होटल हब बन्दै बाँके, व्यवसायीले गरे १२ अर्ब लगानी

बाँके। पश्चिम नेपालको आर्थिक हब मानिने बाँकेको नेपालगञ्ज होटल हवको रुपमा अघि बढ्दै गएको छ । नेपालगञ्जबाट हुम्ला सिमिकोट हुँदै तिब्बत्को मानसरोबर पुग्ने छोटो रुट भएका कारण खासगरी भारतीय पर्यटक बढन थालेसँगै यहाँ होटलमा लगानी बढेको हो । होटल व्यवसायीका अनुसार बाँकेको नेपालगञ्ज र कोहलपुरका होटल व्यवसायमा १२ अर्बभन्दा बढी लगानी भएको छ । यसअघि सञ्चालनमा आएका होटललाई पनि स्तरोन्नति गरेर लगानी बढाउने क्रम जारी छ । होटल व्यवसायी सङ्घका अनुसार जिल्लाभरि साना र ठूला गरी करिब तीन हजार होटल सञ्चालनमा छन् । जसमा पाँच हजार कोठा छन् भने एकै पटक १० हजार जनासम्मलाई राख्न सकिने क्षमता छ । जिल्लामा पछिल्लो समय ठूलो लगानीमा तारे होटल खोल्नेक्रम पनि बढेको छ । बाँकेमा हालसम्म दुई वटा पाँचतारे होटल खुलिसकेका छन् भने दुई वटा चारतारे होटल छन् । बाँकी तीनतारे र अन्य सुविधासम्पन्न पर्यटकस्तरीय होटल छन् । पछिल्लो समय भारतीय पर्यटकलाई नेपालगञ्ज हुँदै मानसरोवर जान सजिलो हुनेभएपछि ती पर्यटकलाई लक्षित गरी पर्यटकस्तरीय सुविधा सम्पन्न होटल खुल्ने क्रम बढेको हो । मानसरोवर मात्र नभएर नेपालगञ्जदेखि हुम्ला, डोल्पा, खप्तड, रारामा ट्रेकिङ सुरु भएपछि तेस्रो मुलुकका पर्यटक पनि आउन थालेको व्यवसायी बताउँछन् । होटलको सङ्ख्या बढ्दै जाँदा व्यवसायी होटल स्तरोन्नतिका साथै थप सेवा विस्तारमा लागेकोे सिद्धार्थ विजनेस ग्रुप अफ हस्पिटालिटीका प्रबन्धक केशव न्यौपानेले बताए। आफूहरूले पनि दुई हजार जना क्षमताको ब्याङ्केट हल बनाइसकेको बताउँदै नेपालगञ्ज र कोहलपुर बजारका दृश्यावलोकन गर्न मिल्ने गरी होटलको आठ तलामा ‘रुफटप रेस्टुराँ’ सञ्चालन गरिरहेको उनको भनाइ छ । पर्यटनको सम्भावना बाँकेमा पर्यटन व्यवसायको ठूलो सम्भावना छ । यहाँका पर्यटकीय स्थलहरूको उचित संरक्षण सम्बद्र्धन हुनसकेमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकहरूको आकर्षणको केन्द्र बन्न सक्छ । पश्चिम नेपालकै प्रसिद्ध धार्मिकस्थल बागेश्वरी मन्दिर, बाघ संरक्षण गर्ने उद्देश्यले स्थापित बाँके राष्ट्रिय निकुञ्ज, विभिन्न ताल तलैया, वाटरपार्क, गाभर उपत्यका होमस्टेमा विभिन्न समुदायका संस्कृती, प्रांगारिक कृषि प्रणाली, जैविक पार्कलगायत पर्यटक बहलाउने थुप्रै मनमोहक दृश्यहरू छन् । जसलाई संरक्षण र सम्बर्दन गर्दै पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सकियो भने जिल्लाको समृद्धिको आधार तय गर्न पर्यटन क्षेत्रले टेवा दिने देखिन्छ । जिल्लामा धार्मिक पर्यटनको समेत ठूलो सम्भावना छ । यहाँ बागेश्वरी मन्दिर, जुगेश्वर महादेवको मन्दिर, सङ्कटमोचन हनुमान मन्दिर, जामा मस्जिद, इदगाहा मस्जिद, कर्बला, गुरुद्वारा, सरस्वती मन्दिर, बौद्ध गुम्बाजस्ता विभिन्न धर्म संस्कृतिका आस्थाका केन्द्रहरू रहेको धर्मगरु बागेश्वरी मन्दिरका मूल महन्त चन्द्रनाथ योगीले बताए । त्यस्तै अन्य पर्यटकीयस्थलमा महेन्द्रपार्क, रानी तलाउ, बोटिङ विहार, वाटरपार्कआदि पर्यटकका लागि गन्तव्यस्थल हुन् । बाँके राष्ट्रिय निकुञ्ज, कोहलपुर गोलपार्क, ढकेरी वनभोज क्षेत्र, सिक्टा पनि पर्यटनको रोजाइमा पर्दछन् । पछिल्लो समय पर्यटक आकर्षित गर्न यहाँ निजी क्षेत्रको लगानी बढ्दै गएको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष नन्दलाल बैश्यको भनाइ छ । पर्यटक आकर्षित गर्न यहाँका विभिन्न स्थानमा डेढ अर्ब लगानीमा तीनवटा वाटरपार्क सञ्चालनमा छन् । नेपालगञ्ज उपमहानगरपालिका–१२ स्थित बाले गाउँमा मानसरोवर एम्युजमेन्ट पार्क एण्ड रिसोर्टले ‘नेपालगञ्ज थ्रिलर जोन’ वाटर पार्क निर्माण गरेको सञ्चालक मिश्रले बताए । त्यस्तै राँझा विमानस्थल नजिकै ‘वन्डरल्याण्ड वाटर पार्क’ निर्माण भएको छ भने अर्को कोहलपुरको हवलदारपुरमा मानसरोवर होलिडेइनमार्फत् वाटर पार्क र मनोरञ्जन केन्द्र निर्माण भएको छ । व्यवसायीहरु नेपालगञ्जमा पर्यटकको बसाइँ लम्ब्याउन पर्यटकीयस्थलमा लगानी बढाउन जरुरी भएको बताउँछन् ।

