हिमाली संस्कृतिको अनुपम गन्तव्य ल्होमान्थाङ

गण्डकी । हिमालपारिको जिल्ला मुस्ताङको उपल्लो भेगमा अवस्थित टाँपुकैरुपमा व्यवस्थित छ, ल्होमान्थाङ । नेपालको मरुभूमि भनेर चिनिने यो ठाउँ हिमाली संस्कृति हेर्न र बुझ्न चाहनेका लागि पुग्नैपर्ने गन्तव्य हो । मौलिक संस्कृतिले भरिपूर्ण ल्होमान्थाङको भू–वनोटले पहिलोपटक यहाँ आउनेलाई सपनाको संसार जस्तै अनुभूति गराउँछ । पछिल्लो समयमा भएका राजनीतिक परिवर्तनसँगै ठाउँठाउँमा सामाजिक व्यवस्थामा परिवर्तन आए पनि ल्होमान्थाङमा अहिले पनि परम्परागत नेतृत्व प्रणालीको अभ्यास भेटिन्छ । गण्डकी प्रदेशको उत्तरी ढोकाको पहिचान बनाएको यो मुस्ताङको उपल्लो थलो ‘ल्हो’ उपत्यका हो । जुन ऐतिहासिक ल्हो राज्यको राजधानी पनि हो । यहाँ ग्रामीण नेतृत्वका रुपमा मुखियाको नियुक्ति तथा परिचालन गर्ने परम्परा धेरै पहिलेदेखि चल्दै आएको अनुसन्धानकर्ता रामचन्द्र बराल बताउँछन् । बरालको ‘ल्हो राज्यका घेन्पा राजनीतिले सिकाएका पाठ’ शीर्षकको अनुसन्धानमा नेपालको एकीकरण भन्दाअघि भोट र भारतका बीच आर्थिक कारोबारका लागि प्रयोग हुँदै आएका पाँच वटा पैदलमार्गमध्ये सबैभन्दा होचो र छोटो मार्गका रुपमा ल्होमन्थाङले आफ्नो परिचय बनाएको उल्लेख छ । तत्कालीन भोट–भारत व्यापारका अन्य मार्गमा केरुङ, ओलाङचुङगोला, हुम्लाको हिल्सा र कालापानी रहेको बरालले बताए । ल्होमन्थाङ प्रागऐतिहासिक समाजको अध्ययनको पनि महत्वपूर्ण थलो रहेको बताउँदै उनले भने, ‘यहाँका गुफाको जीवन, भेडा तथा चौँरी पाल्ने प्रचलन आदि प्रागऐतिहासिक समाजका जीवन्त प्रमाण हुन् ।’ तत्कालीन ल्हो राज्यअन्तर्गत यहाँका विभिन्न सात गाउँहरू समेटिएका थिए । जसमा ल्होमान्थाङसहित छुनुप, छोसेर, चराङ, सुर्खाङ, घमी र घिलिङ हुन् । ल्होमान्थाङ आउने पर्यटकले यहाँको ऐतिहासिकस्थलमा रमाउने मात्र नभई हिमाली संस्कार र संस्कृतिका जीवित इतिहास प्रत्यक्ष अनुभूति गर्न पाउँछन् । यहाँ ऐतिहासिक मुस्ताङी राजाको दरबार छ । लोमान्थाङको दरवार, गुम्बा, छोर्तेन, किल्ला र मानवबस्तीका गुफा उपल्लो मुस्ताङको मात्र नभएर नेपालका महत्वपूर्ण सांस्कृतिक सम्पदा हुन् । उपल्लो मुस्ताङमा ल्होमान्थाङ दरबार, चराङ दरबार र घमी दरबारले स्वदेशी एवं विदेशी पर्यटकलाई आकर्षित गर्ने गरेका छन् । ल्होमान्थाङ दरबारको पर्खालसँगै यहाँका हरेक भूभागलाई घेरिएको पर्खाल मौलिक विशिष्टता हो । ल्होमान्थाङ प्रवेश गर्ने स्थानमा निर्मित प्रवेशद्वारले यहाँको अवस्थितिको सङ्केत गर्दछ । पछिल्ला समयमा अधिकांश सहर प्रवेश गर्ने स्थानमा प्रवेशद्वार राख्ने प्रचलन ल्होमान्थाङकै सिको गर्दै गरिएको हुनसक्ने अनुमान गरिन्छ । बौद्ध धर्मगुरु पद्मसम्भवले तान्त्रिक विधिद्वारा यस स्थललाई शुद्धीकरण