हनिमुन लेकलाई आयआर्जनसँग जोड्दै

गण्डकी । सात तालको बगैँचा सहरका रुपमा परिचित लेखनाथको दिपाङ ताल मधुमास ताल (हनिमुन लेक) का रुपमा चर्चित छ । विभिन्न प्रजातिका पाहुना चरा जोडी मिलेर समय समयमा घुम्न आउने भएका कारण यस ताललाई हनिमुन लेक भन्ने गरिएको यहाँका बासिन्दा बताउँछन् । यो ताल पछिल्ला वर्षमा प्रेमी जोडीको गन्तव्यका रुपमा पनि विकास भएको छ । नवविवाहित जोडीलाई यस तालले लोभ्याउने गरेको छ । सन् २०१६ मा विश्व रामसार सूचीमा सूचिकृत यो ताल प्राकृतिक सौन्दर्य र दृश्यावलोकनका दृष्टिले आकर्षक छ । पर्यटकको आगमनलाई लक्ष्य गरी तालको किनारामा घुम्न चार किलोमिटर लामोे पदमार्ग बनाइएको दिपाङ ताल संरक्षण समितिका अध्यक्ष रामजी लामिछाने बताउँछन् । आव २०६८/२०६९ मा निर्मित उक्त पदमार्गका लागि पटक–पटक गरी करिब रु ६० लाख लगानी भएको उनको भनाइ छ । वरपर घुम्ने पदमार्ग भएका कारण साँझ बिहान एवं बिदाका समयमा यहाँ उल्लेख्य सङ्ख्यामा पर्यटक आउन थालेपछि ताल वरपर विभिन्न होटेल तथा रेष्टुरेन्ट बन्ने क्रम पनि बढ्दै गएको स्थानीयवासी बताउँछन् । तालमा प्राय बिदाका दिन पर्यटक आउने गरेको एचटुओ रेष्टुरेन्ट एण्ड बारका कमल गुरुङको भनाइ छ। ‘प्राकृतिक दृश्यावलोकनसँगै माछाका परिकारको स्वादका लागि ठाउँ ठाउँबाट पर्यटक आउने गरेका छन्’, उनि भन्छन्, ‘शान्त एवं सुन्दर स्थानमा रहेका कारण यसले पर्यटकलाई आकर्षित गर्ने गरेको हो ।’ सहकारीमार्फत तालको संरक्षण रआयआर्जन उक्त ताललाई स्थानीयवासीको आयआर्जनसँग जोड्ने उद्देश्यले दिपाङ मत्स्य सहकारी सञ्चालनमा ल्याइएको छ । उक्त सहकारीले तालको संरक्षणसँगै यहाँबाट आम्दानी गर्ने लक्ष्य लिएको कार्यबाहक अध्यक्ष कृष्ण रानाभाट जानकारी दिन्छन् । तालको जलाधार क्षेत्र पोखरा महानगरपालिका वडा नं २७, २८ र ३० का बासिन्दालाई समेटेर सहकारी सञ्चालनमा ल्याइएको र हाल ५४६ जना शेयर सदस्य रहेको उनको भनाइ छ । यस तालले कूल ६६८ रोपनी ७ आना तीन पैसा तीन दाम क्षेत्रफल ओगटेको छ र त्यसमा लगभग ३३८ रोपनी आठ आना क्षेत्रफल पानीको भाग रहेको छ । लेखनाथको चौथो ठूलो तालको रुपमा रहेको यसको पूर्वमा रुपा, बेगनास र मैदी ताल तथा उत्तर पश्चिममा गुँदे, न्युरेनी र खाष्टे ताल छन् । यो ताल पर्यावरणीय दृष्टिले पनि उत्तिकै महत्वपूर्ण छ । यहाँ २२ प्रजातिका चरा, १६ प्रजातिका माछा, आठ प्रजातिका अन्य घस्रने प्राणी, छ प्रजातिका कमलको फूलका साथै नाभो, गुँदजस्ता