हवाई भाडा ९ सयभन्दा बढीले घट्यो, कुन ठाउँ जान कति ? (भाडादरसहित)
काठमाडौं । वायु सेवा सञ्चालक संघ नेपालले हवाई भाडा घटाएको छ । आइतबार राती १२ बजेदेखि लागु हुने गरी नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै वायुसेवा सञ्चालक संघले हवाई भाडादर पनि घटेको हो । निगमले आइतबार रातीदेखि लागु हुने गरी आन्तरिकतर्फ २० र बाह्यतर्फ करिब ३० रुपैयाँ घटाउने निर्णय गरेको हो । संघका अनुसार हवाई दूरी अनुसार नेपाली यात्रुको हकमा अधिकतम ८ सय ८५ रुपैयाँ देखि न्युनतम १ सय ८० रुपैयाँसम्म हवाई भाडादर कायम गरिएको छ । यसबाट सबैभन्दा बढी लाभान्वित धनगढी जाने यात्रुहरु हुनेछन् । धनगढी जाने यात्रुहरुका लागि ८ सय ८५ रुपैयाँले हवाई भाडा घटेको हो । संघका अनुसार अब काठमाडौंबाट हुने माउन्टेन फ्लाइट ६ सय ८५ रुपैयाँ सस्तो हुनेछ । काठमाडौंबाट भद्रपुरमा ६ सय, काठमाडौंबाट जनकपुरका लागि २ सय ६०, काठमाडौंबाट भरतपुरबाट २१५, काठमाडौं पोखरा ३२०, काठमाडौं भैरहवा ४१०, काठमाडौं नेपालगञ्ज ६५५, काठमाडौं तुम्लिङटार ३७०, काठमाडौं सिमरा १८०, काठमाडौं सुर्खेत ६९० र काठमाडौं राजविराज ४११ रुपैयाँले भाडादर घटेको छ । भाडादर घटेसँगै अब काठमाडौंबाट धनगढीको भाडादर १६ हजार १४० रुपैयाँ कायम भएको छ । यस्तैगरी, काठमाडौंबाट सुर्खेत १४ हजार ३०५, काठमाडौं भद्रपुर १२ हजार ३५५, माउन्टेन उडानमा १४ हजार २०५ र काठमाडौं नेपालगञ्ज १३ हजार ३२५ रुपैयाँ कायम भएको छ ।
इलामको विमानस्थलबाट नेपाल एयरलाइन्सले उडान भर्ने
इलाम । निर्माण सम्पन्न भएर पनि सञ्चालनमा आउन नसकेको इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट उडान हुनेभएको छ । नेपाल एयरलाइन्सले सो विमानस्थलबाट साप्ताहिक उडान भर्न लागेको हो । यसबारे सैद्धान्तिक सहमति भइसकेको इलाम नगरपालिकाले जानकारी दिएको छ । इलाम नगर प्रमुख केदार थापाले आगामी माघ १ गतेबाट नै नियमित उडानका लागि पहल भइरहेको जानकारी दिए । यसअघि पनि इलाम नगरपालिकाले पैसा तिर्ने सर्तमा विमानस्थलबाट तारा एयरले उडान भरेको थियो । सम्झौता मिति सकिएसँगै उडान बन्द भएको थियो । यस विमानस्थलबाट प्रायः सबै उडानमा यात्रु आउनेगरेका थिए । ताराले उडान बन्द गरेसँगै इलामबाट उडान भएको छैन । भरसक सस्तो मूल्यमा नै उडान गराउन पहल गरिने इलाम नगरपालिकाले जानकारी दिएको छ । यसका लागि उचित मूल्य निर्धारण गर्न नेपाल वायुसेवा निगमसमेत लाग्नेमा आफूहरु विश्वस्त रहेको नगर प्रमुख थापाको भनाइ छ । काठमाडौँबाट करिब एक घण्टाको उडान अवधिमा इलाम उडान गर्न सकिने यसअघि नै तारा एयरले बताएको थियो । सो विमानस्थलको छ सय ७० मिटर लम्बाइ र २० मिटर चौडाइ रहेको छ । धावन मार्गसमेत पक्की भइसकेको छ । विमानस्थलको घेराबारा र टर्मिनल भवन निर्माणका लागि रकम विनियोजन भइसकेको जनाइएको छ । सो विमानस्थल सञ्चालन हुनसके इलाम मात्र नभएर पाँचथर, तेह्रथुम र ताप्लेजुङसम्मका यात्रुले सेवा पाउने छन् । साथै नजिक रहेको भारतका विभिन्न क्षेत्रबाट समेत काठमाडौँ उडानका लागि यात्रु आउन सक्ने छन् । रासस
तनहुँको ताललाई धार्मिक पर्यटनसँग जोड्ने युवाको प्रयास
गण्डकी । तनहुँको शुक्लागण्डकी नगरपालिकामा रहेको आँखे ताललाई धार्मिक पर्यटनसँग जोड्ने अभियानका सुरु भएको छ । नगरपकालिका वडा नं १ ज्यामिरबोटे र वडा नं २ सुन्दरी गाउँका युवाहरु आँखे तालको प्रवद्र्धनमा लागेका हुन् । पृथ्वी राजमार्गअन्तर्गतको कोत्रे तथा गगनगौडाबाट करिब छ किलोमिटरको दूरीमा रहेको ताल दुई वडाको सिमानास्थित ज्यामिरबोटेमा पर्छ । परापूर्वकालदेखि धार्मिक आस्था एवं विश्वाससँग जोडिएको ताललाई धार्मिक पर्यटनको गन्तव्य बनाउने उद्देश्यका साथ पाँच वर्षदेखि युवाहरु त्यसको संरक्षण र प्रवद्र्धनमा