गर्दै बस्तीयोग्य बनाएको विश्वास पनि कायमै छ । यहाँ गुरु पद्मसम्भवलाई अत्यन्त श्रद्धाका साथ पुज्ने गरिएको छ । ल्होमान्थाङको प्रवेशद्वारबाट छिर्नासाथ यहाँको मौलिकताको प्रत्यक्ष अनुभूति गर्न पाइन्छ । प्राचीन कला, संस्कृति, मानव बस्तीका गुफा र पर्खालले घेरेको सहर नै यहाँको मौलिकता हो । एकैठाउँमा मिलेर बसेको बस्ती र यहाँ पाइने आतिथ्यताले जो कोही पर्यटकलाई लोभ्याउने गरेको छ । विशेषगरी यहाँ तिब्बती संस्कृतिको प्रत्यक्ष अनुभूति गर्न पाइन्छ । लोमान्थाङ मात्र नभई मुस्ताङका हरेक गाउँमा मुखिया प्रथा प्रचलनमा रहनु यहाँको अर्को मौलिकता हो । लोमान्थाङमा अझै पनि गाउँलेको आफ्नै कानुन चल्छ । सकेसम्म प्रहरी र अदालतमा नजाने गरी आफ्ना आन्तरिक समस्या गाउँमा नै समाधान गर्ने यहाँको परिपाटी अहिले पनि कायमै छ । यहाँका स्थानीयवासीले आफ्ना अधिकांश समस्या मुखिया कहाँ नै पुगेर छिनोफानो गर्दै आएका छन् । गुफा, गुम्बालगायतका माटो निर्मित संरचना भएका कारण ल्होमान्थाङले माटोको सहरका रुपमा पनि उपमा पाएको छ । पछिल्ला समयमा जलवायु परिवर्तनको असरसँगै हिमाली क्षेत्रका माटो निर्मित संरचना जोगाउने विषय चासो र चिन्तामा परेको छ । विगतमा हिउँ पर्ने स्थानहरूमा पानी पर्नेक्रम बढ्दै जानुले यहाँका प्राचीन बस्ती एवं मौलिकता जोगाउने चिन्ता बढेको स्थानीयवासी बताउँछन् । दुई वर्षअघि मुस्ताङका लुप्रा, मार्फा, जोमसोम, छैरु, ठिनी, स्याङलगायतका गाउँमा वर्षाले ठूलै असर गरेको थियो । उपल्लो मुस्ताङका अधिकांश जनता दसैँपछि पोखरा झर्छन् । केही पालो गरेर गोठ कुरेर बस्छन् । केही जिम्बु, क्युरियोलगायतका सामग्री झोलामा हालेर जाडो छल्न पहाडतिर झर्ने गर्छन् । विद्यार्थी घुम्ती विद्यालयमा पढ्न पोखरा जाने गर्छन् । यहाँका नागरिकको जीवन र जीविका गहुँ, फापर, उवा, केराउ, साग, आलुलगायतसँग जोडिएको छ । चौँरी, भेँडाच्याङ्ग्रा, गाई, घोडा, हिमाली नागरिकका सुखदुःखका साथी हुन् । सामान्यतः पानी नै नपर्ने र परिहाले पनि अत्यन्त कम पर्ने यी बस्तीमा पानी पर्दा अधिकांश घरमा क्षति पुगेको थियो । माटोको प्रयोगबाट निर्माण गरिएका घर, गुम्बा एवं बस्तीमा पानी पर्न थालेसँगै आगामी दिनमा यी संरचना कसरी जोगाउने भन्ने चिन्ता जगाएको छ । हिउँ नपरे पनि चिन्ता हुन्छ, बढी परे पनि नोक्सानै बनाउँछ । प्रायः चिसो भइरहने भएका कारण माटोले बनाइएका यहाँका घर वातावरण अनुकूलका मानिन्छन् । माटो छाइएका घरमा बाहिर जस्तोसुकै हिउँ परे पनि घरभित्र तातो हुनु यहाँको विशिष्टता हो । पछिल्ला समयमा हिउँ पर्न छोडेर पानी पर्नेक्रम बढ्दा यी ऐतिहासिकस्थलको माटोसँग जोडिएको मौलिकता जोगाउने विषय यतिखेर सर्वत्र चासो बनेको छ । उपल्लो मुस्ताङका