वनस्पति पनि पाइन्छ । पोखराका अन्य तालमा भन्दा यहाँ मानवीय एवम् प्राकृतिक अतिक्रमण कम भएकै कारण यसलाई कुमारी (भर्जिन) तालका रुपमा समेत लिने गरिएको छ । तालको सौन्दर्य जोगाउँदै संरक्षण एवम् आयाआर्जन बढाउनका लागि सहकारीले माछापालनलाई व्यवस्थित गराउँदै लगेको सहकारीका कार्यवाहक अध्यक्ष रानाभाट बताउँछन् । माछा उत्पादनका लागि अघिल्लो वर्ष १० लाखका भुरा छाडिएको र प्रत्येक हप्ता दुई पटक माछा निकाल्ने गरिएको छ । एक पटकमा १५ देखि ७५ किलोग्रामसम्म माछा निकाल्ने र बिक्रीबाट भएको आम्दानी सहकारी कोषको बचतमा राख्ने गरिएको उनि जानकारी दिन्छन् । माछा विक्रीबाट अघिल्लो वर्ष सहकारीले १० लाख आम्दानी गरेकाकामा यस वर्ष करिव ११ लाख आम्दानी भएको छ। ‘तालमा २५ लाख देखि ३० लाखसम्मको भुरा राख्न सकेमा तालको पर्यावरणीय संरक्षणसँगै माछाको उत्पादन बढाउन सकिन्छ’, अध्यक्ष रानाभाट भन्छन्, ‘तालमा लगभग एक करोड बराबरका माछाका भुरा छोड्न सकिने अवस्था छ ।’ भूगोलका दृष्टिले पनि यो ताल पोखराका अन्य तालभन्दा सुरक्षित मानिन्छ । वरिपरि वस्ती नहुनु र चारैतिर सामुदायिक वनले घेरिनु यहाँको विशिष्टता हो । कतैबाट पनि अतिक्रमित नभएका कारण यसलाई कुमारी ताल भन्ने गरिएको छ । दिपाङ ताल संरक्षण समितिको सक्रियता र राष्ट्रिय ताल संरक्षण विकास समितिको सहयोगमा आर्थिक वर्ष २०६६/०६७ मा २९ लाखको लागतमा तालको बाँध निर्माण गरिएको थियो । राष्ट्रिय ताल विकास तथा संरक्षण बोर्डको सहयोगमा ताल सरसफाइ, वृक्षरोपण, उद्यान तथा वनभोज स्थल आदि निर्माण गरिएको छ । दृश्यावलोकनका लागि प्रेमी प्रेमीकाको आकर्षण बन्दै गएको योे ताललाई नवविवाहित जोडीलाई पनि आकर्षण गर्ने किसिमले नै ‘हनिमुन लेक’ का रुपमा विकास गर्ने दीर्घकालीन लक्ष्य छ । पर्यटकको सुविधालाई लक्ष्य गरी विस्तारै होटल तथा रेष्टुराँ, विश्राम स्थलजस्ता पूर्वाधार निर्माणलाई अघि बढाउने सोच राखिएको छ । ताल वरपर बाँधसहित पाँच किलोमिटर लामो पदमार्गले ताल अतिक्रमणको समस्या दीर्घकालीन रुपमा समाधान गर्नाका साथै यसले तालको दृश्यावलोकनलाई टेवा पुर्याएको छ । वरिपरि पन्थको डाँडा सामुदायिक वन, सहेलो पाखा सामुदायिक वन, पाखरे सामुदायिक वन, भालटारी भित्तेरी सामुदायिक वन र केही खेत छन् । वरिपरिका सामुदायिक वनका कारण पनि यो अन्य तालभन्दा सुरक्षित बनेको छ । ताल अवलोकन गर्न आउने पर्यटकलाई लक्ष्य गरी तालसँगै जोडिएको पन्थको डाँडा सामुदायिक वन क्षेत्रमा निर्मित वनभोज स्थलमा यतिखेर पोखरा आसपासबाट विभिन्न समूह समय समयमा बनभोजका लागि पुग्ने गरेका छन् । तालको किनारामा रहेको बनभोजस्थल भौगोलिकरुपमा पनि उपयुक्त रहेको बरिष्ठ पर्यटन व्यवसायी बोबरजंग गुरुङ बताउछन् । रासस  

