नमोबुद्धलाई विश्व सम्पदामा सूचीकृत गर्ने
काभ्रेपलाञ्चोक । ऐतिहासिक एवं पर्यटकीय काभे्रपलाञ्चोकको नमोबुद्धलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने प्रक्रिया थालिने भएको छ । नमोबुद्ध नगरपालिकाले नमोबुद्ध क्षेत्र ऐतिहासिक, पर्यटकीय एवं धार्मिकस्थल भएकाले विश्व सम्पदामा सूचीकृतका लागि आवश्यक थप प्रक्रिया अघि बढाइने दोस्रो नगरसभाले निर्णय गरेको हो । नगरको ११ नं वडास्थित धार्मिक, ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक, वातावरणीय तथा प्राचीन महत्व बोकेको विश्वप्रसिद्ध नमोबुद्ध मन्दिर परिसरलाई मौलिक स्वरूप कायम गर्न नगरले निर्माण गरेको दीर्घकालीन गुरुयोजनालाई सम्बन्धित सरोकारवालाको सहकार्य, सहयोग र समन्वयमा थप परिमार्जन गरी विश्व सम्पदा सूचीमा सूचीकृत गर्न आवश्यक प्रक्रिया अगाडि बढाई थप पहल गर्ने बिहीबारको नगरसभाले विशेष प्रस्ताव पारित गरेको हो । नगरले यसअघि नै गुरुयोजना बनाएर काम अघि बढाएको छ भने सरोकारवालासँग विभिन्न चरणमा छलफलसमेत गरेको छ । सम्पदामा सूचीकृत गर्ने मापदण्ड करिब पुगिसकेकाले नगरको योजनामा समेटिएकाले संयुक्त राष्ट्र सङ्घीय अङ्ग युनेस्कोका नेपाल प्रतिनिधिलाई औपचारिक रुपमा अवलोकन–भ्रमण गराउने योजना बनाएको थियो । पर्यटकीयस्थल नमोबुद्धलाई विशेषगरी बौद्ध धर्मावलम्बीको तीर्थस्थलका रुपमा समेत लिइने गरिन्छ । शान्तिका प्रतीक गौतम बुद्धको पूर्वजन्ममा ‘राजकुमार’ले देहत्याग गरी बघिनीलाई जीवन प्रदान गरेको स्थलको रुपमा नमोबुद्ध लाई मानिन्छ । बुद्धले लुम्बिनीमा पुनर्जन्म प्राप्त गरेपछि पूर्वजन्ममा जीवन त्याग गरेको भूमिमा ‘नमोबुद्धाय नमः’बाट नमोबुद्ध नामाकरण गरिएको बिश्वास रहेको छ । किंवदन्तीअनुसार द्वापर युगका उनै राजकुमारको अस्थिपञ्जर गाडी बनाइएको चैत्य र जीवन त्याग गरेको स्थानमा कात्तिक शुक्ल पूर्णिमाका अवसरमा पूजाअर्चना र दीप प्रज्वलन गर्न बौद्ध धर्मावलम्बीको निकै ठूलो भीड लाग्ने गरेको छ । हाल सो स्थानमा विशाल गुम्बा, मन्दिर, गुम्बा र चैत्य छन् । गुम्बामा बुद्ध पाठशालासमेत रहेको छ । यसैबीच नगरले नमोबुद्धलाई विश्वकै नमुना पर्यटकीयस्थल बनाउन गुरुयोजना तयार गरी काम अघि बढाइएको छ । ८७ करोड लागतको विस्तृत परियोजना प्रतिवेदन डिपिआर तयार गरी काम अघि बढाइएको हो । नमोबुद्ध क्षेत्रमा पर्यटन विकासका लागि सिँढी, पर्खाल, दुई स्थानमा प्रवेशद्वार, सडक बत्ती, सौर्य बत्ती, ढुङ्गा छाप्ने, सार्वजनिक शौचालयलगायतका पूर्वाधार विकासका काम भइरहेको छ । सुरक्षा व्यवस्थापनका लागि सिसिटिभी क्यामेरासमेत जडान गरिएको छ भने डिपिआर अनुसार थप काम अघि बढाउन सङ्घीय पर्यटन मन्त्रालय, प्रदेशस्थित पर्यटन मन्त्रालयलगायत सरोकारवाला निकायमा पहल गरिएको नगरका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्सालले बताए । उनका अनुसार ‘नमोबुद्ध भगवान् घ्याँ’ गुठी व्यवस्थापन समिति गठन गरी संस्थागत विकास गर्न पहल भएको छ भने समितिले नै मन्दिर र गुठीमा सङ्कलन भएको दान, भेटी पनि