ल्होमान्थाङ, छोनुप, छोसेर, सुर्खाङ, चराङ, घमीलगायतका स्थानमा अत्यन्त कम मात्रामा हिउँ पर्न थालेपछि ती स्थानमा वर्षेनी खानेपानीको अभाव बढ्दै गएको स्थानीयवासी बताउँछन् । पानीको चरम अभावसँगै छोसेरको सामजुङ बस्तीलाई सात/आठ वर्षअघि पानीकै खोजीमा नमासुङ भन्ने गाउँमा स्थानान्तरण गरिएको थियो । ल्होमान्थाङ र आसपासका क्षेत्रमा प्राग ऐतिहासिक युगमा मानिसले विभिन्न ढुङ्गामा खोपेर बनाएका चित्रहरू पाउन सकिन्छ । पुरातत्व विभागले उपल्लो मुस्ताङका समर आसपासका स्थानमा ढुङ्गामा खोपिएका त्यस्ता चित्र संरक्षण पनि गर्दै आएको छ । पछिल्ला समयमा यहाँको पुरातात्विक सम्पदाको संरक्षणमा पुरातत्व विभागले चासो दिएको छ । ल्होमान्थाङलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्नका लागि सम्भावित सूचीमा यसअघि नै राखिसकिएको छ । पहिले आफैँ विकास निर्माणको काम गर्ने लोमान्थाङवासी पछिल्लो समय सरकारसँग हात फैलाउन थालेका छन् । देश सङ्घीय संरचनामा गइसकेपछि गाउँगाउँमा सरकार बनेपछि उनीहरू सरकारको सहयोगको आशा गर्ने भएका हुन् । ऐतिहासिकस्थल भएर पनि यो क्षेत्र अझै पनि प्रवद्र्धनको पर्खाइमा रहेको ल्होमान्थाङ गाउँपालिकाका पूर्वध्यक्ष सुवर्ण विष्ट बताउँछन् । सरकारले उपल्लो मुस्ताङलाई चिन्न नसकेको बताउँदै उनले पछिल्ला समयमा स्थानीय पालिका एवं प्रदेशमार्फत सहयोग गर्न थालिए पनि उक्त सहयोग पर्याप्त हुन नसकेको बताए । ‘यहाँ पर्यटक लोभ्याउने र भुलाउने धेरै चीज छन् यसको प्रचारमा अझै कमी भएको छ’, उनले भने, ‘यो गाउँका बारेमा प्रचारप्रसार हुनसके पनि भने जस्तो विकास गर्नसके पर्यटकको ओइरो लाग्ने निश्चित छ ।’ स्थानीयवासी पेम्बा विष्टले उपल्लो मुस्ताङमा सरकारले विकासको पूर्वाधारमा ध्यान नदिएको बताउँछन् । ल्होमान्थाङमा बाटो, बिजुली, मोबाइल नेटवर्कलगायतमा समस्या रहेको उनले बताए । राज्यले ल्होमान्थाङलाई हेर्ने नजर फरक रहेको बताउँदै उनले भौगोलिक विकटता भए पनि सांस्कृतिक सम्पदाले भरिपूर्ण ल्होमान्थाङको गुम्बा, गुफा तथा मन्दिरसँगै पुराना घरहरू लगायतको संरक्षण एवं प्रवद्र्धनका लागि राज्यको आँखा जानुपर्ने बताए । रासस

निजी क्षेत्रलाई पार्किङको जिम्मा दिदैँ पोखरा विमानस्थल कार्यालय

काठमाडौं । नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवनको उत्तरपट्टी रहेको जग्गा पार्किङका लागि ठेक्कामा लगाउने भएको छ । पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले आईतबार एक सूचना जारी गर्दै टर्मिनल भवन रहेको उत्तरपट्टी रहेको १० हजार ५ सय १४.