालाई कटौति गर्ने तयारी थियो । प्राधिकरणले लागू गर्ने नयाँ व्यवस्थाअनुसार अब पाइलटले दैनिक आठ घन्टा उडान र आठ पटक मात्र अवतरण गर्न पाउने छन् । यसअघि दैनिक १० घन्टा उडान र १० वटा अवतरण गर्न पाउने व्यवस्था थियो । यसअघि एक क्यापटेनले सातामा ४२ घण्टा उडान गर्नुपर्नेमा त्यसलाई कटौति गरी सातामा ३६ घण्टामा झार्न लागिएको हो । सातामा ६ दिन काम गर्ने पाइटलले अब ५ दिनमात्रै उडान गर्न पाउने छन् । दैनिक धेरै उडान हुँदा त्यसको असर क्यापटेनको मानसिकतामा पर्ने भएपछि उडान आवर र अवतरणको संख्या घटाउने तयारी थालिएको क्यानले जनाएको छ । प्राधिकरण महानिर्देशकबाट सर्कुलर जारी गर्ने विषयमा निर्णय भइसके पनि सरोकारवालासँग छलफल गरी जारी गर्ने तयारी भएको छ । नयाँ सर्कुलर समर सेड्युलबाट लागू गर्ने तयारी भएको छ । यस्तै, नयाँ सर्कुलरमा आईएफआर उडान हुने विमानस्थलमा भीएफआर उडान गर्ने नपाइने व्यवस्था लागु गर्न लागिएको छ । यसैगरी पहाडी क्षेत्रमा हुने उडान सट टेक अफ ल्याण्डिङ (स्टल) मा विमान जमिनको तहबाट सधैँ ५०० फिट माथि हुनु पर्ने र सुगम क्षेत्रमा उडान गर्दा विमान जमिनको सतहबाट कम्तिमा १ हजार फिट माथि हुनु पर्ने व्यवस्था सहितको सर्कुलर जारी गर्ने तयारी गरिएकाे छ । वायुसेवा कम्पनीका सबै प्रशिक्षक पाइलटले विमान उत्पादक कम्पनीमा गई सीप परीक्षण गर्नुपर्ने विषय पनि नयाँ सर्कुलरमा राखिएको छ । क्यापटेन भन्छ्न् : दैनिक ६ घण्टा उपयुक्त प्राधिकरणले दैनिक ८ वटा ल्यान्डिङ गर्न पाउने व्यवस्था लागू गर्नु सकारात्मक भएको क्यापटेनहरुले बताएका छन् । यसअघि दैनिक १० वटा ल्यान्डिङ गर्दै आएका वायुसेवाका क्यापटनेहरु दैनिक ८ वटालाई अझै कटौति गरी दैनिक ६ वटा बनाउनु उपयुक्त हुने बताउँछन् । नेपाल वायुसेवा निगममा कार्यरत एक क्यापटने दैनिक १० वटा ल्यान्डिङलाई ६ वटामा झार्नु उपयुक्त हुने बताउँछन् । ‘दैनिक १० वटा ल्याडिङ रहेकोमा त्यसलाई ८ वटामा झार्नुभन्दा ६ वटा बनाउनु उपयुक्त हो, सन् २०१८ मा म्याङलोरमा भएको दुर्घटनापछि भारतले दैनिक ६ वटा ल्याडिङ राखेको छ’, उनले भने, ‘नेपालको जस्तो भौगोलिक विकटता भारतमा छैन, समथर नै छ, भारतमा उक्त दुर्घटनापछि दैनिक ६ वटा ल्यान्डिङ मात्र दिईएको हो, त्यही अनुसार नेपालमा पनि दैनिक ६ वटा ल्याणिङ बनाउनुपर्छ ।’ नेपालमा मासिक १०० घण्टाभन्दा बढी उडान गर्न पाइँदैन । तर, निजी क्षेत्रका वायुसेवा कम्पनीमा कार्यरत क्यापटेनहरुले दैनिक १०० घण्टाभन्दा बढी उडान गर्ने गरेका छन् । उनीहरुले ल बुकमा १०० घण्टा मात्र उल्लेख गर्ने र त्योभन्दा बढी उडान भरेको रकम लिने गरेका छन् ।

भैरहवाबाट ढाका उडान सुरु गर्न आग्रह

काठमाडौं । परराष्ट्रमन्त्री डा बिमला राई पौड्याल र नेपालका लागि बङ्गलादेशका राजदूत सलाउद्दिन नोमन चौधरीबीच आज सिंहदरबारमा भेटवार्ता भएको छ । सो भेटवार्तामा परराष्ट्रमन्त्री पौड्यालले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट ढाका हवाई उडान सुरु गर्न राजदूत चौधरीलाई आग्रह गरिन् । सो भेटमा नेपाल र बङ्गलादेशबीचको पर्यटन व्यापार तथा कृषि क्षेत्रमा सहयोग र साझेदारी अभिवृद्धि गर्ने सम्बन्धमा पनि छलफल भएको थियो । सो अवसरमा राजदूत चौधरीले श्रीलङ्काको ७५औँ स्वातन्त्रता दिवसका अवसरमा सहभागी हुनुहुने बङ्गलादेशी विदेशमन्त्री डा एके अब्दुल मोमेनसँग भेटवार्ता गरी दुई देशबीचको सहकार्यलाई अझ बलियो बनाउन परराष्ट्रमन्त्री पौड्यालसँग अनुरोध गरे ।