निकुञ्जमा सफारी सुरु हुँदा पर्यटन व्यवसायी उत्साही

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरबाट चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु भएसँगै यहाँका पर्यटन व्यवसायी उत्साही बनेका छन् । यसअघि नारायणी नदी वारी रहेका जिल्लाका मध्यवर्ती सामुदायिक वनमा पर्यटकीय गतिविधि सञ्चालन गर्दै आएका पर्यटन व्यवसायी नवलपुरबाट निकुञ्ज क्षेत्रमा जिप सफारी सुरु भएपछि उत्साही बनेका हुन् । जङ्गल सफारीमा आउनेलाई नारायणीमा डुङ्गा शयरसहित निकुञ्ज क्षेत्रमा जिप सफारी गराउँदा पर्यटकको सङ्ख्या बढ्ने भएपछि आफूहरु उत्साही बनेको कावासोतीका पर्यटन व्यवसायी धनिराम गुरौले बताए । ‘पहिले मध्यवर्ती क्षेत्रमा पर्ने सामुदायिक वन घुमाउने गरिन्थ्यो, अहिले निकुञ्जमा पनि घुम्न पाइने भएपछि यहाँ आउने पर्यटक बढेका छन्’, उनले भने । नवलपुर पर्यटन समितिका अध्यक्ष फंसराम महतोले गतवर्ष मध्यवर्ती सामुदायिक वनमासमेत जिप सफारी बन्द गरिएकोमा अहिले निकुञ्जले नारायणी पारी सफारी गर्ने अनुमति दिएपछि जिल्लामा पर्यटकीय गतिविधि बढ्ने बताए । ‘हामी खुसी छौँ, यहाँको पर्यटकीय गतिविधि चलायमान गराउन यो कदमले सहयोग पुग्नेछ’, अध्यक्ष महतोले भने । उनका अनुसार यही माघ ११ मा चितवन राष्ट्रिय निकुञ्जले सबै होटल तथा व्यवसायीका लागि नवलपुरको अमलटारी पोस्टबाट पनि निकुञ्ज प्रवेशको अनुमति दिएको छ । यसअघि होटल टेम्पल टाइगर र थारू भिलेजले मात्रै पर्यटक लैजाने अनुमति पाएका थिए । अब अमलटारीबाट गैंँडाखासा, देवीताल, टाइगर टप्सको रुट तथा गोही प्रजनन केन्द्रसम्म आउजाउ गर्न सकिने भएपछि यस क्षेत्रमा आर्थिक, पर्यटकीय गतिविधिमा वृद्धि हुने प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले बताए । शनिबार प्रजिअ लम्सालले सफारीको उद्घाटन गर्दै नवलपुरबाट निकुञ्जभित्र जीप सफारी सुरु भएपछि विदेशी पर्यटकको आगमन हुनुका साथै यहाँको संस्कृतिको समेत प्रचार हुने बताए । नवलपुर पर्यटन समितिले औपचारिक कार्यक्रमकाबीच शनिबार निकुञ्जमा सफारीको सुरुआत गरेको थियो । नवलपुर क्षेत्रबाट प्रतिदिन पाँच वटा जिपमा १० जना निकुञ्ज प्रवेश गर्न पाउनेछन् । होटल तथा पर्यटन व्यवसायीले ‘फस्ट कम फस्ट सर्भिस’का आधारमा अनुमति पाउनेछन् । हात्ती सफारी भने मध्यवर्ती क्षेत्र र सामुदायिक वन क्षेत्रमा मात्र अनुमति छ । निकुञ्जमा जिप सफारी खुला भएसँगै नवलपुरको पर्यटन व्यवसायमा टेवा पुग्ने यहाँका पर्यटन व्यवसायीको विश्वास छ । रासस  