आन्तरिक पर्यटन प्रवर्द्धन गर्न पदयात्रा

भक्तपुर । आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सूर्यविनायक नगरपालिका-७ ले पदयात्रा कार्यक्रम आयोजना गरेको छ । राष्ट्रिय युवा सङ्घ पर्यटन विभागको आयोजनामा आज बिहान ९ बजेबाट सुरु भएको पदयात्रा कार्यक्रम नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले उद्घाटन गरे। उनले नगरपालिका क्षेत्रका डाँडा आफैँमा ‘भ्यूटावर’ रहेको चर्चा गर्दै यहाँबाट काठमाडौँ उपत्यकाका साथै विभिन्न हिमश्रृंखला देख्न सकिने बताए । अनन्तकुण्डको ऐतिहासिक एवं धार्मिक महत्वबारे चर्चा गर्दै उनले राजा अंशु बर्माले रानी बिरामी हुँदा यहीँबाट पानी लगेर छर्किएपछि निको भएको किम्बदन्ती रहेको सुनाए । उनले प्रताप मल्लले रानी पोखरी निर्माण गर्दा पनि यहीँ कुण्डको पानी लगेर हालेको इतिहास रहेको समेत बताए । ‘यसअघि म सांसद छँदा यस क्षेत्रमा पदमार्ग निर्माणका लागि बजेट विनियोजन गरेको थिएँ’, उनले भने ‘यो क्षेत्र धार्मिक पर्यटनका दृष्टिले पनि महत्वपूर्ण छ ।’ यस क्षेत्रमा जङ्गल सफारी गर्दै जङ्गली जनावर, चराचुरुङ्गी नियाल्न पनि सकिने उनले बताए । रातोपाटीबाट सुरु भएको पहिलो चरणको पदयात्रा अनन्तकुण्ड, अनन्तलिङ्गेश्वर, महादेव खोला, कैलाश भ्यूटावर, होमस्टेहुँदै रिसालडाँडा पुगेर पूरा हुने आयोजकको भनाइ छ । सूर्यविनायकबाट घ्याम्पेडाँडा, रानीकोट, बाघ भैरब, मानेभन्ज्याङ, पनौती कुशादेवीसम्म र सूर्यविनायकबाट रिसालडाँडा हुँदै पोखरी थुम्कासम्म जान सकिन्छ । पदयात्रा उद्घाटन कार्यक्रममा बागमती प्रदेश सदस्य किरण थापाले यहाँको पर्यटन विकासका लागि तीन तहकै सरकारले विगतमा लगानी गरेको बताउँदै अब यस क्षेत्रलाई पर्यटन पूर्वाधार र विकासका लागि थप बजेट ल्याएर काम गर्ने जिम्मेवारी आफूमा आएको बताए । कार्यक्रममा युवा सङ्घ नेपालका केन्द्रीय अध्यक्ष किरण पौडेल, नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजाललगायतले यहाँको पर्यटकीय गन्तव्य पहिचान गर्दै आन्तरिक पर्यटक बढाउन सकिने बताए । यस पदमार्गमा यात्रा गर्दा मृग, बँदेल, खरायो, कालिजलगायतका जङ्गली जनावर तथा पशुपक्षी अवलोकन गर्न सकिन्छ भने एक हजार आठ सय मिटरको उचाइमा पुगेपछि १७ वटा हिमाल र उपत्यकाका तीन वटै सहरको दृश्यावलोकन गर्न सकिन्छ ।

जहाज कोलकाता डाइभर्ट हुँदा निगमको २७ लाख चैट, पाइलटलाई तालिम दिन नमान्दाको क्षति

काठमाडौं । मलेसियाको क्वालालम्पुरबाट नेपाल आउँदै गरेको वायु सेवा निगमको जहाज कोलकाता डाइभर्ट हुँदा निगमलाई करिब २७ लाख रुपैयाँ बराबर नोक्सान भएको छ । शुक्रबार बिहान निगमको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्न नसक्दा भारतको कोलकाता डाइभर्ट हुँदा २७ लाख २७ हजार बढी नोक्सान भएको हो । कोलकाता जाँदा डेढ घण्टा र फर्कदा डेढ घण्टागरी ३ घण्डा जहाज उडाउँदा सञ्चालन खर्च २१ हजार डलरभन्दा बढी लाग्ने निगमका एक क्यापटेनले जानकारी दिए । उनका अनुसार १ घण्टामा सकिने आरएनपी–एआर एप्रोच प्रणालीको तालिम नहुँदा नोक्सानीमा गएको निगममाथि थप व्ययभार थपिएको छ । २१ हजार डलर खर्च हुँदा नेपाली २७ लाख २७ हजार व्ययभार निगममाथि थपिएको हो । शुक्रबार बिहान काठमाडौं विमानस्थलको भिजिविलिटी १६ सय मिटरमा झरेको थियो । निगमको जहाज ११ सय मिटर भिजिविलिटीमा अवतरण गर्न सक्थ्यो । तर, मलेसियाबाट काठमाडौं आएको जहाजले उक्त भिजिविलिटीमा अवतरण गर्न नसक्ने बताएपछि भारतको कोलकाता डाइभर्ट गरिएको विमानस्थल कार्यालयका महाप्रबन्धक प्रेमनाथ ठाकुर बताउँछन् । ‘अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवा कम्पनीले ११ सय मिटर भिजिविलिटीमा अवतरण गर्न सकिने ननप्रिसिजिन अप्रोच प्रणालीमा आधारित आरएनपी–एआर एप्रोच विधि अपनाएर अवतरण हुन सक्थ्यो तर निगमका चालकदलले आरएनपी–एआर एप्रोच प्रणालीमा अवतरण गर्न नसक्ने बताउँदै डाइभर्टको अनुमति मागे’, उनले भने, ‘पाइटलको तालिम नहुँदा अवतरणा गर्न नसकि डाइभर्टको अनुमति मागे ।’ ११ सय भिजिविलिटीमा अवतरण गर्न सकिने भएपनि शुक्रबार उडान भरेको निगमको एयरबस ३२० (न्यारोवडी) का क्यापटेन राकेश खुस्वाले जहाज अवतरण गर्न २८०० भिजिविलिटी आवश्यक पर्ने निगम स्रोतले जनाएको छ । स्रोतका अनुसार निगम व्यवस्थापनले समयमा नै तालिम नदिँदा सहज रुपमा अवतरण गर्न सकिने जहाज समेत डाइभर्ट गर्नुपर्ने बाध्यता भयो । क्यापटेन खुस्वा निगमकै एयरबस ३२० मा कोपाइटलबाट केही समय अघिमात्रै क्यापटेन भएका थिए । क्यापटेनको तालिन लिन जाँदा एकैपटकमा हुने तालिम समयमा नहुँदा समस्या हुने गरेको ति क्यापटेनले बताए । कोपाइटल हुँदा उनले सो तालिन लिएपनि क्यापटेन भएपछि तालिन लिएका छैनन् । आरएनपी–एआर एप्रोच तालिम निगमले इन्डोनोसियामा गर्दै आएको छ । क्यापेटन खुस्वाजस्तै निगमका अन्य ६ जना क्यापटेनको उक्त तालिन नलिएको जनाइएको छ । आरएनपी–एआर एप्रोच तालिम ६/६ महिनामा लिनुपर्छ । उक्त तालिमका लागि १ हजार डलर खर्च हुने निगमले जनाएको छ । उक्त खर्च निगम आफैले व्यहोर्छ । निगमको अपरेशन विभागका प्रमुख रवीन्द्र आरके शेरचनले कार्यकारी अध्यक्षले बोल्ने अनुमति प्रवक्तालाई मात्रै दिएको भन्दै उक्त विषयमा बोल्न नमिल्ने बताए ।