राप्ती शान्ति उद्यान पर्यटकीय केन्द्र बन्दै

दाङ । द्वन्द्वको समयमा शान्तिको सन्देश दिने उद्देश्यले स्थापना गरिएको राप्ती शान्ति उद्यान यतिखेर जिल्लाकै प्रमुख पर्यटकीय केन्द्र बनेको छ । तुलसीपुर उपमहानगरपालिका ७ मा रहेको सो पार्कको अवलोकन गर्ने आउनेहरुको दिनहुँ भिड लाग्ने गरेको छ । कोरोना महामारीमा सुनसान रहेको सो उद्यानमा यतिबेला आगन्तुकहरुको भिड नै लाग्ने गरेको छ । जिल्ला बाहिरबाट पनि पर्यटकहको सङ्ख्या बढ्न थालेको पार्क व्यवस्थापन समितिले जनाएको छ । उद्याने अवलोकन तथा यस क्षेत्र आसपासमा वनभोजका लागि दैनिक चार सयदेखि पाँच सयको सङ्ख्यामा बाह्य पर्यटकहरु आउने गरेको राप्ती शान्ति उद्यान समितिका कर्मचारी खेतुप्रसाद भण्डारीले बताए । उनका अनुसार पार्क अवलोकन गर्न आउनेहरुबाट प्रतिव्यक्ति ३० रुपैयाँ शुल्क निर्धारण गरिएको छ भने वनभोज खान आउने समूहबाट तीन सय रुपैयाँदेखि पाँच सय रुपैयाँसम्म शुल्क निर्धारण गरिएको छ । अहिले सो पार्कमा सात जनाले रोजगारी पाएका छन् । सबै व्यवस्थापकीय खर्च कटाएर वार्षिक ४० देखि ४५ लाख रुपैयाँ बचत हुने गरेको उद्यानका कर्मचारी भण्डारीले जानकारी दिए । उद्यान पन्ध्र हेक्टर क्षेत्रफलमा फैलिएको छ । राप्ती राजमार्गअन्तर्गत तुलसीपुर सल्यान सडक खण्डको तीन किमी उत्तरमा श्रीगै गाउँदेखि झन्डै डेढ पूर्वमा पर्ने पार्कको पूर्व दक्षिण सिमानामा वन तथा जङ्गल, पश्चिम तथा उत्तरतर्फ गणेशपुर गाउँ पर्छ । पार्कभित्रको उत्तरतर्फ बालबालिकाहरुका लागि बाल उद्यान र सो क्षेत्रमा बेबी रेल, पिङ, चिप्लेटी र नजिकैमा पौडी पोखरीको निर्माण गरिएको छ । पार्कमा विभिन्न प्रजातिका वनस्पति र बगैँचा पनि छ । त्यसैगरी उत्तरतर्फ निर्माण गरिएको मिनी चिडियाखानामा चितुवा, दुम्सी, घोरल, खरायो, मृग, चिल, उल्लुलगायत विभिन्न प्रजातिका जनावर तथा पशुपक्षीहरु राखिएका छन् । पार्कभित्रको मुख्य आकर्षणमा भगवान् गौतम बुद्धको मूर्ति छ । मूलगेटबाट पार्कभित्र प्रवेश गरेपछि सुरुमै बुद्धको मूर्ति देख्न सकिन्छ । यो मूर्ति राखेसँगै पर्यटकहरुको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको बताइएको छ । यहाँ खानेपानी, शौचालयदेखि वनभोज खान आउनेहरुलाई आवश्यक पर्ने सामग्री, दाउरा तथा ग्यासको सुविधा छ । द्वन्द्वको समयमा शान्तिको कामना गर्दै स्थानीय गणेश सामुदायिक वन समूहका उपभोक्ता, यस क्षेत्रका बुद्धिजीवी, व्यापारी, नागरिक अगुवा र सरकारी निकायको पहलमा त्यहाँ राप्ती शान्ति उद्यान निर्माण गर्ने निर्णय गरिएको थियो । पार्क निर्माणकास्थानीय गणेश सामुदायिक वन उपभोक्ता समितिले जग्गा उपलब्ध गराएको थियो । नेपाल सरकार स्थानीय विकास मन्त्रालयबाट साढे ३७ लाख रुपैयाँ अनुदान प्राप्त भएको र सो रकमबाट पार्क निर्माणको कामको थालनी गरिएको पार्क व्यवस्थापन समितिले जनाएको छ । त्यसपछि पनि पटक पटक गरी सरकारी निकाय, तुलसीपुर उपमहानगरपालिका, यस क्षेत्रका जनप्रतिनिधिलगायत गरी हालसम्म पाँच करोड रुपैयाँखर्च गरिसकेको पार्क व्यवस्थापन समितिका अध्यक्ष डिल्ली भण्डारीले बताए । उक्त रकम समितिको कार्यालय भवन, पर्खाल, शौचालय, गेट, वनभोजस्थल, चिडियाखाना, गौतमबुद्धको मूर्ति, गार्डेन, बाल उद्यानलगायतका पूर्वाधार निर्माणमा खर्च गरिएको भण्डारीले जानकारी दिए । उनले अब केही दिनमै सो इमो, चित्तल, रतुवा, गोही लगायतका जनावर तथा पशुपक्षी ल्याउने तयारी गरिएको पनि बताए ।