जुटेका हुन् । चार वर्षअघि सुन्दरी गाउँ र ज्यामिरबोटेका स्वदेश तथा विदेशमा रहेका युवाले सक्रियता देखाएका थिए । उनीहरुबाट ९० हजार सङ्कलन गरी अभियान सुरु भएका आँखे ताल संरक्षण एवं सिद्धिकाली मन्दिर निर्माण समितिका सचिव सञ्जय ढकालले जानकारी दिए । ताल रहेको स्थानलाई व्यवस्थित गर्दै त्यही परिसरमा सिद्धिकालीको मन्दिर समेत बनाउनका लागि स्थानीय समाजसेवी डिल्लीराम अधिकारी, कृष्णराज अधिकारी र तीर्थराज ढकालले जग्गा दान गरेका छन् । मन्दिर निर्माण एवं तालको संरक्षणका लागि हालसम्म छ लाख २५ हजार नगद खर्च भएको छ । ‘निर्माणका लागि जग्गादानसँगै स्थानीय जनश्रमदान अत्यधिक छ, त्यही सहयोगले हामी मन्दिर निर्माणलाई अन्तिम चरणमा पुर्याउनुका साथै ताललाई केहीमात्रामा भने पनि व्यवस्थित गर्न सफल बनेका छौँ’, सचिव ढकालले भने । यस ठाउँमा मन्दिर निर्माणका क्रममा उत्खनन गर्दा प्राचीन मौलोसँगै महेन्द्रकालीन मुद्रासमेत फेला परेको उनले जानकारी दिए। उनले यसको ऐतिहासिकता अनुसन्धान गर्न बाँकी रहेको बताए । मन्दिर तथा जलाशय संरक्षणका लागि शुक्लागण्डकी नगरपालिका वडा नं १ बाट दुई लाख ५० हजार र वडा नं २ बाट ५० हजार नगद प्राप्त भइसकेको छ भने बाँकी रकम चन्दामार्फत् जुटाइएको छ। यहाँको जलाशय क्षेत्रफलका हिसाबले ताल जति ठूलो नभए पनि परावूर्वकालदेखि नै तालका रुपमा लिने गरिएको स्थानीय बुढापाकाहरु बताउँछन् । युवाको सक्रियतामा यहाँको जलाशयलाई नेपालकै पहिलो जलविद्युत् गृह फर्पिङको जलाशयको स्वरुपमा स्टिलको रेलिङसहित गोलाकार रुपमा संरक्षण गरिएको छ । आँखे तालको अस्तित्व प्राचीनकालदेखि रही आएको बताउँदै ८९ वर्षीय शिवप्रसाद पौडेल यो स्थल धार्मिक आस्था एवं विश्वासका कारण पनि महत्ववूर्ण रहेको बताए । यस क्षेत्रमा छ पुस्ताअघिदेखि नै मन्दिर रहेको बताउँदै उनले हालको मन्दिर निर्माण क्रममा प्राप्त भग्नावशेषसँगै काठका ठुटाले त्यसको स्पष्ट सङ्केत गर्ने उल्लेख गरे । यस स्थलको संरक्षण र विकास गर्दै यसलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा अघि बढाउन सकिने उनको भनाइ छ । कोत्रे तथा गगनगौडाबाट आउने यहाँको बाटोलाई व्यवस्थित गर्दै ज्यामिरबोटे र सुन्दरी गाउँको बीचमा पर्ने गुवे खोलामाथि पक्की पुल आवश्यक रहेको पौडेलले बताए । जग्गादाता डिल्लीराम अधिकारीका अनुसार परापूर्वकालमा यस ठाउँमा जमिन भासिएर भ्वाङ(भुवान) परेछ । त्यसलाई पुर्ने क्रममा अधिकारीका हजुरबुवाको आँखा फुटेछ । ज्यातिषीसँग हेराउँदा त्यहाँ बाराहीको थान रहेको पाइएपछि पूजाआजा गरिँदै आइएको हो । त्यसै समयदेखि नै यहाँको जलाशयलाई आँखे ताल भनिएको उनले बताए । युवा जागरुकतामा यस ठाउँलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन थालिएको प्रयासले यहाँको प्रवद्र्धन र विकासमा महत्वपूर्ण टेवा पुग्ने उनले विश्वास व्यक्त गरे । मन्दिर तथा तालको संरक्षणकै उद्देश्यका साथ आँखे ताल एवं सिद्धिकाली मन्दिर निर्माण समितिले दुई वर्षयता सिद्धिकाली कप भलिबल प्रतियोगिता पनि गर्दै आएको छ । पृथ्वी राजमार्गको गगनगौँडाबाट पाँच किलोमिटरको दुरीमा पुग्न सकिने उक्त क्षेत्र विगतमा बीचमा पर्ने खुदी खोला र गुवे खोलामा पक्की पुल नहुँदा लामो समयदेखि ओझेलमा परेको थियो । पछिल्ला समयमा दुवै खोलामाथि पक्की मोटरेवल पुल बनेपछि स्थानीय खुसी बनेका छन् । पुल बनेसँगै कास्कीको पोखरा महानगरपालिका वडा नं ३२ पृथ्वी राजमार्गमा पर्ने तल्लो गगनगौडाबाट आँखे तालसम्म आठ/दश मिनेटकै अन्तरालमा सवारी साधनबाट पुग्न सकिन्छ । खुदी खोलामाथिको पुल गण्डकी प्रदेश सरकारको तीन करोड ७५ लाख १२ हजार लागतमा सम्पन्न भएको हो भने गुवे खोलाको पुल तटबन्धसहित करिब पौने तीन करोडको लागतमा सम्पन्न हो । रासस