८३७ वर्गमिटर क्षेत्रफलमा सवारी पार्किङ तथा शुल्क संकलनका लागि टेन्डर आह्वान गरेको छ । सूचना प्रकाशन भएको मितिले ३० दिनभित्र इच्छुक आवेदन कर्ताले नेपाल बैंक लिमिटेड पोखरा शाखामा रहेको कार्यालयको खातामा ३ हजार ३९० रुपैयाँ बुक्राएको भैचर सहित बोलपत्र खरिद गर्न सक्ने जनाएको छ । कार्यालयले ५ वर्षका लागि कम्पनी छनोट गर्न लागको हो । कार्यालयले पाँच वर्षका लागि न्यूनतम १ करोड ६२ लाख ३३ हजार रुपैयाँ तोकेर टेन्डर गरेको छ । यसअघि नै प्राधिकरणलाई बक्यौता रकम भुक्तानी गर्न बाँकी रहेका कम्पनी उक्त बोलपत्रमा सहभागिता जनाउन नपाउने प्राधिकरणले सूचना मार्फत जनाएको छ । कम्पनीले विमानस्थल सेवा शुल्क नियमावली २०७८ मा तोकेको भन्दा बढी सेवा ग्राहीसँग लिन पाउने छैन् ।

विज्ञहरु भन्छन् : आईकाओको मापदण्डहरु पूर्ण पालना नगर्दा हवाई दुर्घटना बढ्यो

काठमाडौं । विज्ञहरुले अन्तर्राष्ट्रिय नागरिक उडड्यन संगठन (आईकाओ)ले निर्देशन गरेका मादपण्डहरुको पूर्ण पालना हुन नसक्दा नेपालमा हवाई दुर्घटनामा वृद्धि हुन गएको औंल्याएका छन । नेपाल नागरिक उडडयन प्राधिकरणका पूर्वमहानिर्देशक सञ्जीव गौतम, तत्कालिन हवाई विभागका महानिर्देक वीरेन्द्रबहादुर देउजा, नेपाल एयरलाईन्सका पूर्व इन्जिनियर डाईरेक्टर अच्युतराज पहाडीले नेपालको हवाई क्षेत्रलाई सुरक्षित बनाउन दक्ष जनशक्तिको अभाव रहेको उल्लेख गर्दै त्यसको तत्काल परिपूर्ति गर्नुपर्नेमा पनि जोड दिए । संघीय संसद राष्ट्रियसभा अन्तरगतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको शुक्रबार सिंहदरवारमा बसेको बैठकमा बोल्दै नेपाल एयर लाईन्सका पूर्वइन्जिनियर डाईरेक्टर पहाडीले आईकाओले निर्देशन गरेका मापदण्डहरुको पूर्ण पालना गर्न सके नेपालको हवाई सेवा सुरक्षित हुने र दूर्घटना आफैं न्यूनिकरण हुँदै जाने बताए । उनले दक्ष जनशक्तिको व्यवस्थापनमा पनि नेपाल हवाई सेवा प्रदायक संस्थाहरुले विशेष ध्यान दिनुपर्ने बताए । पहाडीले भने, ‘दक्ष म्यानपावरहरु हायर गरेर काम गर्नु प¥यो, यसो गर्न सकियो भने भविष्यमा नेपालको हवाई उडानमा हुने दूर्घटना कम हुँदै जान्छ, दक्ष जनशक्तिको व्यवस्था गर्नु प¥यो, बाहिरबाट भएपनि दक्ष जनशक्ति नझिकाई मुलुकको हवाई सेवा सुरक्षित हुन सक्दैन,’ उनले थपे यस्तै, नेपाल नागरिक उडड्यन प्राधिकरणका पूर्वमहानिर्देशक गौतमले नेपालको हवाई सेवालाई सुरक्षित बनाउन नियमनकारी निकायहरुको दक्षता अभिवृद्धिमा जोड दिनुपर्ने बताए । उनले हवाई सेवा सुरक्षाका लागि संरचनागत सुधारका कामहरुमा पनि ध्यान दिन सरकारको गम्भिर ध्यानाकर्षण गराए । ‘सकेसम्म हामीले के इन्स्योर गर्न आवश्यक छ भने नेपाली आकाश सुरक्षित छ भन्ने कुरा इन्स्योर गर्नका लागि कम्तिमा पनि स्ट्रक्चरल सुधारका कुराहरुमा तुरुन्तै ध्यान दिनु पर्दछ । जसले गर्दा नियमन अधिकारी अथवा मोर स्ट्रेन्थेन होस् मोर क्यापएबल होस् । जहाँबाट सेफ्टी इन्ह्यान्स गर्न सकियो,’ उनले भने ।