रसुवामा पदयात्रीलाई गुणस्तरीय सेवा

रसुवा । हिमाली प्रकृति छटाको अवलोकन गर्ने पदयात्रीलाई गुणस्तरीय सेवा प्रदान गर्न रसुवाका पर्यटकीय पदमार्गमा सञ्चालित होटल तथा लजको सुदृढीकरण थालिएको छ । दोस्रो  ‘सिजन’ अन्तर्गत लाङ्टाङ, गोसाइँकुण्ड तथा तामाङ सम्पदामार्ग अन्तर्गतका क्षेत्रमा आन्तरिक एवं बाह्य पर्यटकको आगमन शुरु हुने समय नजिकिँदै गर्दा खाद्यान्न ढुवानी, लजका कोठामा रङरोगन र  ‘बेड विस्तारा‘ मर्मत अगाडि बढेको हो । विशेषगरी फागुनको पहिलो हप्तादेखि हिमाली पदयात्रामा पर्यटकको आगमन शुरु हुन्छ ।  हिमाली क्षेत्रको चिसो स्थानमा रातको सुताइ तातो बनाउन विगतको तुलनामा यस वर्ष धेरै व्यवस्थापन गरिएको पर्यटकीय होटल व्यवसायी सङ्घले जनाएको छ । सङ्घका जिल्ला अध्यक्ष रामशरण गजुरेलले मङ्सिर, पुस एवं माघ महिनाको तेस्रो हप्ता बित्दासमेत हिमपात नभएको र फागुनमा पर्नसक्ने हिउँ हेर्न र खेल्न पर्यटक बढ्न सक्ने बताए । उनले भने, ‘पाहुनाको सुविधाका लागि होटल तथा लजको थप सुदृढीकरण गरिएको हो ।’ असोज, कात्तिक, मङ्सिर पहिलो र फागुन, चैत, वैशाख दोस्रो सिजनका रूपमा आन्तरिक एवं बाह्य पर्यटकले  गोसाइँकुण्ड, लाङ्टाङ एवं तामाङ सम्पदामार्गको गतलाङ, नाकथली, थुमनलगायतका क्षेत्रमा भ्रमण गरी प्राकृतिक छटाको अवलोकन गर्नेगरेको बताइएको छ । दोस्रो सिजनअन्तर्गत आन्तरिक रूपका मात्रै २५ हजार पर्यटक रसुवा पुग्ने स्थानीय व्यवसायीको अनुमान छ । पर्यटकका लागि धुञ्चे, देउराली, चन्दनबारी, चोलाङपाटी, लौरीविनायक तथा गोसाइँकुण्ड र लाङ्टाङका लागि ठूलोस्याफ्रु, बम्वो, लामाहोटल, घोडातबेला, लाङ्टाङ, क्याङ्जेनलगायतका स्थानमा सयौं होटल सञ्चालित छन् । पश्चिम लाग्दा तामाङ सम्पदा मार्ग र पूर्व लाग्दा लाङ्टाङ जाने मुख्य केन्द्रका रूपमा पर्यटकका लागि स्याफ्रुबेँसी स्थापित भएको छ । तामाङ सम्पदा मार्गको गतलाङ र वृद्विममा होमस्टे रहेका छन् भने नाकथली तथा थुमनमा होटल तथा लज सञ्चालनमा रहेका कारण स्थानीयस्तरका कृषि उपजबाट पकाइएका स्वादिष्ट भोजन पाहुनालाई खुवाइने अध्यक्ष गजुरेलले बताए । रासस