समितिमार्फत व्यवस्थित गर्न थालेको छ । जिल्ला सदरमुकाम धुलिखेलबाट १३ किलोमिटर तथा सङ्घीय राजधानी काठमाडौँबाट ५० किलोमिटरको दूरीमा रहेको पर्यटकीय क्षेत्र नमोबुद्ध पुग्ने काभ्रेभञ्ज्याङदेखि फूलबारी सडकखण्ड असहज हुँदा पर्यटकले सास्ती ब्यहोर्दै आएकाछन् । पनौतीबाट शङ्खु उपत्यका हुँदै र पर्यटकीय नगरी धुलिखेलबाट हाइकिङ गर्दै पुग्न सकिने नमोबुद्धबाट मनोरम हिम शृङ्खलाहरु देख्न सकिन्छ । यस्तै, काभ्रेपलाञ्चोकको ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक नगर पनौतीलाई नेपालस्थित मन्त्रिपरिषद्को निर्णयलगत्तै विश्व सम्पदामा सूचीकृत हुने भएको छ । पनौती विश्व सम्पदामा सूचीकृत गर्न युनेस्कोद्वारा २५ वर्षअघि प्रस्ताव गरिएको क्षेत्र हो । सूचीकृतको अन्तिम प्रक्रिया नेपालस्थित मन्त्रिपरिषद् बैठकको निर्णयको पर्खाइमा रहेको नगर उपप्रमुख गीता बञ्जाराले बताइन् । पनौतीलाई सरकारले प्राचीन स्मारक संरक्षण ऐन २०३१ अनुसार २०५८ सालमा ‘स्मारक क्षेत्र’ घोषणा गरिसकेको छ । सूचीकृतको मन्त्रालयगत प्रक्रिया सकिएको र मन्त्रिपरिषद् बैठकले निर्णय गर्न बाँकी रहेको बञ्जाराले जानकारी दिए । युनेस्कोले कुनै पनि राष्ट्रको विशेष सांस्कृतिक महत्व राख्ने जस्तै : वन, पहाड, ताल, द्वीप, मरुभूमि, स्मारक, भवन, वा सहर धरोहरहरुलाई आफ्नो सूचीमा सूचीबद्ध गर्ने गर्दछ । जुन विश्व सम्पदा समितिद्वारा चयन गर्ने गरिन्छ । सोही समितिले नै यस सम्पदा क्षेत्रको रेखदेख युनेस्कोको तत्वावधानमा हुनेछ । पुरातत्व विभागका अनुसार नेपालको चार क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरिएको छ । जसमा काठमाडौं उपत्यका उपत्यका सात क्षेत्र : काठमाडौं दरबार क्षेत्र, पाटन दरबार क्षेत्र, भक्तपुर दरबार क्षेत्र, पशुपतिनाथको मन्दिर, स्वयम्भूनाथ, बौद्धनाथ र चाँगुनारायण मन्दिर, चितवन राष्ट्रिय निकुञ्ज, लुम्बिनी र सगरमाथा राष्ट्रिय निकुञ्ज रहेका छन् । नेपालले हालसम्म पनौतीसहित १५ वटा ऐतिहासिक एवं पर्यटकीय स्थललाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न युनेस्कोसमक्ष प्रस्ताव गरेको छ ।
हावाहुरीले हुम्लामा हवाई सेवा अवरुद्ध
हुम्ला । हिमाली जिल्ला हुम्लामा हवाई सेवा हावाहुरीले अवरुद्ध भएको छ । बिहीबारदेखि जिल्लामा हावाहुरी चल्दा आज पनि हवाई सेवा अवरुद्ध भएको सिमकोट विमानस्थलले जानकारी दिएको छ । नेपालगञ्ज र सुर्खेतबाट नियमित उडान भर्ने निजी जहाजले हावाहुरीका कारण आफ्नो सेवा अवरुद्ध भएको जनाएका छन् । जिल्लाको एकमात्रै अन्तर जिल्ला जोड्ने यातायात हवाई सेवा भए पनि दुई दिनदेखि जिल्ला बाहिर जानका लागि उडान हुन नसक्दा हातमा टिकट लिएर बसेका यात्रु सिमकोटमै रोकिएका छन् । हवाई सेवा बन्द हुँदा नेपालगञ्ज र सुर्खेतदेखि सिमकोट आउने यात्रुसहित कार्गो सामान रोकिएका छन् । हुम्लादेखि नेपालगञ्ज र सुर्खेत जाने यात्रु तथा नेपालगञ्ज र सुर्खेतदेखि सिमकोट आवतजावत गर्ने यात्रुसहित अन्य सामग्री ढुवानी हुन नसकेको सिमकोट विमानस्थलले जनाएको छ । यसैगरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कम्पनीको ढुवानी अनुदानको खाद्यान्न, दैनिक उपभोग्य सामान, तरकारी र कार्गोको सामान पनि ढुवानी हुनसकेको छैन । घाम लागेपछि दिनहुँ बिहान ८/९ बजेपछि मात्र उडान हुँदै आएकोमा बिहीबारदेखि हावाहुरी चल्दा हवाई सेवा अवरुद्ध हुन पुगेको हो । नेपालगञ्जबाट हुम्लाका लागि तारा, समिट एयरका जहाजले उडान भर्दै आएका छन् । नेपालगञ्जबाट हुम्ला पुग्न जहाजलाई करिब ४५ मिनेट समय लाग्छ । हवाई उडान नहुँदा दैनिक उपभोग्य सामग्री ढुवानी रोकिएको छ । यात्रु सिमकोटमै अलपत्र परेका छन् । नेपागञ्जमा हुस्सु लागेका कारणसमेत हुम्लामा उडान हुन नसकेको हो ।
पर्यटकीय गन्तव्य बन्यो बागलुङको तिलाचन ताल
बागलुङ । बागलुङको निसीखोला र रोल्पाको सुनछहारीको शिरमा छ तिलाचन ताल। चिसो मौसम, सिरसिर हावा र शान्त वातावरण यहाँको विषेशता हो। उच्च पहाडी क्षेत्र भए पन यहाँ समथर भू–भाग छ। तलतिर घना जङ्गल। यहाँबाट देखिने मनमोहक दृश्य साँच्चिकै मन लोभ्याउने छन्। दुई जिल्लाको सङ्गमस्थलमा रहेको तिलाचन ताल आधा दशक अगाडिसम्म ओझेलमा थियो। ताल उच्च पहाडको शिरमा हुँदा बागलुङ र रोल्पाका सीमा क्षेत्रका स्थानीयबाहेक बाहिरी मान्छे यहाँ पुग्न सकेका थिएनन्। खासगरी यो ठाउँलाई गोठालाको बसोबास गर्ने र चरन क्षेत्रका रूपमा लिइन्छ। तीन वर्ष अगाडि मध्यपहाडी लोकमार्ग कालोपत्र भएपछि मात्रै तिलाचन ताल चर्चामा आएको हो। तालमा बागलुङ, पूर्वीरुकुम र रोल्पाको सिमाना पातिहाल्नेबाट आधा घण्टाको पैदलयात्रामा पुग्न सकिने हुँदा पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षण बढेको हो। ताल रोल्पामा परे पनि बागलुङबाट नजिक पर्छ। ताल सुनछहारी गाउँपालिका–१ मा पर्छ तर त्यतापट्टितिरबाट सडक सञ्जालले नजोडिँदा रोल्पालाई अपायक पर्छ। तालसँग बागलुङको निसीखोला गाउँपालिका–६ जोडिएको छ। बागलुङतिरबाट राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग पुगेको हुँदा तालमा पुग्न सहज छ। लोकमार्गका कारण दैनिक पर्यटक निसीखोला हुँदै जाने हुँदा पातीहाल्नेमा व्यापार व्यवसायसमेत बढ्न थालेको छ। यस ताललाई पहिले गोठालाले ‘तिलाचन दह’ भन्ने गरेको निसीखोला गाउँपालिका–६ का भेडापालक टीकराम घर्तीमगरले बताए। उनले लोकमार्गको स्तरोन्नतिपछि यस ठाउँमा बाहिरी मान्छे आउन थालेको भन्दै पछिल्लो समय यहाँ आउनेको सङ्ख्या बढेको बताउँछन्। टीकाराम भन्छन्, ‘तिलाचन क्षेत्र भेडाबाख्रा चराउने ठाउँ हो, बर्खाको चार महिना पूरै यहीँ बिताउँथ्यौँ, अहिले पनि असार साउनतिर यतै बस्छौँ, हामी यही तालको पानी खान्छौँ।’ उनी सडकका कारण गोठालाको बसोबास गर्ने ठाउँ र पानी भर्ने दह पर्यटकीय गन्तव्य बन्दै गएको बताउँछन्। अहिले पनि यहाँ दुई जिल्लाका गोठालाले वस्तुभाउ चराउँदै आएको घर्तीमगरको भनाइ छ। उनले विकासले गति लिँदै गएपछि यस ठाउँले मुहार फेर्दै गएको बताए। अहिले गोठालाको दैनिकीसमेत फेरिँदै गएको घर्तीमगर बताउँछन्। ‘जमाना फेरिए, मोटर गाडी आउन थाले, पहिले हामी घरबाट खर्चपर्च लिएर तालसम्म आउन चार घण्टा पूरै लाग्यो, अहिले पातीहाल्नेसम्म आधा घण्टामा, त्यहाँबाट तालसम्म हिँडेर आधा घण्टा लाग्छ’, उनले भने, ‘ताललाई व्यवस्थित बनाइएको छ, तालको छेउमा पहिले ढुङ्गा राखेर पूजा गर्थे, अहिले मन्दिर निर्माण गरिएको छ।’ स्थानीय देवीकुमारी बुढामगरले पछिल्लो तालमा आन्तरिक पर्यटकको सङ्ख्या बढ्दै गएको बताइन्। बुढामगर बिदाको दिन अझ बढी मान्छे घुम्न आउने गरेको बताउँछिन्। केही दिनयता चिसो बढेका कारण आगन्तुक घटेको बुढामगरको भनाइ छ। चैतदेखि भदौसम्म पातीहाल्ने र तिलाचन तालमा आन्तरिक पर्यटकको भीडभाड हुने उनले बताइन्। ‘केही दिनभयो चिसो धेरै बढेको छ, त्यही भएर होला मान्छे कम भएको, पानी परेर हिउँ प¥यो भने तालसम्म त मान्छे पुग्न सक्दैनन्, पातीहाल्नेसम्म हिउँ खेल्न आउँछन्, बाटो सजिलो छ, अहिले त बर्खामा पनि धेरै मान्छे तालमा पुगे, ताल वरपर त्रिपाल लगाएर एक–दुई दिन बास पनि बस्ने गर्थे’, उनले भनिन्, ‘यहाँ त बाह्रै महिना मान्छे आउन थालेका छन्।’ तालको छेउमा तिलाचन ताल बरहा मन्दिर छ। यस मन्दिरमा पूजाआजा गर्दा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ। सुनछहारी गाउँपालिका रोल्पाका सूचना अधिकारी रमेश गिरीले तिलाचन ताललाई पर्यटकीय गन्तव्य बनाउन काम गरिरहेको बताए। अघिल्लो वर्ष लुम्बिनी प्रदेश सरकारले विनियोजन गरेको १० लाख रुपैयाँबाट ताल सरसफाई र मन्दिर निर्माण गरेको बताए। गाउँपालिकाले यो ताललाई पालिकाको मुख्य पर्यटकीय गन्तव्यका रूपमा राखेको गिरीको भनाइ छ। ‘तालको छेउमा अहिले मन्दिर निर्माण भएको छ, मन्दिर निर्माण र ताल संरक्षणका लागि गत वर्ष १० लाख रुपैयाँको काम भएको छ, पालिकाले यसको संरक्षणका लागि जुटिरहेको छ’, सूचना अधिकारी गिरीले भने, ‘ताल पहिलेदेखि नै चर्चित थियो, गाउँपालिकाले पनि प्रचार–प्रसार र प्रवद्र्धन गरिराखेको छ, यहाँ बागलुङबाट लोकमार्ग हुँदै धेरै पर्यटक आएको पाइएको छ।’ निसीखोला गाउँपालिका–६ का अध्यक्ष हेमबहादुर बुढामगरले तिलाचन तालमा जाने आगन्तुकलाई लोकमार्गले सहज बनाइदिएको बताए। उनले केही वर्ष अगाडिसम्म स्थानीयबाहेक बाहिरी मान्छे तिलाचन तालमा नपुगेको भन्दै प्रचार–प्रसारले गर्दा टाढा–टाढाबाट यहाँ घुम्न र फोटो खिच्न आउने गरेको बताए। अध्यक्ष बुढामगरले हिउँदमा हिउँ खेल्न र बर्खामा गर्मी छल्नमा लागि मान्छे घुम्न आउने गरेको बताउँछन्। उनी भन्छन्, ‘तिलाचन ताल निकै सुन्दर छ, अग्लो पहाडको टुप्पोमा यति राम्रो तालमा पुग्न जोकोही चाहन्छन्, पहिले त माथिल्लो गाउँबाहेक बाहिरी मान्छे त्यहाँ आउँदैनथे, पुग्ने सम्भावना पनि थिएन, अहिले प्रचारप्रसारले घुम्न आउनेको सङ्ख्या बढेको छ।’ ताल क्षेत्रबाट धौलागिरि, अन्नपूर्णलगायतका हिमशृङ्खालको सहजरूपमा अवलोकन गर्न सकिन्छ। यहँबाट बागलुङ, रोल्पा, पूर्वीरुकुम, प्युठान, गुल्मीलगायतका ठाउँ देखिन्छन्। तालमा पर्यटक बढे पनि यहाँसम्म पुग्ने पदमार्ग भने अव्यवस्थित छ। आगन्तु पशुचौपाया हिँड्ने साँघुरो गोरेटोमार्फत तालमा पुग्ने गरेका छन्।